प्रचण्डले भनेः केपीजी निसन्तान हुनुभयो, उहाँको दोष हो ? (भिडियोसहित)

इनेप्लिज २०७७ माघ ७ गते ०:०० मा प्रकाशित

काठमाडौं, ६ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गर्दै निसन्तान हुनु दोष नभएको बताएका छन् । उनले आफू निसन्तान नहुनु पनि दोष नभएको बताएका छन् ।

‘म निसन्तान भइनँ मेरो दोष हो । केपीजी निसन्तान हुनुभयो, छोराछोरी भन्न परेन भने उहाँको दोष हो र ?’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग विशेष अन्तवार्ता दिदै प्रचण्डले भने । ओलीले प्रचण्डले परिवारलाई मात्र प्राथमिकतामा राखेर कदमहरु चालिरहेको आरोप लगाउँदा प्रचण्डले यस्तो भनाई सार्वजनिक गरेका हुन्।

प्रचण्डले आफ्नो परिवारका सदस्यहरुको राजनीतिमा ठुलो योगदान भएको स्मरण गराए । ‘युद्धका बेलामा मर्न हिंडेका होइनन् र ? जेलनेल यातना भोगेर आएका हुन् र ? क्रान्तिमा सबै होभिए त्यो मेरो दोष हो,’ उनले भने,‘भैरवनाथ गणमा तीन वर्ष लापता भएर यातना खाएर बसे।रोल्पा रुकुमका भीरपाखामा कुदे मेरा छोरीहरु ।’ उनले आफूले युद्धमा छोराछोरीलाई विदेशमा पढ्न नपठाएको समेत बताए।

ओलीले आफूलाई सिध्याउने उद्देश्यमा अहिलेको कदम चालिरहेको आरोप लगाए । उनले ओलीमाथि जालझेल र षड्यन्त्रको आरोप लगाए । उनले भने,‘केपीजीको एकमात्र उद्देश्य प्रचण्डलाई सिध्याउने रहेछ।’ प्रचण्डलाई सिध्याउनका लागि गणतन्त्र नै सखाप पार्न खोजेको आरोप लगाए ।

संविधानलाई कुल्चने काम भएको र हत्या नै गर्न खोजिए देश अराजकताको भुँमरीमा फस्ने खतरा औल्याए।आफू मूलधारको राजनीतिमा आइसकेको तर ओलीको कदमविरुद्ध विद्रोह गर्नेहरु अरु निस्कने र त्यसलाई दमन गर्न खोज्दा अराजकता निम्तनसक्ने बताए।उनले भने,‘संविधानको हत्या गर्ने कार्य भएमा नेपाल फेरि अराजकताको सुरुङभित्र पस्यो ।’

ओलीले देशमा राजा नफर्कने बताए।राजावादी सलबलाएको प्रश्नमा उनले भने,‘सलबलाउनेहरु सलबलाइरहन्छन्, इतिहासको चक्का पछाडि फर्कदैन।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्र बचाइने बताए । आफूमा आवेग र आक्रोश भएको बताए । उनले धेरै सघर्ष गरेर ल्याएको गणतन्त्रको शिशुको हत्या गर्न खोजिए सहन नसक्ने बताए।

-रिपोर्टर्स नेपाल बाट

प्रतिक्रिया