जयपाल सहनी : निरन्तर समाजसेवाका मौन यात्री

इनेप्लिज २०७७ मंसिर ९ गते १२:३५ मा प्रकाशित

सञ्जय मित्र,

कोही समाजसेवाको क्षेत्रमा कमै काम गरे पनि सामाजिक सञ्जाल तथा सञ्चारमा भएको पहुँचले चर्चित बन्दछन् तर कोही समाजसेवामा निरन्तर लागिरहे पनि गुमनाम रहन्छन्।यस्तै समाजसेवाको बाटोमा दशकौंदेखि निरन्तर लागेको भए पनि गुमनाम रहेका पात्र हुन्रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीका ७६ वर्षीय जयपाल सहनी।

गेडहीगुठी गाउँ पञ्चायत हुँदाको समयमा नै युवाकालमा पञ्च निर्वाचित भएर समाजसेवामा लागेका सहनी दशकौं विद्यालय व्यवस्थापन समितिमा रहेर काम गरेका छन्।जम्मा कक्षा ८ सम्म औपचारिक शिक्षा लिएका सहनी अहिले पनि स्थानीय श्री माध्यमिक विद्यालय गेडहीगुठीका विव्यस सदस्य हुन्।

तत्कालीन विद्यालय सञ्चालक समितिमा अध्यक्ष हुँदा तत्कालीन प्राथमिक विद्यालयलाई उच्च प्राथमिक विद्यालयमा स्तरोन्नति सहनीकै नेतृत्वमा भएको थियो ।

जिल्ला सदरमुकाम गौरमा एक मात्र कृषि विकास बैंक रहेको अवस्थामा आफ्नो पहलमा नै कटहरियामा बैंक आएको सहनी दाबी गर्छन्।बैंक कटहरिया ल्याउन आफूले लिखित रुपमा माग गरेको र तत्कालीन कार्यालय प्रमुखले कृषि विकास बैंक कटहरियामा ल्याउँदा आफूसित पनि हस्ताक्षर गराएको गर्वका साथ सुनाउँछन् सहनी।

त्यत्ति बेला गरुडा चोकको नामोनिसान थिएन । नजिकको बजार कटहरिया र समनपुर भए पनि आफूलाई पायक पर्ने कटहरिया नै भएकोले कृषि विकास बैंकको लागि कटहरियामा आफूले सिफारिश गरेको सहनीको भनाइ छ ।
गेडहीगुठीमा सिंचाइको कामको लागि स्थानीय चानी नदीबाट नहर निकाल्नको लागि आफूले निर्णायक भूमिका खेलेको सहनीको भनाइ छ।तत्कालीन समयमा करिब तीस वर्ष पहिले सुलिगेट नहर आफ्नै अध्यक्षतामा निर्माण भएको सम्झँदै सहनी भन्दछन् – गाउँको समृद्धिको बाटो नहरले खोलिदियो।

गेडहीगुठी गाउँ पञ्चायतको उपप्रधान पञ्चमा निर्वाचित भएका सहनीले उक्त पदमा रहेर गरेका समाजसेवालाई उति धेरै महत्व दिँदैनन् । कार्यकारी पदमा नरहेर निरन्तर विकास निर्माण तथा विद्यालयको व्यवस्थापनमा काम गरिरहेका सहनीले आफ्नो कतैबाट चासो नराख्नुमा आफूले गरेका कामको बारेमा कसैलाई बताउने नगर्नु नै मुख्य कारण रहेको स्वीकार्छन्।

समाजसेवा र धार्मिक काममा संलग्न भएर तथा नेतृत्व गरेर त्यसको प्रचार प्रसार गर्न आफूलाई अप्ठ्यारो लाग्ने गरेको बताउने सहनीले गाउँमा जुनसुकै राजनीतिक दल वा पक्षले गर्ने गरेको हरेक सकारात्मक कार्यमा आफ्नो सकारात्मक र रचनात्मक सहयोग रहने गरेको बताउँछन्।

दशकौंदेखि समाजसेवाको निरन्तर यात्रामा अविराम हिँडिरहेका मौन यात्री जयपाल सहनीको समाजसेवाको राजनीतिक विपक्षीहरूले पनि प्रशंसा गर्ने गर्दछन् ।

प्रतिक्रिया