मेरो योनी छेदनले तिमी स्वर्ग ?

मित्र ‘उराठी’ गौतम २०७७ चैत ९ गते २१:५५ मा प्रकाशित

बा ! म बिहे गर्दिन
आमा ! म बिहे गर्दिन
भर्खर फूल्दै गरेको फूल
फक्रिन नपाउँदै किन चुँड्छौ ?
म त सानै छु
आमा तिम्रो काखमा निदाउने रहर
अझै पुगेको छैन
बा तिम्रो औंला समाइ हिड्ने धोको
अझै मेटिएको छैन
मलाई वोझ किन मान्यौ ?
पराइ धन हो कसरी ठान्यौ ??

साथी सँगी सँगै उफ्रने,कुदने
खोलानाला र वनपाखा चहार्ने
चाहना अधुरै छ
पढ्ने,लेख्ने
सपना अपुरै छ
किन बा म तिम्रो सन्तान हैन र ?
भन त आमा
तिमीलाई मेरो माया छैन र ??

रजस्वला नहुँदै
मेरो जल खाइ
पुण्य खोज्छौ।
मेरा चाहना मारेर,
निमोठेर मेरो स्वतन्त्रता
मेरा नयनका
अश्रु पिएर
तिमीले स्वर्ग रोज्छौ ??

मेरा यौनाङ्ग कलिलै हुँदा
पराइले लुछिरहँदा
म माथी बलात्कार भै रहँदा
कसरी तिमी हाँस्न सक्छौ ?
टुलुटुलु हेरी
सन्तोषले कसरी बाँच्न सक्छौ ??

ए बा ! भन त
ए आमा !बताऊ न
त्यो कुन स्वर्ग हो
जहाँ कलिला नानीहरुको
योनी छेदन गरेर
रक्तधारा लागेपछि मात्रै
पुग्न सकिन्छ ?
त्यो कुन पुण्य हो
जो आफ्नै चेलीको
बैवाहिक बलात्कार
गराएर प्राप्ति हुन्छ ??

—अस्तु—

—मित्र ‘उराठी’ गौतम
[email protected]
अमरपुर, गुल्मी

प्रतिक्रिया