नचिनिएका देशभक्त (कथा)

कोमल अधिकारी टिकापुर-१, टिकापुर,कैलाली २०७७ माघ २ गते २२:३४ मा प्रकाशित

कोमल अधिकारी ,टिकापुर-१, टिकापुर,कैलाली

एयरपोर्ट नजिकैको होटल।देश बाहिर जाने लर्कोको एक टुकडी।होटलवालाले खाना खान आधा घण्टा कुर्नु पर्छ भनेपछिको त्यो टुकडीको उप-टुकडी यसो फ्रेश हुन सडकतिर निस्कन्छ।

उप-टुकडीमध्येको श्याम बहादुरको मोबाइलको फोनको घण्टी बजिरहेको हुन्छ,फोन निकाल्छ बोल्छ: हेल्लो । ‘अझै पनि समय छ बाबु, बिदेशमा पनि रूखमा पैसा फल्दैन क्या रे।’ हो-हल्लाको बीचमा पनि हरि प्रसाद सरको टड्कारो आवाज ठम्यायो श्याम बहादुरले।अनि सरले यस अघि सम्झाएका सबै कुरा चलचित्रको रिल घुमेज सरी एकै पटक सम्झ्यो पनि।उसलाई असाध्यै माया गर्ने शिक्षक हुन् हरि प्रसाद।उसलाई अझै याद छ,हरि सरले ऊ १० मा पढ्दा राष्ट्रियता बारे दिएको प्रबचन।मान्छे जन्मे पछि आफू लाई मात्र हेर्ने होइन; परिवार, समाज र देशलाई केही न केही योगदान दिनुपर्छ;आफ्नो ज्यान त जनावरले पनि पाल्छ।…. हाम्रो देशमा के छैन; जलस्रोतको धनी देश, जैविक विविधताले भरिपूर्ण,राम्रा-राम्रा पर्वत श्रृङ्खला,विश्वमा सब भन्दा अग्लो चुचुरो भएको मुलुक,विश्वमा नै परिचित वीर गोर्खाली जाति बस्ने मुलुक….एक क्षण चुप लाग्नु भयो…लाग्थ्यो भन्दा भन्दै भक्कानिनु भयो…हो,त्यसै दिन देखि ऊ हरि सर लाईऔधि माया पनि गर्न लागेको थियो।

हरि सर शिक्षक मात्र होइन एउटा योद्धा पनि हो,देशको काँचुली फेर्ने योद्धा।उसलाई यस्तै यस्तै लाग्थ्यो।हरि सरलाई विद्यालयमा नदेखेको दिन उसलाई नरमाइलो लाग्न थालिसकेको थियो।

श्याम बहादुरको आर्थिक अवस्था कमजोर नै थियो।केहि समय बित्यो परिवारले उसलाई ११ कक्षा पास गराएको।उसको परिवार यानी कि बुवा,आमा र उसको दाजु कृष्ण बहादुर।दाजुले बी. एस्सी. उत्तीर्ण गरे पनि हाल कोरियामा कार्यरत।

कृष्ण बहादुर देशमै जागीर पाउँछु भन्नेमा ढुक्क थिए बी.एस्सी. गरेपछि।गाउँमै विज्ञान शिक्षकको आवश्यक्ताको विज्ञापन उसका साथीहरूले मेसेञ्जरमा पठाएका थिए बी. एस्सी. पास गर्ने बित्तिक्कै।आफ्नै गाउँ ठाउँमा शिक्षक हुन पाइने भइयो भनी खुशीले उसले आफ्नो परिवार र ईष्ट मित्रलाई खुशी शेयर पनि गर्यो र तुरून्तै घरतिर हानियो।आवेदकहरू ऊ सहित तीन जना रहेकोमा उसले छनौट हुन्छु भन्नेमा लख काट्यो,कारण थियो : बाँकि दुई जना भन्दा उसको बी.एस्सी. को प्रतिशत बढी हुनु। १५ दिनपछि लिखित परीक्षा त पास गर्यो तर अन्तर्वाता पछि उसको नाम वैकल्पिकमा पनि परेन।ऊ खिन्न भयो।एक कान-दुई कान हुँदै ऊ उत्तिर्ण नहुनुको चकित पर्ने खालका कारणहरू उसकै कानमा ठोक्किए: घमण्डी, कसै सँग नभन्ने, पढाइ लाई मात्र ध्यान दिने, कुनै पनि समुदायमा हिमचिम नभएको आदि आदि।

अन्तर्मुखी स्वभावको कृष्ण बहादुर शिक्षक हुन नसकिने रैछ भन्दै कम्पनीतिर डोरियो।सहायक अधिकृतको विज्ञापनमा निबेदन त दियो तर शुरूमै अनुभव कहाँबाट ल्याउने भन्नेमा चिन्तित भयो।अनुभव नभएकाले उसलाई सर्ट लिस्टमै राखिएन।

घरको आर्थिक अवस्था झन् दयनीय हुँदै थियो कृष्ण र श्याम बहादुरहरूको।कृष्णलाई बी.एस्सी. सम्म र काञ्छोलाई हाइस्कूल पढाउँदाको खर्चले घरको आर्थिक अवस्था तन्नम बनाउँदै लगेको थियो।जेठो कृष्णले पढे पछि कमाउँछ भन्ने मनोविज्ञानमा रहेको परिवार झन् विज्ञापनमा लाग्ने ,यातायात लगायतको खर्च, कान्छो छोराको पढाइमा लाग्दै गरेको खर्च बाट आजित झैँ हुन थालेको कुरा बुवाले भन्नु भएको भनेर आमाले कृष्णलाई सुनाउन थाली सकेकी थिइन्।पढ्दाको जोश र बी. एस्सी. गर्दाको खुशीयाली नै अब कृष्णलाई गर्हुँङ्गो भारी झैँ हुन थालिसकेका थिए।उसले सोच्यो :मर्नु भन्दा बहुलाउन निको।बिदेश गएर मात्र यो सम्भव छ यस बाट मुक्ति पाउन।र, निर्णय लियो: कोरियन भाषा सिक्ने र द.कोरिया जाने।

श्याम बहादुर २ वर्ष अघिको दाजुको प्रयास र हरि प्रसाद सरका कुरासँग तादाम्यता खोज्थ्यो।दाजुको पढाइ,कोरियाको बास र हरि सरका कुराहरू राष्ट्रियता शीर्षक सँगै घुलमिल भएर आउँथे।सोच्दा सोच्दै कहिले काहिँ उसलाई औडाहा पनि हुन्थ्यो तर धैर्य गर्दै बस्थ्यो।कुरै कुरामा एक दिन श्याम बहादुरले आफ्ना कुराहरू हरि सर सँग राखेरै छोड्यो: सरले राखेका कुराहरू पनि सहि छन् तर हाम्रा आमा बाबुले गरेका अपेक्षा पनि गलत छैनन् भने को हो देश भक्त ? सरले व्याख्या गरिदिनु पर्यो।सर,के युवाहरू आफ्नै देशमा राम्रो वातावरण हुँदा हुँदै विदेश पलायन भएका हुन् ? के नेपाली युवाहरू नेपालीको लाजले सेवा नगर्ने बरू विदेशीको सेवा गर्ने ईच्छा जाहेर गरेर विदेशिएका हुन् ? के राष्ट्रियताको पाठ अरू स्कूलमा पढाइ नभएरै युवाहरू ४५° को तातो मरूभूमिमा भेडा चराउन गएका हुन् ? के अहिले सम्म युवाहरूलाई नेपाल स्वर्णिम भूमि हो भन्ने थाहा नपाएरै पराई भूमिमा भासिएका हुन्? श्याम बहादुरका साथीहरू त्यतिबेला तीन
छक्क परेका थिए.. सर पनि अवाक्।ऊ अझै थप्छ: सर म हजुरलाई असाध्यै माया गर्छु,त्यसैले यी कुराहरू राखेको हुँ। सर,विदेश जानेका घरको आर्थिक अवस्था हेर्नुस् र त्यसलाई राष्ट्रियता सँग जोडेर व्याख्या गर्नुस्।बुवा आमाले हुर्काए,पढाए अनि छोरा-छोरीको कर्तब्य होईन सर आफ्ना बाबु-आमालाई सुख सयलमा राख्ने ?अनि त्यसको लागि कमाउन अन्यत्र बाट बिमुख भए पछि विदेश जान बाहेकको विकल्प भनि दिनु पर्यो सर।त्यसैले सर म तपाइँको कुरामा सहमत हुँदा हुँदै पनि पासपोर्ट भिजा बनाउन बाध्य छु,विदेशीको सेवा गर्न लालायित भएको भान पार्दैछु।देशभक्त तिनीहरू पनि हुन् सर,जो आफ्नो परिवारलाई उन्नत बनाउन चाहन्छन्,बरू हामीले ती देशभक्तहरूलाई चिन्न सकेनौ।देशमै उपाय नभएर विदेशिएका देशभक्त।नचिनिएका देशभक्त।

उसले स्कुल छोडेको आज ५ महिना बित्दैछ।फेरि हरि सरको फोनले उसलाई त्यही स्कूलमा हुँदाको वातावरण स्मृति पटलमा ताजा बनाउँछ।र,सर सँग फोनमा भन्छ: ‘ सरि सर,म सरले भनेको कुरामा सहमत हुँदा हुँदै,सरको औधि माया लाग्दा लाग्दै, घरमा बुवा-आमाको माया लाग्दा लाग्दै,गाउँको चौरमा खेल्ने मन हुँदा हुँदै, प्रत्येक दशैँ तिहारमा रोटे पिङ र देउसी-भैलो खेल्ने मन हुँदा हुँदै,गाउँमा बस्ने चाहना हुँदा हुदै फेरि भन्छु विदेशिन यहाँ सम्म आईपुगेको नेपाली हुँ भनेर। मेरो बाध्यतालाई बुझेर माफ गरिदिनु होला सर,मेसेञ्जरमा कुरा भई नै हाल्नेछ,केही सीप सिकियो भने भोलिको पुस्तालाई यसरी विदेशिन नपर्ने खालको केही काम गरौँला बरू सरले विदेश जानेलाई भन्दा पनि किन नेपाली विदेशिन बाध्य छ भनेर त्यसका सरोकारवाला सँग राष्ट्रियता र राष्ट्र विकासका बारेमा अन्तरक्रिया चलाउँदै गरिदिनु हुनेछ भन्ने अपेक्षा गर्दछु।नमस्ते मेरो आदरणीय सर।’ भन्दै श्याम बहादुरले फोन राख्छ।

(पात्रहरू काल्पनिक)

प्रतिक्रिया