अहिले जुन भूगोललाई रौतहट भनिएको छ,त्यो इतिहासमा कहाँ थियो ? यसको इतिहासको बारेमा चर्चा हुँदै गर्छ।
यस क्षेत्रको सर्वप्राचीन नाम हो–तीरभुक्ति।तीर–भुक्ति तत्सम शब्द हो।भारतीय साहित्य संग्रहले वेभसाइटमा यसको अर्थ ‘गंगा,गंडकी और कौशिकी इन तीन नदियों से घिरा हुआ तिरहुत प्रदेश’भनी लेखेको छ।
यसबाट यो स्पष्ट हुन्छ कि तीरभुक्तिको क्षेत्र पूर्वमा कोशी, पश्चिममा नारायणी तथा दक्षिणमा गंगा नदी रहेको स्पष्ट हुन्छ तर उत्तरको सीमा यसले स्पष्ट पार्दैन ।उत्तरमा सामान्यतया चुरे पहाडलाई लिइएको पाइन्छ।
गंडकी नदीलाई विभिन्न नामले बोलाइएको पाइन्छ।यसलाई बडी गंडक वा गंडक पनि भनिन्छ।नारायणीबाट पूर्वतर्फ आएको नहरलाई गण्डक नहर पनि भनिएको पाइन्छ।गंडक नदीबाट निकालिएको नहर भएकोले गण्डक नहर भनिएको हो। गंडक नदीलाई सालिग्रामी,सप्तगण्डकी आदि नामले बोलाइएको पनि पाइन्छ। विभिन्न महाकाव्यहरुमा उल्लेख भएको पाइने सदानीरा नदी पनि यही नै हो।कौशिकी भनेको कोशी नदी हो।
तीरभुक्तिको अतिप्राचीनता वा प्रागैतिहासिकताको विस्तृत जानकारी सम्भवतः यस धरतीसित मात्र हो।यस धरतीसित धेरै छलछाम भएको छ।सबै विस्तारमा बताउन सम्भव पनि छैन।यद्यपि यहाँ यस धरतीमाथि सक्दो न्याय गर्ने प्रयास गरिएको छ।बृहत् विष्णु पुराणमा लेखिएको छ–तिरभुक्ति व्याप्तो देश परम् पावन।
यसबाट यो स्पष्ट हुन्छ कि तीरभुक्ति आफैंमा पवित्र देश हो।बृहत् विष्णु पुराणले यस क्षेत्रलाई देश मान्दै परम पवित्र मानेको छ।
हुन त देश शब्दको अर्थ समय र स्थान तथा परिवेशअनुसार फरक भएको पाइन्छ।
तीरभुक्ति नामकरण कसरी भएको होला ?अलिकति अनुमान लगाउने प्रयास गरौँ।
तीरभुक्ति भनिएको भूगोलको तीनतिर नदी छ।तीर संस्कृत शब्द हो।यसको अर्थ हुन्छ –नदी वा खोला दुईतिरको किनार वा तट।
भुक्ति शब्द पनि संस्कृत हो।भुक्ति शब्दको अर्थ हुन्छ–भोजन,उपभोग,भोग । अधिकारमा लिइएको वस्तु, कब्जा वा दखल।
अधिकारमा लिइएको वस्तु,कब्जा वा दखल भन्ने शब्दले राजनीतिक अर्थ दिने हुन्छ।यस क्षेत्रको लागि यो अर्थ यस क्षेत्रमा राजतन्त्रको स्थापना भएपछिको लागि उपयुक्त हुनुपर्छ।
तीनतिरका ठूला नदीको किनारको यो भूमि मानवको लागि उपभोगजन्य रहेको, भोजनको पर्याप्तता हुने भएकोले यस क्षेत्रलाई तीरभुक्ति भनिएको हो भन्ने स्पष्ट हुन्छ।अहिले पनि यस क्षेत्रलाई गंगाको मैदानी क्षेत्र भन्ने गरिएको छ।निःसन्देह तीनतिरबाट ठूला नदीको बीचको भूभाग भएकोले यसलाई तीरभुक्ति भनिएको हो ।
भूमि पनि तत्सम शब्द हो।भूमिको अर्थ जमिन हुन्छ । सम्भवतः तीरभुक्ति हुनुभन्दा पहिले यो क्षेत्र तीरभूमि हुनुपर्छ।तीरभूमिबाट संस्कृतमै तीरभुक्ति भनिएको हुनुपर्छ।तीरभूमिको अर्थ हुन्छ–नदी वा खोलाको छेउछाउको जग्गा, नदीको बगर।
यस क्षेत्रको जमिनको बनोट हेर्दा अद्यपर्यन्त तीनओटा ठूला नदी (कोशी, गण्डकी र गंगा) द्वारा सिञ्चित छ।यी नदीसित अनेक संस्कार तथा संस्कृति जोडिएका छन्।तीरभुक्तिको तीर शब्द कसरी बनेको होला?
मेरो अनुमान के छ भने सबैभन्दा पहिले यस क्षेत्रको नाम त्रिभूमि हो।तीन नदीले पवित्र पारेको भूमि त्रिभूमि हो।यसपछि नदीको किनार भएकोले त्रिबाट उच्चारणमा सजिलो हुँदै तीर पनि हुन गएको हो।तीन नदीको किनार वा तीन नदीले पवित्र पारेको भूमि दुवै भावलाई एकीकरण गरेको तीरभूमि प्रचलनमा आयो र विद्वत्जनबाट स्तरीय उच्चारणको क्रमसंगै कथ्यमा सुधार भएर तीरभुक्ति हुन गएको हो।यसकारण यो क्षेत्र त्रिभूमि, तीरभूमि, तीरभुक्ति हो।लेख्यमा आएर तीरभुक्ति रूढ हुन पुग्दछ तर अपभ्रंशको प्रचलनसँगै यही तीरभुक्ति अपभ्रंश भएर तिरहुत बन्न पुगेको हो।अतिप्राचीन त्रिभूमिमा मानव बसोबास कहिले भएको होला ?
ऋतिक रोशन अभिनीत हिन्दी कथानक चलचित्र मोहनजोदारोमा जुन हरप्पा र मोहनजोदारो सभ्यताको चर्चा गरिएको छ।यस क्षेत्रका बासिन्दाको सम्बन्ध त्यहाँसित रहेको छ।जब मोहनजोदारो त्यस देखाएको तथ्यमाथि धेरैको विश्वास रहेको छ।एउटा जलप्रलयपश्चात् त्यहाँबाट मानिस सुरक्षित बसाइँको खोजी गर्दै गंगा किनारसम्म आएका थिए।
महापण्डित राहुन सांकृत्यायनले पनि भोग्लासे गंगामा यस्तै प्रकारको सत्यलाई स्थापित गर्न खोजेको छन्।अन्य संस्कृत वाङ्मय तथा पुराणहरुले पनि हिन्दकुश पर्वत हुँदै गंगा किनारतिर बसाइँ सर्दै आएको कुरालाई स्वीकार गरेका छन्।
केही विवाद होला।तर्क–वितर्क पनि होला तर करिब यस्तै प्रकारको मान्यता भाषाविज्ञानको क्षेत्रमा पनि रहेको पाइन्छ,मुख्यतः भारोपेली भाषा परिवारको सन्दर्भमा।
यी तथ्य र तर्कहरूबाट यो निष्कर्षमा पुग्न सकिन्छ कि तीरभुक्ति क्षेत्रमा मानवको बसोबास अतिप्राचीन कालमा भएको हुनुपर्छ।गंगाको किनार हुँदै बसाईँ सर्दै अगाडि बढ्ने क्रममा नै यस त्रिभूमिमा विस्तारै अन्य नदी किनारहरूमा मानव सभ्यताको विकास हुँदै गएको हो।पूर्वमा कोशी र पश्चिममा नारायणी नदीको बीचमा बग्ने बाग्मती नदी जुन स्वयं सिधै गंगामा गएर मिलेको छ,यसको किनारमा रहेको वर्तमान रौतहटको धरतीमा पनि सोही समयमा मानव सभ्यताको विकास भएको हो।नदीको दुवै किनारमा बिस्तारै बस्तीको विस्तार हुँदै जाने क्रममा यहाँ सबैतिर अनेक ग्रामहरूको विकास भएको हुनुपर्छ।
हामी सबैलाई ज्ञात छ,राजतन्त्रको सुरुआत निकै पछि मात्र भएको हो।पहिले आदिम साम्यवाद थियो र हरेक मानिस स्वतन्त्र थियो।मानिसले कृषि गर्न थालेपछि र बस्तीको विकास हुन थालेपछि कैयौँ सहस्राब्दीसम्म मानिसले बिना राजा सामूहिक निर्णयमा समाजलाई चलाएको थियो।
वाल्मीकीय रामायणमा दशरथ र सीरध्वजको समकालीन राजा सुमतिलाई देखाइएको छ।गंगाको उत्तरी किनारमा विशालापुरीको स्थापना राजा विशालले गराएका थिए।त्यहाँ राजा विशालको अनुक्रम चौबीसौँ रहेको उल्लोख उल्लेख पाइन्छ।यसै वंशको तेतीसौँ राजा सुमतिले गंगाको उत्तरी तटमा अवस्थित विशालापुरीमा विश्वामित्रका साथ राम र लक्ष्मणको राजकीय सत्कार गरेका थिए। जनकपुरी जाने क्रममा तीनैजनाले त्यहाँ रात्रिविश्राम गरेका थिए।
यहाँ राजा विशालपछि यदि तेतीसौँ राजा सुमति हो भने गंगाको उत्तरी क्षेत्रमा राजतन्त्रको सुरुआत भएको हजारौँ वर्ष बितिसकेको स्पष्ट हुन्छ।यसबाट यो पनि स्पष्ट हुन्छ कि गंगाको उत्तरी क्षेत्रमा कैयौँ हजार वर्ष पूर्वदेखि मानव सभ्यताको विकास भइसकेको थियो।
अनेक पुराण तथा ग्रन्थहरूमा यस क्षेत्रको बारेमा विभिन्न नामले चर्चा गरिएको पाइन्छ।कतै तीरभुक्ति त कतै यसै क्षेत्रलाई विशालपुरीको नामले पनि चिनिएको पाइन्छ।माथि राजा विशाल, सुमति र रामायणको प्रसंगले यसलाई पुष्टि गर्दछ।यो अत्यन्त स्वाभाविक छ कि कुनै समृद्ध सम्राटको नामबाट समय समयमा यस भूखण्डमा अनेक राज्य स्थापित हुने र कालान्तरमा पतन हुने क्रम देखिएको छ । राजा विशालपछि उनकै राज्यको नामबाट यो क्षेत्रको परिचय इतिहासको निकै लामो कालखण्डसम्म भएको पाइन्छ।वाल्मीकीय रामायणमा नै लेखिएको यस श्लोकले धेरै कुरा स्पष्ट पार्दछ :
उत्तर तीरमासाद्य सम्पूज्यर्षि गणे तदाः ।
गंगा कूले निविष्टास्ते विशालां ददृशुः पुरीम् ।।
विशालापुरी अर्थात् वैशालीको राज्यलाई लिच्छविहरूको राज्य पनि भनिन्छ। तीरभुक्तिको सम्पूर्ण क्षेत्र वा वैशाली राजधानी भएको र अन्य राज्यहरूसमेतको समग्रतालाई नै लिच्छविले बुझाएको हो,भन्ने विषयमा मतैक्य पाइन्न।यद्यपि वैशालीबाटै नेपाल उपत्यका पसेका लिच्छविहरूले नेपाल उपत्यकामा लिच्छवि शासन स्थापना गर्न सफल भएका थिए भन्ने विषयमा भने नेपाल तथा भारतका इतिहासका ग्रन्थहरू लगभग एकमत रहेका छन्।
स्पष्ट छ,अहिलेको रौतहट यही तीरभुक्ति वा लिच्छवि शासनअन्तर्गत थियो प्रागैतिहासिक तथा प्राचीन कालमा।
बौद्धिक सम्पत्ति दिवस
हाम्रो ग्रामीण समाजले विद्या, गुण र कलालाई परम्परादेखि नै सम्पत्ति मान्दै आएको पाइन्छ।यस प्रकारको सम्पत्तिलाई बौद्धिक सम्पत्तिको दर्जा दिइएको छ। विश्व समुदायमा प्रचलनमा रहेका परम्परागत तथा नवीन आविष्कार तथा खोजअनुसन्धानमूलक बौद्धिक सम्पत्तिप्रति सचेतना जगाउने उद्देश्यले विश्व बौद्धिक सम्पत्ति दिवस मनाउने सुरुआत गरिएको हो।
मानिस बौद्धिक प्राणी हो । मानिसमा बौद्धिक क्षमता हुन्छ । मानिसमा हुने बौद्धिक क्षमता उसको सम्पत्ति हो । बौद्धिक सम्पत्ति मूल्यवान हुन्छ।यही बौद्धिक सम्पत्तिको मूल्य बुझाउन तथा बौद्धिक सम्पत्तिबारे सचेतनामा अभिवृद्धि गरिन र बौद्धिक सम्पत्तिको क्षेत्रबारे अझै पनि धेरैले धेरै कुरा बुझ्न बाँकी रहेको छ।
मानिसका सम्पूर्ण निजी ज्ञान,सामूहिक ज्ञान,खोज,अनुसन्धान,आविष्कार आदि उसका बौद्धिक सम्पत्ति हुन्।कसैले कुनै गीत गाउँछन् भने त्यसमा रहेका तीन पक्ष : शब्द, स्वर र संगीत सबै सम्बन्धित व्यक्तिका मौलिक सिर्जना र सम्पत्ति हुन्।कोही कलाकार छन् भने कला उनको निजी सम्पत्ति हो।कसैले सुन्दर भाषण गर्न सक्छन्।कोही राम्रो साहित्य सिर्जना गर्न सक्छन्।कसैले अद्भूत चित्र वा मूर्ति बनाउन सक्छन्।कोही नयाँ अनुसन्धान गर्न सक्छन्।कोही आविष्कार गर्न सक्छन्।यी सबै सम्पत्ति मानवीय सम्पत्ति हुन्।यी र यस्ता अन्य बौद्धिक सम्पत्तिको सुरक्षा, संरक्षण तथा बौद्धिक व्यक्तित्वको सम्मान हुनु आवश्यक छ।
अहिलेको समयमा बौद्धिक सम्पत्तिको महत्व बढेको छ।पहिलेदेखि नै के भन्ने गरिएको छ भने जोसित बुद्धि हुन्छ ऊ जस्तोसुकै परिस्थितिमा पनि आफूलाई समायोजन गर्न सक्छ।बुद्धिको कदर हुनुपर्छ भन्ने सबैको मान्यता रहेको छ। बुद्धि, बुद्धिजीवी र बौद्धिक सम्पत्ति सर्वदा सम्मानयोग्य हुन्छ।विश्वमा बुद्धिले नै राज गरिरहेको सन्दर्भमा यस दिवसको औचित्य सर्वसाधारणको लागि पनि झन् बढेको छ।
-सञ्जय साह मित्र
पत्रकार/लेखक
प्रतिक्रिया