दोषी को ?

रजनी मल्ल न्यु जर्शी अमेरिका। २०७७ फागुन २२ गते १८:५१ मा प्रकाशित

अन्धकार रातमा घनघोर संग बर्षा भै रहेको छ अनि समय समयमा बिजुली चम्केर मेघ गर्जिरहेको छ।निरन्तर रुपमा बर्षिरहेको बर्षाको आवाजमा म हराउछु तर समय समयमा चम्किने बिजुलीको त्यो प्रकाश देखि डराउछु अनि मेघ गर्जनु अघि नै हत्त न पत्त दुवै कान थुन्छु।म निदाउने प्रयास गर्छु निदाउन सकिरहेको छैन। अनायास मलाई म सानो छदा मेरो छिमेकीको परिवारमा घटेको त्यो पुरानो कहाली लाग्दो घटनाको याद आउछ।त्यो रात पनि यसरि नै घनघोर संग वर्षा भैराखेको थियो।हामी बेलुकीको खाना खाई राखेका थियौ।अचानक ढोकाको घन्टी बज्छ,माथी झ्यालबाट हेर्छु ढोकाको मधुरो बत्तीको प्रकाशमा हाम्रो छिमेकीलाई देख्छु।

हाम्रो छिमेकी एम्बुलेन्सको लागि फोन गर्न आएको रहेछ।त्यतिखेर उनीहरुको घरमा फोन थिएन।उसले आतिदै भन्छ कि उसको बुहारीलाई सुत्केरीको ब्यथाले च्यापेको छ स्थिति नाजुक छ।उसको आतिएको अनुहारमा डर प्रष्ट सित देखिन्थ्यो।उसको साथमा अर्को छिमेकी पनि थियो।उसले एम्बुलेन्सको लागि हस्पिटलमा फोन लगाउने कोशिस गरिरह्यो तर फोन लाग्दै लागेन।

त्यो दिन त्यो छिमेकिको बुहारी आपनो माइती घर गोंगोबुमा गएकी रहिछिन।माइतीघरमा बच्चा जन्माउन हुदैन भन्ने अन्धबिस्वाशले गर्दा उनि सुत्केरीको ब्यथाले च्याप्न लागेको जस्तो लागेर छिटो छिटो आपनो लोग्नेको घरमा हिडेर फर्केकी रहिछिन।घरको छिडीमा पुग्न नपाउदै उनि प्यास,थकाई र सुत्केरी ब्यथाको पीडाले ढलेकी रहिछिन।(त्यतिखेर अहिले जस्तो धेरै जसोको घरमा गाडी थिएन अनि फोन गरेर बोलाउने ट्याक्सी थिएन।)

बच्चा जन्माउन सकिनन्,परिवारका जान्ने मान्ने सदस्यहरुको सहयोगले पनि।केहि नलागेर अन्तमा हाम्रो छिमेकी आपनो बुहारीलाई अस्पताल लान एम्बुलेन्सको लागि फोन गर्न आएको रहेछ।घनघोर सित जोडतोडका साथ पानि परिरहेको थियो,समय समयमा मेघ गर्जिन्थ्यो जमिन नै थर्किने गरि कुनै डरलाग्दो परिस्थिति आउंदैछ भनि संकेत गरे झैँ गरि।त्यतिकैमा त्यो छिमेकीको छोरा स्वाँ स्वाँ गर्दै आतिदै मलिन अनुहारमा दगुरेर आयो र एम्बुलेन्स पठायो कि भनि रुन्चे स्वरमा सोद्धै थियो।उसको त्यो चिन्ताले घेरेको अनुहारले नै बताउथ्यो कि सुत्केरी हुन लागेकी उसकी श्रीमतीको स्थिति ठिक छैन भनेर, फेरी उ दगुरेर पानीमा रुझ्दै फर्क्यो।हामी सबै फोनको वरिपरि घेरेर एकले अर्कालाई हेर्दै अब के हुन्छ होला भनि डराएर बसेका थियौ।त्यो छिमेकीको छोरो घरि घरि एम्बुलेन्स पठायो कि भनि सोध्न आउंथ्यो।

समय बित्दै गैरहेको थियो, बल्ल फोन लाग्यो र एम्बुलेन्स पठाउदै छौ भन्ने जवाफ आयो उताबाट। बल्ल हामीसबैको अनुहार उज्यालो भयो एम्बुलेन्स पठाउदै छौ भन्ने खबर सुनेर। अब भने त्यो छिमेकीको छोरो युद्धमा हारेको कुनै एक सिपाही झैँ गरि वा कुनै खेलमा हारेको खेलाडी झैँ गरि बिबस, निरास र थाकेको अनुहार लिएर भाभबिहल भएर रुदै आउछ र भन्छ, “अब फोन नगरेनि हुन्छ ढिलो भै सक्यो उनि बितिसकि बच्चा जन्माएर” यो खबर सुन्नासाथ एकछिन हामी बसेको कोठा जहाँ फोन थियो त्यहाँ स्तब्दताले छायो। हामी एक्ले अर्कालाई चुपचापसित हेरिरहयौ। त्यतिखेर नजादिदो किसिमले हाम्रा आँखाहरु रसाएको पनि पत्तो नै भएन। एकछिन त् बच्चाको कसैले महत्व नै दिएनन् किन कि आमाको त्यो पिडादायक खबरले त्यो बच्चाको जन्मलाई सबैले एकछिन बिर्सेछ । पछि पो सबैले बिचरा बच्चा भनेर सम्झेछ। त्यो दर्दनाक खबरले धेरैबेरसम्म त्यो कोठामा संनाताले छाइरह्यो।

रातभरको घनघोर बर्षा पछिको भोलि पल्टको त्यो बिहानि कुनै तुफान थामिएपछिको सन्नाटा बोके झैँ गरि उदाशिता बोकेर आउछ।कता कता रोएको आवाज आउछ।म झयालनिर गएर हेर्छु,देख्छु सुत्केरी ब्यथा सित लड्न नसकेकी हाम्रो छिमेकीकी बुहारी,जसले आमाको उपाधि त पाइन् तर मातृत्वको स्नेहले आफ्नो नवजात शिशुलाई सिंचित गर्न नपाउदै त्यो कठोर निर्दयी कालको शिकार हुनुपरेको त्यो बिबश आमाको सेतो कपडाले बेरेको लाशलाई चारजनाले काधमा बोकेर लगिरहेको देख्छु।अनि पछिपछि परिवारका अन्य सदस्यहरु रुदै गैरहेको देख्छु।सबै भन्दा पछाडि हाम्रो छिमेकीको छोरा जो आपनो जीवन साथीलाई बचाउन नसकेको बिबश केटो भाबबिर्हल भै रुदै कसैको हात समाउदै गैरहेका थिए भने हिजो मात्रै जन्मेको त्यो थाग्नामा बेरेको नवजात शिशुलाई उसको हजुरआमाले च्यापेर जन्मिने बितिक्कै बिछोडिएको आमालाई अन्तिम बिदाइको लागि बिस्नुमति तिर लगिरहेको देख्छु। त्यो बिचरो भर्खरको निर्दोष नवजात शिशुलाई के थाहा कि उसको जन्म त्यति दर्दनाक हुन्छ भनेर।त्यो बातावरण नै कठोर अनि निर्दयी देखिने त्यो दृश्यले हेरिरहेका सबैका आँखा रसाएका थिए।

हाम्रो रिति रिवाज,हाम्रो संस्कृति,हाम्रो पहिचान हो,तर हाम्रो समाज भित्र लुकेका कतिपय अन्धविश्वासी धारणाहरु, न त् त्यसको कुनै आधार छ न त् त्यसको कुनै कारण छ।कुनै आधार अनि कारण बिनाको त्यस्ता अन्धविश्वास का कुराहरु कसले,कहिले अनि किन बनाए ? थाहा छैन।ति अन्धविश्वासी धारणाको शिकार बनेकाहरुले चोट मात्र खप्न नपरेर ज्यानै गुमाउनु परेको एउटा उदाहरण हो यो घटना।बिभिन्न थरिका अन्धविश्वासी धारणाहरु हाम्रो गाउघरमा मात्रै नभएर शहरमा पनि कतै कतै लुकेकै छ, जसले कतिलाई हानी पुर्याईरहेका छन अनि दुख दिई रहेका छन। जब सम्म आफुलाई पर्दैन,ति अन्धविश्वासका कुराहरु ठिक जस्तो लाग्ला तर जब आफुलाई पर्छ त्यतिखेर त्यसले निम्त्याएको परिस्थिति कति पिडादायक हुन्छ भनेर थाहा पाउछ। तसर्थ त्यस्ता कुनै आधार बिनाका अन्धविश्वास का कुराहरुलाई समयमै छुताउदै जानु नै बुद्धिमानी हुन् आउछ। अर्को कुरा स्वास्थ्य संग सम्बन्धित निकायहरुले पनि कसरि छिटो भन्दा छिटो बिरामीलाई सेवा प्रदान गर्न सकिन्छ भनेर सोचेमा कतिपयले अकालमा ज्यान गुमाउनु पर्दैन थियो होला।

कहिले काही त्यो बालक जसले जन्मने बितिकै आमा नभएको टुहुरोको संज्ञा पायो, बाटोमा पाग्रा गुडाएर खेलिरहेको देख्थे, त्यतिखेर पनि मलाई त्यो दिनको घटनाको याद आउथ्यो।

त्यो घटना घट्नुमा दोषी को ? परिस्थिति ? त्यो सुत्केरी बेथासित लड्न नसकेकी आमाको भाग्य ? जन्मदै टुहुरोको उपाधि पाएको त्यो बालकको भाग्य ? माइतीमा बच्चा जन्माउनु हुदैन भन्ने त्यो अन्धविश्वास ? वा समयमै फोन नलाग्ने त्यो एम्बुलेन्स ?

दोषी को ? परिस्थिति,अन्धविश्वास, भाग्य वा एम्बुलेन्स ?

-रजनी मल्ल न्यु जर्शी अमेरिका। 

प्रतिक्रिया