स्वर्ग जस्तो देश कुशासन, अन्याय, अत्याचार, भ्रष्टाचार र फोहोरी राजनीतिले नर्क जस्तो बनाएको देख्दा मुटु दुखेर आउँछ – रामप्रसाद खनाल

इनेप्लिज २०७७ फागुन १६ गते २०:०६ मा प्रकाशित

विदेशमा बसे पनि देश दुखेर कहराइरहने रामप्रसाद खनाल रिपोर्टर देखी प्रधान सम्पादक सम्म भएर नेपाली पत्रकारितामा साढे तीन दशक बिताइसकेका अग्रज पत्रकार मात्र होइनन् उनी नेपालका प्रतिष्ठित लोक दोहोरी गायक, अग्रज कलाकार, साहित्यकार र संस्कृतिबिद पनि हुन । नेपालमा लोक दोहोरीको ब्यबसायिक शुरुवात गर्ने देखी अहिलेका स्थापित धेरै जसो लोक दोहोरी कलाकारहरुलाई स्थापित गर्न ठुलो पापड बेलेका अग्रज कलाकार खनाल कुनै पनि राजनीतिक पार्टी निकट नरहेका स्वतन्त्र व्यक्ति र आफूलाई नेपाल बादी र माटो बादी भन्न रुचाउँछन् । अन्तर्राष्ट्रिय कलाकार मञ्च (www.iafamerica.com ) अमेरिकाकाका संस्थापक अध्यक्ष, NRN अभियन्ता खनाल दर्जनौँ विभिन्न क्षेत्रका सङ्घ संस्थाको नेतृत्व गरिसकेका सामाजिक क्षेत्रका अग्रणी पनि हुन । नेपालमा रहँदा गीत सङ्गीत, साहित्य, कला र पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका कारण गोरखा दक्षिण बाहु, प्रख्यात त्रिशक्ति पट्ट लगातका दर्जनौँ राष्ट्रिय पुरस्कार, पदक, सम्मान, अभिनन्दन पाइसकेका खनाल रेडियो नेपालको बिशिस्थ श्रेणीका गायक पनि हुन । उनी अमेरिकामा पनि गीत सङ्गीत, साहित्य, कला र पत्रकारिता क्षेत्रमा उत्तिकै सक्रिय छन् । गीत सङ्गीत, साहित्य, कला र पत्रकारिता क्षेत्रमा उनले पुर्‍याएको योगदानकै आधारमा बहु आयामिक र अतिरिक्त प्रतिभा वान, क्षमता वान हस्तिहरूलाई अमेरिकी सरकारले प्रदान गर्ने Extra ordinary Ability EB-1 अन्तर्गतको उच्च तहको ग्रिन कार्ड प्रात गरेर हाल त्यहाँ बसोबास गरेका व्यक्ति हुन खनाल । रेडियो नेपाल, नेपाल टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक देखी संचालक सम्म बनेर राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा आफुलाई स्थापित बनाइसकेका, गीत संगीत, साहित्य सम्बन्धी १७ वटा पुस्तकहरु प्रकाशन गरिसकेका, ४८ वटा गीति एल्बमहरु बजारमा ल्याइसकेका खनाल अमेरिकाबाट प्रकाशित www.Nepalmother.com अनलाइन डिजिटल पत्रिकाका प्रधान सम्पादक समेत हुन । उनको बारेमा जान्न बुझ्न उनको आधिकारिक साइट www.RamPrasadKhanal.com वा Google वा Wikipedia मा जान सकिन्छYoutube, Facebook,Twitter मा पनि उपलब्ध खनाल सँग www.Nepalnamcha.com का लागि सम्पादक अशोक सिलवालले केही दिन अघि लिनुभएको अन्तर्वार्ता समसामयिक र सान्दर्भिक लागेर हामीले यहाँ पनि साभार गरेका छौं।वहाँलाई सोधिएका ११ प्रश्न र तिनका जबाफ तल जस्ताको तस्तै प्रस्तुत गरिएको ।
१) तपाई कुन देशमा हुनुहुन्छ ? कति वर्षदेखि त्यहाँ हुनुहुन्छ ? र, कुन सपनाले तपाईँ त्यहाँ पुग्नु भयो ?
– म विगत १३ वर्ष देखी अमेरिकामा छु ।म विदेश भन्दा ज्वरो आउने मान्छे, अरूलाई स्वदेश फर्किनु पर्छ, स्वदेशमै योगदान दिनुपर्छ भन्दै कलम चलाउने पत्रकार, गीत लेख्ने गीतकार, गाउने गायक, अभिनय गर्ने कलाकार, कविता, मुक्तक र गजल लेख्ने साहित्यको विद्यार्थी अहिले विदेशको सपना देखेर होइन, आफ्नै मातृभूमिमा प्रचन्ड, बाबुराम र तिनका मतियारहरूको राज सुरु भए पछि, अपहरणमा परे पछि, मानसिक यातना बढ्दै गए पछि, शतीले श्राप गरेकै देश रहेछ मेरो, जहाँ गरी खान, केही गर्न पनि पाइएन भन्दै बिरक्तिएर परदेशिएको मान्छे हुँ म।मेरो बिदेश बसाइ रहर हुँदै होइन ।
२) तपाईँका सपनाहरूका हालखबर के–कस्ता छन् ?
आफ्नै माटोमा केही गरेर बस्ने, देशमै केही गर्ने, लोकगीत, दोहोरी गीत, नेपाली भाषा, साहित्य, संस्कृति र पत्रकारिताका क्षेत्रमा केही गर्ने मेरा सपनाहरू अमेरिकामा पनि देख्न छोडेको छैन । आफू सक्दो योगदान यही बाट पनि दिइरहेको छु । तर मेरा ती सबै सपनाहरू केही समयका लागि खुम्चिए पनि हराएका छैनन् र हराउने पनि छैनन् । म परदेशमा घरदेश सम्झेर घरदेश बनाउन प्रयासरत, सपना देख्ने मान्छे हुँ भन्ने कुरा मेरा क्रियाकलाप बाट जो कसैले पनि थाहा पाउन सक्छन् किन कि म खुल्ला किताब हुँ ।
३) तपाईँलाई त्यो देशको के चीजले सबभन्दा बढ्ता छोयो ?
अमेरिका हर कुरामा सिस्टमले चलेको छ । नियम कानुनले चलेको छ । विकास लगायतका हर कुरा हेर्दा मेरो देश नेपाल पनि सुशासन भइदिए, नेता कार्यकर्ता जनता सुध्रिए, भ्रष्टाचार निर्मूल भइदिए अमेरिका जस्तै बनाउन सकिन्थ्यो होला नि भन्दै नेपाललाई अमेरिका जस्तै बनेको कहिले देख्न पाइएला भन्दै म यहाँ दिउँसै आफ्नै माटोको सपना देख्ने सपनाधारी मान्छे हुँ । यहाँको विकास, सिस्टमले मन छुन्छ ।
४) त्यो देशका पाँच राम्रा पक्षबारे भन्नुस्न् । मन लागे पाँच नराम्रा पक्षबारे पनि भन्न सक्नु हुनेछ ।
अमेरिकामा नियम कानुन सबल छन्, कार्यान्वयन पक्ष त्यत्तिकै सबल छ । यहाँ भनसुनको आधारमा होइन सिस्टमका आधारमा काम कारबाही हुन्छन् । पूर्वाधार विकास कति कति । शिक्षा अत्यन्त व्यवहारिक र सहज छ । रोजगारीका अवसर पर्याप्त छन् । सरकार अभिभावक बनेर देश चलाउँछ । हर व्यक्ति स्वास्थ्य सुविधा लगायतका सेवा प्राप्त छन् । यी र यस्ता थुप्रै राम्रा पक्ष छन् तर मेरो बिचारमा नराम्रा पक्षमा महँगो कर प्रणाली, काम गर्न सक्ने तर अल्छी र ठगहरूलाई पनि फुड स्टाम्प दिएर, सुविधा दिएर झनै बिगार्ने कुरा मलाई त्यति उचित लाग्दैन ।
५) बेलाबेला नेपालसँग त्यो देशलाई तुलना गर्नु हुन्छ होला ? के फरक र समानता पाउनु हुन्छ ?
नेपाल र अमेरिकाको के तुलना हुन्छ र, कुन कुरामा तुलना हुन्छ र ! तर पछिल्लो समयको राजनीति भने उस्तै उस्तै जस्तो देखियो । तर अहिले देश पूर्ण ट्र्याकमा आइसकेको छ । नेपाल प्रकृतिले दिएको स्वर्ग हो । नेपालमा जस्तै विविधता यहाँ अमेरिकामा पनि एक हद सम्म देख्न सकिन्छ ।
६) नेपाल हुँदा र त्यता गइसकेपछि नेपाल र बाँकी विश्वलाई बुझ्ने तपाईँका आँखामा के फरक आएको छ ? वा छैन ?
नेपाल छाडेर अमेरिकामा बस्न थाले पछि काम धाम रोजगारी के रहेछ, देश कसरी बन्दा रहेछन्, नियम कानुन सिस्टम कति महत्त्वपूर्ण रहेछन्, अनुशासन के रहेछ, विकास निर्माण कसरी हुँदो रहेछ मेरा आँखाले प्रत्यक्ष देख्न र भोग्न पाएका मात्र छैनन् राष्ट्र राष्ट्रियता भनेको के रहेछ भन्ने पनि राम्ररी आफैले अनुभव गर्न पाएको छु । अमेरिका मात्र होइन म संसारका ३५ देश घुम्दा माथि उल्लेखित कुरा निकै खड्किन्छन । हाम्रो देश नेपाल देश त स्वर्ग जस्तो छ, यस्तो स्वर्ग जस्तो प्यारो देश कुशासन, अन्याय, अत्याचार, भ्रष्टाचार र फोहोरी राजनीतिले नर्क जस्तो बनाएको देख्दा मन मुटु चसक्क दुखेर आउँछ ।
७) अहिले पनि धेरै नेपालीको लागि विदेशको जीवन एक खालको कल्पनाको जीवन हो । तर, के त्यो खासमै काल्पनिक हुन्छ ?
आफ्नै देश, आफ्नै परिवेश जस्तो विदेश कहिल्यै हुँदैन । सबै कुरा भएर पनि खुसी भन्ने चिज विदेशमा प्राप्त हुन्छ जस्तो मलाई लाग्दैन । नेपालबाट कल्पना गर्नु र विदेश आएर भोग्नु फरक कुरा हुन । देश के हो, माटो के हो, राष्ट्रियता के हो, आफ्नो भाषा भेस, कला संस्कृति, आफ्नो पन के हो भन्ने कुरा विदेश आए पछि बल्ल चाल पाइन्छ ।
८) तपाईँको जीवन कसरी चलिरहेको छ ? विदेशमा रहँदाका जीवनका उकाली ओराली सम्झनुस् न।
अथक यात्री, जिन्दगीका उकाली ओराली, भन्ज्याङ चौतारी गर्दै गुल्मीको गाउँबाट बुटवल, अनेकौँ सङ्घर्ष गर्दै बुटवलबाट काठमाडौँ, जीवन हाँसी खुसी राम्रै चलेकै थियो, यत्तिकैमा उतार चढाव र बाध्यताका पहाड चढ्दै अमेरिका झर्नु पर्ने अवस्था ती अवस्थाका बिच पनि एउटा सत्कर्म गर्न र थाक्न नजानेको एउटा सङ्घर्षशील मान्छे आफू । जसो तसो जीवन चलिरहेकै छ । सबै कुरा भएर पनि अमेरिकामा खुसी हुन नसकेको मान्छे यहीँ पनि म उतार चढाव र बाध्यताका पहाड चढ्दै अगाडि बढी रहेको छु । जीवन सघर्स यस्तै रहेछ भनेर चित्त बुझाउँदै छु । सबै कुरा उपलब्ध भएर पनि हरेक दिन माटो सम्झिँदा उतै बसेर चौतारीमा सुसेली हाल्न मन माग्छ खोइ किन हो कुन्नि !
९) विदेशमा हुनुहुन्छ तर नेपालको राजनीति र समाज व्यवस्थालाई पनि हेरिरहनु भएकै होला । कस्तो लाग्छ ?
हाम्रो देश त स्वर्ग जस्तो छ, यस्तो स्वर्ग जस्तो प्यारो देश कुशासन, अन्याय, अत्याचार, भ्रष्टाचार र फोहोरी राजनीतिले नर्क जस्तो बनाएको देख्दा मन मुटु थाम्न गर्हो हुन्छ।

अनि म यस्ता कविता कोर्छु बेला बेला:
प्रचण्ड महाराज !
सत्र हजार मान्छे मार्‍यौ
देशलाई पचास वर्ष पछाडि पार्‍यौ
लुट्यौ जनता
कुट्यौ जनता
भँडायौ सबका सब
दक्षिणको खायौ कलो
उत्तरसँग मिलायौ गलो
बिहान एउटा कुरा
दिउँसो अर्को कुरा
साँझ फेर्छौ कुरा
वेश्याको वेश्यावृत्ति जस्तै
आफ्नै पार्टी खायौ
काँग्रेस पनि खायौ
एमालेमा पस्यौ
एमाले भँडायौ
कहिले ओली बोक्यौ
कहिले झलनाथ बोक्यौ
कहिले माकुनेलाई झार्‍यौ
अहिले फेरि त्यही माकुने लाई,
आफ्नो भागमा पार्‍यौ !
देश र जनता मार्नु सम्म मार्‍यौ
पार्टी फोडाफोड गर्‍यौ
जनताको नजरमा झर्नु सम्म झर्‍यौ
नढाँटीकन भन त,
देश र जनताका लागि तिमीले के गर्‍यौ ??
भन त प्रचण्ड महाराज !
म तिमीलाई कसरी समर्थन गरूँ ?
तिम्रो विश्वास र भरमा कसरी परूँ ?
नैतिकताको सगरमाथाबाट
तिमी फेदीमा गर्ल्याम्म झरे जसरी,
म पनि कसरी झरूँ ?
के मैले पनि तिमीले जस्तै,
फेरि अर्को अपराध गरूँ ??
ओली महाराज !
तिम्रो स्वार्थ मिल्दा
अपराधको सरदारसँग,
मित लगायौ, प्रीत लगायौ
एउटै माला भित्र गलो मिलायौ
एउटै टेबुलमा दुई कुर्सी र थलो मिलायौ
तिम्रो स्वार्थ बाझिएछ क्यारे !
अचानक,
मुख छोडा छोड गर्‍यौ
संविधान तोडातोड गर्‍यौ
पार्टी फोडाफोड गर्‍यौ
जनताको नजरमा झर्नु सम्म झर्‍यौ
नढाँटीकन भन त,
देश र जनताका लागि तिमीले के गर्‍यौ ??
भन त ओली महाराज
म तिमीलाई कसरी समर्थन गरूँ ?
तिम्रो विश्वास र भरमा कसरी परूँ ?
नैतिकताको सगरमाथाबाट,
तिमी फेदीमा गर्ल्याम्म झरे जसरी,
म पनि कसरी झरूँ ?
के मैले पनि तिमीले जस्तै,
फेरि अर्को अपराध गरूँ ??
माकुने महाराज !
पिँध नभएका लोटा जस्ता
कहिले कता, कहिले कता,
बन्यौ तिमी निकै सस्ता !
उधारोमा नचल्ने तिमी
हाताहाती भन्दा तल नझर्ने तिमी
खुन खुन बाहेक केही नगर्ने तिमी
जनता र देशका लागि होइन
मात्र आफ्ना लागि,
कुर्सी, सोफा र साइज नाप्ने तिमी
स्वार्थको आगो मात्रै ताप्ने तिमी
फेरि शती गयौ अपराधी सरदारसँग
के गुनासो गर्नु र खोइ !
बैङ्कको खजान्ची र खरदारसँग !
पार्टी फोडाफोड गर्‍यौ
जनताको नजरमा झर्नु सम्म झर्‍यौ
नढाँटीकन भन त,
देश र जनताका लागि तिमीले के गर्‍यौ ??
भन त माकुने महाराज !
म तिमीलाई कसरी समर्थन गरूँ ?
तिम्रो विश्वास र भरमा कसरी परूँ ?
नैतिकताको सगरमाथाबाट,
तिमी फेदीमा गर्ल्याम्म झरे जसरी,
म पनि कसरी झरूँ ?
के मैले पनि तिमीले जस्तै,
फेरि अर्को अपराध गरूँ ??
शेरबहादुर महाराज !
देश तन्नाम पार्‍यौ
काँग्रेस तन्नाम पार्‍यौ
हुँदोखाँदाको काँग्रेस पुछारमा झार्‍यौ
नियुक्तिमा भागबन्डा
लुटतन्त्रमा भागबन्डा
तिमीले भागबन्डा पाए मात्रै हुने रैछ
असली काँग्रेस रुने रैछ
सासू राजदूत भएको भैछ
प्रमुख प्रतिपक्ष,
आरजुको कोटामा गैछ
ओली,प्रचण्ड, माकुने सबैसँग दोस्ती
देश भाँडमा जाओस्,
तिमीलाई छँदै छ मस्ती !
फेरि ज्योतिसेकोमा जाऊ
हात हेराऊ
कमाउनिस्टहरु लडे,
कुकुर हड्डीमा लडे जस्तै
अब फेरि पालो तिम्रो
कमाऊ, खाउ, रमाउ
जनता फेरि टाउको समाऊ !
भन त शेर बहादुर महाराज !
म तिमीलाई कसरी समर्थन गरूँ ?
तिम्रो विश्वास र भरमा कसरी परूँ ?
नैतिकताको सगरमाथाबाट
तिमी फेदीमा गर्ल्याम्म झरे जसरी
म पनि कसरी झरूँ ?
के मैले पनि तिमीले जस्तै,
फेरि अर्को अपराध गरूँ ??

१०) विदेशमा गएपछि देश अझ बढी पाउनुभयो होला आफैभित्र । तपाईँ नेपालाई कत्तिको मिस गर्नु हुन्छ ? र,सबभन्दा बढी के सम्झनु हुन्छ ?
म त भन्छु देशमा बस्दा देश के हो थाहै थिएन विदेशमा बस्न थाले पछि बल्ल देश दुख्न थाल्दो रहेछ । हरेक सेकेन्ड देश, आफन्त, परिवेश सब कुरा मिस हुन्छ । के सम्झिन्छ भन्दा पनि के मात्रै सम्झिँदैन र त्यो भन्नुस् न ।
११) अरू केही छुत कुरा छन् कि ?
देश राम्रो बनोस्, कुनै नेपाली बिदेसिनु नपरोस्, अन्याय, अत्याचार, भ्रष्टाचार अन्त्य हुन । हरेक नेपाली ले नेपाल मेरो देश हो भनेर गर्व गर्ने अवसर प्राप्त होस । धेरै धेरै धन्यवाद तपाईँले दिनुभएको यो बिचार पोख्ने अवसरका लागि ।म त खुल्ला किताब हुँ, मेरो बारेमाजान्न www.RamPrasadKhanal.com , https://www.facebook.com/rpkhanal/ , https://www.facebook.com/Ram-Prasad-Khanal-249369178413548 , www.IAFAmerica.com मा जान सक्नुहुन्छ । अमेरिकाबाट मेरो सम्पादनमा प्रकाशित हुने अनलाइन डिजिटल पत्रिका www.NepalMother.com हरेक दिन हेर्न सक्नुहुन्छ । त्यसै गरी मेरा गीत संगीत, भिडियोहरु हेर्न https://www.youtube.com/user/rampdkhanal/videos?view=0&sort=p&flow=grid मा जान सक्नुहुन्छ । हस् त धन्यवाद ।

 

प्रतिक्रिया