कर सप्ताह

इनेप्लिज २०७७ मंसिर ८ गते १०:५८ मा प्रकाशित

विराटनगर,८ मङ्सिर(रासस):‘स्वच्छ,पारदर्शी र प्रविधिमैत्री कर प्रशासन ः विकास,समृद्धि र सुशासन ’ प्रमुख नाराका साथ आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘कर सप्ताह’ हिजो साँझ सम्पन्न गरेको छ।

सो अवसरमा कार्यालयले जीवन विकास लघुवित्त वित्तीय संस्था कटहरी मोरङलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ।संस्थाले आर्थिक वर्ष २०७५÷७६ मा सबै भन्दा बढी रु.नौ करोड कर बुझाएको थियो।

संस्थाको तर्फबाट प्रमुख कार्यकारी अध्यक्ष सञ्जय मण्डललाई प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरियो।मोरङमा हाल ७० हजार करदाता र एक लाख ५० जनाले व्यावसायिक पान न.लिएका छन्।सोही अवसरमा कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी दुर्गा ढकाललाई पनि सम्मान गरिएको छ।

सो अवसरमा कार्यालय प्रमुख विमल सापकोटाले राष्ट्र निर्माणमा ठूलो योगदान दिइरहेका करको महत्व सबैले बुझ्नु पर्ने र यसलाई समयमै दाखिला गर्न अनुरोध गर्नुभयो।अर्का कर अधिकृत पशुपति घिमिरेले कर बिना राज्यको अर्थतन्त्र बलियो हुन नसक्ने भएकोले यसमा कसैले पनि आलटाल गर्न नहुने भन्नुभयो।

यसैगरी, सोही अवसरमा भएको अन्तरक्रिया कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, विराट व्यापार संघका अध्यक्ष सुजन थापा र नेपाल उद्योग वाणिज्य संघ प्रदेश समितिका सदएय रमेश राठीले बन्दाबन्दीको अवसरमा राज्यतर्फबाट उद्योग र व्यापारीलाई प्रदान गर्ने भनिएको राहत प्याकेजमा ढिलाई हुनुहुँदैन भन्नुभयो । उहाँहरुले यस अवधिमा सीमावर्ती बजार भारतको जोगबनी नेपाली उपभोक्ता जान नपाउँदा यहाँको बजारमा उल्लेखनीय सुधार भएकोले सरकारले जहिले पनि नाकालाई व्यवस्थित गर्नु पर्ने कुरामा जोड दिनुभयो।

साथै कार्यालयले चालु आर्थिक वर्ष २०७७÷७८ कोे चार महिनाको अवधिमा कुल रु.दुई अर्व १४ करोड ३७ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ।जसमा आयकर रु.६६ करोड ९० लाख १६ हजार, मूल्यअभिवृद्धि कर रु.७६ करोड चार लाख ५४ हजार र अन्तःशुल्क रु.७१ करोड ४२ लाख ५७ हजार छन्।

कार्यालयले कात्तिक महिनामा आयकरमा १५८, मूल्यअभिवृद्धि करमा १९६ र अन्तःशुल्कमा ७१ प्रतिशत प्रगति हासिल गरी क्रमशः आयकर रु.१२ करोड एक लाख २२ हजार,मूल्यअभिवृद्धि कर रु.१८ करोड ९० लाख १० हजार र अन्तःशुल्क रु.१९ करोड ७७ लाख ७० हजार सङ्कलन गरेको छ।

प्रतिक्रिया