सुरक्षा रिपोर्टिङ चुनौतिपूर्ण छ : पत्रकार कार्की

इनेप्लिज २०७७ फागुन १७ गते ६:२१ मा प्रकाशित

टपेन्द्र कार्की विशेषत सुरक्षा मामलामा कलम चलाउंछन् । नागरिक दैनिकसंग आवद्ध रहेका पत्रकार कार्कीले यसवर्ष नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित उत्कृष्ट खोजी पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । यसै सन्दर्भमा उनीसंग गरिएको कुराकानी ः

तपाईले भर्खरै नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले स्थापना गरेको उत्कृष्ट खोजी तथा अनुसन्धान पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ । यसबाट कस्तो महशुस गर्दै हुनुहुन्छ ?

पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहनुभएका पत्रकारहरुले स्थापना गरेको इञ्जा पत्रकारिता पुरस्कार आफैमा प्रतिष्ठित पुरस्कार हो । यसले नेपालको पत्रकारिता क्षेत्रमा लाग्ने जो–कोहीलाई खोजी पत्रकारितामा प्रेरित गरेको छ । यो पुरस्कारले पत्रकारिता पेशामा मलाई अझ जिम्मेवारी बढाएको छ भने पेशाप्रति दायित्वबोध गराएको छ ।

तपाइको कुन समाचारले यो पुरस्कार प्राप्त गरेको हो ? अलिकति सन्दर्भवारे चर्चा गरिदिनु न ।

इञ्जाले हरेक वर्ष प्रदान गर्दै आएको खोजी तथा अनुसन्धान विधा अन्तर्गत यो पुरस्कार पाएको हुँ । खास गरी सुरक्षा तथा अपराध मामिला सम्बन्धी खोजी पत्रकारिता निकै कमजोर बनेका बेला यो पुरस्कार दिइएको छ । यसले सुरक्षा तथा अपराध विटमा पत्रकारिता गर्ने साथीहरुलाई थप उर्जा मिलेको महशुस गरेको छु । साथ साथै ७५ हजार नेपाल प्रहरी कर्मचारीको लत्ता कपडा खरिदमा भएको घोटलाको सम्बन्धमा नागरिक दैनिकमा समाचार प्रकासित भएपछि प्रहरीले लामो समय लगाएर यसको अनुसन्धान गरेको थियो । सो अनुसन्धानबाट नेपाल प्रहरीले नमूना परीक्षणका लागि पठाइएको नमूनानै कर्मचारी र ठेकेदारको मिलेमतोमा परिवर्तन गरिएको पाइएपछि प्रहरीले ठेकेदारलाई पक्राउ गरी थप अनुसन्धान गरेको थियो । यो पुरस्कारले सुरक्षा तथा अपराध विटमा क्रियाशील रहेका साथीहरुलाई सत्य तथ्यमा आधारित समाचार लेख्दा कही कहीबाट प्रोत्साहन हुँदो रहेछ भन्ने प्रमाणित गरेको छ । अपराध र सुरक्षा विटमा कार्यरत पत्रकारहरुले पुरस्कृत हुने अवसर कम पाएका छन् । त्यसविटमा क्रियाशील पत्रकारहरुलाई चाडै आरोप लाग्ने र पत्रकारिताबाटै पलायन हुने अवस्था सिर्जना गर्न सहज हुने भएकाले पनि यसतर्फ सजग भएर रिपोटिङ गर्नुपर्ने बाध्यता रहेको छ ।

तपाईले रिपोटिङ गरिररहेको विटको सजिलो पक्ष र अप्ठेरो पक्ष के हो ?

खासगरी सुरक्षा तथा अपराध विटमा कार्यरत पत्रकारहरुलाई धेरै असहजता रहेका छन् । स्रोतले विश्वास नगर्ने, सानो सानो सूचनाहरुलाई पनि सोर्स अनुकुल बनाउन खोज्ने प्रवृत्ति हावी छन् । केही व्यवसायिक स्वाभावका सुरक्षा अधिकारीहरुले त्यसो गर्न सक्दैनन । तर पनि धेरै जसो समयमा अपराध विटमा कार्यरत रहेका धेरै साथीहरुलाई सुरक्षा अधिकारीहरुले अनुकुलतामा प्रयोग गर्ने खतरा बढिरहेकै छ । अझ सरुवा र बढुवामा यस्तो चलखेल हुन्छ । त्यसकारण यस्ता प्रवृत्तिबाट बच्नुपर्ने भएकाले यो विटमा व्यवशायीक र पेशागत जोखिम छ ।

साँच्चै भन्ने हो भने सुरक्षा तथा अपराध विटमा क्रियाशील रहेका पत्रकारलाई अन्य विटका पत्रकारहरुले कहिल्यै माथि आउन नदिने प्रवृत्ति छ । उनीहरु देखेको सत्य कुरा नलुकाई बोल्छन र लेख्छन । त्यो अन्य साथीहरुलाई चित्तबुझ्दो हुँदैन । अन्य साथीहरुको स्वाभाव भन्दा छुच्चो हुने भएकाले पनि उनीहरुका लागि प्रिय हुँदैनन । सानो उदाहरण भनौ यो विटमा क्रियाशील रहेका दुई जना साथीहरु पत्रकार महासंघको निर्वाचनमा भाग लिएका थिए । केपी ढुंगाना र प्रतिमा बास्कोटाले महासंघमा उम्मेद्वारी दिए । सो समूहबाट सबै साथीहरुले निर्वाचन जिते ढुंगाना र बाँस्कोटालाई मात्रै हराइयो ।

अहिलेको अवस्थाचाहि कस्तो छ नि ?

साँच्चै भन्ने हो केही अपवादलाई छाडेर अपराध विटमा क्रियाशील साथीहरुलाई ‘दाइ’ प्रवृत्तिमा अल्मल्याउन खोजिदैछ । व्यवसायिक र पेशागत मर्यादामा रहेका साथीहरु यो प्रवृत्तिबाट मुक्त भएका छन् । केही साथीहरु छन भने पनि उनीहरु पनि विस्तारै यो प्रवृत्तिबाट मुक्त हुनुपर्छ ।

अन्त्यमा केही भन्नु छ कि ?

पत्रकारिता पेशाप्रति हामी सबै स्वःनियमनमा बस्नुपर्छ भन्ने लाग्छ । डिजिटल पत्रकारिताले केही हदसम्म व्यवसायिक हुन सिकाएको भएपनि अपवादमा रहेका केही डिजिटल मिडियाले स्वःनियमनलाई भुलेका हुन कि भन्ने लागेको छ । हामीले पेशागत मर्यादा र व्यवसायिक निष्ठालाई भुल्न हुदैन भन्ने लाग्छ । कोभिड–१९को मारमा परेका पत्रकारहरुलाई सम्बन्धित संस्थाले मर्का बुझेमा सबैभन्दा उत्तम हुन्थ्यो भन्ने लागेको छ ।

प्रतिक्रिया