आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्नु पने

मोहम्मद सदरुल २०७७ फागुन १५ गते ३:४४ मा प्रकाशित

मोहम्मद सदरुल,

विराटनगर,१५ फागुन(रासस):उद्योगी,व्यापारी एवं करदाताहरुले आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ।

यो सुविधा फागुन मसान्तसम्म मात्र लागू हुने भएकोले सेवाग्राहीहरु समयमै आआफ्ना कर चुक्त्ता गरी सुविधा उपयोग गर्न कार्यालय प्रमुख विमल सापकोटाले आग्रह गर्नुभएको छ।उहाँले यस सुविधाबाट सरकारले प्राप्त गर्ने राजस्व पनि बढ्ने र करदाताहरु पनि नियमनमा बाँधिने भएकोले यसबाट सबैले सुविधा लिनु पर्ने उहाँको धारणा छ।

कार्यालयले जारी गरेको अपिलमाकुनै पनि व्यक्तिले स्थायी लेखा नं नलिई विगतमा कर लाग्ने आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को आय विवरण र कर बुझाएमा शुल्क तथा ब्याज मिन्हा हुने छ।

सो भन्दा अघिका आर्थिक वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनु पर्ने छैन।स्थायी लेखा नं लिई आय विवरण पेश नगर्ने वार्षिक रु५० लाख सम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७३÷७४,२०७४÷७५ र २०७५÷७६ को आय विवरण,आयकर र सोमा लाग्ने ब्याजको २५प्रतिशतले हुने रकम बुझाएमा सोभन्दा अघि वर्षहरुको आय विवरण पेश गर्नुपर्ने छैन र त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी ब्याज मिन्हा हने भनिएको छ।

स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७३÷७४ वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक रु.५० लाख भन्दा बढीको कारोबार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५प्रतिशतले हुने रकम बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिन्हा हुनेछ।

विसं २०७५ असार मसन्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदाताले बुझाउनु पर्ने कर विवरण,सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम वुझाएमा सोमा लाग्ने जरिबाना,थप दस्तुर तथा बाँकी ब्याज मिन्हा हुने कार्यालयको अपिलमा छ।

आयकर ऐन,२०५८,मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्तःशुल्क ऐन, २०५८ बमोजिम विसं २०७५ साल असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारण (झुट्टा तथा नक्कली बीजक सम्बन्धमा भएको कर निर्धारण बाहेक )उपर मुद्दामा गई विचाराधीन रहेमा सम्बन्धित करदाताले मुद्दा फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको कर रकम र सोमा लागेको ब्याज बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर तथा जरिबाना मिन्हा दिइने भनिएको छ।

यस्तै, सोही कार्यालयले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु.चार अर्व ५४ करोड ९१ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ।सो अवधिमा कार्यालयले रु.चार अर्व ५१ करोड ९८ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो।

लक्ष्यमा रु.दुई करोड ९३ लाख ६४ हजार बढी राजस्व असुल गरेर कार्यालय प्रगतिउन्मुख भएको देखिएको छ।विगतमा कार्यालयले लक्ष्य हासिल गर्न धौधौ भइरहेको अवस्थामा लक्ष्य भन्दा बढी राजस्व असुल गर्नु र कार्यालयले सार्वजनिक अपिलले झन प्रगतिमा सुधार हुने विश्वास भएको प्रमुख सापकोटाले बताउनुभयो।

सङ्कलित राजस्वमा आयकर रु.एक अर्व ७७ करोड ५१ लाख ९६ हजार, मूल्यअभिवृद्धि कर रु.एक अर्व ३७ लाख ७७ लाख ३१ हजार र अन्तःशुल्क रु.एक अर्व ३९ करोड ६२ लाख ६२ हजार छन्।गएको साउन देखि माघसम्ममा कार्यालयले आयकरमा १३१ प्रतिशत, मूल्यअभिवृद्धिकरमा १६७ प्रतिशत र अन्तःशुल्कमा ६० प्रतिशत प्रगति हासिल गरेको छ।गएको वर्ष भन्दा यसवर्ष सो अवधिमा आयकरमा चार प्रतिशत,मूल्य अभिवृद्धिकरमा २६ प्रतिशत र अन्तःशुल्कमा पाँच प्रतिशत प्रगति वृद्धि हुनु राजस्वका लागि सुखद पक्ष रहेको प्रमुख सापकोटाको भनाई छ।

आन्तरिक राजस्व कार्यलयको मातहतमा मोरङको विराटचोक, पथरीमा पनि सेवा कार्यालय स्थापना गरिसकेको छ भने यसबाट कुल ५२ हजार करदाता लाभान्वित हुने विश्वास लिइएको छ।

 

प्रतिक्रिया