चिताएको पुग्ने सनसारी माई मन्दिरको पुनःनिर्माणमा प्रदेश सरकार जुटे

मनोज दाहाल २०७७ पुष ७ गते ११:३५ मा प्रकाशित

मनोज दाहाल,

मोरङ,७ पुस(रासस):मनले चिताएको कुरा पुरा हुने विश्वास रहेको मोरङको रंगेली नगरपालिका –७ स्थितका सनसारी माई मन्दिर (शक्तिपीठ) पुनःनिर्माणमा प्रदेश सरकार जुटेकोछ।

आस्था र विश्वासको धरोहर यो मन्दिर लामो समयदेखि पुनःनिर्माणको पर्खाइमा थियो।मन्दिर निर्माण हुने भएपछि स्थानीय जनता मात्र होइन,मन्दिरमा जाने इच्छा गरेका सबै मानिसहरुले औधी खुशी प्रकट गरेका छन्।

यस क्षेत्रको प्रमुख धार्मिक आकर्षणको केन्द्र रहेको करिव साढे छ विगाहा क्षेत्र क्षेत्रफलमा फैलिएकोे मन्दिरमा दर्शनका लागि विराटनगर,धरान इटहरी, झापा लगायत सीमावर्ती भारतीय राज्य विहार र बङ्गालका भक्तजनहरुले आफ्नो मनोकामना पूरा हुने मुख्य देवीेको रुपमा मान्यता राखेका छन्।

विगतमा मन्दिरको जीर्णोद्वार गर्न कहि कतैबाट सहयोग उपलव्ध नभएको अवस्थामा मन्दिरको भेटीबाट नै आवश्यक खर्चको व्यवस्थापन गरी कार्य सञ्चालन गर्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजीव श्रेष्ठले बताउनु भयो।

रंगेली स्थित चिसाङ्ग खोलाको किनारमा रहेको मन्दिरको जीर्णोद्वार,शौन्दर्यकरण तथा आकर्षक र आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ।

सङ्घीयता स्थापनपछि प्रदेश नं १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्दिरको आवश्यक मर्मत, सम्भार,शौन्दर्यकरणका लागि रु १७ करोड ९५ लाख बजेट विनियोजन गरको छ भने सोही बजेटबाट मन्दिरको काम गर्न रु १२ करोडमा ठेक्का लागेको छ।

उक्त ठेक्का अन्तर्गत मन्दिरको कार्यालय भवन,पुजारी आवास गृह,शौचालय,चारैतिरका पर्खाल,भक्तजनहरुलाई पकाउनका लागि ग्यास पाइप सहितको ९६ बटा भान्सा कोठा,भजनकीर्तन गृह,खानेपानी ट्याङकी, बगैचा सहितको फाउण्टेन पार्क र गौशाला निर्माण गर्नु पर्ने छ।

कोरानाको कारण निर्माण कार्य केही समय अवरुद्ध भएपनि अहिले द्रूत गतिमा निर्माण भइरहेको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताउनु भयो।

आगामी तीनवर्ष भित्रमा सबै काम सम्पन्न हुुने व्यवस्थापन समितिका सह–सचिव ईश्वर पोखरेलले जानकारी दिनु भयो।

भक्तजनहरुले आफ्नो भाकल( मागेको कुरा) पुरा भएपछि बोकाको बलि दिने गरेको मन्दिर व्यवस्थापन समितिका सह सचिव पोखरेलले जानकारी दिनु भयो।

प्रदेश नं १ का उद्योग, पर्यटन तथा तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले धार्मिक पर्यटनको रुपमा मन्दिरलाई विकास गरी स्वदेशी तथा भारतीय पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले बजेट विनियोजन गरिएको बताउनु भयो।
उहाँले यसको निर्माणबाट रंगेली मात्र होइन मोरङ जिल्लाकै गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभयो।

कोरोना माहामारी हुनुभन्दा अगाडि प्रत्येक शनिबार २५० वटा बोकाको बलि दिने गरिन्थ्यो भने अन्य दिन ४० देखि ५० वटासम्म दिने गरिएको थियो।

मन्दिरमा बलि दिएको बोका पूर्वमा बक्रहा नदी र पश्चिममा चिसाङ्ग नदीको क्षेत्रफल भित्र उपयोग गरिसक्नु पर्ने पौराणिक मान्यता रहि आएको छ।

इच्छाएको कुरा पूरा भएपछि एउटा बोकाको बलि दिन एक जना भक्तजनका साथमा करिव १५ जना परिवारका सदस्यहरु आउने गर्दछन्।कोराना महामारीका कारण तथा सामाजिक दूरी पनि कायम गर्नु पर्ने स्वास्थ्य आचार संहिता लागू भएपछि मन्दिरमा बलि दिने कार्य बन्द थियो।

अहिले मङ्सिरको पहिलो हप्ता देखि स्थानीय प्रशासन र प्रहरीको सहकार्यमा स्वास्थ्य सुरक्षा अपनाइ दैनिक ११ वटा बोका बलि दिने गरिएको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो।बलि दिन चाह्ने भक्तजन एवं श्रद्धालुले अग्रिम नाम दर्ता गराउनु पर्ने व्यवस्था रहेको बताएको छ।

कोरोनाको कारण देवीको दर्शन गर्न आउने स्वदेशी तथा भारतीय भक्तजनहरुको सङ्ख्यामा अहिले स्वास्थ्य सुरक्षाका कारण केही कमी आएको छ सह सचिव पोखरेलले बताउनु भयो।

मन्दिर कहिले स्थापना भएको भन्ने स्पष्ट मिति थाहा नभए पनि राणाकालमा रंगेली मोरङ जिल्लाको सदरमुकाम भएको समयमा भन्सार गस्ति र सरकारी कार्यालयले पूजा यही मन्दिरमा गर्ने गरेको स्थानीय वुढापाकाहरुको भनाइ रहेको छ।

वीपी कोइरालाको आत्मवृत्तान्तमा विराटनगर– रङ्गेली –झापा हुलाकी मार्ग रहेको बेला मोरङ जिल्लाको वडा हाकिम रहेका पिताजी कृष्णप्रसाद कोइराला सोही बाटो घोडामा चढेर जाने आउने क्रममा मन्दिरको दर्शन गर्ने गरेको उल्लेख रहेको छ।

देवीसँग आफुले मागेको इच्छा पूरा हुने गरेकोले मन्दिरको दर्शनका लागि जाने गरेको विराटनगर–११ की बिजया खतिवडाले बताउनु भयो।उहाँले देवीको पूजा तथा दर्शन गर्दा मेरो कष्ट पनि निवारण भएकोमा खुशी व्यक्त गर्नुभयो।

स्वदेशी तथा भारतीय लगायत विदेशमा वस्ने हिन्दु धर्मावलम्वीहरुले आफ्नो मनोकामना पूरा भएको भनी आफ्ना इष्टभित्र,नातागोता मार्फत अथवा मन्दिरमा टेलिफोन गरी रकम पठाइ बलि दिने गरेको सह सचिव पोखरेल बताउनु हुन्छ।

एकसयवर्षभन्दा लामो इतिहास वोकेको अनुमान गरिएको मन्दिरको आफनै धार्मिक महत्व रहेको रहनुका साथै विगत १० वर्षदेखि दर्शन गर्न आउने भक्तजनहरुको सङ्ख्या उल्लेखनीय रुपमा बढेको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष श्रेष्ठले बताउनु हुन्छ । समयको परिवर्तन, विकास तथा प्रविधिले गर्दा भक्तजनहरुले कुनै पनि समस्या अहिले झेल्नु नपरेको उहाँको भनाई छ।

मन्दिरमा सबै भन्दा बढि शनिबार र मङ्गलबार पूजा गर्न र भाकल अनुुसार बलि चढाउने गर्दछन । शनिबारका दिन पाँचदेखी सातहजार सम्म भक्तजन आउने र २०० देखि २५० बटा सम्म वोकाको वलि चढने गरेको अध्यक्ष श्रेष्ठले वताउनुुभयो।

मन्दिरमा मोरङ,सुुनसरी सिराहा सप्तरी तथा पहाडी जिल्ला तथा भारतवाट समेत ठूलो सङ्ख्यामा भक्तजनहरु आउने गर्दछन।

चिताएको कुुरा पुुरा हुुने सो मन्दिरलाई प्रदेश सरकारले प्रदेश शक्तिपीठको रुपमा मान्यता दिएपछि मन्दिरको महत्व झन वृद्धि भएको छ।

प्रदेश सरकारले गत वर्षको दशैंमा प्रदेश स्तरीय फुुलपाति बढाई गर्न थालेपछि मन्दिरको चर्चा छिमेकी प्रदेशमा हुन थालेको र भक्तजनहरुको आगमनमा वृद्धि हुन थालेको छ।

यस वर्ष कोराना महामारीको कारण रंङगेली नगरपालिकाले स्वास्थ्य सुरक्षा एवं भौतिक दूरी कायम गरी दशैंमा फूलपाती बढाइ गरी पूजा सम्पन्न गरेको सह सचिव पोखरेलले जानकारी दिनु भयो।

रंगेली नगरपालिकाले मन्दिरको साझेदारीमा पटक पटक गरी रु ४४ लाखको सहयोगको लागतमा चिसाङ्ग खोलाको बाढीबाट वचाउनका लागि पक्की बाँध निर्माण गर्नुका साथै बर्षात एवं जाडो मौसममा भक्तजनहरुको बिश्रामका लागि २० बटा सेड निर्माण गरिएको छ।

रङेगेली नगरपालिकाका प्रमुख दिलीप अग्रवालले मन्दिरको महत्व परापूर्वककाल देखि भएपनि आवश्यक भौतिक संरचनाको कमीले भक्तजनहरु दर्शन गर्न आउँदा हुने समस्या समाधान गर्न प्रदेश सरकारको सहयोग सराहनीय छ भन्नु भयो।

कोरोना महामारी अगाडि दशैंमा भक्तजनहरुको मन्दिरको ढोका अगाडि नै सुत्ने र शरीरमा जमरा राख्ने गरेकोले यसको महत्व दर्शाउने गरेको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको कथन रहेको छ।

मन्दिरमा औँशी,एकादशी,पूर्णिमा र हिन्दु धर्म अनुसार काटमार गर्न नहुने दिनमा यहाँ बली चढाइन्न।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उद्योगी राजेन्द्र राउतले यस क्षेत्रका शक्तिपीठको रुपमा यस मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको आवश्यक सुविधामा सबैको सहयोग रहनु पर्नेमा जोड दिनु भयो।

रङगेली निवासी नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारीले यस मन्दिरमा चिताएको कुरा पूरा हुनेले यसको महत्व स्वदेश तथा विदेशका हिन्दु धर्मावलम्वीहरुमा अत्याधिक रहेको बताउनु भयो।

मन्दिरको दैनिक पूजापाठ एव आवश्य व्यवस्थापनका लागि पाँच जना कार्यरत रहेका छन् भने उनीहरुलाई भक्तजनहरुबाट चढाइएको भेटी एवं दानबाट पारिश्रमिक भुक्तानी गर्ने गरेको सह सचिव पोखरेलले बताउनु भयो।

मन्दिरले आफ्ना सम्पूर्ण आम्दानी बैंकमा जम्मा गर्ने गरेको र सबै कारोवार यसै मार्फत गर्ने गरेकोले सम्पूर्ण आर्थिक कारोबार पारदर्शी रहेको पाइएको छ।

प्रदेश नं १ को राजधानी विराटनगरबाट २२ किलोमिटर पूर्व झापा जाने बाटोमा रहेको यो मन्दिर जान कसैले पनि झन्झट व्यहोर्नु पर्ने स्थिति नरहेको अवस्था छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया