प्रदेश सरकारले अस्पतालजन्य फोहोरलाई सुरक्षित व्यवस्थापन गर्ने

इनेप्लिज २०७७ मंसिर २५ गते ०:५७ मा प्रकाशित

विराटनगर,२४ मङ्सिर।प्रदेश नं १ सरकारले अस्पतालजन्य फोहोरको अव्यवस्थित व्यवस्थापनले सङ्क्रमण फैलिने गरेकोले सुरक्षित व्यवस्थापन गर्ने भएको छ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालयद्वारा आज आयोजित अस्पतालको फोहोर व्यवस्थापन सम्वन्धि कार्यक्रममा विभिन्न अनुसन्धानबाट अव्यवस्थित फोहर व्यवस्थापनबाट समुदायमा सङ्क्रमण फैलिने देखिएकाले प्रदेशका १४ जिल्लाकै सरकारी अस्पतालका फोहरलाई सुरक्षित व्यवस्थापनका लागि काम शुरु भैसकेको जानकारी दिनु भयो।

उहाँले निजि अस्पतालको फोहोर व्यवस्थापन चुनौतिपूर्ण रहेको धारणा व्यक्त गर्दै विराटनगरमा निजी स्तरबाट सञ्चालित अस्पतालको फोहोर व्यवस्थापनका लागि प्रदेश सरकार,महानगरपालिका र निजी क्षेत्रको त्रिपक्षीय साझेदारी मोडलबाट काम गर्ने तयारी भैरहेको बताउनु भयो।मन्त्री घिमिरेले फोहोर व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको धारणा व्यक्त गर्नु भयो।

प्रदेश जनस्वास्थ्य निर्देशनालयका डा. सुरेश मेहताले सरकारी अस्पतालको फोहोर व्यवस्थापनका लागि बजेट समेत विनियोजन भएको जानकारी दिनु भयो ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डा. चुमनलाल दासले अस्पतालको फोहर व्यवस्थानका लागि ‘फोहोर जलाउने नभई कमाउने’ माध्यमका रुपमा कार्य शुरु गरिएको बताउनु भयो।

अस्पतालजन्य फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्था हिकाफ ३६० का कार्यकारी निर्देशक महेश नकर्मीले इनरुवा अस्पताल र कोशी अस्पताल (कोभिड –१९) उपचार केन्द विराटनगरको फोहोर व्यवस्थापन सम्वन्धि अध्यययन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

प्रतिक्रिया