आइतबार, फागुन २३ २०७७
काठमाडौं ०७:४४
वासिङटन डिसी 20:59

मनको छाउगोठ अझै भत्किएन

टंक पन्त २०७७ फागुन ६ गते ३:२५ मा प्रकाशित

अछामकी आयुशा शाही १३ बर्षको उमेर देखि छुइ हुन थालेकी हुन । अहिले उनी २३ बर्षकी भइन । छुइ भएको बेला अहिले सम्म पनि उनी छाउगोठमै बस्छिन । उनका छाउगोठहरु पांच पटक सम्म भत्किए र मानिसहरुको छाउ गोठ राख्ने सोच नभत्किएका कारण ब्याच्लर पढने हुंदा सम्म पनि उनी त्यो बाध्यतामा छिन ।

पछिल्लो समय उनले घरमा निकै संघर्ष गरिन र घर परिबारलाई छाउगोठमा नबस्ने र सबै जना बसेकै घरको एउटा कोठामा बस्ने गरी सहमति भएको थियो तर गाउं समाजले अनेक कुरा काटेको कारण त्यो पनि असफल भयो । जब सम्म नकारात्मक मन भत्किदैनन तब सम्म गोठ भत्काएर मात्र हुने रहेन्छ । त्यस्तो मन भएकाहरु काठमाडौ देखि नेपाल भरि नै रहेका छन । यसर्थ महिनाबारी बार्ने ढांचा प्रबृत्ति देशभरि नै रहेको छ ।

अहिले पनि आयुशा शाही पहिलो मिन्स भएको सम्झदा उनलाई शरीर नै जिरिङ्ग हुन्छ । पहिलो पटक छुई हुँदा उनलाई मरौँ कि बाँचौ जस्तै भएको थियो । कारण एउटै थियो, छुई भएमा अध्याँरो गोठमा बसाल्छन् । खाना राम्रो र समयमै दिँदैनन् भन्ने चिन्ताले सताएको थियो ।

नभन्दै आयुशालाई त्यस्तै सास्ती भोग्नु परेको थियो । अहिले भने उनले घर परिबारलाई सम्झाएको कारण शुरुको जस्तो सास्ती भोग्नु परेको छैन । छाउगोठमै बस्न परेपनि सुरक्षित खालको र खाना पनि राम्रो ब्यबस्था गरिने गरेको छ । जसले गर्दा समाजमा अहिले आयुशा र आयुशाको परिबार उदाहरण बनेको छ । आयुशाले गरेको संघर्ष बलियो हुदै गएको छ । उनी स्वयं पनि छाउगोठ राख्ने सोचमै परिबर्तन गर्ने गरी लागेकी छिन । जसले समाजलाई नयां बाटो दिने छ र यो अभियानमा लाग्ने जति पनि अभियानता, संस्था छन ती सबैका लागि उनी उदाहरणीय बनेकी छन ।

महिनाबारी हुंदा सबै संगै बस्यो भने देविदेवता रिसाउने जस्ता कुरा गरेर डर देखाउने गरिन्छ । तर तिनै आयुशा हुन अछाम घर बाट बाहिर हुंदा उनी छाउगोठमा बस्दिनन । सफा सुग्गर हुने र महिलाहरुमा हुने स्वभाबिक प्रक्रियालाई सोही रुपमा लिनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने खाचो छ ।

उनी भन्छिन्, शुरुमा त आमाले सात दिनसम्म गोठबाट आउन दिइनन् । मलाई थाहा थियो, छुई हुनु एउटा प्राकृतिक नियम हो । छुई भएमा सरसफाई गर्नुपर्छ, पोषिला खानेकुरा खानुपर्छ, तर मैले त्यो पाइन् ।’हाम्रो समाजले छुई हुनुलाई अपराध सरह लिने गरेको उनको अनुभव छ । त्यसैले महिला छुई भएका बेला बाध्य भएर गोठमा बस्ने गरेका छन । मुगु सोरुगाउँपालिका वडा नं. ८ कच्चे गाउँकी गोरी रावल अहिले २१ वर्ष पुगिन् ।

उनी पनि भन्छिन्, ‘ म पनि पहिलो पटक छाउ हुँदा अध्याँरो गोठमै बसे । साह्रै डर लाग्थ्यो । कसलाई भनौ, के गरौँ जस्तो हुन्थ्यो । ’छुई भएका बेला महिलालाई गरिने व्यवहार परिवर्तन नभएसम्म छाउगोठ मुक्त वडा घोषणा गरेको औचित्य नहुने उनी बताउँछिन् ।सोरुगाउँपालिका वडा नं ८ लाई छाउगोठ मुक्त घोषण भइसकेको छ । यो सकारात्मक पक्ष हो । तर व्यक्तिको व्यवहारमा परिवर्तन हुन नसके छाउगोठमुक्त घोषणा गरेर मात्र हुदैन । बास्तबमा वडालाई छाउगोठ मुक्त घोषणा गरेपनि व्यवहारमा परिवर्तन हुनुपर्छ । तब मात्रै यसको अर्थ हुन्छ । ’

अछाम ,मुगु जिल्लाका धेरै वडा छाउगोठ मुक्त वडा घोषणा भएका छन् । तर ती वडाको अवस्था पुरानै छ । सोचमा परिबर्तन भएको छैन । कतिपयले छाउगोठ मुक्त वडा घोषणा गरेर आफ्नो सोचसँगै व्यवहारमा परिवर्तन गरेको भएपनि धामिझाँक्रीहरु र पुरातनवादी सोच भएकाको घरमा अहिले पनि अवस्था उस्तै छ ।

जिल्लाका स्थानीय निकायको अगुवाइमा धमाधम छाउगोठ मुक्त अभियान चलिरहेको भएपनि अझै पनि छाउगोठ बांकी नै छन ।भौगोलिक विकटता भएका कर्णालीका पहाडी जिल्लामा बढी यो समस्या रहेको छ । शिक्षा, स्वास्थ्य, चेतना र आर्थिक संकट पनि सो क्षेत्रमा त्यत्तिकै छ । छाउपडी प्रथा, बालविवाह, छोरा र छोरी विचको विभेद,जातीय छुवाछुत जस्ता सामाजिक विकृतिबाट माथि उठ्न अझै केही समय लाग्ने देखिन्छ ।

हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट मिलेर बनेको साविकको कर्णालीमा महिनाबारी र सुत्केरी भएको वेला महिला तथा किशोरीहरुलाई छिछि र दुरदुर गर्ने जस्ता प्रबृत्तिको जरो उखेल्न निकै मेहनत गर्नुपर्ने छ । महिला र किशोरीहरुमा हुने प्राकृतिक एवं स्वभाविक प्रक्रियालाई अछुतकोरुपमा लिएर ७ दिन सम्म छाउगोठमा राख्नु भनेको समाजलाई अगाडि बढन नदिन खोज्नु हो । त्यो बेला घर परिवारले पिउने पानी छुन पनि नपाइने सम्म महिला र किशोरीलाई पिडा दिने चलन छ भने सन्तान जन्मिएको ११ दिनसम्म सुत्केरी र नवजात शिशु छाउगोठ तथा गाइगोठ बाध्ने गोठमै बस्नुपर्ने वाध्यता छ ।त्यो अर्को चरम अछुतो र असैहय ब्यबहार हो ।

कर्णालीमा महिनाबारीलाई छाउ हुनु, परसर्नु, पाखा सर्नु, छुइ हुनु, फूल फूल्नु पनि भनिन्छ । महिनाबारी हुदा महिलाहरुले घर भित्र पस्न नपाउने, दुध, दही घीउ खान नदिने, घास, दाउरा मेलापात र भारी बोक्ने काममा बढी जोतिनुपर्ने बाध्यता छ । महिनाबारीको समयमा असुरक्षित रुपमा घरबाहिर छाउ गोठमा बस्दा ब्यभिचारी पुरुषहरुले जिस्काउने र कतिपय दिदीबहिनीहरु त बलात्कारको शिकार बन्नुपरेको अवस्था अहिले पनि रहेको छ । महिनाबारी भएको बेला त्यो पनि त्यसरी छाउगोठमा राखिएकै बेला सबै भन्दा बढी बलात्कारको शिकार हुुनु परेका घटना निकै धेरै छन । त्यो पनि आफ्नै नातेदार र छिमेकीबाट बढी बलात्कृत हुनु परेको छ । अध्ययन अनुसार बलात्कृत हुनेहरु ८२ प्रतिशत आफनै नातेदार र आफन्तबाट हुने गरेका छन ।

गोठमा बस्दा विरामी पर्ने, सर्प, बिच्छीले टोक्ने देखि जंगली जनावरको आक्रमणको डर हुने गर्छ । अझै बर्षाको समयमा त गोठ नै भत्केर कुन बेला च्याप्ने भन्ने भय पनि हुन्छ ।राति पानी परेको दिन रातभरि जागराम नै बस्ने हो । आयुशा भन्छिन , बत्ति पनि नहुने , हावा पानी निकै आउंदाका दिन त आजै जीबन जाने भयो भन्ने हुन्छ त्यो अहिले पनि कैयौ महिलाहरुलाई हुने गरेको छ । आयुशाको जस्तो कष्टकर जीबन बिताउने कर्णाली क्षेत्रमा धेरै महिला छन भने अन्य जिल्लामा त्यो अबस्था रहेको छ । त्यति मात्र होइन राजधानीमा बस्ने र निर्णायक तहमा रहने ब्याक्तिहरुमा पनि छाउगोठे सोच रहने गरेको छ । राज्यद्धारा बनेको ऐन नियम र निर्देशिका ब्यबहारमा कार्यान्वयन हुन सकेको छैन । छुइ हुनु स्वभाविक प्रक्रिया हो भनेर थाहा नपाएका निरक्षर महिला छाउगोठमा बस्नु त नौलो कुरा लाग्दैन तर महिनाबारी प्रक्रियाबारे थाहा पाएका स्वास्थ्यकर्मी र शिक्षिका पनि छाउगोठमा बस्ने गरेका छन । महिनाबारी भएको बेला अधिकांश किशोरीहरु विद्यालय पनि जादैनन् ।

हुन त कैयौ विद्यालयमा छात्रा मैत्री शौचालय छैनन् । प्याडको ब्यवस्था हुंदैन र भइहाले पनि प्याड लगाउने, फेर्ने तथा ब्यवस्थापन गर्ने ठाउंको अभाव छ । छुइ भएको समयमा विद्यालय जान नपाउंदा पढाइमा कमजोर हुने र अन्त्यमा पढाइ नै छाड्ने अवस्था आउने गरेको छ । पहिलो पटक छुई भएपछि त घरका अन्य सदस्यहरुको मुख हेर्नु हुदैन भन्ने अन्धविश्वासले किशोरीहरु घर बाहिर लुकिछिपि बस्नुपर्ने अवस्थाले किशोरीहरुलाई थप पीडा हुने गरेको छ ।

विद्यालयका शिक्षकहरुले पनि छाउपडी प्रथा हटाउनको लागि ठोस भुमिका खेल्नुपर्ने देखिएको छ । अहिले सम्म त्यो भुमिका निर्बाह गर्नमा उनीहरु सक्रिय भएको पाइएको छैन शिक्षक शिक्षिकाले पनि छाउपडीलाई बाल्यकालदेखि नै संस्कृतिको रुपमा स्वीकार्दै आएका छन् । यति सम्म कि, ति शिक्षकहरुलाई छाउपडीको विरुद्धमा बोल्दा आफ्नो इज्जत जाने हो कि भन्ने भ्रम छ । बाहुन भनेर चिनिने नेपाली विषयका शिक्षकहरु त मासिक श्राव भएका किशोरी तथा महिलाबाट टाढै बस्छन् । उनीहरु छाउपडीको विषयमा बोल्नै चाहँदैनन् । शिक्षकहरु नै छाउपडीको विरुद्धमा बोल्न नसक्ने भएपछि महिनावारीको बेला छात्राहरु विद्यालय जान झन् हिचकिचाउँने नै भए
समाजमा छाउपडी प्रथाले जसरी जरा गाढेको जसले गर्दा मानिसहरु यो कुरिती हो भनेर थाहा पाउँदा पाउँदै पनि त्यसको विरुद्धमा बोल्न सकिरहेका छैनन् । छाउपडी प्रथालाई संस्कृतिसँग जोडेर हेर्नु नै गलत हो ।

अग्रगामी सबिधान बनायौ र मानिसका अधिकारलाई ब्यबहारमै कार्यान्वयन गर्ने गरी ऐन नियम र नीति पनि बनायौ तर आज पनि हाम्रै देशमा सानी छोरीको भबिष्यमाथि खेलबाड गर्ने गरी छोरी महिनाबारी भएको बेला अंध्यारो गोठ अर्थात छाउगोठमा लगेर राख्ने समाज अहिले पनि बिधमान छन । देबी देबता रिसाउछन भनेर महिलामा हुने प्राकृतिक र स्वभाबिक प्रक्रियालाई अछुतोको रुपमा लिने ब्यहारको अन्त हुन आबश्यक छ ।

छोरी महिनाबारी हुदिनन भने सृष्टि नै चल्दैन तर हाम्रो समाज खास गरी सुदुरपश्चिम क्षेत्रमा जुन खालको ब्यबहार गर्ने गरिएको छ त्यो घातक रहेको छ जसलाई सबै सकारात्मक सोच हुनेहरु एक भएर छोरीको भबिष्य मात्र होइन जीवनमाथि खेलबाड गर्ने गरी छाउगोठमा राख्ने कार्य बन्द गरौ र घरपरिबार समाजलाई अग्रगामी बनाउ जसले देशलाई पनि अग्रगामी हुन सहयोग पुरयाउने छ । त्यसका लागि माथि देखि तल सम्मका जिम्मेबार ब्याक्तिहरुको सोचमा परिबर्तन हुनुपर्ने खाचो छ । सबैले सकारात्मक सोच बनाएर मैले नगरे कस्ले गर्ने र अहिले नगरे कहिले गर्ने भन्ने कुरा मनन गरौ ।

 

[email protected]

प्रतिक्रिया