प्रतिक्रियात्मक भद्धा मजाक भित्र ओली -प्रचण्डको राजनीति

दीपक पन्त २०७७ पुष २५ गते २०:१५ मा प्रकाशित

राजनीति फोहोरी खेल हो भन्ने कुरामा सबै जानकार छन् तर राजनीति भित्र यति बिघ्न भद्धा मजाक हुन्छ भन्ने कुरा शायद सबैले सोचेका हुदैनन् ।

आन्तरिक दलगत बिबादका कारण झन्डै ३ हप्ता अघि दुइ तिहाई नजिकको बहुमतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री के.पी.ओलीले संसद बिघटन गरी मध्यावधि निर्वाचनमा जाने निर्णय गरेका थिए ।

अनेपेक्षित रुपमा आएको उनको यो निर्णयसँगै नेपालको राजनीति अकल्पनीय ढंगबाट तरंगित भएको तथ्य जनजाहेर नै छ । नेपालको राजनीतिमा स्थापित रहेका दुई ठुला दल ,नेकपा एमाले र ए माओबादी केन्द्र लामो छलफल रअन्तरसंबाद पछि रणनैतिक रुपमा करिब ३ बर्ष अघि एक भएका थिए । यद्यपि २०७४ को ससदीय निर्वाचनमा चुनाबी तालमेल गरेका दुइ पार्टीआ-आफ्नै निर्वाचन चिन्हमा छुट्टाछुट्टै चुनाब लडे र झन्डै एक बर्ष पछि मात्र दुबै पार्टीको एकता घोषणा गरेका थिए ।

संसारलाई अचम्म पार्दै द्वन्दबाट संसदीय व्यवस्थामा आएको माओबादी केन्द्र र संसदीय अभ्यास गरी रहेको नेकपा एमाले दुइ ठुला पार्टी एकीकरण गरी नेकपा जन्मिएको थियो । जसको समजोडका कारण संसदमा नेकपाको झन्डै दुइ तिहाई बहुमत पुगेको थियो ।

पार्टी एकीकरण लगत्तै बिपक्षी दलहरुले तोरी र कोदोको समिश्रणबाट बनेको पार्टी भएकाले त्यसका दुइ अध्यक्ष उर्फ क्याप्टेनहरुको अन्तर संघर्षले नेकपा छिट्टै दुर्घटना पर्ने भविष्यबाणी गरेका थिए ।

त्यसमा नेकपाका दुइ अध्यक्ष प्रचण्ड र ओलीले नेकपा भनेको सिङ्गो जेट विमान भएकाले यसमा ट्युनेटर जहाज जस्तो सिंगल पाइलट नभएर दुइ जना क्याप्टेन हुने प्रतिक्रियात्मक टिप्पणी गरेका थिए ।

सत्तापक्ष र बिपक्षी दलहरुको राजनैतिक दोहोरी सम्म त एनकेन जनताले मजाककै रुपमा लिएका थिए । तर जब नेकपा विभाजनको संघारमा पुग्यो । त्यस बेला देखी नै दुइ खेमामा बाँडिएका शीर्ष भनिएका नेता गणहरुको एक अर्का प्रतिको कटाक्षको सीमा बढ्दै गएको थियो ।

जब प्रधानमन्त्री के.पी.ओलीले संसद बिघटन गर्ने सिफारिस गरे । त्यसपछि बिकास भएको राजनैतिक घटना क्रमले ओली समूह र प्रचण्ड-माधब समुहमा गरी नेकपाका कार्यकर्ताको तल्लो तहसम्म प्रष्ट रुपमा विभाजित भएका थिए ।

यस पछिका राजनैतिक बहसहरु ,खबरदारीहरु अत्यन्तै तल्लो स्तरको शब्द जालमा रुमल्लिन पुगेको देखिन्छ ।

सडकमा लाग्ने नारा होस् या आमसभामा गर्ने भाषण । उनीहरुको शब्द संयोजन हेर्दा/सुन्दा लाजले मुख ढाक्नु पर्ने अबस्था छ । कैयौ उखान टुक्काहरु हाँस्यास्पद अभिव्यक्ति जस्तो लागे पनि बास्तबमा देशका कार्यकारी अभिभारा लिएका वा लिइ सकेका सम्मानित व्यक्तित्वहरुबाट त्यो लेभलको एक अर्कोलाई सडक मै बसेर गरिएको टिका /टिप्पणी वा गाली /गलौजले हाम्रो राजनैतिक संस्कार कहा पुग्दैछ ? प्रश्न उठाएको छ ?

सडकका किनारामा गुञ्जिएका धेरै छाडा शब्दहरू र त्यसका शब्दार्थहरू माथि बाल मस्तिष्कले प्रश्न गर्यो भने नाजवाफ बस्नु पर्ने अवस्था देखिन्छ । राजनैतिक प्रतिशोधात्मक आवेगमा गरिने यस किसिमका प्रतिक्रियात्मक शब्द जालहरुमा आजका युवा पिढीले प्रश्न गर्यो भने ति राजनीतिकर्मीहरुले के जवाफ देलान् ? प्रश्न अनुत्तरित छ ।

दुबै समुहले एकले अर्को समुहको नेतालाइ कारबाही गर्ने ,स्खलित गर्ने ,खुइल्याउने र नंग्याउने कार्य दिनहुँ भइ रहेका छन् । मितेरी साइनोमा जस्तै गरी राजनैतिक कार्य दिशामा टाउको ठोक्काएर अघि बढेका ओली र प्रचण्डको भाषण बाजी हेर्दा लज्जाबोध हुने गर्दछ । मन मिल्दाएकै सिरक भित्र तनका ब्यापार गरेका ओली दाहालको वैयक्तिक स्वार्थ बाझिदा देखिएको अन्योल र त्यसबाट उत्पन्न परिस्थितिमा चलेको दोहोरी कृष्ण कँडेलको “इन्द्रेणी” जस्तो सुखद पपुलर बन्न सकेन ।

दुबै नेता ओली र प्रचण्ड बीच चलेको अशोभनीय कटाक्ष हेर्दा /सुन्दा लाग्छ ,चटकेले क्षणिक मनोरन्जनका लागि बजार तताई रहेछ ।

ओलीका व्यंग बाणीहरुले अति रञ्‍जित प्रतिक्रिया दिदाँ मासमा हाँसोको फोहरा फुट्ने गर्दछ । एक आमसभामा सम्बोधन गर्दै सुन्तला खान सुन्तला घारी आउनु पर्ने देखी माधब नेपालको क्यारिकेचर गर्न सम्म भ्याएका ओली व्यंगात्मक टिप्पणीमा प्रचण्ड -माधब भन्दा एक कदमअगाडी नै छन् भन्दा अन्यथा नहोला ।

यता प्रचण्ड खेमाका नेताहरुको टिप्पणी पनि कम कटाक्ष प्रदक छैनन् । ओलीको ब्यक्तिगत रुग्ण स्वास्थ्यसँग गरिएको स्खलित मजाक ,तल्लो स्तरको सोचको पराकाष्ट हो । महिलाको किड्नी फेरेर स्वभाब परिबर्तन भएको देखी तानाशाह ,दम्भी जस्ता अनकौ विशेषणहरुको पगरी झुण्ड्याइएको छ ।

अझ राष्ट्रपतिका बिषयमा प्रचण्ड -माधब समुहका नेता तथा कार्यकताको भीडले लगाएकोउन्मात्त नारा त सभ्य नागरिकले कल्पना समेत गर्न सक्दैन । महिला राष्ट्रपतिको सिउँदो देखी सिन्दुर सम्मका बिषयहरुको हिसाब सडकमा लगाइएका नाराहरुले माग्न थाले पछि लोकतान्त्रिक गणतन्त्रको मुटु भनिएको रास्ट्रपति संस्थाको गरिमाको हिसाब किताब कसरी गर्ने ? सामान्य नेपाली जनता अल्मलिएका छन् ।

कुनै काल खण्डमा कार्यकारी अधिकार प्रयोग गरी सकेका व्यक्तित्वहरुबाट यसरी आबेगात्मक टिप्पणी गरी हाल्नु कुनै पनि हिसाबले मौलिक हकको प्रयोग मात्र भनेर उम्कनु न्याय संगत होइन। आफ्ना पालामा भएका राजनैतिक ,आर्थिक /सामाजिक सबै बिषयहरुको उन्नति वा अधोगतिको जिम्मेबारी लिने सपथ लिएर कार्यकारी बागडोर सम्मालेका व्यक्तित्वहरुले आज रानी पोखरी डकर्मीले नभएर इन्जिनियरले बनाएको भन्दै घोचपेच गरेको हेर्दा /सुन्दा लज्जा बोधगर्नुको बिकल्प देखिदैन् ।

अन्त्यमा,

सबै दलका राजनीतिक कर्मीहरुले राजनैतिक आचरण शुद्ध गर्ने प्रतिबद्धता मात्र व्यक्त नगरेर बस्तुत: ब्यबहारमा देखाउनु पर्ने समय आइ सकेको अबस्था छ । सधैँ जनतासँग छु भनेर प्रचारबाजी मार्ने नेता गणहरुले कमसेकम आफ्ना बालबच्चा ,परिवारसंगै बसेर बद्लिदो राजनैतिक परिवेशको चर्चा /परिचर्चा गर्न सक्ने सभ्य भाषा संवादको थालनी गर्ने सस्कारको बिकास गर्नु आजको युगको आवस्यकता हो भन्ने कुरामा पक्कै दुई मत नहोला ।

दीपक पन्त

मिल्वाकी ,अमेरिका

प्रतिक्रिया