बीबीसी सिरिजमा दीपिका कुँवर

इनेप्लिज २०७७ मंसिर १६ गते २२:५४ मा प्रकाशित

अमेरिका, बेलायती लेखिका मार्गरेट रमर गोडेनले सन् १९३९ मा लेखेको ‘ब्ल्याक नार्सिसस’ नामक उपन्यासमा आधारित रिमेक भर्सन ‘ब्ल्याक नार्सिसस’ टिभी सिरिजमा नेपाली चेली दीपिका कुँवरले ‘कान्छीको भूमिका निर्वाह गरेकी छन् । गत वर्ष अक्टोबरदेखि करिब ४ महिनासम्म नेपालको जोमसोममा छायांकन गरिएको उक्त सिरीज बाँकी छायांकन लन्डनस्थित पाइनवुड स्टुडियोमा गरिएको थियो । पाइनवुड स्टुडियोमा हलिवुड देखि बलिवुडसम्मका ठूला र चर्चित फिल्महरु छायांकन गर्ने गरिन्छ । जेम्स बन्ड को ‘००७’ स्टेज पनि सोहि स्टुडियोमा रहेको छ । बीबीसी र अमेरिकी टेलिभिजन च्यानल एफएक्सले संयुक्त रुपमा निर्माण गरेको उक्त सिरिज अमेरिका एफएक्समा गत २३ नोभेम्बर र हुलुमा २४ नोभेम्बरमा तीनवटै सिरिज प्रिमियर भैसकेको छ ।

गाउकी एक स्थानीय युवती ‘कान्छी’ को भूमिका निर्वाह गरेकी दीपिकाले राम्रो प्रतिक्रिया पाएको बताउछिन् । बीबीसी वान टेलिभिजनमा भने क्रिसमसको समय पारेर डिसेम्बर २५ देखि २९ भित्र उनको सिरिज प्रसारण गर्ने भएको छ । प्रत्येक सिरिजको अवधि करिब एक घण्टा लामो हुनेछ । बाफ्टा अवार्ड विजेता अमाण्डा कोले लेखेको यस तीन सिरिजमा दिपिकासहित गेम्मा आर्टरर्टन, एलेसान्ड्रो निभोला, आयलिन फ्रेन्सीओसी, रोजी काभालियरो, प्याटसी फेरान, डायना रिग, जिम ब्रोडबेन्ट, जिना मकी, क्यारेन ब्राइसन जस्ता कलाकारको मुख्य भूमिका छ ।

सोहि उपन्यासमा सन् १९४७ मा ‘ब्ल्याक नार्सिसस’ नामक फिल्म निर्माण गरिएको थियो । यौन दमन र प्रेम निषेध विषयवस्तुसँग सम्बन्धित उक्त उपन्यास निकै लोकप्रिय र अत्यधिक विक्री भएको कृति अन्तर्गत पर्दछ । सन् १९३० को दशकको समाजमा आधारित ‘ब्ल्याक नार्सिसस’ उपन्यासमा ब्रिटेनको एक कन्भेन्टमा बसोबास गर्ने महिला भिक्षु (नन) हरु नेपाल गएको र त्यहाँ एउटा दुर्गम ठाउंमा अवस्थित मोफु दरबारमा आफ्नो सम्प्रदाय खडा गर्न खोजेको दृश्यलाई प्रस्तुत गरिएको छ।

लन्डन क्वीन म्यारी युनिभर्सिटीबाट मेकानिकल इन्जिनिरिङमा ग्रयाजुएट गरेकी उनी निकै मिहिनेत, परिश्रम र अडिसनपछि ब्ल्याक नार्सिसस’ सिरिजमा चयन भएकी हुन् ।

हलिउड कलाकारहरुको साथमा छायांकन गर्दाको क्षण एकदम अविष्मरणीय रहेको बताउँदै निर्देशक, लेखक, कलाकारहरु सबै सहयोगी भएकाले काम गर्न सहज भएको उनको अनुभव छ ।

https://fb.watch/26wZFHoyqD/

 

 

प्रतिक्रिया