महिला नेतृत्वलाई असफल तुल्याउने खेलमा एनआरएन युके

बाबा राजेश्वरी थापा २०७७ मंसिर १२ गते २२:२५ मा प्रकाशित

बहादुर गोर्खा सैनिकहरुको प्रतिष्ठाले नेपालीहरुको इमान्दारितालाई संसारभरी चिनाएको बेलायतमा रहेको गैर आवासिय नेपाली संघ (एनआरएन) लाई एक महिला अध्यक्षले नेतृत्व गरिरहेकी छिन ।

तर यो महिला नेतृत्वलाई सघाएर महिला र अन्य लिंगीलाई समेत अग्रसर गराई सामाजिक सेवाको अभियानलाई नयां ढंगबाट रुपान्तरण गर्नु पर्नेमा बेलायती एनआरएनएका सामाजिक अभियन्ताहरु एकले अर्कोलाई दोषारोपण गरी नयां अनुहारहरु र क्षमतावान बौद्धिक समुहलाई निरुत्साहित गर्न अग्रसर छन।

समस्या बेलायतको आर्थिक हिनामिनाको भनिएको छ तर यसले कुन दिर्घकालीन असर ८० वटा देशमा बिस्तार भएको गैर आवासिय नेपाली संघलाई पर्छ भन्ने मुल्यांकन र विश्लेषण बेलायतमा रहेको विज्ञ, व्यवसायी, बौद्धिक समाजसंग जोडिएका एनआरएन अभियन्ताहरुले बुझ पचाएको देखिन्छ । एनआरएन बेलायतका झिनामसिना विवाद र आर्थिक हिनामिनाका अदालती प्रक्रियाले प्रतिष्ठित गोर्खा समाजको इज्जतलाई समेत धमिल्याउने कोशिश गरेको छ। घरको चुल्हो चौकाबाट, आफ्ना बालबच्चा, परिवार र व्यापार व्यवसायलाई दिने समय कटाएर समाजलाई दिन्छु भन्ने महिलाको मानमर्दन गर्न केही असन्तुष्ट पक्षहरु आफ्नो न्वारन देखिको बल लगाउंदै अन्तिम लडाईमा मोर्चा कसेको देखिन्छ।

युके एनआरएन विवादको जड के र कहाँ?

शायद हार र जितविनाको प्रतिस्पर्धा सम्भव छैन र युके विवादको शुरुवात चुनाव नतिजालाई नै लिएर शुरु भएको थियो। निर्वतमान अध्यक्ष योगकुमार फगामी र वर्तमान अध्यक्षका पुनम गुरुङको गृह शहर बेजिंगस्टक मतदान केन्द्रमा मतदान धाँदली पूर्ण भयो भन्ने विषयबाट विवाद उत्पन्न भयो । चुनाव धांधलीको उजुरी अध्यक्षका प्रत्याशी शेर बहादुर सुनारले गरेका थिए। उसो त पुनम पक्षले पनि ह्यारो बुंथमा एक पक्षिय निर्वाचन भयो भनि उजुरी नगरेको हैन । सोहीकारण १०औ दिन सम्म मत गणणा हुन नसकेकै कारण मत पटीका सुरक्षा र हल भाडा गरी चालीसौ हजार पाउण्ड संस्थाको रकम खर्चिएको पनि लेखा परिक्षण रिपोर्ट बाटै प्रष्टै देखिन्छ। एकपछि अर्को गर्दै विवादका निहुहरु खोजिन थाले र अन्त्यमा मतपेटिकाको सुरक्षाको जिम्मा बेलायती पुलिसलाई दिइयो तर विवाद साम्य भएन । बेलायती प्रहरीलाई प्रयोग गरी एनआरएनको लोगो र हस्ताक्षर विनाका मतपेटिकाहरु बेलायती प्रहरीले सुरक्षा दिइरहेको स्थानमा पछाडीको ढोकाबाट छिराएको झुटा आरोप समेत लाग्यो ।

निवर्तमान अध्यक्ष योगकुमार फगामीले निर्वाचनमा उम्मेदवार नहुने भनि सार्बजनिक बाचा गरेता पनि अन्तिम समयमा उम्मेदवार हुनु साथै फगामीले आफ्ना आफन्तहरुलाई सदस्यता कम्प्युटरमा दर्ता गर्ने कार्यमा संलग्न गराएको कुरा बेलायतवासीले भुलेका छैनन् । अनेक व्यवधानका बीच एनआरएन युके नयां नेतृत्व चुन्न सफल त भयो त चुनावको हारले उब्जाएको रिस शान्त अझै भएन। त्यसैले विभिन्न बखेडा निकालेर महिला नेतृ पुनम गुरुगंलाई असक्षम साबित गरी महिला नेतृत्वलाई निरुत्साहित गर्न एउटा तत्व हरदम लागि नै रह्यो जसको फलस्वरूप आर्थिक हिनामिनाको मुद्धालाई विकराल रुप बनाउने प्रयास गरियो । ४ करोडको आर्थिक हिनामिना को एक ‘क्याची’ प्रपण्च लाई मसला बनाउने गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्षहरु प्रेम गहामगर, नारायण कडेल (नर्दन आयरल्याण्ड), रामचन्द्र पोखरेल (वेल्स), मोहन कार्की (स्कटल्याण्ड), इंग्ल्याण्ड राज्य परिषद् उपाध्यक्ष लालबहादुर (एलविजेड) गुरुङ र पूर्व-उपाध्यक्ष शेर बहादुर सुनारले लेखापरीक्षणको सानो प्रक्रिया पनि नबुझेको यथार्थ संघको लेखापरीक्षणबाट प्रस्ट हुन्छ ।

१७-१९ को कार्यकाल र त्यस कार्यकालमा विभिन्न उच्च पदाधिकारी लगायत निर्वतमान अध्यक्षले गरेका खर्चको लेखाजोखा गर्ने हो र समाधान खोज्ने हो भने पुर्व पदाधिकारीहरु यसबाट अछुतो छैनन् । निवर्तमान अध्यक्षले समेत जथाभावीरुपमा संघको कोष दुरुपयोग गरेको प्रस्ट देखिन्छ । चुनाबबै क्रममा करिब १ लाख २५ हजार पाउण्ड बैक दाखिला नै नगरी नगद खर्च गर्च गरेको लेखा परिक्षणमा उल्लेख छ। त्यसो त जुन कार्यसमितिमा अहिकेका बिद्रोही प्रेम गहा मगर पन उपाध्यक्ष पदमै थिए । उनले गरेका च्यारिटी विथ बक्सिङ, डिजेलब च्यारीटी नाईट र भ्वाईस अफ नेपाल कार्यक्रममा करिब १६ हजार पाउण्ड घाटा पुर्याएको त्यही प्रतिबेदनमा छ । मिडल्याण्डका एक आईसीसी सदस्यले त एक कार्यक्रममा भ्वाईस फअ नेपाल कार्यक्रमलाई मिडल्याण्डबाट ३ हजार पाउण्ड सहयोग उठाई गहामगरलाई हस्तान्तरण गरेकोमा सो रकम कतै उल्लेख नभएकोमा रोष समेत प्रकट गरेका थिए भने पराजित उम्मेउवार शेर सुनारको नाममा आफ्नै रेष्टुरेण्टको ९ हजार पाउण्डको बिल हुनु, अझै १४०० पाउण्ड उनको नाममा बेरुजू देखिनु, उजुरीकर्ता एलबिजेडको नामामा एक कार्यक्रममा राजेश हमाल (उनले पारिश्रमिक नलिएको पुष्टी भएकोछ) र दिल भुषण पाठक ल्याई आर्मी क्लबमा गरेको कार्यक्रममा १२ हजार संस्थालाई घाटा पुर्याएको देखिन्छ । यसरी स्वतन्त्र छानबिन समितिले यी बिल भौचर केही नबुझाएका खर्चहरुबारे बेरुजु देखाउने डरले कानूनी ढोंग रचेको कसैबाट छिपेको छैन ।

अध्यक्ष पुनम गुरुगंको व्यवस्थापकीय कमजोरी:

निवर्तमान अध्यक्षले वर्तमान अध्यक्षलाई नेतृत्व हस्तान्तरण गर्दा नै संघको कोष बिटुलो थियो । करिब १ लाख ४० हजार पाउण्ड सदस्यता शुल्क र ७२ हजार पाउण्ड मनोनयन शुल्क बाट उठेको रकम सबै सकाएर उल्टो २६ हजार पाउण्ड घाटामा रहेको संस्था पुनमले बुझिन तर कमलो मन या समाजसेवीपनले ओतप्रोत भई विश्वासको भरमा नोक्सानमा रहेको कोषलाई स्वीकारी तत्काल लेखा समिति र स्वतन्त्र छानबिन समिती गठन गर्न ढिलाई गर्नु नै अध्यक्ष पुनम गुरुगंको ठुलो कमजोरी हो। एनआरएन युकेको विधानको धाराले तोके बमोजिम अध्यक्षका प्रत्यासी सहितको लेखा समिति गठन गरी यस कार्यसमितिको अनुगमन र निर्देशन तथा पुरानो कार्यसमितिको छानबिनको लागी स्वतन्त्र बिज्ञ समूह गठन गरी तत्काल छानबीन गरेर दोषीलाई कानुनको दायरामा ल्याउनु पर्थ्यो तर त्यही काम अध्यक्ष गुरुगंले तत्काल नगर्दा अहिले उनलाई कमजोर बनाएर सम्पुर्ण समाजसेवी महिला अभिन्यतालाई असक्षम सावित गर्ने कोशिस गरिदैछ । अध्यक्ष गुरुङले जनवरी २० मा यो समिति नबनाउने प्रयास नगरेको पनि हैनन तर वर्तमान अध्यक्ष र कोषाध्य रहने भन्ने केही तर्क बैठकमै आएपछी यसलाई निस्तेज पारियो । यसको लगत्तै कोभिड शुरु भयो – छानबिनको सवाल निवर्तमान अध्यक्ष फगामीको चाहना अनुसारनै पछाडी धकेलिंदै गयो । अन्तत: ३० अगष्ट २०२० का दिन बसेको पूर्ण बैठकले लेखा समिति, छानबिन समिति र अनुशासन समिति समेत बनाउने निर्णय गर्यो जसमा उपस्थित ३० जनामा उपाध्यक्ष प्रेम गाहा मगर र नर्दन आयरल्याण्डका उपाध्यक्ष नारायण कडेंलेले असहमत दर्ज गरी अन्य बाटोहरु संरक्षक परिषद, यूरोपियन समिति, आईसीसी तथा केन्द्रीय अनुशासन आयोग जस्ता सांगठानिक निकायहरु हुंदा हुंदै एक पटक अल्पमतमा पर्दैमा सोझै कानूनी बाटो रोजी वकिलबाट पत्राचार गरिनुले बिद्रोहीको मनसाय सपाट बुझ्न सकिन्छ ।

अब के हुन्छ ?

राज्यहरुबाट चुनिएर आएका (नर्दन आयरल्याण्ड जम्मा मतदाता १०३) नारायण कंडेल, रामचन्द्र पोख्रेल (वेल्स ५७ मतदाता), मोहन कार्की (स्कटल्याण्ड ५५६ मतदाता), प्रेम गाहामगर, अध्यक्षमा पराजित शेर बहादुर सुनार र ईग्याण्ड राज्यसमिति उपाध्यक्ष लाल बहादुर गुरुङ न लामो समय सम्म यस अभियानमा जोडिएका छन न समाजमा कुनै योगदान पुर्याएका नै छन । बिधानको लुपहोल हरुलाई समात्दै चतुर कडेलले संस्था बिस्तारको नाममा राज्य परिषदहरुबाटै उपाध्यक्ष बन्ने प्राबधान बिधानमा राख्न सफल भए । यसको आडमा रही संस्थालाई धमिरा लगाउने उनको मनसुवा निर्वाचनकै क्रममा दिएको राजिनामा, निर्वाचनमा देखाएको बितण्डा र हाल सेर सुनार पक्षलाई हातमा लिई कानूनी रुपमा संस्थालाई चुनौती दिने धम्किदिदै ती पात्रहरुलाई बचाउने खेल देखिन्छ । जहासम्म ३० अगष्टको बैठकले निश्पक्ष छानबिन समिति बनाई काम अघी बढाई यसै नोभेम्बरको अन्तमा प्रतिबिदेन सार्बजनिक गर्ने प्रतिबद्धता जनाएको छ । सो समितिको प्रतिबेदन चित्त नबुझे कार्यसमितिमै मतमतान्तर गर्न पाईन्छ । सोही समितिको प्रतिबेदन नआउंदै अझै सो समिति बनेकै दिन देखी वकिलको सहारा लिनु भनेको ”आए आंप गए झटारो” बाहेक के नै होला र ? १४ नोभेम्बरमा सम्पन्न कार्यसमितिको बैठकले बिधानको परिच्छेद १३ धारा ४१ अनुसार बैठकको समान्य बहुमतले निलम्बन गर्न सकिने प्राबधान हुंदा हुंदै पनि अध्यक्ष गुरुङ लचिलो भएको देखिन्छ । बैठक भएको ७ दिन भित्र छलफल गर्न आह्वान गर्नु, संरक्षक परिषदलाई बार्ता र छलफलबाट समाधान खोज्न सहजिकरणको लागी अनुरोध गर्नु र बैठकको निर्णय हुंदा हुंदै पनि आज सम्म स्प्रष्टीकरण माग्न ढिलाई गर्नु संस्थापनक लचकताको रुपमा लिन सकिन्छ । तर असन्तुष्ट पक्षले वकिल मार्फत पठाएको २० वटा प्रश्नहरु हेर्ने हो भने कुनै पनि बुंदा आर्थिक अपारदर्शीता प्रति चासोको देखिदैन । केबल नेतृत्वको हुर्मत लिन र चुनाबी प्रतिशोधको लागी आक्षेप मात्र देखिन्छ।

राजनैतिक दाउपेचमा अभ्यस्त असन्तुष्ट पक्ष यसै मुद्धालाई चुनाबी गोटी बनाउन चाहान्छ । बिभिन्न सृजनशिल कार्यहरुको माध्यमबाट एनसीसीको नेतृत्व गर्दै गरेकी पुनमको कद बेलायती नेपाली डायस्पोरामा मात्र नभै अन्तराष्ट्रीय स्तरमा समेत उदियमान भएको भेउ नपाउकाहरुले उनको कद छोट्याउन खोज्दा एनआरएन यूकेको मुलधारबाट बाहिरिदै गएको ति असन्तुष्ट पक्षले पत्तो पाएकै छैनन । राजनितिक पहुँचविना एनआरएन अभियान लाग्ने महिलाहरुलाई एनआरएनभित्र निकै हतोत्साहित बनाइन्छ भने राजनैतिक पहुँच लिएर एनआरएन अभियानमा लागेका महिलाहरुलाई ढाल बनाई विद्रोहमा उस्काउने परम्परा एनआरएन अभियानमा हाबी हुदै गएको छ । आउनुस – सही र गतललाई चिन्न सक्ने तेश्रो नेत्र ‍ऊघारौ ।

बाबा राजेश्वरी थापा

बाबा राजेश्वरी थापा

पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।

प्रतिक्रिया