त्यो बैशाख १२ गतेलाई संम्झॅंदा

-शशी के.सी २०७८ वैशाख ११ गते १५:१० मा प्रकाशित

आज बैशाख १२, २०७८ साल ।६ बर्ष अगाडी आजकै दिन नेपालमा ७.८ रिक्टर स्केलको विनाशकारी भुईंचालो गएको थियो।हुन त त्यो बेला भुईंचालो जांदा म नेपालमा थिइन र अहिले त्यति बेलाको कुरा लेखिरहॅंदा पनि म नेपाल बाट टाढा परदेशमा छु।तर भन्छन् नी भोगाई सबैका आ-आफ्ना र अनुभव पनि त्यस्तै नै।तन प्रत्येक्ष थिएन त्यहां तर मनलाई तहलचल नै मच्याईदियो नी त्यो दिनको भुईंचालोले।हामी देश छोडेर परदेशमा बस्नेहरूको सॅंधै दुई संसार हुन्छ।एकअहिले आफु बसिरहेको परदेश र अर्को आफु जन्मे,हुर्के,पढे,बढेको घरदेश।हाम्रो मन सधैं दुईतिर,परदेश दुख्दा पनि दुख्छ र घरदेश दुख्दा त झन् बढी दुख्छ।त्यस्तै हाल सुखमा पनि हुन्छ।

त्यो बैशाख १२ गतेको भुईंचालोको बारेमा लेखिरहॅंदा अहिले पनि मन झसंग हुन्छ।नेपालमा भुईंचालो गएको बेला त यहांअमेरिकामा मध्य राती थियो।शुक्रवार बेलुका केही घण्टा अगाडी साथीको घरमा डिनर खाई,आएर सुतेका हामी अलिक मस्त नै सुतेछौं।फोन पनि साइलेन्ट मोडमा रहेछ।बिहानी पख चार बजेतिर फोनमा आएको मेसेजको उज्यालोले बिम्झिएछु।फोन हेर्छु त १०-१५ मेसेज, मिस कल आदी छ साथी, इस्टमित्रहरूको जताततैबाट।

ओहो,के भएछ लौन भनेर कोठाको बत्ती बालेर फोन हेर्न थालें। सबै भन्दा पहिलो मेसेज, “दिज्जु नेपालमा बुबा मुमाहरू तठिक होइसिन्छ नी” देखें। लौन के भयो र भन्ने भो, अर्को मेसेजमा नेपालमा ठुलो भुईंचालो गयो, परिवार त ठिक होलान देखें।अर्कोमा त काठमाडौं सुन्धाराको धरहरा ढलेछ पढें।धरहरा नै ढलेपछि त काठमाडौंमा कुनै घर बचेनन् होला जस्तो लाग्यो।धेरै अग्ला १२-१४ तल्ले अपार्टमेन्ट कम्पप्लेक्स पनि बनेका छन्।फेरी एक मनले होइन सबै घर त ढलेनन् होला भन्ने लाग्यो।निद्रा त पुरै भागी हाल्यो।आत्तिएर के गर्नु ,कसो गर्नु,रिंगटा लाग्ला जस्तो र हातखुट्टा लुला र चिसो भयो।एक ग्लास पानी पिंए।

आपत बिपतमा सबैभन्दा पहिले आफ्ना याद आउॅंछ।हतार हतार नेपालमा घर र माइती दुबै तिर बुबाआमालाई घरको लाइनमा फोन गरें।फोन उठ्दैन दुबैतिर,उठोस पनि कसरी,सबैजना बाहिर चउरमा सुरक्षित बस्नुभएको रहेछ।अनि मेसेन्जर खोलें।धेरै जना अनलाइन देखियो।त्यस मध्ये नेपालमा रहेका केही अनलाइन देख्दा उनीहरू सुरक्षित रहेछन् भन्नेभयो तर बोलिन कसै सॅंग।फेरी केही मेसेज हेर्दै,पढ्न थालें।बुबामुमा र मम्मी सुरक्षित भएको पाएं।ड्याडी पहाड सोलु जानु भएको थियो।केही खबर पाइन।डर लाग्न थाल्यो।एक पटक आवाज मात्र सबैको सुन्न पाए कस्तो हुन्थ्यो, भयो।परदेश बस्दाको पिडा।

टि.भी खोलें।सि.एन.एनमा नेपालको भुईंचालोको समाचार देखाई रहेको रहेछ।सबैतिर हा- हाकार,घर भत्केको,पुरिएका मान्छे निकालेको,एम्बुलेन्स कुदिरहेको देखिन्छ।अनि फेसबुक खोलेर इष्टमित्र,आफ्नाहरूको हालखबर बुझ्न थालें।फेसबुकमा आजकल कतै केही प्राकृतिक प्रकोप,केही अप्रिय घटना,लडाईं आदी भएमा एउटा सबैले देख्न मिल्ने“आइएम सेफ” भन्ने ठाउॅंमा गएर म चाहीं सेफ वा सुरक्षित छु है लेख्न मिल्छ।त्यहां धेरै फेसबुकका साथीहरू आफु सुरक्षित छु भनेर लेख्नु भएको रहेछ।

धेरै समयसम्म फोनमा घरका कसै सॅंग कुरा हुन सकेको थिएन।तर उठाई पो हाल्छन की भनेर दिनभर दुबै घरको फोनमा बेला बेलामा फोन गरिरहें।ठूलो भुईंचालो पछि दिनभरी नै स-साना धेरै परकम्प आई रहेको रहेछ।जसलाई जनबोलीक भाषामा भुईंचालो फर्कने पनि भन्छन।राती पनि धेरै आउन सक्ला र भाग्न सकिन्न भनेर घरको अगाडी चोकमा सुरक्षितसुत्ने/ खाने मिलाउन सामानहरू लिन मम्मी घर भित्र आउनु भएको रहेछ।ठ्याक्कै तेही बेला मैले फोन गर्दा उठाउनु भयो।कस्तो खुशी लाग्यो,तरक्क आंशु नै झर्यो आवाज सुन्दा। “नानी,हामी सुरक्षित बसेका छौं,ड्याडी पनि सोलुमा सुरक्षित हुनुहुन्छ,पिर नगर,दिनभरी नै भुईंचालो गई नै रहेको छ,अहिले डर छ घर भित्र बस्न,सामान निकाल्न मात्र आएको,कसैको मोबाइलबाट मिलाएर कल गर्छु भन्नु भयो।” जे होस् ड्याडी पनि सुरक्षित सुन्दा ढुक्क भयो।

बेलुका सम्ममा बुबा मुमा सॅंग पनि कुरा भयो।अन्य आफन्तहरू पनि धेरै जना सुरक्षित रहेको खबर पाईयो।एक जना भिनाजुको चाहीं पर्खाल लडेर खुट्टा भांचिएछ।जहिले भुईंचालो जांदा सबै भन्दा पिर असनमा घर हुने सानो मुमाको हुन्थ्यो।दिदीबहिनी मम्मीहरू सॅंधै पिर मान्ने ६-७ तल्ले घरबाट कसरी भाग्छौ भनेर।उॅंहाहरू पनि सुरक्षित टुडिंखेलमा बस्नु भएकोरहेछअझ पतंजलि संस्थाले बांडेको निशुल्क खाना खान र उनीहरूले बनाएको पालमा सुरक्षित बस्न पनि पाउनु भएछ।( त्यसदिन देखि टुडिंखेलमा १५ दिनको योगा शिविर संचालन गर्न भनेर भारतबाट योगा गुरू रामदेव आउनु भएको थियो।भुईंचालोले योगा शिविर त संचालन भएन ।तर उॅंहाको पतंजलि संस्थाले भुईंचालो गएको बेला निशुल्क खाना,पानी,त्रिपाल,औषधी आदी बितरण गरेर निकै सहयोग गरेको थियो।आपतको बेला तेत्रो सहयोग दिएकोमा धन्यवाद भन्नैपर्छ।)

भुईंचालो जांदा कतै कतै जमीनहरू पनि फाटिन्छ।ओहो, नेपालको एकमात्र अन्तराष्ट्रिय एयरपोर्ट, कतै त्यता क्षति त भएन ? केही भएमा त बाहिर बाट कसरी सहयोग पुर्याउने नेपाललाई भन्ने लागेको थियो।धन्न तेत्रो भुईंचालोमा एयरपोर्टजोगिएछ।धमाधम बिभिन्न देशले बिदेशबाट नेपालमा औषधी, खानेकुरा,पानी,त्रिपाल आदी सहयोग पठाउन थालिसकेका रहेछन्।

अझ त्यति ठुलो भुईंचालो जादां मैले सोचे जस्तो पुरै काठमाडौंका घर भत्किएका त रहेनछन्।कति घरका भित्ता र केही भाग चाहीं भत्किएछ।भक्तपुर,सांखुतिरका पुराना माटोले बनेका घरहरू पुरै भत्किएछन्।धरहरा, हनुमानढोका दरवार,काष्ठमण्डप,रानीपोखरी,केही मन्दिरहरू र अरू नयां,अलिक कच्चा तरीकाले, मापदण्ड
नपुर्याइ बनेका अग्ला घरभत्किएछन्।

बिहान ४ बजे देखि उठेको म,दिनभरी नै फोन, फेसबुक, मेसेन्जर,टि.भी, युट्युब,अनलाइन पत्रिका आदीमा नेपालको भुईंचालोको खबर हेरेर, बुझेर, तड्पेर नै बित्यो।म मात्र हैन,संसारभर छरिएका नेपाली,नेपाललाई माया गर्ने,चिन्ने,सबैको हालत तेस्तै नै भएको थियो।सबैजना सहयोग जुटाउनतिर लागे।कोही आफै नेपालमा पुगेर सहयोग गर्न जाने तयारी गर्न लागे।त्यो बैशाख १२ को भुईंचालोले संसारभरका सबैलाई हल्लायो।तेत्रो धन,जनको क्षतिले त्यस दिनपछि धेरै समय सबै नेपालीलाई तड्पाई र रूवाई रहयो।

अन्त्यमा,वीर नेपाली हामी लड्दै,उठ्दै गर्छौं।ढलेको धरहरा ठडियो।रानी पोखरीमा पानी भरियो।काष्ठमण्डप, हनुमानढोका दरवार बन्दैछन्।भत्किएका एक एक घर,बस्ति बन्दैछन्।आशा छ छिट्टै उठ्छौं हामी ।

 

-शशी के.सी

 

 

 

 

 

प्रतिक्रिया