माई बेस्ट फादर …

सञ्जय मित्र, रौतहट २०७७ पुष १८ गते १९:०८ मा प्रकाशित

सञ्जय मित्र,

मेरो गाउँमा एक जनाका धेरै सन्तान छन्।दुई चार जना हुँदा सम्म त सबैको नाम कण्ठस्थ हुन्थ्यो तर सन्तान बढ्दै गए पछि नाम जन्म दर्तामा सीमित हुन पुग्छ।अनि बोलाउन सुरु हुन्छ जन्म क्रमको आधारमा … एक,दुई,तीन, ….उन्नाइस।संयोगले जेठो छोरा र त्यसपछि छोरी छे।छोरो बदमास,उसको नाम भएको एक नम्बर।छोरी भलाद्मी तर नाम चाहिँ दुई नम्बर।

कैले काइँ त आफ्नै सन्तान चिन्न गाह्रो हुन्छ।हो,म तपाईकै छोरो हुँ भने पछि मान्नुपर्ने।कहिले काही त मेरा हुन कि छिमेकीका छुट्याउन नसकेर नाम सोध्नुपर्छ।हरेकलाई नाम त था छ तर जन्मदर्ताको नाम बतायो भने छिमेकीको छोराछोरी भन्ठान्लान् भनेर छोराछोरीले पनि आफ्नो रोलक्रम नै बताउँछन्।धेरै सन्तान हुनेले मात्र यस्तो आनन्द प्राप्त गर्न सक्छन्।

बिसौं प्रशव भन्दा पहिले सारै सहयोग गर्ने छोरीलाई आमाले प्रशंसा गर्छिन् – बेस्ट छोरी।हेर्दा सबै भन्दा मरन्च्याँसी र फोहोरीको नामै भयो बेस्ट छोरी। ऊ भन्दा कैयौँ क्रम पछाडिकाले पनि उस्लाई बेस्ट छोरी नै भन्छन्।भाइ बहिनीका पनि बेस्ट छोरी।म बोर्डिङमा पढ्दा एक जना मास्टर साहेबले निबन्ध लेख्नलाई भनेका थिए। शीर्षक थियो –माइ बेस्ट फ्रेन्ड।

बुद्धिमा सुद्धि खासै नपसेको उमेर न हुन्छ स्कुले जीवन।फ्रेन्ड भनेको साथी र बेस्ट भनेको सबै भन्दा राम्रो।मलाई लागेको थियो सबै भन्दा राम्रो साथी त जीवन साथी हुन्छ।हाम्रो बोर्डिङको धेरैले मन पराउने केटी सँग मेरो बोलचाल थिएन तर निबन्ध चैं उसको नामै तोकेर लेखें।ऊ सित कसरी जीवन कटाउन भनेर।मास्टर साहेबले त मलाई लाइफकै बेस्ट कुटाइ कुटेका थिए।कसैले बेस्ट भन्दा म आफ्नो भेस्ट भन्दा पहिले त्यै दिन सम्झन्छु।

त्यैं बोर्डिङ स्कुलमा पढ्ने आधुनिक भलाद्मीहरूको एक दिन आन्तरिक प्रतियोगिता थियो।अलिक पछि मात्र मैले था पाएँ हैन भने सहभागी हुन्थें। भलाद्मीहरूको प्रतियोगिताको नाम थियो–बेस्ट लभर कम्पिटिसन।एउटै केटीलाई धेरै केटाले र एउटै केटालाई धेरै केटीले मन पराउने भएर त्यस्तो कम्पिटिसन राखेका रै छन्।त्यति बेला सम्म कस्तो टेन्डेन्सी थियो भने पढाइमा राम्रो केटालाई धेरै केटीले मन पराउँथे र अनुहारमा राम्री केटी लाई धेरै केटाले मन पराउँथे । हो,कम्पिटिसन चैं एस्तै मन पराउनेहरू बीचको थियो आन्तरिक।

हाम्ले निक्कै पछि थाहा पायौं।धेरै मध्ये तीन तीन जना छानेका रैछन्। तत्काल लाई सबैको हैसियत बराबर तर एक हप्तामा गुड,बेटर अनि बेस्ट लभर हुने रे ।एक हप्ता सम्म तीन जनाले आफूलाई बेस्ट साबित गर्नुपर्ने।कतिपयको त यो वर्षको मेरो बेस्ट लभर फलानो रह्यो भन्ने घोषणा गरेको पनि सुनियो।साप्ताहिक,मासिक,अर्धवार्षिक र वार्षिक बेस्ट लभर हुन थाल्यो।

एउटीले यसरी घोषणा गरेकी रहिछन् – फलानो मेरो गुड लभर,फलानो मेरो बेटर लभर,फलानो मेरो बेस्ट लभर।वर्ष भरिको बेस्ट लभर मध्ये फलानो मेरो बेस्टर लभर र फलानो मेरो बेस्टेस्ट लभर।अंग्रेजी बैकरणमा डिग्री पढाउने टिचरले डिग्रीको विभाजन यहीबाट सिकेर नयाँ अंग्रेजी बैकरणमा डिग्रीको आविष्कार गरेका थिए –सुपरलेटिभ डिग्री,कम्प्यारेटिभ सुपरलेटिभ र सुपरेस्ट सुपरलेटिभ डिग्री।न्यु इन्भेन्ट गरेपछि त्यो वर्षको बेस्ट मध्येको पनि बेस्ट अर्थात् बेस्टेस्ट (सुपरेस्ट सुपरलेटिभ)टिचरको प्राइज जितेका थिए।

मेरो बुद्धिले भ्यागुतो छलाङ मार्दै गयो।स्कुलमा त कछुवा गतिमा पढाइ हुन्छ। स्कुल बाट छलाङ मारें।स्कुल छाड्नु पर्ने कारण मध्ये यो पनि थियो कि जत्ति पनि केटी थिई,कसैले कुनै आवधिक कम्पिटिसनमा मलाई गुड,बेटर वा बेस्टमा कैल्यै पनि राखिन। ऐले यो किन सम्झन्छु भने अस्ति पत्नी दिवसको दिन मैले मेरी पूर्णाङ्गिनीलाई भनेको थिएँ –माई बेस्ट श्रीमती।

सायद उसको पनि सरकारी स्कुलमा पनि त्यस्तो कम्पिटिसन हुन्थ्यो क्यारे। तत्कालै जबाफ फर्काइन्–अनि बेटर को ? गुड श्रीमती को होली ?म न नाजवाफ।मलाई मेरी श्रीमती लाजबाब लागेर खुसी पार्न उपमा देको थें । फँसे।

पति दिवसका दिन बिहानै शुभकामना पाउँछु घरमा –मेरा प्रथम पति।म त ट्वाँ परूँ कि नपरूँ भन्ने दोधारमा पर्छु।प्रथम हुनुको खुसीमा मिठाइ बाँडूँ कि ? प्रथम भने पछि द्वितीय,तृतीय … पनि हुन सक्ने देखिन्छ।

अलमलको उत्कर्षमा रहेर कुनै प्रतिक्रिया नपाएको उपलक्ष्यमा अलिक फुरुङिदै गरेको स्वर मेरो कानको जालीमा ठोक्किन्छ– ह्याप्पी हसबैन्ड डे,माई बेस्ट हसबैन्ड।

मेरो त बैन्ड बजिरहेछ भित्रभित्रै। पत्नी दिवसको दिन पत्नीले फर्काको प्रश्न दोहोर्याउ भने आफ्नै इज्जत जाने।अपच भए नि सहनै पर्छ,पचाउनै पर्छ। प्रतिक्रिया दिन्छु –थ्यांक्स।बेस्टेस्ट हस्बैन्ड भनेकी छैनन्।अझ पनि मेरो इज्जत बाँकी छ भनेर म अनुशासित किसिमले चित्त बुझाउँछु।

केही बोल्ने पनि कसरी।बाहिर पो जे मन लाग्यो बोलिन्छ वा धाक लगाइन्छ। घरमा अलिकति चित्त नबुझ्ने कुरो बोल्नु हुँदैन।झाेंकतन्त्र देखिन सुरु हुन्छ। त्यसपछि बैन्ड बज्ने डर पनि हुन्छ आफ्नै।

सन्तान दिवसको दिन हामी जस्ता सोझा लाई गाह्रो हुन्छ।सबै सन्तान लाई माइ बेस्ट सन्तान भनूँ भने पनि असन्तुष्टि हुने र कोही एक लाई भनूँ भने अन्य सबै रिसाउने।

स्कुल भनेको बोर्डिङ हो र विद्यालय भनेको सर्खारी स्कुल हो भन्ने बुझाइ थियो हाम्रो जमानामा।स्कुल पढ्नेहरू आफूलाई ठूलो ठान्थे र विद्यालय पढाउने मास्टरहरू आफूलाई ठूलो मान्थे।हामी प्यारो इंग्लिश बोल्थ्यौ र तिनीहरू शुद्ध नेपाली।माइनसमा प्लस जोड्दा जुन बढी हुन्छ उत्तर तेत्तैतिर फर्केझैँ स्कुल राम्रो कि विद्यालय र टिचर राम्रो कि मास्टर भन्ने विवादको अन्तिम निष्कर्ष हुने
गर्थियौ।ऐले कस्तो छ कुन्नि था भएन।

केटाकेटीले स्कुलमै हो धेरै कुरा सिक्ने।विद्यालयमा त पढाइ नै हुँदैन भन्छन् त कहाँबाट धेरै कुरा सिक्नु।समाजमा सर्वे गर्ने हो भने विद्यालय पढेका भन्दा स्कुल पढेका भलाद्मीहरू बढी भेटिन्छन्।

यस्तै भलाद्मी मध्ये मेरो गाउँका एक जना मेरै छिमेकमा छन्।फादर्स डे का दिन बिहान म बाहिर आँगनमा चिया खाँदैछु।हातमा अखबारको बच्चो छ।भलाद्मीका जन्मदाता र म कुराकानी गरिरहेका छौ।कतै बाट आएर उनले आफ्नो जन्मदाता लाई च्याप्प समात्छन् र मुख बाट ओकल्छन्–ह्याप्पी फादर्स डे माई बेस्ट फादर ।

भलाद्मीले यस्सो भन्दा बाबालाई अंगालेर मतिर हेर्दै मुस्कुराइरहेका छन्। भलाद्मीले मतिर हेर्दै गर्दा उनकी जन्मदात्री कर्के नजरले मतिर हेर्दै प्राकृतिक मुस्कान छर्दैछिन्।

फुच्चे अखबार र चियाको कप त्यही छाडेर छिमेकी आमा–छोराको मुस्कान मन भरि भरेर म घरमा छिर्छु।मन मनै गुन्दै पनि छु–गुड र बेटर फादर पनि हुन्छन् र ? बेस्ट फादर भन्नुपर्ने किन ? घरमा खै कुन समय देखि कसरी तयारी गरेका रैछन्,मैले त था नै पाइन।भए भरका मेरा कहलिएका सन्तानहरूले एकै स्वरमा सुन्दर मुस्कानका साथ बोल्छन् – ह्याप्पी फादर्स डे माइ बेस्ट फादर … ।

विचलित होऊँ कि नहोऊँ । होऊँ भने आफ्नै बेज्जत र नहोऊँ भने मनभित्र चोटको खोट।पूर्णाङ्निीजीतिर दृष्टि पुग्छ ।उनी आँखा सन्काउँछिन् र कुटिल मुस्कान छर्छिन्।म छरिएको मुस्कानमा कुनै बदलाको आगो बलेको देख्छु । भर्खर बाहिर मनभरिको मुस्कान प्राप्त गरेको छु।थ्यााङ्कू ।मुखबाट फुस्काउनै पर्छ।फुस्काउँछु।

अब म शङ्का कसमाथि गरूँ।म त एक्लै छु।घरमा अरू कोई साना बा,ठूला बा वा अरू कोई बा भएको था छैन।घरमूला वा घरमूली जे भने नि मै हुँ तर तर बेस्ट फादर … । माइ बेस्ट फादर… … । शङ्काको सूई फनफनी घुम्न थालेको छ।

रौतहट, नेपाल

 

प्रतिक्रिया