मनोबाद : बिचरा पुरुष र समय

दीपक पन्त २०७७ कार्तिक २४ गते ०:५० मा प्रकाशित

मध्य रातमा निद्रा खुल्यो । रातको खान लगत्तै परेको झपक्क निद्राबाट उन्मुक्त्ती पायो उसले । उसका मनमा हिजो-आज अनेक तर्कबितर्क खेल्न थालेको धेरै भयो । रातको मध्य पहरको निन्द्राहरण पश्चात बिरलै उसले सुतेका रातहरु होलान् । उसका धेरै रातहरु सिलिङ्गमा देखिएको घुमिल बत्तीका उज्यालोसँगै टोलाँउदै बितेको थियो ।

मनमनै समयको गति सँगै लम्बिएको परदेशी जीवनको फिता नाप्यो उसले । आजबाट एक दशक उकालो लागेको हिसाव निकाल्यो । मन गरुङ्गो बनायो । लाभहानीको हिसाब गर्ने सामर्थ्य त ऊ सँग थिएन । केवल जिम्मेबारीमा कति सफल वा कति असफल ? आत्म मूल्यांकन गर्यो ।

कोरोनाको सन्त्रास र संक्रमणले आँगन मै आएर भैलेनी खेलेको महिनौ भइसक्यो । थाह छैन ?कुन दिन ? कुन बार ? ढोका भित्र पस्ने कुन साइतको पर्खाइमा रहेको छ ।

लामो सुस्केरा सहित भारी मन बनाएर कोल्टे फेर्छ ।

परदेशी जीवनको बचे खुचेको साख , जीवनका आधार ,आफ्ना सृजनाहरू शान्ति र मिलन मस्तनिद्रामा छन् । जुरुक्क उठ्यो । धेरै दिन भो । तिनीहरुको बाल सुलभ सँग सामिप्यता नगरेको । निर्द्रा मै सही ! स्नेहील दृष्टि गोचर लगाउने बिचार गर्यो उसले ।

सँगैको आडमा रहेको शान्तिको कोठा ठेल्यो । ढोका भित्रबाट बन्द थियो । सँगै जोडिएको मिलनको ढोका खोल्ने प्रयास गर्यो । खोल्न सकेन । दुवै ढोका भित्रबाट चुकुल लगाइएको थियो । थाहै नपाइ आफ्ना सृजनाहरु परिपक्क भई सकेकोमा खुशी महशुस गर्यो । तर कत्ति छिट्टै बालसुलभ अन्त्य भएकोमा मन दुखी: तुल्यायो । आफ्ना लाजहरुलाई गोपनियतामा कैद गर्न चुकुल लगाएको सहजै अनुमान लगायो ।

बाहिर फुस्स फुस्स हिउँ परि रहेको थियो । काठमाण्डौ शहरबाट देखिने फुलचोकी डाँडामा सेता बाछिटा जस्तो हिउँ पर्दा रोमाञ्चित हुने मन ,आँगन भरि ,छत अनि बाटो जताततै बिस्कुन जस्तै पोखिएको हिउँका दृश्यले पनि खुशी हुन् सकेन ।

तल ओर्लियो । सुकेको ओठलाई चिसो पानीले भिजायो । प्यास मेट्ने प्रयत्न गर्यो । सामरिक प्यास नभई उसका आँत नै सुकेको थियो । पानीले प्यास तिप्त भए पनि बेचैनी घटेन । रात आफ्नैगतिमा छिप्पी रहेको थियो ।

मुख्य सडकमा यदा कदा मोटर हुइकी रहेको आबाज आए पनि समग्रमा सडक सुनसान थियो । कोठामै फर्क्यो । कोरोना सन्त्रास बढे देखी नै ६ फिटको दुरी बनाएकी श्रीमतीजी ,अस्तिको झरीले बढेको चिसोको कारण निस्केको मौषमी खोकी पश्चात त १२ फिट दुरीमा सुत्ने गर्छिन ।

हतास मन लिएर अलि नजिकैबाट निहाल्यो । मस्त निद्रामा थिइन् । कहिले काहिँ आफ्नैको वर्क सँग निन्द्रामा बर्बराउँदै गरेका सम्बादहरु बाहेक उनीहरु बीच सयन कक्षमा कुनै सम्बादहरुनभएको महिनौ भइ सकेको थियो । उनको निद्रा गज्जबको छ । बिद्दुतीय स्विच अन /अफ जस्तो।

अमुर्त स्विचलाई फेरि मूर्त चिजले अन नगरी एक्टिभ नभए जस्तै बिहानको चिसो हावाले स्पर्सनगरे सम्म उनको निन्द्रा खुलेको उसलाई आज सम्म थाह छैन । कहिलेकाँही उसलाई उनको निन्द्रादेखेर डाह लागेर आँउछ । अनि प्रश्न गर्छ ? यति निर्धक्क कसरी सुत्न सकिन्छ होला ?

जिन्दगीका हजारौ ब्यबहार रुपी तरवार हरुले घोची रहेका हुन्छन तर पनि यति मीठो निन्द्रा कसरीपर्न सक्छ ?

मीठो निन्द्रा यस कारण पर्छ । कि मानिस शारीरिक रुपमा थाकेको छ , या ऊ तृप्त छ । सायद यसैको समिश्रण होला । नियमित कामको स्क्याजुयलले आफ्नो थकान आफ्नो ठाउँमा’ छ तर भुलेर पनि उनी थकित भइयो । यो अमेरिकामा गाह्रो भो , भनेको उसले कहिल्यै सुनेन । तृप्ततामानै खुलेका बढी हाँसोहरु देखिन्थ्यो । ऊ सम्झन्छ ,उनका सम्बाद मेरो त नङमा लाउने माटो नि छैन उता । ग्यारेजसँगै जोडिएको दुइ मान्द्रो साइजकोसानो करेसा बारीलाई आफ्नो आत्मीय माटो सम्झदै यति लामो समर बिताइन उनले । दंग बनेर । आफ्नो माटो सम्झेर !

म कसरी बिर्सु ? मेरा जिजु हजुर बाबाले ७ माइलको दुरी ब्राम्हनाल सम्म मलामीलाई आफ्नै जमीनमा हिडाएर लगेको यथार्थता । अझै पनि मेरै बाबाको ठुलो गर्हा , माझी गर्हो , भिराले गर्हो फुटबलका मैदान जस्ता ति बारीहरु ! अनि म कसरी हाँस्न सक्छु ।

अनि सम्झन्छ उनी सँग भएका सम्बाद हरु ! कति गर्व छ उनीलाई यो बसाई ! यो अमेरिका ?

उफ् ! बर्णन गरी साध्य नै छैन । यो घरवारी ,करेसा बारी , सबै उनको ,आँगनको गाडी उनकै , छोरा छोरी उनकै । सबै माइती कै दाइजो जस्तो । कहिलेकाहिँ त् सोध्न मन लाग्थ्यो उसलाई । हैन ,यी छोरा छोरी नि उतैका नासो हुन् क्या ? खाली मेरै ,मेरै मात्र भन्छौ त ?

तर कुन पुरुषको हिम्मत थियो र त्यसरी श्रीमती सँग प्रश्न सोध्ने ?

त्यसमा पनि म बबुरोको हिम्मत कहाँ बाट आउँनु ? आफैले आफै सँग चित्त बुझाउथ्यो ऊ ।?

यो मैले गरेको , त्यो मैले गरेको , ऊ त्यो मैले जोडेको ,यताको मैले जोडेको ,यताको मैलेगरेको ,त्यताको मैले जोडेको ? सबै उनको ? अनि किन खुशी नहुनु ? मेरो भन्नि केही साच्चै नभएको हो त ? ऊ एकाग्र भएर सोच्न थाल्छ ।

यी सबै उनकै भए । त्यसको सुरक्षार्थ पनि उनलाई मस्त निन्द्रा नलाग्नु पर्ने हो ? यसैको रेखदेख गर्न/ ब्यबस्थापन गर्न ? यस बीचमा म कहाँ छु ?

उसैले प्रति उत्तर निकाल्यो “ बिचरा पुरुष “

तर जे मुखले भने नि उनी मेरै विश्वासमा सुतेकी छन् । किनकी उनले “बिचरा पुरुष” को अर्थ राम्ररी बुझेकी छिन् ।

राती हावाले खोलेको झ्याल देखि ग्यारेजको ढोका सम्म मैले नै हेर्नु पर्दछ । गाडीको बिग्रेको देखिछन ।भत्केको सम्म मैले नै ब्यबस्थापन गर्नु पर्दछ । चामल सकिएको देखि खाता रित्तिएको सम्ममैले नै हेर्नु पर्दछ । अनि किन निन्द्रा नपर्नु ? काम पर्दा मात्र पुरुष रुपी अभिभाबकीय जिम्मेबारी दिए पछि ? तर बिडम्बना यो सबै उनको मात्र सोच होइन । आज समाजमा देखिएको बिम्ब हो । ग्लामर हो ।

समयले पनि मादल बजाई रहेछ । ऊ नाँची रहेछ । आफ्नै गीत / संगीतमा | आफ्नै लयमा /आफ्नैभाकामा । भाका उही पुरानो काँठे नै थियो ।

“पुरुष रुपी जीवन, को घेरो !

बाहिर हाँसो ,भित्र छ अप्ठ्यारो !!”

बरै बाहिर हाँसो भित्र छ , अप्ठ्यारो ! !

दीपक पन्त ,मिल्वाकी , अमेरिका

प्रतिक्रिया