वीरेन्द्र रावल,
धनगढी,मङ्सिर ७ ÷ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य भीम रावलले पार्टी कमिटीले गरेका निर्णयहरु कार्यान्वन हुनुपर्ने बताउनु भएको छ।
आइतरबार प्रेस संगठन नेपाल कैलाली द्धारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी कमिटीले गरेका निर्णयहरु कार्यान्वन नभए समस्या आउने गरेको बताउनुभयो।
उहाँले पार्टीभित्रको अन्तरबिरोधका कारण कार्यकर्ता तथा जनतामा निराशा उत्पन्न भएको बताउँदै पार्टी भित्रको अन्तरबिरोध छलफल र बहसका माध्ययम बाट टुङ्ग्याउनपर्ने बताउनुभयो ।
पार्टी अहिले गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै उहाँले यसअघि गठन भएको कार्यदलले दिएको सुझावलाई नेतृत्वले गम्भिर रुपमा लागू गर्नुपर्ने बताउनुभयो।
उहाँले कार्यदलले पार्टीलाई दिएको सुझावलाई नजरअन्दाज गरेको भन्दै गुनासो गर्नुभयो।पार्टीका दुई अध्यक्षले आ–आफ्नो कुरा मात्रै अगाडि सारेको बताउँदै उहाँले बाँकी नेता तथा कार्यकर्तालाई वेवास्ता गरेको आरोप लगाउनुभयो।
पार्टीका अध्यक्षद्वयले पार्टीको अन्तरविरोध बारे कुरा राख्नु ठीक छ भएको उहाँको तर्क छ।प्रधानमन्त्री केपी शर्मा ओलीले समय माग गरेर सचिवालयमा जवाफ दिने कुरा सकारात्मक भएको उहाँको टिप्पणी छ।
पत्रकारले सोधेको प्रश्नमा उहाँले कसैले चाहदैमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नफुट्ने दाबी गर्नुभयो।पार्टी फुट्न आधार चाहिने भएकोले कुनै आधार नभएको उहाँको भनाइ छ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया