आइतबार, माघ ११ २०७७
काठमाडौं २१:०९
वासिङटन डिसी 10:24

कथाः इतर सम्बन्ध

राम अधिकारी २०७७ पुष २९ गते २:१३ मा प्रकाशित

 

हाई भनेर आएको त्यो म्यासेज रविका लागि कल्पवृक्ष जस्तै भयो । मेसेज आदान–प्रदानको रफ्तार दिन दुई गुणा र रातमा चार गुणाले बढ्न थाल्यो । संवादका तरिका तिमी के गर्दै, खाना भो, कामबाट भर्खर फर्केको, म त सुतिसकेँ, आज कता गायब आदि इत्यादि थिए । आजकल रविका दिनहुँ हुने संवादका तरिका यस्तै हुन् ।

रविले एक मनले त सोच्यो परिवार भएको मान्छे, जिम्मेवारी भएको मान्छे किन पो अल्झिरहनु यस्ता उत्पादनहीन संवादहरूमा । तर पनि दिनमा वार्तालापले उसका केही प्रहर लिन थाल्यो । रविको अर्को मनले सोच्यो सामाजिक मिडियाहरूमा भुल्ने आधारहरू यिनै त हुन नि अविवाहित वा विवाहित पुरुषहरूका लागि पनि ! फेसबुकमा आफन्त तथा साथीभाइहरूसँग संवाद त अवश्य हुन्छ नै । तर यस्तै अपरिचितसँग हुने मनका वार्तालापहरू बढी आकर्षक हुन्छन्, रवि र रविजस्तै पुरुषहरूका लागि ।

यतिखेर रविको मन दोहोरो चपेटामा पर्‍यो । अझ समय दोहोरो चपेटामा पर्‍यो । उसलाई आफ्नै औपचारिक जिन्दगीसँग पनि संवाद गरिरहनु पर्ने छ । उता भर्खर जोडिन आएको सम्बन्धइतर वार्तालापलाई पनि ऊ छुटाउन चाहन्न । ऊ भर्खरै बेहुलो भएको थियो । उसको हृदयको प्रस्फुटन नयाँ तरिकाले हुँदै थियो । उसको जिन्दगीको सुरुवात नयाँ तरिकाले हुँदै थियो । सामान्य चिनजानको सम्बन्ध जिन्दगीको पूरा र पूर्ण सम्बन्धमा परिणत भएको थियो ।

त्यहाँ पनि गहिरो प्रेमको अंकुरण हुँदै थियो । रविले औपचारिक जिन्दगीमा प्रेमको फूल रोपेको थियो । उसले त्यसलाई चाहेर वा नचाहेर पनि फूलाउनू थियो । फूल र भमरा एकै ठाउँमा थिएनन् । बिहे गरेको केही महिनामा रवि विदेश फर्किसक्यो । त्यसपछि उसको जिन्दगीको गुलाफमा अनलाइनबाटै मलजल गर्नुपर्ने थियो । गर्मीको रापमा पानी सिँचाउनु थियो । त्यो त्यति सहज भने थिएन । उसका लागि यो सबै केही औपचारिक लाग्थ्यो, केही जिम्मेवारी लाग्थ्यो । हुन त सम्बन्ध रविका लागि जिन्दगी लाग्थ्यो ।

केही पुराना आदतले उसलाई अहिले इतर सम्बन्धमा धकेल्ने प्रयास गर्दैछ । केही साथीभाइका अनुभवले पनि उसलाई भड्काउन खोज्छ ।

साथीभाइका अनुभवले भन्थ्यो– केटाहरू विवाहित होऊन वा नहोऊन, अतिरिक्त सम्बन्धमा एक कदम अगाडि नै हुन खोज्छन् ।

रविका लागि पनि त्यस्तै भयो । उसको संवाद अघि बढ्यो । भावनाको आदानप्रदान अघि बढ्यो । रविले आफूलाई रोक्न सकेन । यता आफ्नो पारिवारिक जिन्दगी धरापमा पर्छ भनेर सोच्नै सकेन । उसलाई यी सब मिलाउने कुरा हुन् भन्ने लाग्यो तर अपारिचितसँगको संवाद भने छुटाउने कुरा हो भन्ने पटक्कै लागेन ।

उसका साथीभाइले इतर सम्बन्धका अनुभव बेला–बेला साट्थे । कति त बनावटी लाग्थ्यो ती कुराहरू उसलाई, कति त आफ्नै कथा हो कि जस्तो महसुस हुन्थ्यो । कलेजको साथी पवनले भनेको थियो कुनै बेला, “ जति लुकाउँछु भन्दा पनि यस्ता कुराहरू श्रीमतीबाट लुकाउन नसकिने रैछ ।”

धेरै साथीहरू इतर सम्बन्धमा गुज्रिरहेको र पछि पारिवारिक झमेलामा परेको पनि रविले सुनेको थियो । यी यावत् कुराहरू हुँदाहुँदै पनि उसले पनि भर्खरै जोडिन आएको वार्तालापलाई टुटाउन सकेन । जिन्दगीमा दुर्घटना हुन सक्छ भनेर जान्दा–जान्दै उसले आफूलाई पछाडि फर्काउन सकेन ।

उनीहरूका यस्तै सम्बन्धका, बिछोडका र दोहोरो जिम्मेवारीका गफ जाँडपाटीका बेला खुब चल्थे । रविले यस्ता कुरा पटक–पटक सुनेको थियो । जोशमा समस्यामा परेकालाई सुझाव पनि दिन्थ्यो । उसले अहिले बल्ल बुझ्दैछ यस्तो बेला सुझावले भन्दा मनको आन्दोलनले काम गर्दोरैछ । जमघटमा साथीहरू रक्सीको मात चढेपछि एक अर्काका भित्री कुरा एक–एक गरेर खोलिदिन्थे । रविले सोच्यो स्वर्गमा देवताहरूका रासलीला र यता साथीभाइका कला बेजोड थिए । उसले सोच्यो ऊ पनि अरू जस्तै प्राणी हो – मनलाई सजिलै बाँध्न नसक्ने ।

रविले बिना हिच्किचाहट सलिजासँग संवाद सुरु गर्‍यो । अहिले कता ? के गर्दै ? बिजी हो ? आदि प्रश्नहरू उसका लागि नियमित भएका थिए ।

सलिजा लेख्छे– “नाम सलिजा, घर त सिन्धुपाल्चोक, तर यहाँ पढ्नका लागि दिदी भिनाजुसँग बस्छु ।”

उसले पनि परिचय मागी र रविले लेख्यो– “रवि शर्मा, घर बुटवल, हाल अमेरिकामा छु ।”

फेरि रविले थप्यो– “ए साँच्ची, म त भर्खर विवाहित पनि ।”

रविलाई यो विवाहित वा नवविवाहित स्टाटसले कुरा गर्न अलि अकमक्क पार्‍यो । उसका लागि सलिजा गफ त दोहोरो मापदण्ड भएको थियो ।

सलिजाले सुरुवातताका च्याटमा रविलाई फूर्काई – “तपाईं त कस्तो राम्रो लेख्नु हुन्छ । तपाईंको प्रोफाइलमा भएका केही रचना पढेँ । कतिले त मनै छोयो ।”

रविले पनि सलिजासँग बोल्न सुरु गर्दा उसको प्रोफाइल पूरै हेरेको थियो र प्रतिक्रिया दियो– “तिमी पनि लेख्दिरहेछौ । तर बढी विछोडका, पीडाका लेखाई छन् ।”

सलिजा फर्काउँछे– “खै, त्यस्तै आयो मनमा, त्यस्तै लेखेँ । सायद यस्तै कुराले मलाई छुन्छ होला ।”

रवि फेरि सोध्छ – “कि प्रेमको विछोडले लेखक बनायो ।”

सलिजा भन्छे– “प्रेमको विछोडले त नहोला तर प्रेरित भने अवश्य गर्‍यो ।”

रविका सलिजासँग यस्तै कुराकानी भइरहन्छन् । यता भने रविको आफ्नै औपचारिक जिन्दगी त छँदैछ । साँच्चै संवाद र कुराकानीमा पनि औपचारिकता छ । श्रीमतीको आदार–सत्कार र प्रेरणा ज्यादा छ । उच्छृङ्खता भने कमै छ । बिहे पछिको जिन्दगीमा उछृङ्खलता ज्यादा चल्दैन पनि होला । सम्बन्धमा सानो कारणले दरार आउन सक्छ । रवि पनि त्यस्तो अविश्वास निम्त्याउन चाहदैन । उसकी श्रीमती पनि यो कुरामा सजग छे ।

सलिजा फेरि थप्छे– “तपाईं त केटा–केटीका सम्बन्धका कथा लेख्न माहिर हुनु हुँदोरहेछ । कतिपय कुरा त आफ्नै अनुभव जस्ता पनि लागे है !”

रवि भन्छ – “अनुभवले प्रेरणा मात्र दिने हो । हुबहु साहित्यमा र कपि गर्न त सकिँदैन ।”

उसले– “हा– हा” लेखी ।

रवि भन्छ– “सबै घटना र अनुभव लेखियो भने त अर्बौँ साहित्य बन्छन् । कला र कल्पना थप्नुपर्छ ।”

रवि असमञ्जसमा पर्थ्यो- सलिजा कसरी र किन विवाहित पुरुषसँग जोडिन खोज्दै छे ? रविसँगका कुराकानीले ऊ अझ बढी गफिन चाहन्छे । उसले लेखेकी थिई– “तपाईंको कुरा गर्ने तरिका मन पर्‍यो ।”

कुराकानी मनपर्ने हुनुमा, सायद विवाह पछिको निरन्तर कुराकानीको अभ्यास थियो होला । महिनौँको साँझ–बिहानको च्याट र फोनगफले रविलाई ज्यादा खार्‍यो होला । हुन त केटीहरु विवाहपूर्व पनि फुर्क्याउँथे । वास्ताविक राम्रोपनले भन्दा पनि स्वार्थले फुर्क्याउँथे होला ।

सायद बोली र च्याटको परिपक्वताले पनि सलिजा नजिक हुन चाहन्थी । हुन त कलेजताका विवाहित साथीहरूका बहुआयामिक सम्बन्धहरूले पनि यसको झल्को दिन्थ्यो । कलेजमा सरोजलाई प्रेमगुरु नाम राखिदिएका थिए । ऊ विवाहित थियो । एउटा छोरा र एउटा छोरीको बाबु पनि थियो । परिवार छोडेर मास्टर्स गर्न कामठाडौँ आएको सरोज अन्य सम्बन्धमा लीन थियो ।

ऊ भन्थ्यो– “सबैकुरा मिलाउन जान्नुपर्छ । परिवार त आफ्नो ठाउँमा छँदैछ ।”

अरू साथीहरूका सम्बन्धहीन सम्बन्धका प्रयासहरू थुप्रै सुनिथ्यो । कति सफल हुन्थे । कति दुर्घटनामा पर्थे । यस्ता सम्बन्धमा कसरी अघि बढ्ने, टुटेका सम्बन्धलाई कसरी मिलाउनेबारे सरोज साङ्गोपाङ्गो खाका दिन्थ्यो ।

सरोज भन्थ्यो– “अरू कुरामा भगवानले नहेरे पनि यो मामलामा पीडा भएको छैन । समस्या आएको छैन ।”

कलेजमा प्रशस्त सुनिथ्यो – विवाहित हो भन्ने थाहा हुँदाहुँदै पनि कति केटीहरू ऊप्रति ज्यादा लालायित थिए । मनको समर्पणलाई रोक्न नसकेर घरबारको प्रस्तावसमेत एक-दुई जनाले गरे अरे ! प्रेम अन्धो हुन्छ भन्ने यो बेला प्रमाणित हुन्थ्यो । व्यवहारिकतामा भन्दा अव्यवहारिकतामा प्रेम ज्यादा अन्धो हुन्थ्यो ।

केही दिनको च्याटगफ सकिँदै गर्दासम्म पनि रवि सलिजासँग ज्यादा औपचारिक नै थियो । भावना आउनु र त्यसमा डुब्नु त अवश्य पनि फरक कुरा थियो ।

शारीरिक रूपमा नजिक नभए पछि त्यो भावना पलाउन समय त लाग्ने नै भयो ! फेसबुकका फोटाहरू र केही अरू फोटोहरू पनि आदान–प्रदान भइसकेका थिए । त्यसले केही नजिक ल्याउँदै थियो । सायद कता–कता मनमा छोएर होला व्यस्त समयको बाबजुद पनि रवि ऊसँग च्याटिन थालेको थियो । गफिन थालेको थियो ।

फोटाकै प्रशंसा गर्दै रवि लेख्छ– “तिम्रो मलाई उचाइ मन पर्‍यो ।”

उसले भन्छे– “धेरैले आँखा मन पर्‍यो भनेको सुनेकी थिएँ तर उचाइ मन पर्‍यो भन्ने त सुनिन हौ !”

रवि भन्छ– “सबै कुरा निर्धारण गर्ने उचाइ हो नि । उचाइ भएसि मोटाइ र गोलाइ नि मिल्छ शरीरको ।”

उसले “खुबै हो” लेखी ।

रविले पठाएको अर्को फोटोमा कमेन्ट गर्‍यो– “तिमीलाई पाइन्ट भन्दा कुर्ता सुहाउने रैछ । कुर्ता लगाउने गर ।”

उसले लेख्छे – “कुर्तामा त म आफैँ आण्टी उमेरको महसुस हुन्छ । कैलेकाहीँ मात्र हो कुर्ता लगाउने ।”

रवि भन्छ – “फोटो खिच्नकै लागि कुर्ता लगाऊ । कुर्ता लगाएको फोटो अत्ति नै मन पर्‍यो ।”

उसले भन्छे – “कतिखेर फोटो खिचिन्छ, कहाँ खिचिन्छ, कसरी थाहा हुनु ? हातमा मोबाइल हुन्छ, झ्याप्प लिने हो । त्यो बेला कहाँ कुर्ता खोज्न जानु !”

सलिजाको तर्क पनि रविलाई ठीकै लाग्यो । उसले पनि जिद्दी गरेर रविका केही फोटोहरू हेरेकी थिई । रविका फोटा हेरेर कमेन्ट पनि गरेकी थिई ।

तर रवि सलिजालाई ज्यादा फुर्क्याउँथ्यो । उसका हरेक कुराको प्रशंसा गर्थ्यो । कलमै सलिजासँग कुरा गर्न थालेदेखि अझ नजिकिएको थियो ।

पहिलो कुराकानीपछि मेसेज पठायो– “तिम्रो आवाज त कति मिठो ! सोचेभन्दा बढी राम्रो लाग्यो । बोल्ने शैली पनि ।”

सलिजाले रिप्लाई गरी– “थ्याङकु । साँच्चै नै हो कि जिस्क्याएको हो ?”

रविले भन्यो, “जिस्काउनलाई अरू कुरा पनि हुन सक्छन्, के तिम्रै आवाजको प्रशंसा गरेर बस्नु पर्ला र !”

सलिजा पानी–पानी भई । उनीहरूका संवाद ज्यादा गहिरिन थालेका थिए । त्यो कुन गहिराईसम्म जाने हो दुवैलाई थाहा थिएन ।

मास्टर्सको पढाइ सकेर रवि अमेरिका हानिएको धेरै भएको छैन । कलेजका साथी र गाउँलेहरूसँग भने ऊ छोटा कुराकानी गरिरहन्छ । त्यसमै विवाह पछिको जिन्दगी थपिएको छ । अफ थपिएको छ– सलिजा वार्तालाप । आजभोलि मेसेजको इनवक्समा दुईचार साथीभाइ र आफन्त, एक–दुई श्रीमती र अझ सलिजाका मेसेज हुन्छन् ।

सलिजाले बिहानै उठेर कफी बनाई नसक्दै मेसेज गरिसकिछ ।

उसले लेखेकी थिई– “तपाईंको कथा छपाइदिएकी छुँ, राष्ट्रिय दैनिकमा, अनलाइनबाट हेर्नुहोला ।”

रविले बेवसाइटमा हेर्‍यो । उसलाई मन परेको कथा पठाएकी रहिछ । केले छोयो होला उसलाई ? रवि आफैँलाई त्यो कथा मन परेको थिएन । कथामा अलि उत्ताउलो प्रेम थियो । रविलाई अलि केटा–केटीका अव्यवहारिक क्रियाकलाप कथामा राखेजस्तो लागेको थियो । तर त्यही कुरा सलिजालाई मन पर्‍यो ।

रवि सलिजालाई मेसेजमा लेख्छ, “होइन त्यै कथा पठाइछौ जुन मलाई नै मन परेको थिएन ।”

उसले भनी– “तपाईं उमेर ढल्केको मान्छेलाई के मनपर्नु उर्लदो प्रेमको कथा ? मैले त कथाभरि आफूलाई पाएँ ।”

अनि फेरि थप्छे– “यो मेरो कथा हो जस्तो लाग्यो र छाप्न पठाइदिएँ ।”

सलिजा रविभन्दा अलि चञ्चले छे । त्यो उमेरको फरकले पनि होला । रवि कुरकुरे बैंस सकेर पारिवारिक जिन्दगीमा ढल्कँदै थियो भने सलिजा यौवनको मध्यबाटोमा थिई ।

मास्टर्स पढ्दाको साथी साकारले काठमाडौँबाट मेसेज छोडिसकेछ ।

लेख्छ– “के छ ? तँ खाली हो । कि फोनमा भाउजूसँग बिजी होलास, होइन त !”

रवि भन्छ– “सधैँ भाउजुसँग मात्र बिजी हुन के जरुरी छ र, साथीभाइ र अरू पनि छन् नि !”

साकार लेख्छ– “औपचारिक रूपमा त भाउजूसँगै हुनु पर्‍यो नि ! त्योबाहेक त जान्ने प्रयास पनि गर्दिनँ हो ।”

रविले सोध्यो– “के गर्दैछस त्, अफिसतिर होला यतिखेर ।”

उसले रिप्लाई दिन्छ – “यसो कुमारीहरूसँग फेसबुकमा भुल्दै । अफिसमा काम पनि केही भएन ।”

यता भने श्रीमतीको मेसेज आइसकेको छ । रवि छिटो–छिटो श्रीमतीको प्रतिक्रिया दिन्छ । उसले श्रीमतीको मेसेज पहिलो प्रथामिकतामा रिप्लाई गरिसक्नु पर्छ, होइन भने ज्यादा स्पष्टीकरण दिनुपर्छ । सम्बन्ध अमिलो भयो भने उता खाना मीठो हुँदैन, अनि यता पानी मीठो हुन छोडिसक्छ । फेरि विवाह पछिको सम्बन्ध बाटो–घाटो घुम्दा भेटिएका कुमारीहरूसँग जस्तो अवश्य हुँदैन । आज बोल्यो, भोलि रिसायो । पर्सि रिसाएको होला भन्दै बोलाउन छोड्यो र केही दिनमा अपरिचितजस्तो बन्यो । यहाँ त नमिल्दा–नमिल्दै पनि मिलाउनु पर्ने हुन्छ नत्र जीवनमा ठूलो दुर्घटना हुनसक्छ । जिन्दगीले अर्को मोड लिनसक्छ । सम्बन्ध केटा–केटीमा “खुच्चिङ बोल्दिनँ” भनेर भनेजस्तो पनि हुँदैन । यो त लामो रेसको घोडा हो बिस्तारै हिँड्नु पर्ने हुन्छ । सम्हालेर हिँड्नुपर्ने हुन्छ ।

रविले यी सब कुरा बुझेको छ । श्रीमतीसँग धेरै समय सँगै बिताउन नपाए पनि व्यवहार के हो सिरियस भएर सिक्दैछ । सम्बन्ध के हो नजिकैबाट बुझ्न खोज्दै छ । तर यति जान्दा पनि, बुझ्दा–बुझ्दै पनि सलिजासँगको सम्बन्धबाट भने छुटकारा पाउन सकेको छैन । वास्तवमा ऊ सलिजा संवादमा ऊ सिरियस पनि हुन चाहेको छैन । उसले मात्र सम्झेको छ– यो कुनै इतर सम्बन्धको छाल हो, समय आएपछि आफैँ हराएर जानेछ । तर सम्बन्धहरू सिरियस बनाउँछु भनेर पनि हुँदैन र नचाहँदा–नचाहँदै चाहना गहिरिएका हुन सक्छन् ।

यही सोच्दासोच्दै सलिजालाई सोध्छ– “हामी कति सिरियस छौँ ? सम्बन्धमा ।”

उसले भन्छे– “कस्तो सिरियस र नसिरियस ? यो सोच्ने कुरा होइन र सोध्ने कुरा पनि होइन ।”

रवि भन्छ– “फेरि एकतर्फी प्रेममा डुबौली भनेर । फेरि प्रेमको सागरबाट न म तिमीलाई उतार्न सक्छु, न डुबिरहेको देख्न सक्छु !”

उसले लेखी– “त्यति सिरियस भएर सोच्नु जरुरी छैन । बोल्दैमा, मन पर्‍यो भन्दैमा अरू अर्थ नलगाउनू है ।”

रविले भन्थ्यो – “त्यसो भए यो सब हाम्रो टाइम पास हो ? तिमीले अरू त सोचेको छैनौ नि !”

उसले भनी– “बोल्न मन लाग्यो बोलेँ, तपाईंको बोली राम्रो लाग्यो, राम्रो भनेँ । आफ्ना दुईचार कुरा खोलेँ, प्रशसा गरेँ । त्यत्ति त हो !”

अनि फेरि थपी– “यी केटाहरूलाई आत्मीयता देखायो, नजिक हुन खोज्यो कि माया गर्न थाली भन्ने हुने है !”

रविले भन्यो– “होइन सलिजा, मैले पहिल्यै भनिसकेँ । तिमी मलाई अप्सरा लागे पनि म जिन्दगीका अरु सपनाहरू बुन्न सक्दिनँ । मात्र तिम्रो सिरियसपन के हो बुझ्न खोजेको मात्र हो ।”

सलिजाले स्पष्ट लेखी– “नट सिरियस एट अल ।”

रविले लामो सास तान्यो । ऊ त्यही चाहन्थ्यो । उसलाई सिरियस हुन आवश्यक पनि थिएन । ऊ पनि यस्तै नन–सिरियस सम्बन्धमा रमाउन चाहन्थ्यो ।

रविले देखेको थियो– केटाहरू सिरियस सम्बन्ध होइन भन्दै समय गुजारिरहेका हुन्थे । तर हुन त कतिपय सम्बन्धमा त अलि समयमै सिरियस भएको राम्रो हुन्छ । ऊ सिरियस होइन भन्दै एक युवतीसँग संवादमा थियो । युवतीले चाहँदाचाहँदै पनि उसले सम्बन्ध अगाडि बढाउन चाहेन । युवती एकतर्फी प्रेममा पागल थिई । तर पनि उसले त्यो कुरालाई बेवास्ता गर्‍यो ।

युवती घर गएको बेला बिहेको फोटाहरू फेसबुकमा राखेपछि ऊ हाँगाबाट खसेजस्तो भएको थियो । उसले बिहे नै गर्ने निर्णय गर्ली भन्ने पटक्कै लागेको थिएन । कता–कता उसको छाती अप्ठ्यारो भएको थियो । केही दिन राम्रोसँग निदाउन पनि सकेको थिएन । अन्तत्वगत्वा ऊ पनि युवतीको मायामा तानिइसकेको रहेछ । त्यो कुरा उसले बुझ्नै सकेन । जब बुझ्यो अनि ढिला भइसकेको थियो ।

कतिपय केटीहरू भने ऊजस्तै नन–सिरियस भन्दै केटाहरू घुमाउन खप्पिस भएको पनि उसले देखेको थियो । मन परेको केटीहरूका लागि केटाहरू पागल बनेर हिँडेको पनि देखेको थियो । तर केटीहरू भने नन–सिरियस भन्दै उनीहरूलाई नचाइरहन्थे ।

अस्ति सलिजाले रविका फोटोमा धेरै कमेन्ट गरी । प्रायः रवि नै सलिजका फोटो हेरेपछि विभिन्न अलङ्कार हालेर प्रशंसा गर्थ्यो । उसले भनेकी थिई– “दाह्री साहै राम्रो, अलि छाँटेर मिलाउनू । सारै राम्रो देखिनुहुन्छ ।”

साँच्चै त्यो दिनदेखि ऊ दारी मिलाउन थालेको थियो । उसले भुँडीको कमेन्ट पनि गरेकी थिई, “भुँडी पनि कस्तो पुट्ट बाहिर आएको ? कसरत गरेर घटाउनु नि !”

त्यसमा रविले भनेको थियो– “बाहुन भुँडी जति रोक्न खोज्दा पनि आइहाल्छ । कसरत गर्न अल्छी लाग्छ । अब यस्तै चलाउने हो जिन्दगी ।”

उसले अझ जोड दिन्छे– “कसिलो टिर्सट नलगाउनु, सर्ट सुहाउँछ तपाईंलाई । मिल्यो भने सुहाउने कलरको सर्ट किनेर पढाइदिउँला ।”

रविले चाहिने भए त श्रीमतीले नै पढाइदिने भन्दै थियो ।

उसले जिद्दी गर्दै भनी– “मैले पठाउनु हुँदैन, कि मैले पठाको लाउन नमिल्ने हो ।”

रवि चुपचाप भयो । प्रेमका बहस, सम्बन्धका बहस र यौनका विषयपछि उनीहरू झिनामसिना कुराहरूमा संवाद गर्ने भइसकेका थिए । सिरियस होइन भन्दाभन्दै उनीहरू रुचि, इच्छा र छनोटमा एक अर्काको निर्णय गर्ने भइसकेका थिए ।

रविले सलिजालाई फेरि पनि सोध्यो– “के ऊ, एकतर्फी प्रेममा परेकी छ ?”

सलिजाले सजिलै जवाफ फर्काएकी थिई– “कुनै गहिरो प्रेममा त पहिल्यै डुबिसकेकी छु । सायद त्यो भन्दा गहिराईमा डुब्न त तपाईंसँग पनि सक्दिनँ होला ।”

उसको यो कुरा सुनेर रवि अचम्ममा पर्‍यो । यहाँ उसको व्यवहार अर्कै छ । विहान देखि साँझसम्म ऊ अपडेट लिइरहन्छे र अर्कोतिर प्रेममा डुविसकेको, सम्बन्धमा डुबिसकेको कुरा गर्छे ।

रविलाई शंका पर्छ । के पारा हो यो केटीको । उसलाई लाग्यो उ त आफू भन्दा पनि ज्यादा खेलाडी छे । यता भने पुरै प्रेम गरेको नाटक गरिरहिछे । उता आफ्नो जिन्दगी चलाइरहिछ ।

एकदिन रविले झोँक्किदै सोध्यो– “कसैसँग प्रेममा डुबेको मान्छे मसँग किन नियमित नाटक गरिरहेछौ ।”

रविलाई ऊ रिसाउली र सम्बन्ध तोड्ली भन्ने चिन्ता थिएन । उसका लागि त ऊ आफैँ केही समयपछि हराएर गए उत्तम थियो ।

रविको प्रश्नमा सलिजा भन्छे– “म पो एकतर्फी प्रेममा डुबेको मान्छे, डुबेर निस्कनै सकिनँ । बुझ्ने मान्छे पनि त्यो गहिराइमा पुग्न सकेन । बुझेको नाटक गर्‍यो र अन्त्यमा सास फेर्न नसक्ने गरी त्यही दलदलमा डुबाएर गयो ।”

रविले सम्झाउने प्रयास गर्‍यो सलिजालाई । उसले बुझ्यो ऊ रविसँग केही कुरा गर्न चाहन्थी । सायद उकुसमकुस भएर नै अपरिचितसँग पीडा साट्न चाहन्थी । उसले आफ्नैजस्तो बनाएर केही पीडामय कथाहरू सुनायो । उसले पनि रविसँग सबैकुरा खोली । रविलाई लाग्यो सलिजा प्रेममा घाइते बघिनी हो । सायद क्रोधमा छे । जिद्दीपनले यही भन्थ्यो । ऊ उकुसमुकुसमा छे । शारीरिक रूपमा नजिक हुने हो भने जुनसुकै मूल्य चुकाएर आफ्नो बनाउन सक्छे । अब रविले बुझ्यो– जति अवाञ्छित प्रश्नहरू सोधेर सलिजालाई पानी–पानी बनाए पनि ऊ अनुभवको ठूलो तलाउ हो ।

नियमित संवादमा रविले भन्यो– “म तिमीलाई प्रेम दिने छु । भावना र मनसँग एकाकार हुने प्रयास गर्नेछु । मैले अवश्य पनि बनिसकेको घर भत्काउन त सक्दिन तर तिमीलाई गहिरो प्रेमको अनुभूति गराउन भने अवश्य सक्नेछु ।

सलिजाले प्रेमका संकेतहरू थुप्रै पढाई । रविलाई लाग्यो कतै ऊ प्रेमको आग्रह गरिरहेकी त छैन ? त्यसपछिका केही दिन भने सलिजाले खासै कुरा गरिन । फोनमा र च्याटमा ज्यादा औपचारिक देखिई ।

केही दिन रोकिएको सलिजा संवाद फेरि शुरु भयो । रविले यो महाफिलको नाम नै “सलिजा संवाद” राखिदिएको थियो । आजभोलि उसका म्यासेजहरू अलि आक्रामक थिए । गहिरो र मन छुने गरी लेख्थी । युनिकोडमा टाइप गरेर सलिजा लामा–लामा वाक्यमा संवाद गर्न थालेकी थिई ।

रविले जति नै आश्वासन दिए पनि उसले अर्को प्रश्न तेर्‍स्याएकी थिई– “मेरो न्यानो मायालाई सहन गर्न सक्छौ ?”

रविले पहिलेकै प्रतिबद्धता दोहोर्‍याउँदै भन्यो– “भौतिक रूपले टाढा छौँ तर तिमीलाई त्यो गहिराई महसुस गराउन भने अवश्य सक्छु ।”

पछिल्लो समय रवि र सलिजा गहिरो गरी एक अर्कोलाई महसुस गर्न सक्ने भएका थिए । रविले श्रीमतीसँग समय मिलाएर सलिजासँग गफिनुपथ्र्यो भने सलिजा भने रविका लागि प्राय उपलब्ध नै थिई । रवि एक मनले के ढुक्क थियो भने यो सब सिरियस होइन । तर उनीहरूका कुराकानी गहिरो प्रेममा डुबेका जोडीका जस्ता थिए । सलिजा ज्यादा जिद्दी हुन थालेकी थिई । रविले श्रीमतीसँग कुरा गर्न सयम मिलाउँछु भन्दा पनि मान्दिनथी । रविको पहिलो प्राथमिका सलिजा हुनुपथ्र्यो । रविले श्रीमतीबाट समय नदिएको र प्राय फोन बिजी भइरहने गुनासो सुन्न थालिसकेको थियो ।

सलिजाले एक दुई महिना अघि नै एउटा प्रोजेक्टमा एकमहिनाका लागि काम पाएर म्याग्दी जानुपर्ने बताएकी थिई । उसले भनेकी थिई– “फोन लाग्दैन, एकदिन पुरै हिँडेर जानुपर्छ । त्यो बेला तिमीलाई धेरै मीस गर्छु होला ।”

अनि थपी– “बेनी आएको बेला अवश्य कल गर्छु । फोन भने उठाऊ है ! साइलेन्टमा नराख्नु नि फेरि ।”

रविले भनेको थियो– “हुन्छ, ख्याल गर्नु आफ्नो अनि पायो भने मार्फाको रक्सी किनेर ल्याउनू है !”

सलिजा पाँच जनाको समूहमा त्यहाँ जान काठमाडौँबाट हिँडी । रविले शुभयात्रा र सुरक्षित बसाईको शुभकामना दियो । खानपिन र बसाइको ख्याल गर्नु भन्यो । रविसँगको संवादमा सलिजाले आफूलाई बढी चिसो लाग्ने बताएकी थिई । रविले सलिजालाई त्यै कुरा ख्याल गर्न सम्झाइरह्यो ।

सलिजाले पोखरा पुगेर मेसेज छाडेकी थिई । साथीहरूसँग भएकोले कुरा गर्न पाइन, बेनी पुगेर कल गर्छु भनेकी थिई । त्यसपछि सलिजासँग रविको संवाद शून्य भएको थियो ।

त्यसपछि सलिजाका मेसेज र कल केही आएको थिएन । सायद ऊ म्याग्दीको दुर्गम गाउँमा पुगीसकी होला । बेनी पुगेर रविलाई कल गर्न बिर्सी वा भ्याइन । तर रवि भने फोनको प्रतीक्षामा थियो ।

रविलाई लाग्यो सलिजाले इन्टरनेटको कारणले मेसेज र कल गर्न पाइन । यो सम्झेर रविलाई नरमाइलो लाग्यो । दिनहुँ श्रीमतीसँग भन्दा ज्यादा गफिने सलिजा टाढा भएपछि दिनहरू त्यसै खल्लो हुन थाले । उसलाई लाग्यो– सलिजा के गर्दै होली ? खाना खाई वा खाइन । किन कल ब्याक गर्न भ्याईन । साँच्चै रवि त एकतामासले घोरियो ।

जब सलिजासँग दुई हप्ता पनि लगातार सम्पर्क भएन । रविको मन अर्कै भयो । श्रीमतीसँग जति गफ गरे पनि सलिजासँगको संवादको तल–तल मेट्न सकेन । श्रीमतीले “उसको अनुहार किन उब्लिएको छ” भन्दा ऊ झल्यास्स भएको थियो ।

अब त रविलाई लाग्यो– ऊ त साँच्चिकै सलिजासँगको प्रेममा परेछ । बेड अगाडिको बालमा झुण्डिएको बुढाबुढीको फोटो गौर गरेर हेर्‍यो । मुस्काइरहेकी श्रीमतीलाई सम्झ्यो । आफू पनि जेन्टल पोजिसनमा फोटोमा उभिएको छ । श्रीमतीसँगको औपचारिक सम्बन्ध र कुराकानीले उसको उदासी समाप्त गर्न सकेन । उसले अब स्पष्ट बुझ्यो– उसको मनमा अब केही नराम्रो महसुस त भइसक्यो ।

उसलाई लाग्यो शारीरिक रूपमा भेट नै नभएको मान्छेसँग ऊ कसरी प्रेममा पर्न सक्छ । पहिले देखि सिरियस होइन है यो सम्बन्ध भन्दै आएको छ । फेरी उ अल्लारे केटा पनि होइन, यो सम्बन्धलाई अघि बढाउन । ऊ त जिम्मेवारी सहित विवाह बन्धनमा बाँधिएको छ । दाँया भित्तामा परिवार सहितको फोटो हेर्‍यो र अझ धेरै जिम्मेवारी महसुस गर्‍यो । एकदिन राम्रो संग सुत्न नसकेर जब उसको मुटु दुख्यो, तब महसुस भयो उसलाई यस्तै भएको थियो जब कीर्तिपुरकी युवतीले छोडेर गएकी थिई । अब उ स्पष्ट भयो– नचाहँदा नचाहँदै ऊ सलिजाको प्रेममा परिसकेछ ।

उसलाई लाग्यो सलिजाको प्रेममा बहकिनु सम्पूर्ण रूपमा धोका हो । त्यो आफैँलाई दिएको धोका हो । बन्दै गरेको जिन्दगी भत्काउनु हो । यो त परिवारहरू प्रतिको अविश्वास हो । चेतना खुम्चिएको समय हो । यो त पशुमन मौलाएको अवस्था हो । अचेतनमा रमाउन खोजेको अवस्था हो ।

उसलाई लाग्यो ऊ कसैगरी सलिजासँगको प्रेमबाट निस्कन सकेन भने पूरै घर भत्किने छ । घरसँगको आत्मीयता भत्किने छ । सम्बन्ध भत्किने छ । समाजसँगको सम्बन्ध टुक्रिने छ । उसलाई समाजले गरेको विश्वास गुम्नेछ । अझ सबै भन्दा बढी त उसकी मर्ने– बाँच्ने कसम खाएकी श्रीमतीको मन टुक्रिने छ ।

बितेका केही दिन रविले धेरै सोच्यो । सिरियस होइन भन्दै आत्मीयता कहाँसम्म झ्याङ्गिएछ । अब त ऊ आफैँलाई सम्हाल्न सकिन्न कि भन्ने दोधारमा पर्‍यो । ऊ अविवाहित हुन्थ्यो भने कथा फरक हुन्थ्यो होला तर त्यस्तो अवस्था पनि रहेन । अन्तिम दुई दिनमा रविले आफूलाई सही धरातलमा उभ्याउने प्रयास गर्‍यो र सलिजासँग सम्पर्क र संवादमा नरहने निर्णय गर्‍यो ।

रविका लागि सलिजा को थिई ? आखिर रविले संवाद सिरियस होइन भनेर शुरु गरेको थियो । तर यो त नचाहेरै सिरियस भइसकेछ । उसले भनेको पनि थियो– यो कुराकानीलाई त्यति मजबुत बनाउनु जरुरी छैन भनेर । उसले महसुस पनि गरेको थियो– वैवाहिक जीवन साना–साना विश्वासमा अडेको हुन्छ । यति जान्दा–जान्दै उसले संवेगको आवेगलाई रोक्नै सकेन ।

धेरै मनहरूसँग पौडिसकेको रवि जिन्दगीको अप्ठ्यारो मोडमा मुटु दुख्ने गरी फँसिसकेछ । पहिल्यै निर्णय गरेझैँ अन्त्यमा सलिजालाई फेसबुकमा मेसेज छोड्यो र उसका सबै संवादहरू डिलिट गर्‍यो । उसलाई र उसले आफूलाई कहिल्यै नभेट्ने गरी आफ्नो कल लिस्ट र एकाउन्टबाट हटायो ।

 

नोट :यो कथा “साहित्यपोस्ट डटकम बाट लेखकको अनुमतिमा साभार गरिएको

 

प्रतिक्रिया