वीरेन्द्र सभागृहले अब काँचुली फेर्ने भएको छ

अन्जना पराजुली २०७७ मंसिर २५ गते ०:५४ मा प्रकाशित

 

अन्जना पराजुली,

विराटनगर,२४ मङसिर(रासस):विराटनगर महानगरपालिका क्षेत्र भित्रमा रहेको एकमात्र ऐतिहासिक बीरेन्द्र सभागृह आवश्यक निर्माण एवं मर्मतको पखाईंमा छ ।

सभागृहको विषयमा जनचासो बढ्न थालेपछि विराटनगर महानगरपालिका अहिले साविको स्वरुप नबिगारी आवश्यक मर्मत सम्भार एवं निर्माणको प्रक्रियालाई अघि बढाएको छ।कुनै ताका विराटनगरका सबै भन्दा राम्रो यो सभागृह अहिले घिनलाग्दो छ।

पटक÷पटक भूकम्पको क्षति व्यहोरिसकेको यो भवन पञ्चायतकाल मै बनेको थियो । विभिन्न सभा समारोहको लागि उपयुक्त यो भवनलाई आधुनिकीकरण गर्नु पर्ने तथा समयसापेक्ष वातानुकुलित हुनु पर्ने स्थानीय शिक्षक युगत लाल यादवले बताउनुभयो।उहाँले यो भवनको महत्वलाई महानगरपालिकाले बिर्सन नहुने भन्दै सबै प्रतिष्ठा बढाउने यो भवन हेर्दै रोमाञ्चिछ हुनु पर्छ भन्नुभयो।

भवनको विषयमा सहरी विकास तथा योजना महाशाखाका नक्शा प्रमुख अर्जुन थापाले सभागृहको पुराना संरचनाहरुलाई नबिगारी अहिलेको आधुनिक प्रविधिहरु जडान गरी नयाँ संरचना बनाईने जानकारी दिनुभयो।उहाँले सभागृहलाई रेक्ट्रोफिटिङ मार्फत मर्मत गरिने जानकारी दिँदै यसको निर्माणमा करिव रु.२७ करोड खर्च लाग्ने अनुमान गरिएको छ भन्नुभयो।

यसको निर्माणका लागि नगर विकास कोषले रु १२ करोड,प्रदेश सरकारले रु दुई करोड खर्च गर्ने भएको छ।भवनमा लाग्ने अन्य खर्च महानगरपालिकाबाट नै व्यवस्थापन गरिने प्रमुख थापाले जानकारी दिनुभयो।

सभागृहलाई आकर्षक बनाउन भवनमा आधुनिक प्रविधिहरु जडान गरिने र सो भवनमा भिआइपी कक्ष, मिडिया क्याबिनेट व्यवस्थापन गर्नुका साथै करिव ४०० मानिस सजिलै अट्न सक्ने बनाइने भएको छ।

सभागृह भित्र भइरहेको गतिविधिलाई बाहिरको मानिसले सजिलै थाहा पाउन बाहिर भागमा एलइडी स्क्रिनको समेत व्यवस्था गरिनुको साथै भवनको शोभा बढाउन उच्चकोटीको फूलबारी निर्माण गरिने महानगरपालिकाले जानकारी दियो। सभागृहको निर्माण गर्ने प्रक्रिया अगाडि बढिसकेको र यसको निर्माण आगमी १८ महिना भित्रमा सम्पन्न गरिसक्ने प्रमुख थापाले जानकारी दिनुभयो।

वीरेन्द्र सभागृहको विषयमा स्थानीय युवा भरत साहले यो हाम्रो नगरको गहना हो, यसलाई सकेसम्म सिँगारेर राख्नुपर्छ भन्दै यो काँचुली फेर्नमा महानगरपालिकाले ढिलाई गर्न नहुने कुरामा जोड दिनुभयो।

स्थानीय सहीद रंगशालासँग जोडिएर रहेका सो सभागृह सार्वजनिक महत्वका कार्यक्रम गर्न निकै सुविधाजनक मानिएको छ।

प्रतिक्रिया