बिशेष परिकारको लागि प्रसिद्ध नेपालका बिभिन्न ठाउॅंहरू

शशी के.सी २०७७ पुष १९ गते १८:४४ मा प्रकाशित

आज बिहान चिया पिउॅंदै अनलाइन पत्रिका पढ्दै थिॅंए। एउटा लेख “जाडोमा भक्काको व्यापार फस्टाउॅंदै” पढ्न पुगें।

ओहो, भक्का भन्नेसाथ झापाको याद आयो। बुबा जागीरको सिलसिलामा झापामा हुनुहुन्थ्यो। हामी जाडोको छुट्टीमा होस्टेलबाट झापा जान्थ्यौं। हो त्यो बेला नै पहिलो पटक भक्का खाएको थिॅंए।

पहिलो ,बिहान चन्द्रगढीको चोकतिर महिलाहरू चुलो बालेर तातो पानीको बाफमा कपडाले बेरेर कनिकाको रोटी ‘भक्का’ पकाईरहेका हुन्थे। मानिसहरूले पात र कागजमा तातो भक्का र अचार खाएको देखिन्थ्यो। कहिलेकाहीं घरघरमा बेच्न पनि ल्याउॅंथे। घरमा भएको कनिका मागेर लग्थे।

त्यसपछि अन्त कतै खाएको छैन। अहिले पढ्दा पो थाहा पाएं। झापाको राजबंशी समुदायले जाडो महिनामा‘भक्का’ पकाउने रहेछन्। यो त झापाको प्रसिद्ध भक्का भयो।

अब दोस्रो परिकार माछाको कुरा गर्छु। ‘मलेखुको माछा’ को नाम काठमाडौंओहोर दोहोर गर्नेहरूले नसुन्ने नै को होला। चाहे बसमा होस् वा आफ्नै मोटर साइकल, गाडीमा यात्रा गर्दा नै किन नहोस मलेखुमा रोक्किएर प्राय:ले माछा खान्छन नै। म बिएस्सी पढ्दा एक महिना हाम्रो फिल्ड ट्रिप मलेखुमा हुन्थ्यो। एकमहिनामा सबै जसो पसलको माछा चाखें होला। ससाना तारेको माछा, तातो आलु चप, गोलभेंडाको पिरो अचार अझै यादआउॅंछ।

तेस्रो परिकार भैरहवाको ‘पवन मिष्ठानको पेंडा’! स्कुल पढ्दा होस्टेलमा भैरहवा घर हुने साथीले दिएर पहिलो पटकखाएको थिॅंए। खै केटाकेटी उमेर, गुलियो जे पनि मिठो वा पेंडा नै मिठो भएर हो त्यसको स्वाद सॅंधै मनमा बसिरहयो। धेरैबर्षपछि लुम्बिनी जादां बाटोमा पर्ने भैरहवाको प्रसिद्ध पवन मिष्ठानमा नै गएर पेंडा खाएं। मौका मिल्दा अहिले पनि कोहीतेता गएका छन् भने पेंडा मगाउॅंछु। हुन पनि खुवा नै खुवाले बनेको असाध्य मिठो स्वादिलो छ त्यहांको पेंडा र अहिलेसम्मपनि पुरानै स्वादमा पाइन्छ। शायद प्रसिद्ध भएर होला यसको मुख्य स्वाद पसलले बचाई नै रहेकोछ।

चौथो परिकार काठमाडौं न्युरोडको प्रसिद्ध ‘ टिपटपको समोसा’! हुन त समोसा जताततै पाइन्छ। तर त्यो पसलको जस्तोखै अरूठाउॅंको त्यति स्वादिलो लाग्दैन। सानैदेखि खाएर होला की। न्युरोड किनमेल गर्न जांदा चाहे घर बोकेर वा तेहींउभिएर समोसा नखाने को होलान र। जहिले गएपनि असाध्य भिंड हुन्छ त्यहां।एकपटक समोसामा मुसा भेटियो भन्ने पनिसुनियो। खै के कति सत्य हो तर त्यहां जानेको भिंड घटेको छैन। समोसा मात्र हैन अरू मिठाई काला जामुन, रसबरी, तातोगुलाब जामुन असाध्य मिठो हुन्छ।

पाचौं परिकार काठमाडौंको ‘नक्सालको एभरेष्ट मोमो’! अहिले त त्यो पसल छ की छैन। ओहो उहिले २५-३० बर्ष अगाडीअसाध्य घुईंचो हुन्थ्यो। मान्छे टाढाटाढाबाट मोटर साइकल रोकेर पनि मो मो खान पुग्थे। मोमो चाहीं रांगा ( ठुलो खसी)कोमासुको हो। तर ठुलो ठुलो हुने, के हालेर बनाउॅंथे, असाध्यै स्वादिलो हुन्थ्यो। केही समयपछि दरबार मार्गमा नाग्लोंकोबेकरी क्याफेरेष्टुरेन्ट खुल्यो। त्यहीं हो मैले पहिलो पटक कुखुराको मासुको स्टिम मोमो र पिज्जा खाएको। खै अहिले तकाठमाडौंमा थरी थरीका मोमो पसलहरू डल्लेको मोमो, बौद्धको ठुले मोमो आदी प्रसिद्ध छ। तर खै मलाई त अझैसम्मबेकरीको मोमो नै स्वादिलो लाग्छ।

छैठौं परिकार पाल्पाको प्रसिद्ध ‘हासको छोइला र चुकौनीको अचार’! आलुको अचार त धेरै खाएको थिंए। तरपहिलोपटक चुकौनी अचार (अमिलो दहीमा आलु, प्याज, खुर्सानी, हरियो धनियां हालेर, तेल बेसारले झानेको) छिमेकीपाल्पाली साथीको घरमा खाएं। दोस्रो पटक एमएस्सीको फिल्डमा पाल्पा बस्दा पाल्पाको तानसेन बजारमा गएर खाएं।हामी गएको रेष्टुरेन्टमा मान्छेहरू पाल्पाको प्रसिद्ध हांसको छोइला र चुकौनी खान आउने रहेछन्। असाध्य भिंड थियो।

सातौं प्रसिद्ध ‘धराने कालो बंगुर’। धरान मेरो मामाघर, बुबाको पुर्व जिल्लामा सरूवा हुदां सानोमा धेरै पटक पुगियो।क्षेत्रीको भान्छाघरमा कुखुरा त ल्याउने गरेको थिएन । कता बंगुर पाक्थ्यो होलार मामाघरको हजुरबुबाको पालामा । तरएकपटक सानै हुंदा तल छिंडीमा भाडामा बस्नेहरूले पकाएको छालामा बाक्लो बोसो भएको मासु हामी केटाकेटीलेखाएका थियौं। अहिले सोच्दा त्यही नै धराने कालो बंगुरको मासु थियो होला। अहिले त रमाइलो कुरा काठमाडौंकोठाउंठाउंको मासु पसलमा ‘यहां धराने कालो बंगुरको मासु पाइन्छ’ तुल टांसेको देखिन्छ। खै धरान कै कालो बंगुर त होलानी !

धरान सम्झिंदा, ओहो त्यहां जस्तो मिठो रायोको साग त अरू कतै पाइन्न होला। साग पकाउॅंदा परैबाट हररर बास्ना आउने, छिट्टो, लपक्क भएर पाक्ने। त्यस्तै बिहान बिहान माथि फुस्रेतिरबाट टिनको तिन पाग्रे गाडीमा पाउरोटी बेच्न ल्याउने। त्योगाडी गुडेको परेबाट सुनिने र बाहिर निस्केर किन्यो। धेरै जसो पाउरोटी ताततातो हुने। अझ बजारमा टिनको गाडामा बेच्नराखेको धरानको जस्तो मिठो आलुदम त कतै खाएको छैन अहिलेसम्म, स्वाद नै बेग्लै।

आठौं परिकार काठमाडौं कमल पोखरीको प्रसिद्ध ‘कृष्ण पाउरोटी’ ! यो नै नेपालको पहिलो पाउरोटी कारखाना हो ।हामी सानो हुंदा अहिले जस्तो जताततै र बिभिन्न थरीको पाउरोटी पाईंदैनथ्यो। फेरी त्योबेला बाहिर बजारको किनेर खानेचलन तेती थिएन वा फोहोर हुन्छ भनेर किन्थेनन्। घरमा नै ताजा बनाएको रोटी, पुरी तरकारी, हलुवा, चिउरा, मकै आदीखाजा खाने चलन थियो। पाउरोटी खाने भनेको त लक्जरी वा उत्सव आए जस्तो हुन्थ्यो। अझ पाउरोटीमा जाम र बटरलगाएर खान पाउनुको के कुरा गर्नु। पाउरोटीलाई रोटी पकाउने कालो फलामको तावामा घिउ दलेर डामेर खाएको अस्तिजस्तो लाग्छ। पाउरोटी चियासॅंग चोपेर खानपनि मिठो लाग्थ्यो बच्चा बेलामा। पाउरोटीको व्यापार बढाउन रेडियो रटिभीमा एउटा बिज्ञापन आउथ्यो ‘ भो खेल्दिन अब साथी, भोक पनि लाग्थ्यो, मत जान्छु खाजा खान्छु, कृष्ण कृष्ण कृष्णपाउरोटी’ !

नवौं परिकार काठमाडौंको ‘जेरी,स्वारी, हलुवा र गरामरी’! यी परिकार नखाई काठमाडौंमा को नै हुर्केबढे होलान र! अहिलेठुलाठुला नाम चलेका मिठाई पसलमा पाउने हैन की काठमाडौंको गल्लीगल्लीमा रहेका हलुवाई पसलमा पाउने मिठाईकोकुरा गर्दैछु। हामी सानो हुंदा अहिले जस्तो जुन दिन पनि मासु ल्याउने चलन थिएन। शनिवार बिहान ताजा खसीको मासुल्याउंदा, छेउमै रहेको हलुवाई पसलबाट जेरी, स्वारी, हलुवा ल्याईन्थ्यो। स्वारी वा रोटीमा जेरी र त्यसमाथि हलुवा बेरेरतातो तातो खादांको स्वाद संम्झदा अझै मुख रसाउॅंछ।

‘गरामरी’ चाहीं बिहान त्रीचन्द्र पढ्दा ब्रेकमा हिंडदै भोटाहिटी, असन तिर गयो। बाटो छेउमा कराईमा पकाई रहेका हुन्थे।चिया र गरामरी खाएर आउंथ्यौं।अहिले पनि बिहान बिहान पकाई रहेका हुन्छन्। यो सानो टेबलटेनिसको बल जत्रो मैदालेबनेको रोटी हो र यो परिकार झापाको भक्का भने जस्तै काठमाडौं वरीपरीको लोकल परिकार हो।

दशौं परिकार भक्तपुरको प्रसिद्ध ‘जुजु धौं’ ! धौ भनेको नेवारी भाषामा दही! दही त कति खाइयो। घरमा नै जमाएर, लोकल डेरी र नेपाल डेरीको तर भक्तपुरको ‘जुजु धौ’ जसलाई दहीको राजा पनि भन्ने गरिन्छ त्यसको स्वाद नै बेग्लैहुन्छ। अहिले त युट्युबको जवाना छ। यो दही कसरी बनाउने रहेछन् वा रेसिपी हेरेर बनाउन पनि सकिन्छ। तर राजघानी काठमाडौं वरीपरी हुनु हुन्छ भने एकपटक भक्तपुरको प्रसिद्ध ‘जुजु धौ’ चाख्न नबिर्सनुस। कट्टक जमेको, क्रिम नै क्रिमभएको, बिदेशतिर पाउने ‘ग्रीक योगड’ जस्तै हुन्छ।

यी माथिका परिकारहरू त मैले बिभिन्न समयमा खाएको हुनाले प्रत्यक्ष आफ्नो अनुभव लेखें। यसबाहेक पनि नेपालकाबिभिन्न ठाउंहरू बिभिन्न परिकार र खानाको नामले प्रसिद्ध छन्। ईलामको चिया र छुर्पी, झापा भारदहको केरा, लहानको आंप, धनकुटा खोकुको सुन्तला, रामेछापको जुनार, जिरीको याकको चिज, काठमाडौंको लाखमरी, फर्पिगंको नास्पाती, दक्षिणकालीको खुवा, सांखुको चाकु, पोखराको थकाली खाना, जुम्लाको स्याउ, मुस्तागंको सिमी, कर्णालीचिसापानीको सुकेको माछा, नेपालगन्जंको रावडी मिठाई, सप्तरी बरमझियाको ‘बैजनाथ बाजेको पेंडा’ आदी।

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया