म्यानमारमा आङ सान सुकी सेनाको नियन्त्रणमा

इनेप्लिज २०७७ माघ १९ गते १२:०० मा प्रकाशित

म्यानमारको सेनाले नेशनल लिग डेमोक्रेसी दलकी सर्वोच्च नेतृ आङ सान सुकीलाई नियन्त्रणमा लिएको छ । सोमबार फेब्रुअरी १ का दिन उनि लगायत राष्ट्रपति विन मिन्टसहित केही नेतालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई निवासबाटै त्यहाँको सेनाले नियन्त्रणमा लिएको हो । सेनाले गरेको ‘कू’ को विश्वभर निन्दा भएको छ । संयुक्त राष्ट्र संघ, अमेरिका, अस्ट्रेलिया ,भारत लगायतका मुलुकहरूले सेनालाई कदम सच्याउन आग्रह गरिरहेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सबै सरकारी अधिकारीहरूको तत्काल रिहाइको माग गर्दै भनेका छन् ‘अमेरिका बर्माका नागरिकहरुको प्रजातन्त्र, स्वतन्त्रता, शान्ति र विकासको चाहनाको पक्षमा छ । सेनाले तत्काल आफ्नो कदम सच्याउनुपर्छ ।’

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले पनि म्यानमारमा भएको सैन्य ‘कू’प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनको प्रवक्ताले जारी गरेको विज्ञप्तिमा गुटेरसले सबै पक्षलाई प्रजातान्त्रिक मूल्यमान्यताको पालना गर्न आग्रह गरेका छन् ।

गत नोभेम्बरमा म्यानमारमा आम निर्वाचन भएको थियो भने उक्त निर्वाचनमा सत्तारुढ पार्टीले अत्यधिक बहुमतसहितको जित हात पारेको थियो । तर, यो निर्वाचनको नतिजामा भने सेनाले धाँधली भएको भन्दै विवाद खडा गर्दै आएका थिए ।

शुक्रबार सेना समर्थित दुई पार्टीले सर्वोच्च अदालतमा निर्वाचनको नतिजाबारे आफ्नो प्रमाणसहित रिट दायर गरेका थिए । यसले पनि म्यानमारको सैन्य ‘कू’ हुन सक्ने आशंका गरिएको थियो ।

नेताहरुलाई नियन्त्रणमा लिएपछि म्यानमारका सडकमा सैनिकहरुले गस्ती बढाएका छन् । सेनाले उक्त चुनावमा धाँधली भएको बताएँदै संसद् बैठक नराख्न भनेको थियो । सोमबार अर्थात आज त्यहाँको संसद् बैठक बस्ने कार्यसूची रहेको थियो ।

स्रोत: एपी/ रोयटर्स

प्रतिक्रिया