कविता: नदेखेको भगवान

रविन थपलिया टोरोन्टो, क्यानडा २०७८ वैशाख १३ गते ११:१३ मा प्रकाशित

उनिहरु भगवान भेटेँ भन्छन्
दिव्यरुप देखें भन्छन्
म सिर्फ ढुङ्गामा कुँदिएको
मेरो जस्तै आकृति देख्छु
सायद
भगवान् बनाउनेले पनि भगवान् नदेखेर
आफ्ना संग मिल्दोजुल्दो आकृती बनायो होला
मैले कविता लेखे जस्तै…
वा
कतै भगवान देख्नेले मुर्ति नबनाएर पो हो कि?

म जाने मन्दिरमा,
मान्छेहरु लम्पसार पर्छन्
लडिबुडी गर्छन्
रुन्छन्,कराउँछन्
भावविह्वल हुन्छन्
पाप मोचन माग्छन्
अपराध माफी माग्छन्
ऐश्वर्य माग्छन्
हाँस्दा हाँस्दै रुन्छन्
रुँदारुँदै हाँस्छन्
कोहि दोहोरो कुरा गर्छन्
कोहि एकोहोरो बर्बराँउछन्
म अन्योलमा पर्छु
के भगवान यहीँ छन् त?
यी माग्नेहरुको आवाज सुन्छन् त?
यिन्का पाप र अपराध पखाल्छन् त?

म पनि मान्दछु-संचालक छन्
कानका कान हुन्छन्
आँखाको आँखा हुन्छन्
वाणिको वाणीले बोलाउँछ
प्राणको प्राणले प्राणी हुन्छन्,
तब त सबै कान सुन्दैनन
सबै आँखा देख्दैनन
सबै मुख बोल्दैनन
कयौं प्राण जड हुन्छन्
सायद,
म अल्पज्ञ भएर होला
म मुर्तिमा सिर्फ कलापुर्ण आकार देख्छु
भक्त नामका स्वार्थीहरुको रोइलो देख्छु

भिखारीहरुको भीड देख्छु।

तर पनि म सधैं मन्दिर जान्छु
मान्छे संग नझुक्ने अहंकारिको अहंकार झुकेको हेर्न
भोको पेटमा लात हान्नेको स्नेह गिडगिडाएको निहाल्न
अपराधले भदभदीएको आत्माले शितलता खोजेको हेर्न
बलात्कारीको बल मुर्तिसंग स्खलित भएको हेर्न
भ्रष्टाचारीहरुको मन सुक्सुकाएको सुन्न
पदार्थको तत्वज्ञानी पण्डितको ढोङ हेर्न
ब्रह्मज्ञानको व्यापारीहरुको चटके मेला हेर्न,
भलै यी सबै नाटकै होलान
म मिले सम्म मन्दिर जान्छु।

इन्द्रिय विदित सबै नाशवान छन भन्छन्
भगवान अविनाशी होलान्
म,मुर्ती र ती भक्तजस्ता नहोलान्
त्यसैले
मैले मुर्तिमा आजसम्म भगवान् देख्न सकिन
सायद भगवानले मलाई देखे होलान्।

रविन थपलिया
टोरोन्टो, क्यानडा

प्रतिक्रिया