हुलाकी राजमार्ग निर्माणबारे छिटो सम्पन्न गर्न मन्त्री घिमिरेको निर्देशन

इनेप्लिज २०७७ मंसिर २१ गते १७:२० मा प्रकाशित

विराटनगर,२१ मङ्सिर।सप्तरी देखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्ग आगामी २ बर्षभित्रमा सञ्चालनमा आउने भएको छ।३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ।

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज हुलाकी सडकको कामबारे आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिनु भएको छ । प्रमुख पाण्डेले करिव ४८ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । चालु आर्थिक बर्षमा पुलहरुको काम सम्पन्न गर्ने र दुई बर्षभित्रमा सडकको काम सम्पन्न गरिने पाण्डले जानकारी गराउनुभयो।उहाँले मन्त्री घिमिरेलाई झापाका आठ वटा पुल,मोरङको रतुवामाईमा रहेको पुलका लागि टेण्डरको काम भई सकेको बताउनुभयो।उहाँले भन्नुभयो– रंगेली र विराटनगरमा सडकमा केही समस्या छ ।’ रंगेलीको केही स्थानमा निर्माणको डिजाईन अनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पुर्वपश्चिम जोड्नका लागि समस्या भएको पाण्डेको भनाई छ । हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या भएको उहाँले बताउनुभयो । विराटनगरमा ६ किलोमिटर सडकमा समस्या भएकाले टेण्डरको काम हुन नसकेको आयोजना प्रमुख पाण्डेले मन्त्री घिमिरेलाई जानकारी गराउनुभयो।

सामाजिक विकास मन्त्री घिमिरेले आगामी दुई बर्षभित्रमा राजमार्ग सञ्चालन गर्नेगरि काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिनुभयो।उहाँले सडक निर्माणमा भएका समस्याबाट प्रदेश सरकारले पनि पहल गर्ने बताउनुभयो।हुलाकी सडकको चर्चा धेरैभएपनि काम नदेखिएको मन्त्री घिमिरेले बताउनुभयो।विराटनगर क्षेत्रको समस्याबारे छलफल गर्न सकिने उहाँले बताउनुभयो।

मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरंग सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको छ । ज्ञवालीले चालु आर्थिक बर्ष भित्रमा करिव १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताउनुभयो । पुल निर्माणका लागि आवस्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पुरा हुन नसकेको उहाँले बताउनुभयो।सडक निर्माण भएपनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलहरुको निर्माण भईरहेको मन्त्री घिमिरे समक्ष जानकारी गराउनु भएको थियो।

 

प्रतिक्रिया