‘फूल बुट्टे सारी’ गीतको चाइल्ड भर्सन सार्वजनिक, करोड भ्यूज कटेकोमा अग्रज कलाकारको सम्मान

इनेप्लिज २०७७ पुष १६ गते २:२२ मा प्रकाशित

काठमाडौं ।
चर्चित ‘फूल बुट्टे सारी’ गीतले युट्युबमा करोडबढी भ्यूज पाएको अवसरमा बुधबार अग्रज कलाकारहरुलाई सम्मान गरिएको छ । काठमाडौंको राइजिङ मलस्थित क्युज सिनेमा हलमा बुधबार आयोजित विशेष समारोहमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलाई सम्मान गरिएको हो।
पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ।महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो।

गीतको लोकप्रियता भ्यूजले जति मापन गरिएला, त्योभन्दा हरेक उमेर समूहको व्यक्तिको जनजिब्रो झुण्डिएकोले गर्नेछ । हिजोआज सबै उमेर समूहले फूल बुट्टे सारी मन पराएको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बताए । कोरोनाको कहरका बेला सार्वजनिक भएका गीतले पाएको उचाइले सांगीतिक क्षेत्रलाई चलायमान गराएको श्रेष्ठको भनाइ छ।

सम्मानित मदनकृष्ण र राजबाबुले पनि ‘फूल बुट्टे सारी’गीतको टीमलाई बधाई तथा शुभकामना दिए । ‘फूल बुट्टे सारी’मा पुरुषमा मार्मिक लामा र महिलामा मिलन नेवारको स्वर रहेको छ । जसमा शब्द र संगीत राजनराज सिवाकोटीको रहेको छ भने एरेन्ज सञ्जीव बराइलीको छ । महिला र पुरुष स्वरमा रहेका दुवै गीतको भिडिओलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । साथै दुवै गीतको मिक्सिङमा श्यामश्वेत रसाइली रहेको छ।

महिला स्वरमा रहेको फूल बुट्टे सारीमा पल शाह र मालिका महत तथा पुरुष स्वरमा रहेको गीतको भिडिओमा सोना लिम्बु, आनन्द सिंह दनुवारलाई फिचरिङ गरिएको छ।बुधबार आयोजित सो कार्यक्रममा दुवै भर्सनको गीतको अडिओ तथा भिडिओका टीमलाई वरिष्ठ कलाकार मदनकृष्ण र गीतकार राजुबाबुको हातबाट सम्मान गरिएको थियो।

अब चाइल्ड भर्सनमा पनि
महिला र पुरुष स्वरमा दर्शक र स्रोताको मन जित्न सफल फूल बुट्टे सारी गीत अब चाइल्ड भर्सनमा पनि आएको छ।उक्त विशेष समारोहको अवसरमा चाइल्ड भर्स्नको फूल बुट्टे सारी गीत सार्वजनिक गरिएको हो । जसमा अरिष्मा सिवाकोटीको स्वर रहेको छ।

एकछत्र राजनराजन
पछिल्लो समय सांगीतिक क्षेत्रमा एकपछि अर्काे गीत ल्याउनेमा राजनराज सिवकोटी अग्रभागमा देखिन थालेका छन्।फूल बुट्टे सारी गीत एक दशक अघि ल्याएका राजनराजका पछिल्ला वर्ष एकपछि अर्काे गीतले सांगीतिक बजार तताउन थालेको छ।संगीत, शब्द र स्वरमा दख्खल राख्ने राजनराज सांगीतिक क्षेत्रका हस्तीका रुपमा देखापरेका छन्।

प्रतिक्रिया