कथा : “बद्लिएको साल”

दीपक पन्त २०७७ चैत ३१ गते २१:३८ मा प्रकाशित

बसन्तको आगमनको निम्तो आइ सकेको थियो । लामो हेमन्त र शरदको कठोर प्रहारबाट गुमाएका आफ्ना गहनाहरु, वर्षाको आगमन सँगै निस्केका पानीका मुहान जस्तै । मौषमी चक्रबाट,उन्मुक्तिका साथ बाहिर निस्कन आतुर थिए । ति पालुवाहरु ।

उजाड सुख्खा हरियाली रहित डाँडाकाँडाहरु विस्तारै बिस्तारै नयाँ पालुवाका साथ काँचुली फेर्ने क्रम शुरु भएको थियो । प्रत्येक बोटविरुवाहरु अमृत पान पश्चात नयाँ दिशा भेटे जस्तै अंकुराउन थालेका थिए । लाग्थ्यो ऊनीहरुको जीवनमा नयाँ जोश, तरङ्ग को बहाव आँउदैछ ।

“डाँडैमा मेला लागेछ ! कान्छीले बोलाइ राखेछ ।।।।।।।।।।” ए ए ~हो ,ल ~ हो । ध्वनीको उन्माद थियो । एक हुल युवायुवतीहरू प्रफुल्ल मुद्रामा उमङ्गका साथ साङ्केतिक माहोल गुञ्जाउँदै उकालो तिर लाग्दै थिए । झरनाको झङ्कार झै घरीघरी हाँसोका पहराहरु छुट्ने गथ्यो।

त्यही उकालोको विसौनी चौतारोको छेवैमा साइला दाइको झुपडी थियो । युवायुवतीहरूका सांगितिक ध्वनिका रागहरुले धेरै बर्ष पछि उसका कानमा अनौठो तरङ्ग उत्पन्न भएको थियो ।
सप्तरङ्गी जीवनका करीव सात दशक जीवन जीइ सकेका साइलादाइ ,जीवनको उत्तरार्धमा नितान्त एक्लो जीवन विताइ रहेका थिए ।

युवायुवतीहरूको आवाज झन् चर्कियो । हेप्पी न्यु एर ! हेप्पी न्यु एर !! हेप्पी न्यु एर !!!

बल्ल साइलाले थाह पायो । नयाँ साल लागेछ । उसले सहजै अनुमान लगायो । केटाकेटीहरु सिमसिमे डाँडामा पिकनिक मनाउन उकालो चढ्दैछन् ।

युवायुवतीहरु आफ्नै धुनमा उकालो चढ्दै थिए । साइलाले झुपडिको आँखी झ्यालबाट चियायो। तल बेसी ( पुतली बजार ) बाट आएका जस्ता देखिन्थे । कसैको हातमा गितार थियो त,कसैको हातमा बेलुनहरु । कसैको क्यामेरा त, कसैको हातमा मादल । कोही खाने कुराहरू बोक्दै थिए । सबैको मुहारमा चमक थियो । नयाँ जोश, जाँगर र रोमन्चकता । लाग्थ्यो, स्वतन्त्र पंछी खुल्ला आकाशमा लक्ष्य विहिन बेगाना हानिरहेछ ।

युवा युवतीहरु आफ्नो यात्रालाइ सांगीतिक माहौल बनाउदै धेरै अगाडि बढि सकेका थिएँ । तर जान अन्जानमा उनीहरुले साइलाको आँखामा सामुन्द्रिक लहर छोडेर गए ।

समाल्दा, समाल्दै आँखाभरी मोतीका विन्दुहरु टल्कन पुग्यो । रोक्दा रोक्दै खस्यो । तप्प ! तप्प !! नचाहदा ,नचाहदै ,भक्कानो छोड्यो साइलाले । धेरै वर्ष पछि खुलेर रोयो । सिरानी सगैकोमुजेत्रोले गाला देखी चिउडो सम्म रसाएका बेदनाका विम्वहरु पुच्छ्यो ।

नयाँ वर्ष , नयाँ साल । हो , साच्ची कै सुन्दर थिए, ती दिनहरु । नयाँ साल ,नया वर्षहरुकोसम्बन्धहरु साइलासँग ।

ऊ, कहिले र काँहा जन्मियो त उसलाइ थाह भएन । तर उसलाइ कर्म दिने घलेबाजेले उसको जन्मबैशाखमा हो ,भन्थ्यो रे । त्यसैले साइलाले आफ्नो जन्मदिन पनि नयाँसाल लाइ नै सम्झने गर्थ्यो।

संयोग नै भन्नु पर्ला नयाँ साल सँग साइलाका जीवनका अनेकौ भोगाइहरुको सामिप्यता रहेको थियो । जस्तो कि नयाँ सालमा सिरसिरे डाँडामा लागेको मेला बाटै टुसाएको मैना सँगको माया पिरती । अर्को नयाँ सालमा विहेमा परिणत भएको थियो । उसको पहिलो सन्तान जीवनको जन्मपनि नयाँ साल अर्थात बैशाख महिनामै भएको थियो । कयौ रमाइला क्षणहरुका गाथाहरु नयाँ सालसगँ कहिल्यै स्मृतिबाट नहराउने गरी गाँसिएका थिएँ ।

समय कति बलबान छ हगि ! साइला मनमनै प्रश्न गर्छ । महिना त्यही हो ,चैत्र पछिको बैशाख ।

नयाँ साल, नयाँ वर्ष । हिजोको आखाँ भरीका खुशीहरु ? आज धुमिल छन् । मात्र स्मरणमा ।जीवन सगिनी मैनाले यस धर्तीबाट बिदा लिएको पनि ४ वर्ष पूरा भइ सक्यो । बुढेसकालको सहारा एकमात्र सन्तान जीवन पनि दुइ दशक पहिला बैदेशिक रोजगारमा होमिए देखी बेखबर छ। निश्प्राण जीवनमा पनि ऋतुहरुले आफ्नो बदल्ने क्रम त जारी नै राख्दा रहेछन् ।

त्यसैले त होला घाम /पानी, झरी /बादल ,गर्मी /चिसो ।

विविध चाहना र सपनाहरु रहेको यो स्वार्थी दुनियाँमा नयाँ वर्ष नयाँ सालका अनेकौ सपनाहरुका बीच साइलाका लोलाएका आखाँहरु केवल धुमिल प्रकाशमा सगैको भित्तामा मात्र केन्द्रित भयो ।

जुरुक्क उठ्न खोज्यो । बृद्ध शरीरले साथ दिएन । सँगैको लाठीको सहाराले अगेनाको कालोअङ्गार निकाल्यो । माटोले लिपिएको आफू सुत्ने भित्तामा त्यहिँ अंगारले जीवनको अर्को वसन्तशुरु भएको चिनो लगायो वर्ष ७१ ।

बृद्द ,रुग्ण शरीर ,थाकेको भारी भन लिएर बाहिर निस्क्यो । अगेनामा फुलेको गुलावको फूलटिप्यो । आफू सुत्ने सिरानीको पत्र उचाल्यो । गुलावका सुकेका फूलहरुका वीचमा मैनाकोतस्विर थियो । मुसुस्क हाँस्यो र म्वाइ खायो । त्यसमा नयाँ फूल थप्यो ।

मनमनै गन्यो । ४० औ वसन्त भएछ । मैनासँग जोडिएका सम्बन्धका दिनहरु । नयाँ वर्ष नयाँ साल जस्तै रमाइला ती दिनहरु । झल्झली आँखा अगाडि ल्यायो । सगै राखेको ऐनामा मैनाको फोटो देखाउदै भन्यो । “हेप्पी न्यू एर, हेम्पी न्यू एर” ।

बस्तु त ऐनामा साइलाका सेता फुलेका केशहरुले गिज्याइ रहेका थिए ।

दीपक पन्त

मिल्वाकी,अमेरिका

प्रतिक्रिया