कथा : “अफ लाइन प्रेम”

दीपक पन्त २०७७ चैत २३ गते २१:३५ मा प्रकाशित

धेरै दिन देखी मन भित्र एक किसिमको अन्तर संवादमा रुमल्लिएको थियो ऊ अर्थात प्रविन शर्माको।त्यो साँझ दिनभरिको अफिसको नियमित कार्य पश्चात बेलैमा घर फर्केको थियो । पारिवारिक खानपान पछि एक छिन नियमित टिभी समाचारमा आँखा लगायो । किन ? किन ? आज त्यति मन रमेन उसको । लगत्तै सुत्न बेड रुम तिर लाग्यो ।

थकित महसुस गरेर सुत्न खोजे पनि सहजै निद्रा देवीले शरण लिईनन् । सिरानीमा राखेको मोबाइल निकाल्यो । सामाजिक संजालमा आखाँ डुलायो । लगत्तै मेसेन्जर खोल्यो । धेरै हरिया बत्तीहरु बीच उसलाई निहाल्यो । भेट्टाउन सकेन ।

त्यसो त केहि महिना देखि उसले खोजेका बत्तीहरु हरिया देखिएका थिएनन् । यदा कदा देखिई हाले पनि उसको आगमन सँगै मुर्जाई हाल्थे । लाग्थो ,उसले उमाक्त हावाहुरी सहित बिषाद बर्षा बोकेर खन्यादिएको थियो । ता कि उसको मेसेन्जर अन संगै कसैको अफ ।

एकाध पटक त उसले संयोगको सहारामा चित्त बुझायो । तर धेरै दिन देखी दोहोरिएको यो प्रकृयालाई अब भने नियत भन्ने बुझि सकेको थियो । जब उत्तर बुझ्यो । मन झन् उद्देलित बनायो । मन भित्र झनै प्रश्नका ज्वारभाटाहरु उठ्न थाले । किन ? कसरी ? के ? आदि इत्यादि !

ऊ र उनी बीचका सम्बन्धका परिभाषाहरु नाप्यो । कुन सम्बन्धको परिभाषामा राख्ने ऊ अल्मलियो । ऊ भनौ वा उनी दुबैसँग दिने र लिने कुनै सम्बन्धका नाम / उपनामहरु बाँकी थिएनन्।

फेरि पनि के सम्बन्धको घागोको टुप्पो खोज्दैछ ऊ ? आफैलाई थाह थिएन । कतै कहिँ सुनेको /पढेको दार्शनिक भनाई मनमा ल्यायो । नाता ,प्रेम र साथीत्व भन्दा नि माथि एक मानबिय सम्बन्ध हुन सक्छ । त्यो बिश्वासको वा रेस्पेक्टको “बेनाम “ सम्बन्ध । यो एक प्रकारको भावनात्मक प्रेम सम्बन्ध नै हो । तर यसमा दिने र लिने केही हुदैन । केवल एक अर्कालाई महशुस गर्ने मात्र हो ।

बहु प्रसिद्द हिन्दी सिनेमा “सोले” मा हेमा उर्फ बसन्ती र बिरु उर्फ धर्मेन्द्रको प्रेम कहानी आवरणमा देखिन्छ । तर संगसंगै जय उर्फ अमिताभ र राधा उर्फ जयाको भावनात्मक प्रेम लाजवाफ रहेको छ ।

हो , उनी अर्थात गंगा पाठक । यहिँ सम्बन्धमा राखेको थियो उनी लाई । नाफा घाटा बिनाको सम्बन्ध ।

केवल म्युचियल रेस्पेक्ट !

उनि चित्रकार थिइन् । ऊ स्तभकार !

दुबै एक अर्कालाई राम्ररी चिन्दैनथे । पेशा गत लगनशिलताले भावानात्मक नजिक भएका थिए। बीचमा थियो । सामाजिक संजाल । ऊ उनका चित्रहरुको खुलेर प्रशंशा गर्थ्यो भने उनी उसको लेखन शैलीको ।

यसका अतिरिक्त कुनै आवाजहरु खर्चिएका थिएनन् उनीहरुले । शायद आवाजको घोलनले कतै कुनै शब्दबाण फुत्केमा भावनाको स्वर्ण बगैचा उजाड हुन्छ कि भन्ने मनो बैज्ञानिक त्रास थियो दुबैमा ।

नबोल्दा नबोल्दै पनि धेरै कुरा बोलिरहेका हुन्थे उनीहरु, आफ्नै मन भित्र । उसले उनका कुरा र उनले उसका कुरा । जब उसको मस्तिष्कमा उनको तस्विर आउथ्यो । ऊ ,उनले कोरेका चित्रहरु माटो लाउँथ्यो । जब उनी उसलाई याद गर्थिन् ।तब उसका सृजनाका कथाहरुमा आफुलाई हराउथिन ।

त्यसो त ऋतु परिवर्तन संगै आउनेचाड पर्वहरुमा पछिल्लो बडा दशैँ पछि शुभकामनाका शब्दहरू पनि खर्चिएका थिएनन् । कारण एउटै थियो जबर्जस्त हिन्दी फिल्म “बीर जारा ” को कहानी जस्तै न त बीर जाराको बारेमा कुनै शब्द खर्च गरि उनको गोपनियता भंग गर्न सक्थे । न त जारा,बीरको मोहब्बत त्याग्न सक्थिन् । तर केही समय देखी सम्बन्धका पर्खालहरुले बाटो अन्तै मोडे जस्तो भयो । ऊ बेखर बन्यो ।

सामाजिक संजाल साथमा भए पनि सहारा बन्न सकेन । कारण किन ? के ? कता? यस्तै प्रश्न प्रति प्रश्न बीच अन्तर संघर्ष चलि रह्यो । लामो कोरोना कहरले थला परिन् कि ? ऊ सोच्थ्यो ? आकल झुक्कल सामाजिक संजालमा देखिने उनको हरियो बत्ति समात्नु बिजुली चम्केको प्रकाशको सहाराले हिड्नु जस्तै भयो । आखिर किन ? अन्तर मन भित्र प्रश्न गर्दा गर्दै सुत्ने कोसिश गर्यो । मेसेन्जर अफ लाइन गर्यो प्रबिनले ।

सन्ध्या अर्थात उसको श्रीमती कुन बेला आएर पलंगको अर्को कुनामा निदाइन् उसले पत्तै पाएन ।

रातको चकमन्न अन्धकार सुनसान मध्यरातमा एक्कासी उसको अफ लाइन मोबाइलमा कल भाइब्रेसन आयो । बल्ल तल्ल लोलाउन लाएका आँखा खुले। हेर्यो गङ्गा कलिङ्ग आई रहेको थियो ।

त्यति बेला सम्म उसको निद्रा पूर्णरुपमा भङ्ग भइ सकेको थियो ।मन भारी बनायो । मुटु धक्क फुल्यो ।

धेरै दिन देखी खोजेका भाकाहरू गुञ्जिरहदा कान कसरी बन्द गरोस् उसले । परिस्थिति बस् केवल टेक्स सम्बाद रिप्लाई गर्यो उसले ।

हजुर ! “क्यान्ट पिक अप नाउँ , इट्स मिड नाइट , वि आर अल अल्मोस्ट सिल्पिंग !”

ओं सरी ! उता बाट बाल कोरियो ।

इस्ट ओ के ! उइ क्यान वान्ली च्याट नाऊ !

सियोर ! इट्स माइ प्लिजर ! जवाफ तत्कालै आयो ।

अनि कता हराउनु भयो ? लामै समय ? मैले त अर्कै रुपमा बुझी सकेको थिए । आखिर म बाट कुनै गल्ति भएको थियो र ? यसरी टाढा हुनु भयो ? एकै चोटी मनका सबै प्रश्न तेर्स्यायो उसले ।

हैन हजुर ! म त काँ गा’को छु र ? साथि बन्ने बित्तिकै हजुर सँग पहिलो सम्बाद गर्दैछु । उताबाट आश्चर्य मिश्रित जबाफ आयो ।

प्रविन अक्मकियो , हैन हजुर ! गंगा पाठक हैन ? मेलबर्नको ?

हजुर ! म गङ्गा पाठक नै हो । तर मेलबर्नबाट हैन् । झापाबाट हो हजुर ।

हजुर ,झुक्किनु भयो क्या हो ? ? मेरो नाम पनि केटी जस्तो छ । बास्तबमा म केटा हुँ । मेरो साथी प्रेम सिग्देल ,हजुर र मेरो म्युचुयल साथी रहेछ । त्यसैले फ्रेन्ड रिक्वेस्ट पठाएको थिए । हिजो एसेप्ट हुनासाथ यसो बोल्न मन लाएर फोन गरेको । उसले आफ्नो बास्तबिकता बतायो ।

प्रविन आफ्नो दृष्टि भ्रमबाट अब पूर्ण रुपमा मुक्त भइ सकेको थियो ।

केही दिन देखी सामाजिक अभियन्ता बन्ने धुनमा उसले सयौं नयाँ साथीहरू बनाएको थियो । ति बीचमा कति गंगा थिए ? अनि कति सरस्वती ? अनि कति जमुना ? उसले कहिल्यै हिसाब गरेन ।आज नमिलेको हिसाबले लगाएको ठेस ,अनि आफ्नो दृष्टि भ्रमलाई आत्मसाथ गर्यो ।

हत्त न पत्त रुपान्तरित रुप निकाल्यो । अनि लेख्यो ।हैन् ,हैन गंगाजी ,म अलि कन्फ्युज भएछु ।

प्रेम ,मेरो मिल्ने साथी हो । तपाईका बारेमा हामी कुरा गरी रहन्थ्यौ । अनि के छ झापा तिरको हाल खबर ? बिषयलाई मत्थर पार्दै दिमाग हल्का बनाउने कोशिस गर्यो ।

छोटो औपचारिक टेक्स सम्बाद पछि मध्यरातको सहारा लिदै बिट मार्यो प्रविनले । मन भित्रका अन्तर द्वन्दले असिन पसिन भयो । कता कता आत्म ग्लानी महसुस गर्यो ।

सिलिङ्गको मधुरो बत्तीमा एकोहोरो हेराइले निदाउने जमर्को गर्यो । अकास्मात सन्ध्याले निद्रा मै सही । कोल्टो फेरी । हेर्दा हेर्दै थाहै नपाइ सन्ध्याको अँगालो भरी ऊ पसी सकेको थियो ।बिहानी मिर्मिरे घामसंगै उसले आँखा खोल्यो । सिरानी मुनी राखेको मोबाइल निकाल्यो । हत्त नपत्त मेसेन्जर खोल्यो । तर सबै मेसेज सम्बादहरु डिलिट भइ सकेका थिए । सबै साथीहरु अनफ्रेन्ड भइ सकेका थिए ।

रातको घटना स्मृतिमा यसो के ल्याउन खोजेको थियो । तत्कालै मायालु पाराले मेसेज आयो । ए हजुर ! तल झर्नुस न ! चियासँगै बसेर खाऊ । मेसेज उसकी श्रीमती सन्ध्याको थियो । विना प्रति उत्तर , चियाको घुट्कीसँगै आत्मकथा लेख्यो “अफ लाइन प्रेम ! ”

दीपक पन्त ,मिल्वाकी ,अमेरिका

प्रतिक्रिया