संझनामा मेरो स्कुले जीवन र ती अतितका पुष १४

-शशी के.सी २०७७ पुष १३ गते २२:४७ मा प्रकाशित

आज पुष १४ गते स्वर्गिय राजा बीरेन्द्रको जन्मदिन,यो दिन आयो की मलाई आफ्नो स्कुलको दिनहरू धेरै नै याद आउॅंछ।स्कुल स्तरको पढाई मैले काठमाडौंको ( त्योबेला केटीहरूमात्र पढ्ने) महेन्द्र भवनको होस्टेलमा बसेर पढेको हो।होस्टेल नै बस्नुको कारण चाहीं पढाई नबिग्रियोस् भनेर थियो।बुबा सरकारी कर्मचारी हुनुहुन्थ्यो।जागीरको सिलसिलामा बिभिन्न जिल्लामा सरूवा भईरहन्थ्यो र बुबा सॅंगै यताउता कहिले पहाडी जिल्ला,कहिले तराई,कहिले पुर्व, कहिले सुदुर पश्चिम सरिरहॅंनु पर्थ्यो।

म पढ्दा होस्टेलमा म जस्तै अरू पनि धेरै नै सरकारी कर्मचारीका छोरीहरू पढ्थे।परिवार बाट टाढा होस्टेल बस्नु पर्दा सुरूका कति दिन त राती रून्थें, दिक्क लाग्थ्यो, केटाकेटी नै त थिॅंए।तर अहिले फर्केर हेर्दा होस्टेल बस्न पाउनु राम्रै रहेछ जस्तो लाग्छ।पढाई छुटेन।होस्टेलमा धेरै कुरा सिकियो।सबै भन्दा ठुलो कुरा त जिन्दगी जिउने कला सिकियो।सबै आफै गर्ने,कसैको भर नपर्ने आदी।

हामी स्कुल पढ्दाको अर्को रमाइलो पाटो भनेको अरू बेला त होस्टेल बाट बाहिर निस्किन पाइन्न थियो।तर राजा रानीकोजन्म दिनमा नारायणहिटी राजदरबार, बाल दिवसमा (भदौ ४ गते त्यो बेलाको) दशरथ रंगशाला र बिभिन्न देशको महत्वपूर्ण व्यक्तिको नेपाल भ्रमणमा एयरपोर्ट लाइन लागेर हिॅंडेर स्वागत गर्न जानु पर्थ्यो ।ओहो यसरी जान पाउनु त चाड पर्व आए जस्तो हुन्थ्यो।लुगा,जुत्ता सफा गरेर तयार पार्थ्यौं।

हाम्रो स्कुल मात्र हैन,काठमाडौंका अरू स्कुलका बिधार्थीहरू पनि आउॅंथे।कहिले काहीं अरू स्कुल पढ्ने भाइ,साथी र नातेदारहरू सॅंग देखा देख हुन्थ्यों।मौका पर्दा,टिचरकोआंखा छलेर भेट्ने पनि।केटाकेटी उमेर न हो त्यो बेला,अर्को बदमासी के गरिन्थ्यो भने,बाटोमा लाइन लागेर हिॅंडदै गर्दा बाटोमा पर्ने पसलमा टिचरलाई छलेर तितौरा,पुष्टकारी आदी किन्थ्यौं।

हाम्रोपालामा मंसीरको अन्त्य सम्ममा सबै बार्षिक परिक्षा सकिसकेको हुन्थ्यो।पुष १५ गते रिजल्ट हुन्थ्यो र त्यसपछि ११/२महिना जाडोको बिदा हुन्थ्यो। टाढा टाढा जिल्लामा घर हुने केटीहरूलाई परिवार लिन आए भने पुष १ देखि नै होस्टेलबाटघर जान दिन्थे। होस्टेलबाट लामो बिदामा घर जांदा आफ्नो सबै सामान सिरक, डसना, लुगा, किताबहरू लग्नुपर्र्यो। अरूघर नगएकाहरूको पुष १ देखि पुष १५ सम्म फुक्का समय, बिधार्थीले पढन नपर्ने र कसैले किन पढिनस् पनि नभन्ने, केचाहियो।हामी डण्डी बियो, गट्टा, चुंगी, गुच्चा, घ्वाईं,सेभेन स्टोन,डोरी, रबरको डोरीमा उफ्रने आदी खेलेर बिताउॅंथ्यौं।

पुषमहिनामा नै स्कुलको अभिभावक दिवस हुन्थ्यो। बिभिन्न नाचगान, नाटक आदी कार्यक्रमको तयारी गर्थ्यौं।त्यस्तै होस्टेलमा फिनल्याण्ड बाट आएका नर्स ( सिस्टर) हरू बिरामीकक्ष हेर्ने हुन्थे। उनीहरूले क्रिसमस नाचगान, मिठो परिकार,उपहार दिएर रमाइलो गरेर मनाइदिन्थे।अनि कहिलेकाहीं घरबाट स्कुल आउने साथीहरूले हामी होस्टेल बस्नेहरूलाई भोगटे लेराई दिन्थे। त्यसलाई सांधेर खान पाउनु त झन अर्को रमाइलो हुन्थ्यो।

पुष १४ राजा बीरेन्द्रको जन्मदिनको दिन त झन् हामी होस्टेल बस्ने केटीहरू कहिले आउला कुरेर बस्थ्यौं।त्यो दिनस्कुल बाट बिभिन्न कक्षाका केटीहरू लाम लागेर ज्ञानेश्वर देखि नारायणहिटी दरबारसम्म जानु पर्थ्यो।हात हातमा नेपालकोझण्डा र राजालाई शुभकामना संदेश लेखेको प्लेकार्ड बोकेका हुन्थ्यौं। कहिले काहीं त नारा पनि लगाउनु पर्र्थ्यो।“हाम्रोराजा हाम्रो देश प्राण भन्दा प्यारो छ । ” बाटोमा टिचरको आंखा छलेर पैसा छ भने किनमेल पनि गर्र्थ्यौं। नारायणहिटी राजदरबार भित्र छिर्दा खुशीको सिमै हुन्नथ्यो।राजा,रानी साथै अरू राजपरिवारका सदस्यहरू,उच्च ओहोदाका कर्मचारीहरू माथि लहरै उभिएका हुने,तल हामी लाम बद्ध भएर हिॅंडदै जांदा राजा रानी देख्न पाउनु ठुलो सौभाग्य जस्तो लाग्थ्यो।

अझ उॅंहाहरूले तल हेर्दा त आफै लाई हेरिरहेको जस्तो लाग्थ्यो।यसरी शुभकामना दिएर हिॅंडदै लखतरान परेर स्कुल फर्कियो।स्कुलमा आए पछि प्याकेटमा खाजाको पोका : जसमा फलफुल, खजुरी,निम्की, समोसा आदी के के हालेको र चिया वा जुस, कोक,फ्यान्टा आदी खान दिन्थे। यसरी सकिन्थ्यो पुष १४ गते!

अहिले त अमेरिकामा छु।राजदरबार हत्याकाण्ड भएको अर्कौ महिना नेपाल छोडेको थिंए।नेपाल गएको बेला राजदरबारको ढोकानिर पुग्दा सॅंधै त्यो अगाडी देखिने घरमा पुरानै दिनमा जस्तै राजा रानीहरू लहरै उभिरहेका छन् की जस्तो लाग्छ।अब त सबै मिठो सम्झना न बांकी रहयो।

अन्त्यमा,जॅंहा भएपनि मेरो बाल्यकाल सम्झाई दिने नेपालीका प्यारा राजा बीरेन्द्रलाई जन्मदिनको शुभकामना !!

-शशी के.सी

 

प्रतिक्रिया