शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ०१:४१
वासिङटन डिसी 15:56

व्यङ्ग्य कविता: पिर्के सलाम

- अर्जुन राज पन्त बाग्लुङ मुलपानी २०७८ वैशाख ५ गते २०:२५ मा प्रकाशित

ठडिए ती हात मात्रै ठडिएन शीर!
सलामीका नाममा जात्रा हरे सबै तिर!

हेर्दा हेर्दै सलामी नि आए कस्ता- कस्ता!
पिर्के ठेउके टेबुले भए अती सश्ता!

भट्टी होस कि गाउँबस्ती जहाँ तँही आज
ठाउँ न कुठाउँ सलामी छ छैन कतै लाज!

चार बित्ताको रातो टालो खुट्टा मुनि हाल्यो
बेढङ्गले जात्रा गर्दे अनि हात उचाल्यो!

चार ओटा पुलीस हिँडे कतै ड्युटी गर्न जान
ओच्छ्याई हाल्छन् रातो टालो त्यँही सलाम खान!

सलाम हो कि लाखे नाँच बिचित्रै पो भा ‘छ!
ठेउका चढ्दा नपुगेर टेबुल माथि गा’ छ!

देखिन्न त भऱ्याङ कतै क्यारी त्यहाँ चढे
हनुमानले उचाले कि आफैं अघि बढे?

अजङ्गको तिम्रो शरीर चढ्दा टेबुल माथि
कोल्टिएर पल्टिएला गर्दा नाना भाँती

ज्यानको डर त मान गाँठे धराप माथि चढ्दा
अङ्गभङ्ग होला फेरि त्यहाँबाट लड्दा

सलामीमा हात उठाउँन दुवै गोडा जोड्दा
एउटा गोडा टेबुल माथि अर्कोले ठाउँ छोड्दा

ढुन्मुनिएर खासौला नि कुकुरमुन्टी गर्दै
लगाएर ठाडा खुट्टा टेबुल मुनि पर्दै

सलामीको रहर गर्दै जे भेटे नि चढ्दा
गर्न पर्ला उप चुनाब तिमी त्यहाँ लड्दा!

दूरदराजका गाउँमा जाउला टेबुल कहाँ पाउला
नभेटेर हनुमानले डोको लिई आउला

नचढ्नु है डोका माथि टेबुल चढे सरि
अरु भन्दा माथि भइ सलाम खाने गरि

मक्किएको बाँसको डोको कच्याक कुच्चुक पर्ला
सलाम खाने रहर फेरि डोका भित्र झर्ला!

खोजी कतै अर्को डोको त्यो डोकोलाई फालि
बोकाएरै ल्याउनु पर्ला डोकै भित्र हालि

नचढ भो डोका टेबुल चढ पिर्का मात्र
सलाम खान हत्य गर्ने अनिकाले पात्र

ज्यानै माथि जोखिम पर्दा लाजै मान्छौ किन?
जहाँ जाँदा नि सँग सँगै पिर्का बोकी हिँड!

– अर्जुन राज पन्त बाग्लुङ मुलपानी
( व्यङय कवि पहिलो व्यङ्ग्यकाब्य ‘कोइली’ का लेखक समेत हुन )

प्रतिक्रिया