अपत्यारिलो रक्तदान : अर्जुन मैनाली

इनेप्लिज २०७८ वैशाख ३ गते २१:४२ मा प्रकाशित

 

आजकाल साथीहरुले परिचय गराउनु पर्दा मलाई ‘ही इज द ब्लड डोनर’ भन्छन।त्यो सुन्दा मलाई धेरै खुशी लाग्छ।मेरो बच्चाहरुको नसामा मेरो रगत बगी रहेका छन।विश्वभरिमा मैले दान गरेको रगतबाट बाच्ने ति सबै मेरै परिवारका सदस्य जस्तै लाग्छ।किन नलाग्नु र! सन १९८७ देखी अहिलेसम्म ६ वटै महादेशका १७ देशहरुमा १९५ पटक रगत दान गरी सकेछु।’९७.५ लिटर !’,यती परीमाणबाट ५८५ जनासम्मलाई बचाउन सहयोग हुन्छ।केहीलाई भए पनि मेरो आफ्नै रगत दीइ बचाउँ,केहीलाई रक्तदान गर्न हौषला प्रदान गरुँ भन्ने भावनाले पटक पटक संसारका कुना काप्चामा पुगेर रक्तदान गर्ने गरेको छु।

बिरामीहरुलाई रगत दिएर बचाउनु एक सामान्य चिकित्सा उपचार हो।यस्तो भएता पनी धेरै बिरामीहरुले समयमा नै रगत नपाएर जीवन गुमाउने गरेका हामीले सुन्दै आएका छौं।करीब ३३ बर्ष अगाडि म रक्तसन्चार सेवा केन्द्र,काठमाण्डौमा गएको थिएँ।त्यहाँ श्रीमतीको उपचारको गर्न दुई पोका रगत लिन श्रीमान आएका थिय।रक्त सन्चार सेवामा पर्याप्त रगत थियन।त्यहाँका कर्मचारीले ति श्रीमानलाई श्रीमती बचाउन आँफै नै रगत दिनु न भन्दा कमजोरी पो भईने हो कि भन्ने डरले रगत दिएनन।त्यस्तो स्थिती देखेपछी मैले रगत जरुरी पर्नेहरुका लागि नियमित रुपमा रक्तदान गर्छु भन्ने प्रण गरेँ।रक्तदान गर्दा कमजोरी भईन्छ भन्नेहरुका लागि रक्तदान गरेर कमजोरी हुँदैन भनेर बुझाउन प्रयास गरेँ।रक्तदान कार्यक्रमहरु सन्चालन गरेँ।सन १९९०मा रक्तदान गरेको १ घण्टा पछी कम्तिमा बर्षको एक पटक रक्तदान गरौ भन्ने नारा लिएर नेपाल अधिराज्यब्यापी ३१ दिनसम्म लगातार बाइसाइकल यात्रा गरेँ।रक्तदान गर्ने र रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाहरुको सामुहिक प्रयासमा ब्लड डोनर्स एसोसिएसन नेपाल संस्था गठन गर्यौँ।म संस्थापक सदस्य थिएँ।पछी अमेरिकि नेपाली समुदायमा रक्तदानलाई स्थायित्व प्रदान गर्न ब्लड डोनर्स अफ अमेरिका र अन्य देशका नेपाली रक्तदाता समेट्दै इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स संस्था बनाएँ।यसरी स्थानिय देखी राष्ट्रिय अनी अन्तराष्ट्रिय सम्म परीणाम मुखी काम गर्न सकेकोमा धेरै धेरै खुशी लागेको छ।

 

रक्तदानप्रती उत्प्रेरणा जगाउने अभियान छोटै समयमा स्थापित भैसकेको छ।छरछिमेक तथा टोल र बिभिन्न संघसंस्थाका मानिसहरु मेरो नामलाई रक्तदानको पर्यायवाची अर्थ्याउन थालेका छन।दुःख आखिर कहाँ छैन र ? ठाउँ,परिवेश,घट्नाक्रमले मानवजातिलाई ल्याउने फरक, फरक खालका दुःखहरु धेरै रहेछन। जुन २०१६ मा अफ्रिकाको मलावी देशमा खाध्य संकट भएपछी आपतकाल घोषणा गरिएको सामाचार सुनेको थिएँ।अझ धेरै कुरा थाहा पाउन गुगलमा सर्च गरेँ। अर्को कुरा थाहा भयो,अफ्रिका महादेशका धेरै जसो बिरामीहरुले चाहिएको बेलामा रगत पाउदा रहेनछन।त्यसैले त्यहाँका युवाहरुमा कम्तिमा बर्षको एक पटक रक्तदान संस्कृति बसाउन प्रयास गर्न मन लाग्यो।न्यू योर्कमा रहेको बिमा कम्पनिमा मेरो सानो जागिर थियो।न्यूयोर्कबाट अफ्रिकाका देशहरुमा जान हवाइजहाजबाट नै पन्ध्र बिस घण्टा लाग्दो रहेछ।मेरो लागि टिकट पनि धेरै महँगो थियो।यसो सम्झेँ,रगत नै नपाएर बिचरी गर्भवती र सुत्केरी महिलाहरुले जीवन गुमाउनु भनेको म जस्तो रक्तदाताको लागि साह्रै लाजमर्दो कुरा थियो।गर्भवती महिलाहरुलाई गाह्रो परिस्थितीमा आफ्नो रगत नै दिएर बचाउने कोही रहेछन भन्ने विश्वाश दिलाउनु थियो।यही भावनाले नै मलाई अफ्रिकामै जाउँ जाउँ लागि रह्यो।आफू काम गर्ने संस्था सँग पैसा ऋण लिएरै भए पनि त्यहाँ गएँ,उपस्थित ३ दर्जन स्वयमसेवी,रक्तदाताका सामुन्ने रक्तदान गरेँ।रक्तदानका आफ्ना अनुभव सुनाएँ।रक्तदान कार्यक्रम गर्न १ हजार डलर सहयोग गरेँ।त्यसपछी, युगाण्डामा रक्तदान गरेँ।इथियोपियामा रक्तदान गरेँ।जुन १२,२०१९ का दिन,मैले रुवान्डाको किगाली अन्तरराष्ट्रिय बिमानस्थलबाट सिधै रक्तसन्चार सेवा केन्द्रमा गएर रक्तदान गरेँ।जुन १३ र १४ मा त्यहा विश्व स्वास्थ्य संगठनको विश्व रक्तदाता दिवस २०१९ लाई सम्बोधन गरेँ।त्यहा रक्तदान उत्प्रेरणाका कार्यपत्र पनि प्रस्तुत गरेँ। १५ देशका २५० जना बिशिष्ट महानुभावहरुको उपस्थित थियो।

संसारकै गरीब तथा जातिय हिंसाका कारण धेरैले जीवन गुमाएको देश डेमोक्र्याटिक रिपब्लिक कङ्गोमा गएर रक्तदान गर्न जुलाई २६,२०१९ मा कङ्गोको न्यूयोर्क स्थित कन्सुलेट कार्यालयमा भिषाको लागि निबेदन गरेँ।तर भिषा पाइनँ।त्यसपछी केन्या गएँ।केन्यामा सेप्टेम्बर ११, २०१९मा बिशाल जनसहभागीता बिच रक्तदान गरेँ।रक्तदान कार्यक्रममा स्वास्थ्य मन्त्रीको उपस्थिती थियो।सम्बोधनको क्रममा मन्त्रिले रक्तदाता अर्जुन मैनालीको उपस्थिती र रक्तदानले हाम्रा जनतामा रक्तदान गर्न उत्प्रेरणा हुन्छ भन्दा धेरै आनन्द आयो।खुशी लाग्यो।आफुले पाएको सबै दु:ख बिर्सेँ।रक्तदान अभियान अन्तरगत आयरल्याण्ड जानेबेला, ‘राउण्ड ट्रिप टिकट,होटलको बसाइ,आदी गरेर एक महिनाको तलब पुरै खर्च हुने बजेट बन्यो।धेरै बेर लगाएर सोचेँ,यत्रो खर्च र दु:ख गरेर आयरल्याण्डमा गएर रक्तदान गर्न कती उचित होला ?’ सम्झेको थिएँ।एन आर एन आयरल्याण्डका अध्यक्षले ‘अहिले जाडोको मौसम भएकाले रक्तदान गर्न साथीहरुले खासै इच्छा राखेनन’ भन्नुभयो।म झन दृढ भएँ।त्यहाँ गएर उपस्थित १९ जना अगाडि म एक्लैले रक्तदान गरेँ।यसरी म जुन ठाउँमा रक्तदान गर्न भनेर गएँ,पुग्नासाथ रक्तदान गर्थेँ, रक्तदान उत्प्रेरणा गर्थेँ,त्यसपछी तुरुन्तै घर फर्कन्थेँ।

रक्तदानको सिलसिलामा रमाईला क्षणहरु अक्सर आईरहन्छन्।संसारभरी बिभिन्न नेपाली संघ संस्थाहरुले समेत रक्तदानका कार्यक्रम आयोजना गर्न थालेका छन।कतिपय सम्भावित रक्तदाता र ब्लड डोनर सेन्टर बीच एक पुल बन्ने मेरो कोशिस सफल भएको अनुभव भएको छ।आज यहाँसम्म आईपुग्दा नेपाली समुदायमा रक्तदानलाई पुण्यकर्मको रुपमा लिन थालेका छन्।मेरो फेसबुकका साथीहरुलाई जन्मदिनको दिन शुभकामना दिदै अर्को बर्षको जन्मदिन रक्तदान गरेर मनाउन अनुरोध गर्ने गरेको छु।अहिले जन्मदिनको अवसरमा रगत दान गर्नेहरुमा मनग्य भेटिन थालेका छन् । यो सबै देख्दा मनैदेखि खुसी हुन्छु।

मैले अरुको दु:खमा मात्रै होइन आफ्नै दु:खमा पनि रक्तदान गरेको छु।सन २०१८ मार्चको दोश्रो हप्तातिर काठमाण्डौबाट मेरा आफन्तले ‘अर्जुन बाबु, बुवा सिकिस्त बिरामी हुनुहुन्छ,नआत्तिनु,उपचार गर्न हामी अस्पातल लैजाउला’ ईमेल लेख्नु भयो।त्यतिखेर मेरो देब्रे मृगौलामा रहेको पत्थरी झिक्नको लागि न्यूयोर्कमा डाक्टर सँग सल्लाह गर्दै थिएँ।तत्कालै मलाई काठमाण्डौ नगै नहुने अवस्था आयो।केही समय कुरेर मृगौलाको शल्यकृया गरौ भने बुवाको स्वास्थ्य तल माथि भाईहाल्यो भने भेट्नै नपाईने हो कि भन्ने चिन्ता एकातिर थियो।अर्कोतिर शल्यकृया नगरी हिडौ भने कतै हवाइजहाजमा उडेकै बखत मृगौला दुखेर थचक्क भईन्छ कि भन्ने डर पनि उत्तिकै थियो।तर बुवाको जीवन भन्दा ठुलो केही होइन भन्ने सम्झे।काठमाण्डौ गएँ।बुवाको बायोप्सी परिक्षण गर्दा चिकित्सकले फोक्सो बिगारेका कारण ६ हप्तासम्म अक्सिजन दिनु परेको थियो।त्यसपछी बल्ल क्यान्सरको औषधी किमोथेरापी सुरु गर्यौ।बुवाले एकबर्ष जति नयाँ जीवन पाउन सक्ने सम्भावना छ भने डाक्टरहरुले।यसैबिच, २०१८ मे २६ मा एनआरएन थाइल्याण्डले रक्तदान कार्यक्रम राखे।त्यहा २०१४ अप्रिल २८ देखी रक्तदान कार्यक्रम गराउन पहल गर्दै आएको थिएँ।उनिहरुलाई हौषला प्रदान गर्न मे ८ मा थाइल्याण्डमा गएर रक्तदान गरेँ।त्यसपछी म न्यू योर्क फर्केँ।

आठ महिनापछी डाक्टरले बुवालाई किमोथेरापी दिन छोडि सकेका थिए।नदुख्ने औषधीमात्र दिएका थिए।डाक्टरले फोनमा मलाई ‘बुवा धेरै गलीसक्नु भएको छ’ भनेका थिए । मार्च २०१९ को अन्तिम सातामा करिव तीन महिना जति बुवासँगै बस्छु भन्ने मनसायले जागिरमा अप्रिल १ देखि लागू हुने गरी बेतलबी छुट्टी मिलाएँ। साथी विश्वराज बास्तोला सँग केही पैसा सापटी गरेर न्यूयोर्कदेखि काठमाडौंको एकतर्फी जवाइजहाजको टिकट लिएँ।मेसेन्जरबाट फोन गरेर बुवालाई भनें; ‘अप्रिल २ मा काठमाडौं आई पुग्दै छु बुवा’।बुवालाई भिडियो कलमा हेरें,वाक्य अड्किएर धेरै बोल्नै सकिनँ।बुवासँग मेरो हरेक दिन जसो भिडियो कल हुन्थ्यो। बुवाले ‘बावु अहिले आउनु पर्दैन,अमेरिकाको भिषा लाग्नासाथ म त्यतै आईहाल्छु,पैसा नभएको बेलामा किन बढी खर्च गर्छस !’ भन्नु भयो।घरका अरु सदस्यहरुले, आफन्तहरुले पनि बुवासँग केही महिना समय छ भन्ने अनुमान गरेका थिए।तर बुवाले एप्रिल १ तारिख बिहानै करिव ४ बजे तिर हामी सबैलाई छोडेर जानु भयो। बहिनीले “अब बुवा रहनु भएन” भनी।मेरो भक्कानो फुट्यो।त्यो दिन पापमोचिनी एकादशी रहेछ।बुवाले एक दिन बढी पर्खिनु भएन।बुवाको अन्तिम समयमा बुवासँग “हजुरको कारणले यस धर्तिमा जन्मिएँ,मलाई राम्रो सँग हुर्काउनु भयो,स्याहार सुसार गर्नु भयो,म हजुरप्रती कृतज्ञ छु” भन्दै बुवाको दुखेका खुट्टा सम्सुमाउने इच्छा थियो,पुरा हुन पाएन।आँसु धेरै बगेकोले आँखाका डिल सुन्निएर आँखा पुरिन लागेका जस्ता भएछन्।लामो लामो सास फेरिदैं घुक्क घुक्क हुँदो रहेछ।यसरी रुनु हुँदैन भन्ने थियो,तर पनि अन्तर्मनदेखि आएकोले रोक्न सकिएन।मलाई सान्त्वना दिन केहीबेरमै धेरै साथीभाइ उपस्थित भए।साथीहरुको समवेदनाले निक्कै सजिलो भयो।संसारमा सबै थोक नासवान छ भन्ने सत्य कुरालाई हृदयगम गरेँ।यही कुरामा चित्त बुझाएँ।नेपालमा आफन्तहरुसँग ‘अब मलाई नपर्खिनु, बुवाको राम्रोसँग दाह संस्कार गरिदिनु,दागबत्ती दिन भाई छँदै छ’ भनेँ।भाई पनि दुई हप्ता अगाडिमात्रै कोलोराडोबाट नेपाल गएको थियो।बुवा हुँदा धेरै ठुलो भरोसा हुन्थ्यो।केही पर्दा बुवाले साथ दिनु हुन्थ्यो।ठीक सल्लाह दिनु हुन्थ्यो।मलाई रक्तदानमा पनि हौसला दिईरहनु हुन्थ्यो।

यस्तै यस्तै सम्झनाले न्यूयोर्कदेखि काठमाण्डौको यात्रा सकिएको पत्तै भएन । एअरपोर्टमा बहिनी, फुपू, मितज्यु र साथीहरु आएका रहेछन । मलाई सिधै किरिया घर लिएर गए । त्यहाँ भेट्न आउनेहरुको घुँइचो थियो।सबैले ‘तपाइको बुवा ठुलो हृदय भएको असल ब्यक्ती हुनुहुन्थ्यो’ भन्दै बुवाले समाजमा पुर्याएका योगदानका बारेमा कुरा गर्दथे ।बाह्र तेह्र दिनसम्म कृयापुत्री घरमा आफन्त, शुभचिन्तक, फुपू, तेह्र दिने दाजुभाइ, तिनका दुलहीहरुले राम्रोसँग सघाए । बुवाको काजकृया पनि राम्रोसँग गर्यौँ । आमा र भाईहरु अलिक धार्मिक छन् । उनिहरुलाई यस्तै रितिरिवाज हुन्छ भन्ने ज्ञान रहेछ । तर बहिनीले आफुलाई धेरै दिनसम्म सम्हान सकिनन् । बहिनिले मलाई ‘दाइ बुवा एकछिन बाहिर कतै जानु भएको छ, अहिले एकछिनमा आउनुहुन्छ जस्तो लागिरहन्छ, भन्थिन । यसरी सत्र अठार दिनको एकदमै दु:खद दिन बिताएँ।अमेरिका फर्किन म सँग चाहिने जति खर्च थिएन।बहिनीले सहयोग गरी । १८ तारिख न्यूयोर्क फर्किने टिकट बनाएँ। अमेरिका फर्किने दिन ए बि सि टेलिभिजनकी सन्तोषी अधिकारीले देशवासीहरुमा रक्तदान गर्न उत्प्रेरणा हुने खालको अन्तरवार्ता लिइन।मैले आफुले गरेका कामहरुका बारेमा जानकारी गराएँ।

न्यूयोर्क फर्केर एक दिन आराम गरेपछि अप्रिल २० मा क्यानडा गएँ । त्यहाँ पनि नेपालीहरु साथ रक्तदान गरेँ । उपस्थित भएकाहरुमा हौसला प्रदान गरेँ । बुवाको बियोगको दु:खका समयमा पनि रक्तदान कृयाकलापलाई रोक्न सकिनँ । जति धेरै रगत दान गर्‍यो त्यति धेरैले पुन: नयाँ जीवन पाउँछन् भन्ने मलाई लागि रहन्थ्यो । यही भावनाले मलाई सधैं रक्तदान गर्न प्रेरित गरिरहन्छ ।

यो कोरोना महामारिको सुरुवाती दिनहरुमा हाम्रो परिवार अत्यन्तै त्रसित थियो।हाम्रै आँखा अगाडि लाखौँ मानिस बिरामी भएका थिय।हजारौँले जीवन गुमाईसकेका छन।त्यस्तो बिचमा हामी छौं।हामी कुनै पनि बेला संक्रमित हुन सक्छौँ कि वा यो जीवन पनि गुम्छ कि भन्ने त्रासले जतिबेलै सताइरहेको थियो। रोगको समाचारबाट घरका परिवार नडराउन भनेर हामी रेडियो, टिभि एकदमै कम हेर्थ्यौं।बरु बिहान हरेक दिन पुजा गर्थ्यौं, एकसाथ।भान्छामा सबैजना हुँदा खाना पकाउनेमात्र होइन,हामीमा त्रास पनि कम हुन्थ्यो।परिवारका सबै सदस्य सङै बसेर यि काम गर्दा वास्तवमा कोरोना के भईरहेको छ भन्ने उती चासो पनि हुँदैनथ्यो।यो महामारिको कारणले धेरै ब्लड बैँकका पुर्व निर्धारित रक्तदान कार्यक्रमहरु रद्द भए । रगतको आपुर्ती घट्यो । अस्पातलमा बिरामीहरुले रगत पाउन सकेनन।यस्तै बिचमा न्यूयोर्क ब्लड सेन्टरले बिरामीहरुको लागि रगत र रक्त तत्व एकदमै कम छ भन्दै मलाई ईमेल पठाइ रहे।उनिहरुले सामाजिक दुरी राख्दै मुख र नाकमा मास्क लगाएर सुरक्षित तरिकाले रक्तदान गर्न सकिन्छ भन्न थाले । अमेरिकन रेडक्रस रक्त सेवाले पनि त्यस्तै भने।

मलाई पनि यस्तै महामारीको बेलामा झन बढी रक्तदान गर्नु पर्छ भन्ने लाग्यो । त्यसैले अप्रिल २४ मा रक्तदान गरेँ । घर फर्केपछी आज मैले रक्तदान गरेँ नि श्रीमतीलाई भनेँ । समुदायका मानिसहरुलाई पनि रक्तदान गर्न हौसला होस भनेर सामाजिक सन्जालमा रक्तदान गर्दै गर्दाको फोटो राखेँ । ईमेल लेखेँ । श्रीमती डराउदै, बाहिरको एकजना बिरामी बच्चाउन घरका चारैजना मार्ने भन्दै गाली गर्न थालिन । मैले सम्झाउदै रक्तदान गर्दैमा कोरोना सर्दैन भनेर बुझाउन प्रयास गरेँ । टेमिभिजनका समाचारमा दैनिक हजारौ जनाले जीवन गुमाएको समाचारहरु आई रहेका थिय । के कारणले यो रोग यती चाडैँ फैलिन्छ भन्ने कसैलाई पनि थाहा थियन । त्यसैले श्रीमतीले मेरो कुरा सुन्ने प्रयत्न नै गरिनन । त्यसपछी हरेक दुई तीन हप्तामा ब्लड बैँकमा गएर प्लेटलेटस दान गर्न थालेँ । तर श्रीमतीलाई भनिनँ ।

यो कोरोनाको अबधिमा बिभिन्न ८ वटा नेपाली संघसंस्थाले न्यू योर्कमा रक्तदान कार्यक्रम राखे । करीब ६०० जना नेपालीहरुले रक्तदान गरे । रक्तदान गर्ने धेरैजसोले रक्तदान गरेका फोटोहरु सामाजिक सन्जालमा राखे । रक्तदान गर्दैमा कोरोना लाग्दो रहेनछ भन्ने श्रीमतीलाई महसुस भएको जस्तो लाग्यो । मैले पनि पछीका दिनहरुमा खुसुखुसु ब्लड बैँक जादै रक्तदान गरेका धेरै फोटोहरु सामाजिक सन्जालमा एकमुष्ट ६ वटा राखेँ । श्रीमती छक्क परीन ।

कोरोनो महामारिकै बिच काठमाण्डौका अस्पातलका बिरामीहरुलाई रगत उपलब्ध गराइ राख्न ब्लड डोनर्स एसोसिएसन नेपालले हरेक दिन रक्तदान कार्यक्रम राखेको थियो । मैले पनि रक्तदान कार्यक्रममा आबश्यक खर्चको लागि ५० हजार रुपैया सहयोग पठाएँ । तीन महिनाको अबधिमा १०० वटा रक्तदान कार्यक्रम गर्दा ६,२७२ युनिट रगत सन्कलन भएछ । यसै गरी रक्तदान कार्यक्रम गरी रहनु भनेर फेरी २५ हजार थप सहयोग पठाएँ । नेपालमा कोरोना महामारिको समयमा रक्तदान कार्यक्रम राख्न समन्वय गर्ने सकृय रक्तदाता अनिल रत्न तुलाधरलाई सम्माननीय उपराष्ट्रपती नन्द बहादुर पुनको बाहुलिबाट ५० हजार नगद सहित वर्ल्ड ब्लड डोनर ह्युमानिटेरिएन अवार्डबाट सम्मान गरेँ । वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली संस्थाको अध्यक्षका हैसियतले समाजमा राम्रा काम गर्नेलाई सहयोग र सम्मान गर्न पाउनु पनि मेरोलागी ठुलै अबसर थियो ।

कोरोना महामारिमा रक्तदान गर्नु हुँदैन, रक्तदान गर्दा शरीरको प्रतिरक्षा प्रणालि कम हुन जान्छ भन्ने धेरैमा भ्रम थियो । अझ धेरै मानिसहरु डराएर घरमै बसेको अवस्था पनि थियो । यस्तै कारणले रगत सन्कलनमा कमी आएको थियो । बिरामीहरु बचाउन यस्तै गाह्रो परिस्थितीमा झन बढी रक्तदान गर्नु पर्छ भन्ने लाग्यो । अप्रिल २४, २०२० देखी जनवरी १२, २०२१ को बिच मैले २३ पटक रगत र प्लेट्लेट्स दान गरेछु । यो ९ महिनाको अबधिमा ११ लिटर दान गरेछु । यो सामान्य रक्तदानमात्रै थियन । एक किसिमको असाधारण कार्य थियो । मेरो आफ्नै रगतले धेरै जनालाई बचाउन सहयोग मिल्यो ।

जनवरी १३, २०२१ मा न्यू योर्क ब्लड डोनर सेन्टरकी निर्देशक डेब्रा केस्स्लेरले मलाई एउटा चिट्ठी पठाइन । चिट्ठीमा अमेरिकाको खाद्य र औषधि प्रशासनद्वारा स्थापित नियमअनुसार सेन्टरले मेरा हरेक रगत र प्लेट्लेट्स दानलाई अनुगमन गरिरहेको कुरा लिखिएको थियो । उनले एक वर्षको अवधिमा आफ्नो शरीरबाट निकाल्न मिल्ने जति परिमाण आठ महिनाकै अवधिमा निकालिकाले अब करीब ६ महिना पछीमात्र रक्तदान गर्न मिल्ने बताएकी थीइन ।

जनवरी २६, २०२१मा न्यूयोर्क ब्लड सेन्टरका अध्यक्ष डा क्रिष्टोफर हिल्लिएरले ईमेल लेख्दै ‘समुदाय र मानवतामा वास्तवमा तपाईंको अविश्वसनीय र वीर सेवाको योगदानको लागि प्रेसिडेन्ट अवार्ड प्रदान गरेका छौँ’ भने । उनले ‘कोभिडको समयमा रगत सन्कलनमा धेरै चुनौती थियो, हामीलाई ठुलो चिन्ता लागेको थियो । तपाईंका रगत र प्लेट्लेट्स दानले हाम्रो समुदायको हित र सुरक्षाको लागि अविश्वासनिय रुपमा मह्त्वपूर्ण रह्यो । म त्यक्तिगतरुपमा धन्यवाद दिन्छु’ भनेका थिय ।

फेब्रुअरी ६, २०२१मा न्यूयोर्क ब्लड सेन्टरले फेसबुक पेजमा ‘मैनाली रक्तदान नै गर्न अमेरिकाबाट युरोप जान्छन, रगत दिएर त्यही दिन नै फर्किन्छन । नोभेम्बर २४, २०२०मा करीब १२ बजेतिर मैनाली प्लेट्लेट्स दान गर्दै थिय । त्यती खेर नै कुनै ३० बर्षिय बिरामीलाई अर्जुनको प्लेट्लेट्सको एचएलए मिल्ने भएकाले दान गर्न सक्छन कि भनेर फोन आएको रहेछ । कस्तो संयोग हो! सबै नर्सहरु चकित भए । अर्जुनका प्लेट्लेट्सहरु बिरामी बचाउन तुरुन्तै काम लाग्ने भयो ।’ लेखेका रहेछन ।

रक्तदान मेरो नशा भएको छ् । एकोहोरो लागिरहेको छु।कती धेरै उकाली ओराली र घुम्ती पार गरियो एकिन छैन तर आज यस बिन्दुमा आईपुगेको छु । मलाई अरुको जीवन बचाउनका लागि रक्तदान गर्नमै सन्तुष्टी मिल्छ।

 

Dear Mr. Mainali,

On behalf of New York Blood Center, myself as President and CEO, Elizabeth McQuail, Executive Vice President and Chief Operating Officer, and Robert Purvis, Executive Vice President and Chief of Staff, I am writing to thank you most sincerely, and with the greatest respect,for your blood and platelet donations, and, and we hope it meets with your approval, to present you with a President’s Award in recognition of your incredible and truly heroic service and contributions to our communities and to humanity.

As you know, blood collection during Covid has been a real challenge in many ways and caused real concerns. Your donations have been, are, and always will be incredibly important to the wellbeing, safety and security of our communities. Perhaps in the post-Covid world, whenever it exists, we can meet and I can extend my thanks in person. And perhaps too, we can reminisce about Rwanda. I have been to Kigali several times as part of their effort to set up a sustainable blood system; a unique and remarkable place.

We will be sending your Award to your home, a photo of which is attached. Congratulations and thank you. I do look forward to meeting you in person and hope, in the meantime, you and your family are safe and well.

Chris

Christopher D. Hillyer, MD

President and CEO, New York Blood Center, and

Professor, Department of Medicine, Weill Cornell Medical College,

New York, New York

 

प्रतिक्रिया