रामदेवको ‘कोभिड रोग प्रतिरोधी’ औषधी लण्डनमा बिक्री

इनेप्लिज २०७७ पुष ४ गते १४:०५ मा प्रकाशित

बीबीसी नेपाली । बीबीसीले गरेको एउटा खोजले लण्डनका कैयौँ पसलहरूमा झुटा ‘कोभिड-१९ प्रतिरोधी शक्तिवर्धक’ औषधी बिक्री भइरहेको पाएको छ।

राजधानी लण्डनका एशियाली मूलका मानिसहरूको बसोबास भएका क्षेत्रमा कोरोनिल भनिने भारतबाट आयात गरिएको जडीबुटीले बनेको औषधी बिक्री भइरहेको पाइएको छ। उत्पादक पतञ्जली आयुर्वेदले कोरोनिलले ‘श्वास प्रश्वास सम्बन्धी’ रोग लाग्नबाट बचाउने दाबी गर्छ।

बीबीसीले प्रयोगशालामा परीक्षण गर्दा ती चक्कीले कोरोनाभाइरसबाट नजोगाउने देखाएको छ। बर्मिङ्घम विश्वविद्यालयले बीबीसीका लागि गरिदिएको परीक्षणमा उक्त चक्की बनस्पतिजन्य बस्तुहरूबाट बनेको पाइएको छ। तर त्यसले कोभिड-१९ बाट जोगाउँछ भन्ने छैन।

भाइरोलोजिस्ट डा. मैत्रेयी शिवकुमारले भने, “रोग प्रतिरोधी शक्ति बढाउने भन्ने कुराले कोरोनाभाइरस उपचारमा कुनै अर्थ राख्दैन।” “हाम्रो रोग प्रतिरोधी शक्तिले कसरी भाइरससँग लड्छ भन्नेबारे धेरै सुक्ष्म विषयहरू छन्। प्रतिरोधी शक्ति बढाउँदा त्यसले कसरी सहयोग गर्छ हामीलाई थाहा छैन। कोरोनिलले रोग प्रतिरोधी शक्तिलाई के गर्छ भन्ने पनि स्पष्ट छैन।”

यूकेको विज्ञापन नीतिले कोभिड-१९ का लागि रोग प्रतिरोधी भन्ने किसिमको दाबी गर्न दिँदैन। वेम्ब्लीस्थित एक पसलले कोरोनिललाई ‘कोभिड-१९ विरुद्ध रोग प्रतिरोधी’ औषधी भनेर पसलमा र उसको वेबसाइटमा पनि विज्ञापन गरेको छ।

बीबीसी पुगेका कम्तीमा अरू चारवटा पसलले पनि कोभिड- १९ को उपचार गर्छ भन्दै कोरोनिल बिक्री गरेको पाइएको छ।

एक उपभोक्ताले बीबीसीसँग भने, “म ७८ वर्ष पुगिसकेँ, त्यसैले यो औषधी खाने गरेको छु। म बाहिर सामान किन्न जाँदा जो सुकैबाट कोरोनाभाइरस सङ्क्रमित बन्न सक्छु, त्यसैले आफूलाई जोगाउन मैले यो औषधी खाने गरेको हुँ।”

प्रतिक्रिया