नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा तीन जिल्लामा आर्थिक सहयोग हस्तान्तरण

इनेप्लिज २०७७ माघ २१ गते २३:२४ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा विभिन्न तीन जिल्लामा पार्टी कार्यालय भवन निर्माणको लागि पठाइएको आर्थिक सहयोग नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गत बुधबार तीनै जिल्लाका पार्टी सभापति तथा प्रतिनिधिहरुलाई आफ्नै निवासमा बोलाएर हास्तान्तरण गर्नुभएको छ।

रामेछाप र ओखलढुंगा जिल्ला पार्टी कार्यालय भवन निर्माणको लागि र रोल्पा जिल्लामा सुशील कोईराला स्मृति भवन निर्माणको लागि सहयोग गरिदिन अनुरोध आएकोले नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय कार्यसमितिको बैठकले आर्थिक सहयोग गर्ने निर्णय गरे बमोजिम रकम संकलन गरी पठाइएको जनसम्पर्क समिति अमेरिकाका सभापति धनन्जय नरसिंह केसीले बताउनुभयो ।

रामेछाप जिल्ल्लामा निर्माणाधीन वीपी स्मृति भवनको लागि पठाइएको एक लाख रुपैया नेपाली काँग्रेस रामेछाप जिल्ला सभापति लवश्री न्यौपानेले, ओखलढुंगा लागि पठाइएको पचास हजार रुपैया नेपाली काँग्रेस ओखलढुंगाका महाधिबेशन प्रतिनिधि तथा जनसम्पर्क समिति समन्वय विभागका सदस्य पेमा शेर्माले त्यस्तै रोल्पा जिल्लामा निर्माणाधीन सुशील कोइराला स्मृति भवनको लागि पठाइएको पचास हजार रुपैया नेपाली काँग्रेस रोल्पाका सभापति अमर पुनलाई हस्तान्तरण गरिएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव सुभाष घिमिरेले बताउनुभयो ।

उक्त रकम हस्तान्तरण कार्यक्रमको संयोजन प्रजातान्त्रिक समाजका सभापति एवं नेपाली काँग्रेस महासमिति सदस्य डा. केदारनरसिंह केसीलेले गर्नुभएको थियो । नेपाली जनसम्पर्क समिति अमेरिकाले यस अघि पनि विभिन्न जिल्लाका बाढी पिडितहरुको लागि आर्थिक सहयोग गरेको समितिकी कोषाध्यक्ष क्रान्ति अर्याल भण्डारीले बताउनुभयो।

सहयोग रक़म बुझे पश्चात रामेछाप र रोल्पाका सभापतिद्वय लवश्री न्यौपाने र अमर पुनले नेपाली जनसम्पर्क समिति अमेरिकालाई हार्दिक धन्यबाद प्रकट गर्नुभएको थियो । त्यसरी नै नेपाली काँग्रेस ओखलढुंगाका नेता शेर्पाले रकम बुझे पश्चात आफ्नो फेसबुक स्टाटस मार्फत समितिलाई सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया