मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीपमूलक तालीम गर्ने सम्झौता

इनेप्लिज २०७७ मंसिर ८ गते २२:३३ मा प्रकाशित

विराटनगर,८मङ्सिर।प्रदेश नं १ सरकार अन्तर्गतको मोरङको वुढीगंगा स्थित मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसन वीच सीप मुलक तालीम तथा श्रोत केन्द्र सञ्चालनका लागि आज यहाँ सम्झौता गरिएको छ।

विश्वविद्यालय अन्तर्गतको विराटनगर महानगरपालिका–१४ स्थित विराट साइन्स क्याम्पसको भवनमा विभिन्न सीप मुलक तालीम सञ्चालन गर्न पाँच बर्षका लागि सम्झौता भएको छ।

सामाजिक विकास मन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति जीवन घिमिरे,बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी,विश्वविद्यालयका प्रमुख सुवास श्री पोखरल,करुणा फाउण्डेसनका सहनिर्देशक योगेन्द्र गिरी लगायतको उपस्थितिमा सम्झौता गरिएकोहो।

सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहकार्यमा अपाङ्गता पुर्नस्थापना सम्वन्धि विभिन्न सीपमुलक तालीम र विश्वविद्यालयका सीप मुलक तालीम सञ्चालनका लागि आगामी विस २०८२ भदौ मसान्त सम्मका लागि सम्झौता गरिएको विश्वविद्यालयका प्रशासन प्रमुख मदन प्रधानले जानकारी दिनुभयो।

सम्झौतामा विराट क्याम्पसको भवनमा तालीम तथा श्रोत केन्द्र सञ्चालनका लागि आवश्यक मर्मतको कार्यको लागि करुणा फाउण्डेसनले रु ५० लाख खर्च गर्ने भएको छ।

विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई गत भदौ ४ गते हस्तान्तरण गरिएको थियो।विराट क्याम्पसका अध्यक्ष भूराज राईले करिव रु ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो।

सामाजिक विकासमन्त्री घिमिरेले मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न करिव एक वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप मुलक तालीम तथा श्रोत केन्द्र सञ्चालन गर्न लागेको बताउनुभयो।उहाँले सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्र्तगतका तालीम विराट क्याम्पसको भवनबाट शुरु गरिने जानकारी दिनु भयो।

 

प्रतिक्रिया