‘बडघर भलमन्सा’चुन्ने परम्परा बाट सिक्नुपर्ने पाठ

वीरेन्द्र रावल २०७७ माघ १६ गते ३:४८ मा प्रकाशित


वीरेन्द्र रावल,

नेपालमा रहेका १ सय २७ जात जाती मध्य थारु समुदाय पनि एक हो।पश्चिम नेपालको दाङ,बाँके,बर्दिया,कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने थारु समुदायमा स्थापित कला,संस्कृति,रीतिरिवाज जस्ता विशिष्ट पक्षबाट अन्य समुदायले धेरै कुरा सिक्न जरुरी छ।पश्चिम नेपालका पाँच जिल्लामा बसोबास गर्ने यो समुदायले सदियौं देखिको थारु कला,संस्कृति अनि आफ्नो परम्परालाई जोगाउँदै आर्ईरहेका छन्।उनिहरुको परम्परागत कला,संस्कृति र रीतिरिवाज आजपनि थारु समुदायका बिचमा आपसी सद्भाव र एकताको प्रतिकको बलियो आधारको रुपमा स्थापित हुँदै आएको छ।

थारु समुदायका बिचमा परम्परागत रीतिरिवाजले खेलेको महत्वपूर्ण भूमिका आजपनि वैज्ञानिक अस्त्रको रुपमा काम गरेको देखिन्छ।थारु समुदायका बिचमा रहेको जातीय एकता र सद्भाव कायम गर्ने माध्यम भनेकोनै थारु परम्परा र संस्कृतिनै हो।

थारु संस्कृति भित्र रहेको बडघर भलभन्सा परम्पराले थारु समुदायको जीवन शैलीलाई सञ्चालन गरिरहेको पाईन्छ।थारु संस्कृति र परम्पराले उनिहरुका बिचको साझा एकता,सद्भाव,जीवनशैलीलाई सहजताका साथ अघि बढाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ।

थारु समुदायले हरेक बर्ष माघ एक गतेका दिन देखि लिएर माघ मसान्त सम्म समुदायस्तरमा नयाँ योजनालाई प्रजातान्त्रिक रुपले अगाडी सार्ने र त्यसलाई कार्यान्यवन गर्नका लागि पनि समुदायस्तरमै छलफल बहस अनि लामो गृहकार्यमार्फत कार्यान्वयनको दिसामा लैजाने गरिन्छ।

विगतका बर्षहरुमा ठूला धनी थारु समुदायका व्यक्तिहरुको दवाव र करकापमा नयाँ बडघर वा भलभन्सा बनाउने परम्परा रहेतापनि पछिल्लो समयमा आएर बडघर र भलभन्सा छनौट गर्ने परम्परा लोकतान्त्रिक पद्धतिबाट सञ्चालन गरिन थालेको पाइएको छ।

अन्य जात जातीका मानिसहरुमा जातीय सद्भाव र एकता परस्परमा नदेखिएतापनि थारु समुदायका बिचमा भने एक प्रजातान्त्रिक पद्धती र शैलीको माध्यमबाट बडघर र भलभन्साको निर्वाचन गर्ने परम्पराले संस्थागत रुप लिंदै जान थालेको छ।अन्य संप्रदायमा देखा पर्दै जान थालेको जातीय सद्भाव र एकतामा आएको स्खलनको तुलनामा भने थारु समुदायका बिचमा जातीय एकता झन बलियो बन्दै जान थालेको पाईन्छ।

पश्चिम नेपालका थारु समुदायका बिचमा स्थापित यो परम्परालेनै उनिहरुका बिचको एकता,नयाँ योजना बनाउने ,सकरात्मक गतिविधीलाई स्वस्थ र प्रजातान्त्रिक प्रणालीबाट सञ्चालन गर्ने परम्परागत तर वैज्ञानिक पद्धतिको विकासले संस्थागत रुप लिंदै जान थालेको छ।

विगतमा नेपालका अन्य समुदायमा पनि कटुवाले,मुखिया,चौकीदारी,तालुकदार र डिठठ जस्ता परम्पराले त्यो समाज सञ्चालन गरिरहेको हुन्थ्यो।जव नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापना भयो त्यसपछि विस्तारै पहाडीया समुदायबाट तीं परम्पराहरु हट्दै जान थालेको पाईन्छ।देशमा लोकतन्त्र आईसकेपछि भने त्यसको नाम निशानानै हटेर गएको पाईन्छ।

पहाडी समुदायमा आजभोली गाउँमा मुखियाको दबदवा र बोलवाला भने लोकतन्त्रमा पूर्ण रुपले हटेको पाईन्छ।आजभोली पहाडी समुदायमा गाउँघरमा चौकीदारको परम्परा यदाकदा देख्न सकिन्छ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको वडानम्बर १७ भादा गाउँका ३३ वर्षीय सन्तबहादुर चौधरीले गाउँको थारु समुदायमा ११ बर्ष देखि ‘भलमन्सा’ को जिम्मेवारी बहन गर्दै आईरहेका छन्।थारु समुदायले आफ्नै शैलीमा गरेको मतदानको प्रक्रियाबाट उनले आफ्ना प्रतिस्पर्धी तीन जनालाई ५७ मतले पराजित गर्दै भलमन्सा पदमा विजयी भएका थिए।विगतमा हुने खाने बलियो व्यक्तिको करकापमा भलभन्सा छनौट गर्ने परम्परा भएतापनि देशमा लोकतन्त्र आईसकेपछि भने प्रजातान्त्रिक शैलीबाट भलभन्साको छनाट गर्ने चलन स्थापित बन्दै जान थालेको छ।

एक पटक भलभन्सा भैसकेपछि पुनः अर्कोपटक दोहोरिनका लागि उसले आफ्नो गाउँ,टोलमा गरेका राम कामका पक्षलाई आधार मानेर पुनः निर्वाचित गर्ने वा नगर्ने भन्ने कुराको निर्धारण गर्ने गर्दछ।

माघ महिना सुरु भएसँगै यतिबेला कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने चौधरी थारु समुदायमा ‘माघी’ अर्थात् माघे सङ्क्रान्ति पर्वको रौनक देखिँदा गाउँको मुख्य व्यक्ति ‘भलमन्सा’ को पदमा कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने विषयले प्राथमिकता पाउने गरेको पनि हुन्छ।यस्तै धनगढी उपमहानगरपालिका वडानम्बर ८ क्याम्पस रोडस्थित सरोज आयलका सञ्चालक सरोज चौधरी आफ्ना बुवाको शेषपछि मपनि भलभन्सा निर्वाचित बनेका छन् यसपालिपनि।उनका बुबाको जिम्मेवारी सरोजले प्राप्त गरेका छन् किनकी उनले थारु समुदायका लागि राम्रो काम गरेका आधारमा भलभन्सा छनौट गरेको पाईन्छ।

विगतका भन्दा हाल आएर थारु समुदायमा मुख्य व्यक्तिको रुपमा रहने भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया अथवा गोला (चिट्ठा) प्रक्रिया अपनाएर प्रजातान्त्रिक ढङ्गले छनोट गर्ने गरिन्छ।

माघको पहिलो सातादेखि दोस्रो साता भित्र गाउँमा भलभन्साको निर्वाचन, गठन लगायतका सबै कार्यहरु सम्पन्न भैसकेपछि भलमन्साको नेतृत्वमा गाउँमा भए गरेका कामको समीक्षा गर्ने,हिसाबकिताब गर्ने र चुक्ता गर्ने,नयाँ खाता सञ्चालन गर्ने जस्ता काम पनि गरिन्छ।गाउँको मुख्य व्यक्तिको रुपमा भलमन्साका अलावा गुरुवा,चिराकी,चौकिदार, अघरियाजस्ता पदमासमेत विभिन्न व्यक्तिको छनोट गर्ने परम्परा पनि रहेको छ ।

‘गुरुवा’(वैद्यको काम गर्ने) ले मानिस, गाईवस्तु र अन्न बालीमा देखिने रोगको समस्या समाधान गर्ने जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ।‘चिराकी’ ले देवस्थल र घरमा हुने शुभकार्यमा बत्ती बालेर पूजाको काम गर्छ।चौकिदारले आफ्नो गाउँठाउँमा कुनै कामका लागि भेला बोलाउनु परेमा गाउँका मान्छेलाई हाँक गर्ने बोलाउने काम र अघरियाले भलमन्साको सहायकको रुपमा काम गर्नुपर्ने परम्परा छ।

गाउँको भलमन्सा पदमा चुनिने व्यक्तिको घरलाई यो समुदायमा ‘बडघर’ को रुपमा चिन्ने गरिन्छ।बडघरले लाए अह्राएका कामहरु गाउँका अन्य सदस्यले मान्नुपर्ने हुन्छ। यस्तो प्रचलनका कारण नै गाउँको अनुशासन कायम हुने र सामूहिकतामा काम गर्ने सदियौँदेखिको प्रचलन थारु गाउँमा रहने गरेको छ।
समग्र गाउँको संरक्षण गर्ने,विकास निर्माणका काम गर्ने,कुलोपानी,विजुली बत्तीको व्यवस्था गर्ने,गाउँघरमा आइपर्ने दुःख सुखमा सामूहिक सहयोग गर्ने गराउने जस्ता काम गाउँको नेतृत्वकर्ता भलमन्साले गर्ने गर्दछन्।भलमन्साको आदेशमा गाउँका यावत काम गर्नुपर्नेलाई ‘बेगारी’जाने भनिन्छ।बेगारी जान नसक्नेले जरिवानासमेत तिर्नुपर्ने हुन्छ।

यस्तो परम्पराले गाउँको एकता र सामूहिकताको विकास हुने मात्र नभई गाउँमा अनुशासन कायम गर्नमा टेवा पुग्ने गरेको देखिन्छ ।थारु गाउँमा सदियौँदेखि यस्तो प्रचलन रहेकाले नेतृत्वकर्ताको बेग्लै महत्व र सम्मान हुने गर्दछ ।बडघर र भलभन्सा परम्पराले समग्र गाउँको संरक्षण गर्ने,विकास निर्माणका काम गर्ने, कुलोपानी,विजुली बत्तीको व्यवस्था गर्ने,गाउँघरमा आइपर्ने दुःख सुखमा सामूहिक सहयोग गर्ने गराउने जस्ता काम गाउँको नेतृत्वकर्ता भलमन्सा ले गर्ने गर्दछन्। भलमन्साको आदेशमा गाउँका यावत काम गर्नुपर्नेलाई ‘बेगारी’ जाने भनिन्छ। बेगारी जान नसक्नेले जरिवानासमेत तिर्नुपर्ने हुन्छ।

भलमन्सालगायतका पदमा काम गर्दै आएका व्यक्तिको ‘घर फाटे’ माअंशबण्डा भएमा निजलाई सकभर उक्त पदको जिम्मेवारीबाट मुक्त गरिन्छ।अंशबण्डा भएर अलग घर बनाएर बस्नुपर्ने अवस्थामा निजले भलमन्सा र आफ्नो घरकोसमेत गरेर दोहोरो जिम्मेवारी बहन गर्न नसक्ने हुँदा भलमन्सा पदबाट मुक्त गर्ने गरिन्छ।

भलमन्सा पदको जिम्मेवारी वहन गर्ने अधिकांशले स्वयंसेवीका रुपमा काम गर्ने गरेका छन्।कतिपय गाउँमा भने यो पदमा बसेर काम गर्नेलाई समुदायको निर्णयअनुसार पारिश्रमिकको रुपमा खाद्यान्न उपलब्ध गराउने गरिन्छ।पछिल्ला वर्षमा समुदायमा रहेको सकारात्मक अभ्यास,परम्परा र संस्कृतिको संरक्षणका कामलाई अगाडि बढाउन टेवा पु¥याइरहेको यो प्रजातान्त्रिक पद्दति बडघर प्रथालाई जीवन्त राख्नुपर्ने आवाज उठ्न थालेको छ।

यो समुदायमा परम्परादेखि चल्दै आएको सामाजिक न्याय प्रणालीहरुमा सासाना झैझगडा मेलमिलाप गराउने, अंशबण्डा लेनदेनका कुरा साँध सधिँयारको विवादजस्ता विवादलाई भलमन्साले समुदायको रोहवरमा सामाजिक न्याय निसाफ न्यायोचितरुपमा गर्दै आएकाले यो प्रथालाई राज्यले कानुनी मान्यता दिई संरक्षण गर्नुपर्ने माग पनि उठ्ने गरेको पाईन्छ।

कतिपय बस्तीमा निर्वाचित जनप्रतिनिधिभन्दा बडघर प्रथालाई समुदायले बढी विश्वास गर्ने भएको अवस्थामा यसलाई कानुनी मान्यता दिनुपर्ने आवाज उठ्ने गरेको हो।यो प्रथाले समुदायमा रहेको सामाजिक तथा सांस्कृतिक कार्यहरुको संयोजन गर्नुका साथै व्यवस्थापनको अगुवाई पनि गर्दै आएको छ।

विगतमा १९ बर्ष सम्म हुन नसकेको स्थानीय निकायको निर्वाचनमा समेत थारु समुदायमा स्थापित परम्परागत बडघर तथा भलभन्सा परम्पराले काम गर्दै आएको पाईन्थ्यो।

जनप्रतिनिधि नहुँदाको विगतको अवस्थामा समेत थारु गाउँमा विकासका योजना बनाउन,जनसहभागिता जुटाउन गाउँको न्याय निसाफ छिन्ने कार्य गर्नेलगायतका कामको विवाद मिलाउने कार्यमा कुनै वाधा अवरोध सिर्जना भएको थिएन। परम्परातरुपमा भलमन्सा चुन्ने र गाउँको नेतृत्व सुम्पने कार्यले थारु गाउँमा जनप्रतिनिधि हुनु अथवा नहुनुले त्यती ठूलो असर नपर्ने पनि उनिहरुको मान्यता रहेको छ।

बडघरको सुरुआत कसरी भयो भन्नेबारेमा ऐतिहासिक तथ्य नभए पनि कविला युगदेखि यो प्रणाली अस्तित्वमा रहेको अनुमान गरिएको भएतापनि परापूर्वकालमा हुनेखाने परिवारलाई बडघर भन्ने गरिएको थारु अगुवाको भनाइ छ।बदलिँदो परिवेशअनुरुप समाजमा नीति निर्माण र अनुशासन कायम गर्नका लागि यो समुदायले एकजना नेतृत्वकर्ताको महसुस गरेअनुसार बडघर भलमन्सा नियुक्त गर्ने चलन सुरु भएको पाईन्छ।

पछिल्लो समयमा आएर थारु समुदायमा पुरुषलाइ मात्र नभएर महिलालाई पनि बडघर भलभन्सा वा सदस्य चुन्ने परम्परा स्थापित हुँदै समावेशीताको सिद्धान्तलाई पनि उत्तिकै लागु गर्ने परम्पराको थालनी भैसकेको छ।नेपालमा २०६८सालमा भएको जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्यामध्ये थारु समुदायको जनसङ्ख्या सात प्रतिशत अर्थात् १७ लाख ३७ हजार ४ सय ७० रहेको छ। यसैगरी एक तथ्याङक अनुसार दाङमा २सय९१,बाँकेमा ४३, बर्दियामा ३सय४१, कैलालीमा ६सय १ र कञ्चनपुरमा २सय १७ गरी बडघरको सङ्ख्या एक हजार ४सय ९३ रहेको बताइएको छ।यसरी यीं बडघर तथा भलभन्साहरुले थारु समुदायको जीवन शैली र क्रियाकलापलाई बिधिवत रुपले सञ्चालन गरिरहेको पाइएको छ।

पाँच जिल्लामा रहेका सबै बडघरहरको पनि साझा संघ बनाएर थारु जातत ,जातीको हक,हित र संरक्षणका पहलहरु भैरहेको पाइएको छ।थारु समुदायका स्थापित यो परम्पराले अन्य जात जाती र बर्ग बिशेषका लागि जातीय सद्भाव,अनि एकतालाई प्रगाढ राख्नका लागि पनि बलियो उदाहरणका रुपमा लिन सकिन्छ।

माघ महिनालाई नयाँ बर्षको रुपमा मनाउने परम्परा रहेको यस समुदायका बिचमा नयाँ योजना,कार्यक्रम,रणनीति र आर्थिक क्रियाकलापका बारेमा पनि व्यापक छलफल हुने गर्दछ।

थारु समुदायमा माघ महिनामा सबै बन्धुबान्धवका छोरा छोरीलाई कस्तो बिद्यालयमा अध्ययन गराउने?आर्थिक जोहोको के कसरी व्यवस्था मिलाउने र नयाँ घर व्यवहार कसरी सञ्चालन गर्ने भन्ने बिषयमा पनि व्यापक व्यापक रुपले तयारी गर्ने परम्परा रहेको छ।

नेपालका अन्य जात जाती र समुदायका मानिसहरु भन्दा पनि अलि पृथक संस्कृति भएका थारु समुदायका बिचमा स्थापित बडघर र भलभन्सा परम्परालाई समयको माग अनुसार परिमार्जित गर्दै लैजानुपर्ने माग पनि उठिरहेको देखिन्छ।

लेखक:प्रेस चौतारी कैलालीका पुर्व अध्यक्ष हुन।
९८५८४२०६४३

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया