सिंहदरबारको घुम्ने मेच पुस्तक पढेपछि

–श्रमिक बराल २०७७ पुष १५ गते ८:०३ मा प्रकाशित

–श्रमिक बराल,

पब्लिकेसन नेपालयले नेपाली पाठकहरू माझ प्रकाशनमा डा.सुधा शर्माको अनुभवमा आधारित पुस्तक सिंहदरबारको घुम्ने मेच बजार ल्याएको छ। हिन्दुहरूको मुख्य चाड दशैंको वरिपरि प्रकाशित यो पुस्तक कोरोनोको कारण बाह्य गतिविधि सीमित भएको समयका लागि एउटा उपहार पनि हो।पुस्तकको शीर्षक र बाह्य आवरण हेर्दा जो कसैले यो पुस्तक नेपालको प्रशासनको केन्द्रीय कार्यालय रहेको सिंहदरवारलाई केन्द्र मानेर लेखिएको प्रशासनिक अनुभवको पुस्तक हुनुपर्ने अनुमान सामान्य पाठकले गर्ने गर्दछन्।अझ यसको शीर्षकमा घुम्ने मेचसमेत भएकाले भूमि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविताको समेत सम्झना गराउने भएकाले प्रशासनिक अस्तव्यस्ततालाई केन्द्रमा राखिएर लेखिएको पुस्तक हो कि भन्ने अनुमान गर्न सकिन्छ।तर यो पुस्तक अनुमान गरिएभन्दा भिन्न छ।पुस्तकका विषयवस्तुको आस्वादन गर्न पुस्तक पढ्नै पर्छ।अनुमानले आस्वादन गर्न सकिँदैन।

सुधा शर्मा पेसागत रूपमा डाक्टर हुन्।चिकित्सा विज्ञान उनको अध्ययन र अभ्यासको क्षेत्र हो।डा. सुधा चिकित्सा विज्ञानका साथसाथै जनस्वास्थ्यको विज्ञ पनि हुन्।पेसागत रूपमा डाक्टर भए पनि आफ्नै पेसाको उच्चतम् तहमा नेतृत्व गरिसकेकी व्यक्ति पनि हुन्।नेतृत्व सीपमा अब्बल डा.सुधा पेसागत तथा प्रशासनिक नेतृत्वमा पनि सफल व्यक्ति हुन्।डा.सुधाले हासिल गरेका पेसागत तथा प्रशासनिक नेतृत्व थाहा पाउन यो पुस्तक पढ्नै पर्छ।

सिंहदरबारको घुम्ने मेच पुस्तकमा चौध शीर्षकमा लेखकका अनुभवलाई दुई सय दस पृष्ठमा समेटिएको छ।प्रारम्भ,उज्यालो भविष्य र आभारलाई पृष्ठ सङ्ख्यामा उल्लेख गरिएको छैन ।यो पुस्तक आत्मकथा हो कि अनुभवको सँगालो हो भन्ने कुरा बुझ्न पुस्तक पढ्नै पर्ने हुन्छ।कतिपय सन्दर्भमा यो पुस्तक आत्मकथा हो कि जस्तो लाग्छ । कतिपय सन्दर्भमा अनुभवको सँगालो जस्तो पनि देखिन्छ।मेरो बाबा, दुई प्रेमिल चरा,सङ्घर्षका दिनहरू,मेरा कामका आयतन र अनुभव, नेपाल चिकित्सक सङ्घ र जनआन्दोलन, प्रसूति गृहको निर्देशक,स्वास्थ्य मन्त्रालयमा सचिव,महिला सचिवका चुनौती,आमा,पद परिवर्तन,फेरि स्वास्थ्य सचिव,राजीनामापछि, तान्जानिया अनुभव र फर्केर आफ्नै देशमा गरी चौध शीर्षकमा लेखकले अनुभवलाई उनेका छन्।पुस्तकका सबै शीर्षक पढेपछि यो पुस्तक अनुभवको सँगालो हो भनेर निष्कर्ष निकाल्न कठिन भने हुँदैन।

लक्ष्मीनाथ गौतम नेपालको प्रशासनिक क्षेत्रको सुपरिचित नाम हो।गृह सचिवदेखि नेपाल राष्ट्र बैंकको गभर्नरसमेत भएका लक्ष्मीनाथको सात छोरीमध्ये कान्छी छोरी हुन् डा.सुधा।यस पुस्तकमा लेखकले मेरो बाबा शीर्षकमा आफ्नो पारिवारिक पृष्ठभूमि,आफ्नो अध्ययनमा बाबाको प्रेरणा,पारिवारिक सहयोग र वातावरणलाई उल्लेख गरेका छन्।विद्यालय तहदेखि नै पढाइमातीक्ष्ण लेखक (सुधा) त्यसैको निरन्तरता स्वरूप चिकित्सा विज्ञानको अध्ययनपश्चात् स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन पुगेको र जनस्वास्थ्यको पनि विशेषज्ञ भएको उल्लेख छ।निजामती सेवाको स्वास्थ्य सेवा तर्फको विशिष्ट श्रेणीको सचिव समेत हुने अवसर प्राप्त भएको छ लेखकलाई । यस्तो अवसर सबै चिकित्सकलाई आउँदैन र पाउँदैनन् पनि । यो अवसर डा.सुधाले अवसर प्राप्त गरेको भन्दा पनि डा.सुधाको निरन्तर लगाव, मिहेनत र परिश्रमको परिणाम थिए यी उपलब्धि।यसको प्रेरणाको स्रोत लेखकले आफ्ना बाबालाई मानेका छन्।

एसएलसी परीक्षाको नतिजामा अब्बल स्थान हासिल गरेका लेखकले आइएस्सी सकेपछि राँचीको राजेन्द्र मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्न छात्रवृत्ति प्राप्त गरेको र सोहि कलेजबाट चिकित्सक भएर नेपाल फर्केको प्रसङ्ग छ।सोहि कलेज अध्ययन गर्दा डा.विजय शर्मासँग विवाह बन्धनमा बाँधिएको र प्रेमिल जीवन बिताएको प्रसङ्ग ‘दुई प्रेमिल चरा’ शीर्षकमा उल्लेख गरेका छन्।

काठमाडौंमा जन्म र यहीँ नै शिक्षा हासिल गर्ने अवसर पाएका लेखक आफैमा केही गर्न सक्ने वातावरण भएको परिवारमा जन्मेका रहेछन्।पिताजी नेपाल सरकारको विशिष्ट श्रेणीको सचिव,त्यसमा पनि गृहसचिव र नेपाल राष्ट्र बैंकको गर्भनर भएको पृष्ठभूमि र परिवारका दाजुदिदीहरू पनि अध्ययनमा अब्बल नै भएकाले लेखकका लागि व्यावसायिक तथा प्रशासनिक उत्कृष्ठता प्राप्त गर्ने विषय अपेक्षित नै थियो।हुनतः वातावरण हुँदैमा सबैले उत्कृष्ठता प्राप्त गर्दैन र सक्दैनन् पनि।यसमा लेखकको लगनशीलता र केही गरूँ भन्ने अठोटले पनि काम गरेको छ।विवाहपश्चात् नेपालको उच्च राजनीतिक घरानियाँसँगको सम्बन्धका कारण पनि लेखकमा अन्तरहृदयमा रहेको नेतृत्व क्षमतालाई पनि प्रकट हुने अवसर पाएको देखिन्छ।लेखकको पेसागत लगाव, व्यावसायिक निष्ठा र उच्च प्रशासनिक नेतृत्व थाहा पाउन यो पुस्तक पढ्नै पर्ने हुन्छ।जेहेन्दार विद्यार्थीका रूपमा छात्रवृत्ति पाउनु र अध्ययनपश्चात् आफ्नो पेसालाई निरन्तरता दिनु कुनै नौलो कुरा होइन। पेसामा प्रवेश गरेपछि केही गरूँ भन्ने अभिलाषा,त्यसप्रतिको लगनशीलता,नेतृत्व गर्ने क्षमता र अध्ययनको निरन्तरताले नै लेखकलाई एक सफल पेसाकर्मी र सफल प्रशासक बनाएको छ।एमबीबीएस अध्ययनपश्चात् भरतपुर अस्पताल, कोशी अस्पताल,परोपकार प्रसूति गृहमा काम गर्दाका सङ्र्घषले नै लेखकको व्यावसायिक क्षमतामा निक्खरता ल्याएको पाइन्छ।बेलायतमा मास्टर इन पब्लिक हेल्थ अध्ययन गर्न जाँदा सरकारी छात्रवृत्तिमा अवसर नदिएको अवस्थाले लेखकलाई खिन्न बनाए पनि आफ्नै प्रयत्नले बेलायतमा काम गर्दै अध्ययन गरेको प्रसङ्ग कम रोचक छैन।

अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था, युएनएफपिए,नेपाल सोसाइटी अफ अब्स्टेटिसियन एन्ड गाइनोकोलोजिस्ट(नेसोग) को अध्यक्षसहितको विभिन्न नेतृत्व तह र नेपाल चिकित्सक सङ्घको अध्यक्षको नेतृत्व गर्दा लेखकले आफ्नो उत्कृष्ठता प्रस्तुत गरेका विषय ‘सङ्घर्षका दिनहरू‘ र ‘मेरा कामका आयतन र अनुभव’ मा समेटिएको छ।वि.सं. २०६२÷०६३ सालको जनआन्दोलनमा नेपाल चिकित्सक सङ्घको अध्यक्षका नाताले पेसागत नेतृत्व गर्दा एकातिर जागिरको जोखिम थियो नै, अर्कोतिर आफ्ना विरामीलाई दिनुपर्ने सेवाको पेसागत धर्म पनि थियो । विभिन्न धम्कीका बावजूत लेखकले निरङ्कुशताको विरुद्ध पेसागत नेतृत्व गरी सफल बनाएको प्रसङ्ग ‘नेपाल चिकित्सक सङ्घ र जनआन्दोलन’ शीर्षकमा उल्लेख छ। यस्तो अवसर केही सीमित नेतृत्वलाई मात्र प्राप्त हुन्छ ।यस अवसरलाई लेखकले भरपूर उपयोग गरेका छन्।

लेखक प्रसूति गृहको निर्देशक हुँदा आपूmमा विद्यमान ज्ञान, सीप र प्रवृत्तिको अधिकतम् उपयोग गरी मातृशिशु क्षेत्रमा उल्लेखनीय काम गरेका प्रसङ्ग पाइन्छ ‘प्रसूति गृहको निर्देशक’ शीर्षकमा।यस पुस्तकको महत्वपूर्ण र रोचक विषय लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विशिष्ट श्रेणीको सचिव हुँदाको प्रसङ्ग हो।‘महिला सचिवको चुनौती’,‘पद परिवर्तन’ र ‘फेरि स्वास्थ्य सचिव’ शीर्षकहरूमा सरकारको एकजना सचिव, त्यसमा पनि महिला हुँदा राजनीतिक नेतृत्वबाट पाएको प्रताडनालाई मिहिन किसिमले उल्लेख गरिएको छ।चिकित्सा विज्ञानको विद्यार्थी,देश तथा विदेशको अध्ययन तथा अनुभव,आँठौं तहबाट खुला प्रतियोगिता मार्फत एघारौं तहमा भएका बढुवा भई लामो समय एघारौं तहमा काम गरेको अनुभव,नेपाल चिकित्सक सङ्घको नेतृत्व गरिसकेको व्यक्तिलाई मन्त्रालयको सचिव भएर काम गर्दा भोग्नु परेको विस्तृत वृतान्त पुस्तकमा पढ्न पाइन्छ ।यो पुस्तकको शीर्षक पनि लेखकले सचिव हुँदा भोगेको अनुभूतिको तथ्यगत र कतै कतै व्यङ्ग्यात्मक प्रस्तुति हो जस्तो लाग्छ।विभागीय मन्त्रीले आफुले भने अनुसारको निर्णय गर्न लगाउने प्रसङ्गलाई लेखकले यसरी उल्लेख गरेका छन् :आफैँले अह्राएको कामको जोखिम लिएर निर्णय गर्न नचाहने तर कर्मचारीलाई बाध्य गराउने उहाँको यो शैली चित्तबुझ्दो थिएन (पृ.२)। स्वास्थ्य मन्त्रालयको सचिव हुँदा अपस्ताल विकास समिति राजनीतिक भर्ती केन्द्र भएको प्रसङ्ग उल्लेख गर्दै लेखकले भनेका छन् :तर अस्पताल विकास समितिहरू र समुदायमा रह्का साना स्वास्थ्य संस्थाका सहयोग समितिहरू राजनीतिक भर्ती केन्द्रका रूपमा विकसित भए (पृ.१४६)।मेडिकल,नर्सिङ र हेल्थ प्रोफेसनल काउन्सिलमा पनि अनियमितता भएको उल्लेख गर्दै लेखकले यसरी प्रसङ्ग जोडेका छन् : मेडिकल, नर्सिङ र हेल्थ प्रोफेसनल काउन्सिलभित्र अनियमितता चुुलिएका छन्।कलेजहरू सञ्चालन गर्न अनुमति दिने,तिनले मापदण्ड पूरा गरे नगरेको आधारमा भर्ना सङ्ख्या निर्धारण गर्ने आदि प्रव्रिmयामा करोडौंको चलखेल हुन्छ (पृ.१४७)।नेपाल सरकारले जनतालाई निःशुल्क वितरणका लागि उपलब्ध गराउने औषधिमा ‘नेपाल सरकारबाट निःशुल्क वितरणका लागि उपलब्ध’लेख्दा पनि छेउका केही चक्की काटेर बाँकी औषधि पसलमा बिव्रmीका लागि पुग्ने सम्भावना अधिक हुन्छ भनी लेखकले उल्लेख गर्दै निःशुल्क औषधिमा हुने चरम लापरवाही र अनियमिततालाई छर्लङ्ग पारिदिएका छन् (पृ.१४७)।

विभागीय मन्त्रीले गर्ने असह्य व्यवहारका कारण लेखकले आफ्नो आत्मसम्मानमा ठेस पुग्ने गरी सरकारी सेवाको उच्च पदमा बस्नुको औचित्य नदेखेर राजीनामा दिएको प्रसङ्ग विशेष मर्मस्पर्शी छ।मन्त्रालयमा मन्त्री र सहकर्मी सचिवसँग हुने विवाद प्रणाली सुदृढीकरण,वरिष्ठता र विज्ञताको थियो, प्रशासनिक मान्यताविपरीतको बलमिच्याइँको थियो भन्दै लेखकले मन्त्रालयको सचिव,त्यसमा पनि महिला हुदा भोग्नुपरेको पीडालाई उल्लेख गरेका छन् ।लेखकले ‘महिला हुन र मन्त्रीको नजिक नहुनुले निकै समस्या हुँदो रहेछ’भनी उल्लेख गरेको प्रसङ्ग निकै संवेदनशील छ (पृ.१८०)। यहाँ त औपचारिक भन्दा अनौपचारिक कुराकानीमा महत्वपूर्ण निर्णय हुने गर्छन्।यस्ता अनौपचारिक भेटघाट र कुराकानी कार्यालयमा प्रायः हुँदैनन्।पुस्तकमा लेखकलाई एकजना जुझारु, निर्भिक र कार्यसम्पादनका हिसाबले काविल भएको विभिन्न दृष्टान्तमा देख्न सकिन्छ।नेपाल सरकारको विशिष्ट श्रेणीको सचिवमा महिलाको उपस्थिति न्यून हुँदा प्रोत्साहन र सहयोग नमिलेको प्रसङ्गलाई लेखकले चोटिलो ढङ्गले यसरी उल्लेख गरेका छन् :महिला सचिवमाथि भएको अन्यायप्रति मसँग धेरै नजिक रहेर काम गरेका महिला सभासदहरू,गैरसरकारी संस्थाका महिला अगुवाहरू कसैले पनि सहानुभूति,सहयोग या समर्थन गरेको पाइनँ।उल्टै उहाँहरूले ‘महिलाले काम गर्न नसकेको’जस्ता उद्गार व्यक्त गर्नुभयो।महिलालाई परेका अन्यायप्रति महिला नै गैरसंवेदनशील भएको देख्दा उदेह लागेको छ (पृ.१८०)।

नेपाल सरकारको विशिष्ट श्रेणीको पदबाट राजीनामा दिएपछि लेखकले तान्जानियामा युनिसेफको स्वास्थ्य तथा पोषण विभाग प्रमुख भएर काम गर्ने अवसर पाएको विषय‘तान्जानिया अनुभव’ शीर्षकमा उल्लेख छ।तान्जानियाको इमान्दार राजनीतिक नेतृत्व, नेतृत्वको समर्पण तथा राजनीतिक स्थायित्वले तान्जानियामा प्रगति भएको पनि उल्लेख छ।

लेखकलाई विदेशमा काम पाउन कुनै कठिनाइ थिएन । विदेशमा पद, सम्मान र पैसा सबै थोक पाइन्थ्यो।तर,आफ्नै देश र नागरिकलाई सेवा दिने र स्वास्थ्य क्षेत्रमा केही न केही सुधार गर्ने हुट्हुटीले स्वदेशमा नै सेवा गर्न लागिपरेका लेखकले निस्वार्थ सेवा गर्दा पनि विभिन्न समस्यासँग जुध्नु परेको र अन्त्यमा निराश भई जागिकको सेवाअवधि बाँकी हुँदाहुँदै राजीनामा गरेको प्रसङ्ग पढ्दा मन नरमाइलो हुन्छ।हुनतः यस्तो अनुभूति सरकारका अधिकांश सचिवहरूले भोगेको हुन सक्छ, मात्र फरक के मा छ भने लेखकले यस पुस्तकमा उल्लेख गरे,अरूले गरेका छैनन्, गर्न सकेका छैनन्।

स्वास्थ्य क्षेत्रमा काम गर्ने र सरकारी क्षेत्रमा जागिर गर्नेका लागि यो पुस्तक प्रेरणाको स्रोत हुन सक्छ।वर्तमान समयमा चिकित्सकहरू राज्यको तर्फबाट पाउने सुविधा लिने तर देशको सेवाभन्दा परदेशको सेवा गर्ने लालसा राख्नेका लागि यो पुस्तक पढ्नै पर्ने किसिमको छ।विदेशले दिने फेलोसिपका लागि आफ्नो देशको आवश्यकताको पत्र लिने (यस्तो फेलोसिप देशको वास्तविक आवश्यकता होइन,विदेशीको आवश्यकता पूरा गरिदिन दिइने कागज मात्र हो),पत्रमा उल्लेख भएअनुसार स्वदेश फर्केर सेवा गर्न नचाहनेका चिकित्साकर्मीले यो पुस्तक त पढ्नै पर्छ,स्वदेशको सेवा के हो भनेर बुझ्नका लागि।

समग्रमा सिंहदरबारको घुम्ने मेच पुस्तक पठनीय छ, सङ्ग्रहणीय पनि छ । लेखकका अनुभव सरल भाषामा सललल बगेका छन्, लेखकका विचार सुबोध छन्।पाठकले पढ्न सुरु गरेपछि पुस्तक नसिध्याइकन उठ्ने मन गर्न सक्दैन । यो लेखकको लेखकीय सफलता पनि हो।एक सफल चिकित्सक र प्रशासकको अनुभव सुन्न र पढ्न सबैको धोको हुन्छ।त्यसमा पनि पेसा र प्रशासनिक नेतृत्वको उच्च तहमा पुग्न सफल नेतृको अनुभव पछिल्लो पुस्ताका लागि मार्गदर्शन पनि हुने गर्छ।पुस्तकका शीर्षकहरू कालव्रmमिक रूपमा लेखिएको भए पनि पाठगत शीर्षकका कारण घरि घरि पुराना प्रसङ्ग आएका छन् जुन स्वभाविक पनि हो । यो चिकित्सा क्षेत्रमा अध्ययन गर्न चाहने,अध्ययन गरिरहेका र अभ्यासरतका लागि त अनिवार्य रूपमा पढ्नुपर्ने पुस्तक हो,यो पुस्तकले अन्य क्षेत्रका लागि पनि नेपालको प्रशासनिक र स्वास्थ्य क्षेत्रलाई बुझ्न पनि सहयोग गर्दछ।नेपालको एक सफल चिकित्सकको अनुभवको सँगालो सबैका लागि प्रेरणादायी छ।भविष्यमा लेखकका यस्तै अन्य अनुभव र विज्ञताको सरल प्रस्तुति अपेक्षा गर्दै शुभकामना दिन चाहन्छु।

प्रतिक्रिया