इन्डष्ट्रियल इन्जिनीयर डा. भीम प्रकाश कट्टेल सँगको अन्तर्वार्ता

इनेप्लिज २०७७ कार्तिक १८ गते २३:२४ मा प्रकाशित

सकृय अबकाश जीवन ब्यतित गर्दै रहनु भएका शिक्षाले इन्डष्ट्रियल इञ्जिनीयरिङ्ग विषयमा विद्यावारिधि, पेशाले तत्कालीन नेपालमा सरकारी कर्मचारी तथा अन्ततः संयुक्त राज्य अमेरिकामा प्राध्यापक हुनुभएका इ.सं. १९६५ को प्रवेशिका परिक्षामा Board 4th हुनुभएको,जे.पि..हाईस्कुलमा हामी सहपाठी थियौँ । रोचक प्रसङ्ग के भने, समयको खेलाले हामी दुईलाई फेरी इ.सं. २००० मा , Washington डिसी मा ए एन ए को सम्मेलनको वेला पूनःर्मिलन गराए पश्चात् हाम्रो सम्पर्क नियमित भएको छ। घुमीफिरी, फिलहाल मैले उहाँको जीवनका रङ्गिन, वहुअयामिक तथा समसामयिक अन्योन्याश्रित विषयहरूमा यो लिखित (मूलतः ५ कालखण्ड र १ विविध मा विभाजित) अन्तर्वार्ता गर्ने मौका जुटेकोले, सगौरव प्रस्तुत गर्दैछु—

क१। वाल्यकाल — वाटै शुरू गरूँ (कहां र कहिले जन्मेको, पारिवारिक एवं सो गाउँ ठाउँको माहैल र हुर्काइ …आदि)

उत्तर: मेरो जन्म काठमाण्डौँ जिल्लाको बालुवाटारमा भएको हो ।पेशाले मेरो बुवा शिक्षक र आमा गृहिणी हुनुहुन्थ्यो ।तीनजना दाजु भाइ र एउटी बहिनीमा म सबभन्दा जेठो हूँ । हाम्रो पुर्ख्यौली घर पश्चिम १ नम्बर नुवाकोट जिल्लाको नर्जा, कपिलास, सतार तिर भएता पनि समय र परिस्थतिले गर्दा म त्यहाँ सम्म पुग्न पाएको छैन।शिक्षण पेशा एवं पारिवारिक उत्तरदायित्वको कारण मेरो बुवा धनकुटा जिल्लाको मुगा गाउँमा रहनु परेको कारण म पनि सात वर्षको उमेरमा मुगा तर्फ बुवा कहाँ गएँ।लगभग दुई वर्षको मुगाको बसाई पछि बिराटनगरको सरस्वती मिडल स्कूल (त्यसबेला ठाकुरवाडी स्कूल नामले परिचित) मा मेरो बुवाको प्रधानाध्यापक पदमा नियुक्तीको कारण हामी बिराटनगर सर्यौँ।

ख१) विद्यार्थीकाल— नेपाल—नेपाल वाहिरका शैक्षिक प्रतिस्ठानहरू, क्रमशःस्कुल देखि कलेज, विश्विविद्यालए का तालिम वा उपाधि हाँसिल गर्ने क्रममा भए घटेका रोचक घोचक यावत परिवेश,(जस्तैः सहपाठी, गुरू लगाएत) सम्पूर्ण वारे चर्चा गर्नुपर्दा ?: द्रष्टब्यः कृपया,मिले सम्म ती शैक्षिक प्रतिस्ठानहरूका नाम, ठेगाना,अध्ययन समयावधि, हाँसिल तालिम वा उपाधि हरू उल्लेख गर्ने कोशिश गर्नूहोला।

उत्तर: मेरो शैक्षिक जीवनको शुरुवात् काठमाण्डौँको भाटभटेनी स्थित एक प्राथमिक विद्यालय बाट हुन्छ ।मेरो अक्षरारम्भ मेरो आमा बाट भएको हो।अंग्रेजीको पठन् पनि “फर्स्ट बुक” बाट मेरी आमाले नै गराउनु भएको हो।भाटभटेनी स्कूल जाँदा भागवद् गीताको किताव (ठूलो किताव) लान नपाए स्कूलनै नजाने जिद्दी लिएर बस्ने बानी बारे पछि मेरो मामा घरको हजुरबुवा बाट हँस्यैलीको रुपमा सुन्न पाउँथेँ।त्यस पछि मुगाको प्राथमिक स्कूलमा डेढ दुई वर्ष कुनै रोचकता बिनानै बित्यो।चार देखि छैठौँ कक्षा बिराटनगरको सरस्वती मिडल स्कूलमा पूरा गरी सातौँ कक्षामा काठमाण्डौँको लैनचौर स्थित शान्ति विद्या गृहमा प्रवेश गरेँ।सात र आठ कक्षा त्यहाँ सकेर नवौँ कक्षामा जे. पी. हाईस्कूलमा भर्ना भई प्रवेशिका (एस.एल.सी.) परीक्षा त्यहीँ बाट उत्तिर्ण गरेँ।त्यसपछि आई.एस्सी. त्रि-चन्द्र कलेज बाट सकेर कोलम्बो प्लान अन्तर्गत छात्रवृत्ती पाई भारतको मद्रास (हालको चेन्नाई) स्थित आई.आई.टी. बाट सन् १९७२ मा मेकानिकल इन्जिनियरिंगमा स्नातक डिग्री हासिल गरेँ।तत्पश्चात् नेपालमा विभिन्न कार्यालयहरुमा २० वर्ष सेवा गरी सन् १९९२ मा संयुक्त राज्य अमेरिकाको मोन्टाना राज्यको बोजम्यानमा मोन्टाना स्टेट युनिभर्सिटीमा इन्डष्ट्रियल इन्जिनियरिंगमा स्नातकोत्तर डिग्रीको लागि आएँ।सन् १९९४ मा त्यहाँ बाट इन्डष्ट्रियल एन्ड म्यानेजमेन्ट इन्जिनियरिंगमा स्नातकोत्तर डिग्री हासिल गरी विद्यावारिधिको लागि क्यान्सस राज्यको विचिटा स्थित विचिटा स्टेट युनिभर्सिटीमा गएँ।सन् १९९८ मा त्यहाँबाट इन्डष्ट्रियल इन्जिनियरिंगमा (मेजर–अर्गोनोमिक्स, ह्युमन फ्याक्टर, माइनर–स्टाटिस्टिक्स) विद्यावारिधि डिग्री लिई शिक्ष्योपार्जनको अन्तिम खुड्किलो तय गरेँ ।

शिक्षा आर्जनको क्रममा भएका विभिन्न रोचक घटना मध्ये एक यहाँ उल्लेख गर्नु उचित ठान्दछु।घटना सात कक्षामा शान्ति विद्या गृहमा अध्ययन गर्दाको हो।कक्षामा तीन वर्ष देखि प्रथम हुँदै आएका एक विद्यार्थी थिए जो भारतीय राजदूतावासका एक कर्मचारीका छोरा थिए।अर्ध वार्षिक परीक्षामा उनी साविक बमोजिम प्रथम भए र म द्वितीय।त्यस भन्दा अगि म सधैँ पहिलो या दोस्रो स्थानमा हरेक कक्षा उत्तीर्ण हुँदै आएको थिएँ।ती विद्यार्थीको बुवाको सरुवा भएको कारण उनलाई फिर्ता भारत जानु पर्यो।त्यसपछि वार्षिक परीक्षा भयो र चलन अनुसार कक्षा शिक्षक तोकिएको दिन नतिजा लिएर कक्षामा आई “ल फर्स्ट को भयो होला?” भनी प्रश्न गरे।एक स्वरमा जवाफ आयो – भीम प्रकाश।तर नतिजा अर्कैको पक्षमा थियो।त्यस्तै दोस्रो पनि अर्कै भयो ।म तेस्रो भएछु।मीन पचासको विदा पछि स्कूल खुल्यो।घर बाट स्कूल जान हिँडेँ तर कान्तीपथ बाट स्कूल जाने मोड बाट पाइला अगि बढेन, कक्षामा मुख देखाउन लाजले। एक डेढ घन्टा त्यहीँ पर्खालमा बसी घर फर्किएँ।घरमा आमाको “किन चाँडो ?” को उत्तरमा आज स्कूल छुट्टी भयो भनी पढाईको सन्दर्भमा पहिलो झुट बोलेँ।दोस्रो दिन पनि क्रम दोहोरियो।तेस्रो दिन गम्भीर भएर सोची स्कूल गएँ।कसैलाई केही मतलब थिएन।म मात्रै आत्मग्लानीले पिडित भएको रहेछु ।

SLC test sent up certificate group- historic clip (1965)

Sitting from Right to Left: 1.Er.Late NK Malla, 2.Er. Mk ‘Jena’ (interviewer), 3.Er. Dr. Bheem K (interviewee), 4.Late Giri R Pant,5. Late Mohan P,
Standing from Right to Left: 10.Er. Bhesh R Kanel, 9.Dr. Adarsha P, 8.Er. Dr.Amod M. Dixit, 7.Dr. Shesh K Aryal, 6. Ar. Bibhuti M Singh Shrestha.

प्रश्न : नोकरी काल —सर्वप्रथम के र कहाँवाट शुरू गर्नुभयो, अनि क्रमशः अरू के के र कहाँ कहाँ नोकरी गर्नु भयो, र कार्यरत हुँदाका तदकालीन देश सरकार वा परिस्थितिजन्य रोचक / घोचक माहौल परिवेश तथा सहकर्मी तथा पद, वेतन, सुविधा हरू (सकारात्मक तथा नकारात्मक) दुबैपक्षबारे समीक्षा गर्नुपर्दा ?:

उत्तर: मेकानिकल इन्जिनियरिंगमा स्नातक डिग्री लिएर नेपाल फर्केर जागीरको चक्करमा चार महिनासम्म भैँतारिएपछि पहिलो पटक तत्कालिन श्री ५को सरकार हवाई विभाग अन्तर्गत हवाई यातायात विकास योजनामा नियुक्ति भयो । योजनामा कार्यरत हाकिमहरुको भ्रष्ट नीतिको नैतिक समर्थन गर्न नसकेको कारण पन्ध्र महिनामै उक्त कामबाट राजिनामा गरी दुग्ध विकास संस्थानमा डेरी इन्जिनियर पदकोलागि आवेदन दिई नियुक्ति पाई काम शुरु गरेँ । नयाँ जोश तथा एक्लो खाने मुखको मात्र ख्याल राख्नुपर्ने स्वतन्त्रता भएकोले यस नयाँ काममा भोग्नु परेका भेदभाव एवं धोखाधडी खप्न नसकी दस महिनामै त्यस कामबाट पनि राजिनामा दिएँ । दुई महिनाको बेरोजगारी पछि तत्कालिन श्री ५को सरकार श्रम विभाग अन्तर्गत कारखाना निरीक्षकको कार्यालय (हाल नाम परिवर्तन भई श्रम कार्यालय)मा कारखाना निरीक्षकको पदमा अस्थायी नियुक्ति पाएँ । पछि लोक सेवा आयोगको शिफारीसको आधारमा सोही पदमा स्थायी नियुक्ति भयो । तत्पश्चात् बरिष्ठ कारखाना निरीक्षकमा बढुवा भयो । पुन: सडक विभागको सिनियर डिभिजनल इन्जिनियर (मेकानिकल) मा बढुवा भयो । तर लामो समयको श्रमको अनुभवको आवश्यकता श्रम क्षेत्रमानै भएको महशुश गरी मलाइ सडक विभागमा पदस्थापन भएपनि श्रम मन्त्रालयमा योजना महाशाखामा काजमा राखियो । श्रम क्षेत्रमा लामो समय काम गर्दा विभिन्न देशहरुमा श्रम सम्बन्ध एवं ‍औद्योगिक सुरक्षा (Labor Relations and Industrial Safety) बिषयमा तालिम, सम्मेलनमा सहभागी भई अनुभव बटुलेको र बिभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको आयोजनामा सम्पन्न योजनाहरुमा बिशेषज्ञको हैसियतमा काम गरेकोले काठमाण्डौँमा मेरो छाप बसिसकेको थियो । यसकारण यही क्षेत्रमा रही काम गर्नु मेरोलागि पनि हितकारी थियो । तर हाकिमहरुको फेरबदल एवं सरकारी कार्यालयको भ्रष्ट नीतिको कारण मलाइ सन १९९२ को शुरुतिर आफ्नो पदस्थापन रहेको ठाउँ सडक विभागमा फिर्ता पठाइयो । यसप्रकार अन्त भयो मेरो १७ वर्षको श्रम क्षेत्रको औपचारिक कार्य र शुरु भयो नयाँ क्षेत्रको कार्य । मेरो पद बुटवलस्थित हेभी इक्विपमेन्ट डिभिजनमा भएतापनि उक्त पदमा एकजना त्यहीँकै पुराना इन्जिनियर कायम मुकायम काम गरिरहेको कारण मलाइ त्यहाँ नपठाई काठमाण्डौँमै कतै काजमा राख्ने निर्णय भयो जुन मेरो पनि ईच्छा अनुरुपनै थियो । त्यसपछि मलाइ पाटनढोकास्थित (त्यसबेला) मेकानिक्स प्रशिक्षण केन्द्रमा प्रमुखमा काजमा राखियो । सन १९९२ को शुरु सात महिना सडक विभागमा कार्यरत रहँदा एक महिना संस्थान निजिकरण आयोजनामा र तीन महिना वर्ल्ड बैंक र यु.एन.डि.पी. को तत्वावधानमा सन्चालित Project Monitoring and Evaluation Project मा श्रम बिषेशज्ञको हैसियतले काम गर्ने अवसर प्राप्त भयो । जुलाई ३१ मा आयोजनाको काम सकेर अगष्ट ३, १९९२ मा उच्च शिक्षाको लागि अमेरिका प्रस्थान गरेँ, यस प्रकार समाप्त भयो मेरो नेपालको जागीरको कार्यकाल।

नेपालको सरकारी सेवामा रहँदाको कार्यकालमा बिभिन्न रोचक एवं उल्लखनीय घटनाहरु भए । ती मध्ये एक रोचक घटना उल्लेख गर्न चाहन्छु । श्रम कार्यालय बीरगन्जमा कार्यरत थिएँ । श्रम राज्यमन्त्रीको त्यस इलाकाको भ्रमणको कार्यक्रमको खबर आयो । उहाँलाई होटेलमा भेट्न जाने क्रममा मोटर साइकलमा प्रविधिक गडबडीको कारण केही ढीला भएकोमा मन्त्रीज्यू रीसले आगो हुनुभएको रहेछ । भेटको क्रममा उहाँले हामी दुई (श्रम अधिकृत र म कारखाना निरीक्षक) को पहिचान उल्टो गर्नु भएछ । कारखाना भ्रमणको सन्दर्भमा उठेका श्रम अधिकृतका केही विवादास्पद कुराहरुबाट आफूलाई अपमानित महशुश गरी प्रधान मन्त्री समक्ष कारखाना निरीक्षक (म, इन्जिनीयर) मेरो बर्खास्ती को शिफारीस भएछ र तत्सम्बन्धी प्रक्रियाको शुरुवात् समेत भएको केही समयपछि मलाइ जानकारी गराइयो । यो गलतफहमी हटाउन धेरै प्रयाश गर्नु परेको थियो । मेरो सोचाईमा मन्त्रीको अगाडि उभिनासाथ सत्य छर्लङ्ग हुने विश्वास थियो तर गलत व्यक्तिमाथि करवाही चलाएकोमा मन्त्रीको प्रतिष्ठामा आँच आउने देखी मन्त्रीले आफू सही भएको झूठो ढिपी लिएको कारण पनि मेरो प्रयाश कठिन भएको थियो । उहाँले ढिलै भएपनि जिम्मेवारीपूर्ण कदम चाल्नु भएकोले मात्र मेरो जागीर बच्यो नत्र भने अरुको गल्तीको सजाय वापत झन्डै जागीरबाट हात धुनु परेको ।

सन १९९८ को अप्रिल महिनामा उच्च शिक्षा गर्ने क्रमको अन्त पछि शुरु हुन्छ मेरो अमेरिकामा जागीर गर्ने कामको शुरुवात् । पहिलो काम ओहायो राज्यको सिनसिन्नाटी शहरस्थित Great American Insurance Company मा Industrial Engineer/Senior Ergonomics Engineer पदबाट शुरु हुन्छ । उक्त कंपनीमा एक वर्ष काम गरी सन १९९९ को जुलाई महिनामा कोलोराडो राज्यको डेन्भर शहरमा CYMA, Inc. मा Senior Industrial Engineer पदमा नियुक्ति पाएँ । त्यस कंपनीमा लगभग डेढ वर्ष काम गरी पुनः अर्को कामको खोजीमा लागेँ । OMNI Technology, Inc. मा Senior Industrial Engineer पदमा सल्लाहाकारको हैसियतले लगभग ६ महिना काम गरेपछि सन २००१ को अक्टोबर महिनादेखि मेरिल्यान्ड राज्यको बालटिमोर शहरस्थित Morgan State University मा अध्यापनको क्षेत्रमा नयाँ अनुभवको शुरुवात् भयो । सन २०१८ को जुन महिनाबाट अध्यापन क्षेत्रबाट अवकाश लिएर हाल अवकाशे जीवन बिताइरहेको छु।

प्रश्न : तपाइले हासिल गर्नु भएको उच्च शिक्षा ,विशेषगरी नेपालको परिप्रेक्षमा कत्तिको उपयोगी पाउनु भयो, नि ?

उत्तर: म उच्च शिक्षा पूरा गरेपछि नेपाल नफर्की अमेरिकामै बसोबास गरेँ ।उच्च शिक्षा शुरु गर्नु अघि मेरो स्नातक तहको डिग्री मेकानिकल इन्जिनियर भएको र तत्पश्चातका डिग्रीहरु मेकानिकल सँगै मिल्दो जुल्दो इन्डष्ट्रियल इन्जिनियरिंगमा पूरा गरेको हू ।शुरुमा अमेरिका आउँदा सरकारी सेवा बाट अध्ययन विदा लिई नेपालको परिप्रेक्षमा उपयोगी हुने बिषय इन्डष्ट्रियल इन्जिनियरिंगमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले आएको भएता पनि विभिन्न वाध्यताको कारण स्वदेश नफर्की यतै बसोबास गर्नु पर्यो।त्यसकारण हासिल गरेको शिक्षाको नेपालको परिप्रेक्षमा कत्तिको उपयोगी रह्यो भन्ने बारे केही भन्ने योग्यता आफूमा नरहेको कुरा यहाँ स्पष्ट पार्न चाहन्छु ।

प्रश्न :अबकाशेकाल— कहिलेदेखि यो शुरूभयो र हाल कसरी यापन हुँदैछ ? अनि यो कालखण्ड सम्म आइपुग्दा सबभन्दा रमाइलो कुन चाहिँ र किन लाग्ने रै छ ? र हाल तपाइको यो कालखण्डमा यस्तो चुस्त,स्वस्थ्य, एबम दीर्ध जीवन शैलीको रहस्य अफनो दैनिकी संग जोडी हेर्दा , के हो झैं लाग्छ ?

उत्तर: सन २०१८ को जुन महिना देखि पूर्णरुपमा अवकाश लिई हाल अवकाशे जीवन व्यतित गरिरहेको छु ।अध्यापन बाट अवकाश लिएपछि म आफ्नी श्रीमती शारदाको साथ बाल्टिमोर बाट डेन्भर, कोलोराडो सरे । १७ वर्षको बाल्टिमोर बसाईको क्रममा त्यहाँका नाता गोता इष्टमित्र बाट पाएको श्रद्धा माया ममताले गर्दा त्यो ठाउँ छोड्न अति कठिन भयो ।बाल्टिमोर मै मेरो अर्को परिवार बनिसकेको थियो।तर उमेर बढ्दै गएको अवस्थामा आफ्नो मूल परिवारको आवश्यकता महशुश हुँदो रहेछ।हाम्रा एक छोरा र एक छोरी दुवै तथा मेरी बहिनी पनि डेन्भरमा नै बसोबास गर्दै आएका हुनाले र उनीहरुको नजीक हुने उद्देश्यले हामी डेन्भर सरेका हौँ।

सानै उमेरदेखि सङ्गीतमा (खासगरी गायनमा) चाख भएकोले केही समय त्यसैमानै बिताउने गरेको छु।पेन्टिङ्गमा (खासगरी oil) पनि विशेष अभिरुची भएकोले केही समय त्यसमा पनि बिताउने गरेको छु ।

प्रश्न १) ब्यक्तिगत एवम घर गृहस्थि (पारिविरक) कालखण्ड— विहावारी, वालवच्चा ,नातेदार तथा साथी भाइ इष्ट मीत्रहरू बारेमा प्रसंग बश भन्नु पर्दा ?

उत्तर: चारजना सन्तान मध्ये म सबभन्दा जेठो।माइलो भाइ-डा. बिजय कट्टेल पत्नी-डा.अर्चना कट्टेलका साथ अमेरिकाको फ्लोरिडा राज्यको वेष्ट पाम बिच शहरमा बसोबास गर्दै आएका।कान्छो भाइ-डा.आनन्द कट्टेल (स्वर्गीय) को परिवार श्रीमती जया कट्टेल र छोराहरु जयन्त (सपरिवार-श्रीमती क्रिश र एक छोरा र एक छोरी) र गोशान्त को साथमा अष्ट्रेलियाको सिड्नीमा बसोबास गरिरहेका।बहिनी उषा शर्मा (अर्याल)-ज्वाईँ – चन्द्र शेखर शर्मा । सन १९७५ मा मेरो विवाह भयो।पत्नी शारदा कट्टेल।एक छोरा-प्रविश कट्टेल, एक छोरी-प्रीती पन्त।बुहारी-सलिना कट्टेल तथा ज्वाईँ-लव पन्त।चार नातीनीहरु, दुई छोराको तर्फबाट-प्रीशा र इलिशा, दुई छोरीको तर्फबाट-ईशारा र अनिष्मा ।हाल छोरा प्रविश, छोरी प्रीती,बहिनी उषा,भतिजा अजय कट्टेल (बिजयको छोरा) सबैजना आ-आफ्ना परिवार सहित डेन्भर कोलोराडोको बासिन्दाहरु हौँ।श्रीमतीका सातजना दिदीबहिनी तथा चारजना दाजुभाइहरु।

पब्लिक रिलेसन्समा म खास बलियो नभएको कारण पुराना साथीभाइ हरु सँग त्यती सम्पर्कमा छैन । पुराना साथीभाइहरु मध्ये नियमित रुपमा सम्पर्कमा रहेका मेरा एक मात्र साथी क्यनाडाको भ्यानकुभरमा बसोबास गरिरहेका मानकाजी हुन् ।उनकी श्रीमती (बीना भाउजु) र मेरी श्रीमती शारदा स्कूल पढ्दाका मिल्ने साथी भएकाले अनि उनको बलियो पब्लिक रिलेसन्सको कारण पनि हाम्रो नियमित सम्पर्क सुदृढ हुन मद्दत पुगेको हो।

प्रश्न : ब्यक्तिगत जीवन दर्शन—मुलतः तपाइ आस्तिक ( पुन:र्जन्ममा, विश्वाश छ, छैन?) कि नास्तिक ? नेपालमा ३३ कोटी देवी देवताको अकर्मण्यता,अनि अमेरिकामा ‘In God We Trust’ को परिवेश जन्य धर्म, रीति थिति रहन सहन, प्रगति दूर्गति अदि वारेमा तुलनात्मक टिप्पणी गर्नुपर्दा ?

उत्तर: मन्दिरमा गई मुर्तीको पूजा गरेर धर्म प्राप्ती हुन्छ भन्ने विचार मा विश्वास गर्ने नभए पनि म नास्तिक चाहीँ पक्कै होइन।त्यसको मतलव म धर्ममा लिप्त व्यक्ति पनि होइन।म विज्ञान र प्रविधिको विद्यार्थी भएको कारण कुनै पनि कुराको प्रमाणको आधारमा विश्वास गर्न खोज्छु।कता कता कुनैअदृस्य शक्ति छ कि जस्तो लाग्छ तर ठोकुवा गरेर भन्न सक्तिन।हिन्दु धर्मानुसार यो ब्रम्हाण्ड लाई चार काल खण्डमा (सत्य, त्रेता, द्वापर, र कलि) विभाजित गरिएको छ।सृष्टिको पहिलो चरणमा सृष्टिकर्ता,पालनकर्ता, र संहार कर्ताको रुपमा ब्रम्हा,विष्णु, र शंकर लाई लिइएको छ।पश्चिमी सभ्यतामा पनि त्यही लाई आधार मानेको हो कि भन्ने मेरो धारणा अँग्रेजीको GOD (G-Generator, O-Operator, D-Destroyer) भन्ने शव्द लाई लिन सकिन्छ।यो धर्म,संस्कृति एवं परम्पराको कुरा भएको र यस्को लागि छुट्टै मन्चको आवश्यकता भएकोले अहिलेलाई यत्ति मात्र।

मेरो धर्मको परिभाषा भनेको “दया, माया र ममता लाई सदा हृदयमा राखी सबैको भलो चिताउनु र सबैको हित हुने कार्य गर्नु” हो।जुन कुरा गर्दा आफुलाई पछुतो नहोस् र जुन कार्य गर्दा मनलाई शान्ति मिलोस् त्यही कार्यनै धर्म हो।

ङ ३ ) असल र खराब; सुख र दु:ख; ‘ठूलो’ कि ‘असल’ र समग्रमा संसार अनि मानव जीवन भनेका के रहेछन्। भाग्य र परिश्रममा तपाइ को विचार र तपाइको हकमा कुन चाहि बढी लागु हुन्छ नि ?

उत्तर: असल र खराब, सुख र दुःख सबै जीवनका पाटाहरु हुन् । जीवनमा उकाली ओराली आउँदाको अवस्थामा यो कुराको ख्याल हुनुपर्छ कि उज्यालोको आनन्द लिन अँध्यारोको अनुभव हुनु आवश्यक छ, असल के हो भन्ने थाहा पाउन खराब के हो भन्ने जानकारी हुनु पर्छ ।प्रत्येक दिन सूर्यको उदय हुनु र अस्त हुनु यस्को ज्वलन्त उदाहरण हो । त्यसैले असल, खराब, सुख, दुःख सबै प्रकृतिका नियम हुन् र नचाहँदा नचाहँदै पनि जीवनमा यी कुराहरु आउने जाने भइरहेका हुन्छन् ।

म भाग्यमा विश्वास गर्छु तर “भाग्यमा भए डोकोमा पनि दुध दुहुन मिल्छ” भन्ने विचारमा होइन । भाग्यमा भए पाइ हालिन्छ भनेर उपरखुट्टी लाएर बस्नेमा विश्वास गर्दिन।आफ्नो तर्फ बाट प्रयास गर्दा गर्दै पनि भएन भने भाग्यमा रहेनछ भन्ने तर्कलाई भने मान्दछु।मेरो व्यक्तिगत जीवनको सम्बन्धमा भने परिश्रम र भाग्य दुबै कुराको सम्मिश्रण भएको ठान्दछु ।

ङ ४) जीवनकै अभिन्न अर्कोपक्ष— अभिरूची/शोख, देशाटन वा भ्रमण देखि प्रसंगबश सर्जकतासंग सम्बन्धित लेख, रचना, कृति, प्रकाशन, अदिवारे भन्नु पर्दा ?

उत्तरःगायनः सानैदेखि मेरो गायन तर्फ अभिरुची रहेको कुरा त माथिनै व्यक्त गरिसकेको छु । गायनको साथसाथ एउटा Instrument बजाउन सिक्ने ठूलो धोको भएता पनि के कारणले हो (मेरो आफ्नै प्रयाशको कमीको कारण हुनुपर्छ । भाग्यमा भएको भएत त्यो शीप आफैँ प्राप्त हुनु पर्ने थियो !!!) आजसम्म पनि अधुरै रहेको छ । गायन तर्फ भने बेला बेलामा नेपाली (खासगरी स्व. नारायण गोपालका स्वरका) र हिन्दी फिल्मी गीतहरु विभिन्न कार्यक्रमहरुमा गाउने गरेको छु ।
पैन्टिंग (बिशेष गरी तेल माध्यम): यस बिधामा पनि मेरो सानैदेखि नै अभिरुची रहेको हो । स्नातक तहको अध्ययनको क्रममा मद्रासमा रहँदा मेरो यिनै अभिरुचीका कारण म होस्टेलको Fine Arts Secretary मा निर्वाचित भई काम गरेको पनि हूँ । मलाई फोटोग्राफीमा पनि चाख रहेकोले सोही ताका युनिवर्सिटीको फोटोग्राफी क्लबको Secretary पदमा पनि दायित्व निभाएको हूँ । हाल पनि अवकाशे जीवनमा समय यिनै अभिरुचीहरुमा बिताउने गरेको छु ।

बिदेश भ्रमणः नेपालमा सरकारी सेवामा कार्यरत् रहँदा तालिम एवं सम्मेलनहरुमा विभिन्न देशहरुको भ्रमण गरेको र त्यसबाट थप ज्ञान आर्जन तथा अनुभव बटुल्ने अवसर पाएको हूँ । त्यस अवसर अन्तर्गत जापान, भारत, बांगलादेश, थाईल्याण्ड, मलेशिया, फिलिपिन्स, सिङ्गापुर, हङ्गकङ्ग, जर्मनी, संयुक्त राज्य अमेरिकाको भ्रमण गरेको थिएँ ।अमेरिका आएपछि सम्मेलनहरुमा भाग लिने एवं व्यक्तिगत चाखको सिलसिलामा जर्मनी र स्वीट्जरल्याण्ड लगायत अमेरिकाकै ५० मध्ये प्रायजसो राज्यहरुको भ्रमण गर्ने अवसर मिल्यो ।

साहित्य तर्फः यस तर्फपनि मेरो अभिरुची हाईस्कूल पढ्दा देखिनै भएको हो ।तर विभिन्न कारणहरुले गर्दा त्यसलाई निरन्तरता दिन सकेको थिइन । हाईस्कूलमा छँदा नेपाली पढाउने गुरुबाट मेरो लेखाई सम्बन्धमा एकदमै राम्रो प्रतिकृया पाउने गरेकोले पनि मलाइ यसतर्फ धेरै प्रोत्साहन मिलेको हो । नेपालमा छँदा नेपालको दैनिक अखवारहरुमा (गोरखापत्र र द राइजिंग नेपाल) आफ्नो पेशा तथा शैक्षिक क्षेत्र सम्वन्धी लेखहरु सामयिक रुपमा छपाउँदै आएको थिएँ । अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली सहित्य समाज (INLS) को आयोजनामा विभिन्न स्थानहरुमा आयोजित साहित्य सम्मेलनहरुमा कविता वाचन गर्दै आएको छु र यो क्रम जारीनै छ । साहित्य तर्फको अभिरुचीकै कारण INLS मेरिल्याण्ड च्याप्टरको विभिन्न समयमा सल्लाहाकारको भूमिका निभाउने मौका पनि पाएको हूँ । साथै INLS को पदाधिकारीहरुको निर्वाचनमा विभिन्न समयमा पर्यवेक्षकको भूमिका पनि निभाएको हूँ । नेपालमा कार्यरत रहँदा औद्योगिक सुरक्षा (Industrial Safety) सम्बन्धमा एक पुस्तक पनि प्रकाशित गरेको थिएँ ।

प्रसंग वदलौं : च) विविध

च १) पूर्विय विकाशोन्मूख देश नेपाल (जहाँ निरंकुश राजतन्त्र , पंचायति प्रजातन्त्र हुँदै हाल सँघीयगणतन्त्र छ) मा जन्मी हुर्की हाल पश्चिमा विकशित देश # १ सं.रा.अमेरिकामा जीवनयापन गर्दै हुनुहुन्छ। यी २ देशहरूका विरोधाभाषपूर्ण —मूल्यमान्यता, जीवनशैली दशर्न चालचलन,वारे तथा हालको वहुचर्चित एम.सि.सि.(MCC=Millennium Challenge Corporation) प्रकरण वारे समीक्षात्मक टिप्पणी गर्नुपर्दा ?

उत्तर: सबभन्दा पहिले त म यहाँ केही कुरा स्पष्ट पार्न चाहन्छु । म राजनीति शास्त्रको विद्यार्थी होइन र मलाइ राजनीतिमा कुनै अभिरुची पनि छैन ।यहाँ पोखिएका धारणाहरू कुनै पक्ष विपक्ष बाट प्रेरित भएको नभई मेरो व्यक्तिगत धारणामा आधारित छन् ।

म राणा शासनको अन्तिम चरणको वेलामा जन्मिएको त्यसपछिको प्रजातन्त्रकालमा हुर्किएको अनि पन्चायत कालमा शिक्षा-दिक्षा पाई जागीरमा छिरी पन्चायतको अन्तिम दिन पछि तथाकथित प्रजातन्त्र आएको केही वर्षसम्म सरकारी जागीरमा रही उच्च शिक्षाको लागि अमेरिका आएको व्यक्ति हूँ । समग्रमा भन्नु पर्दा मलाइ पन्चायतको पूर्ण अनुभव भएको तर त्यसपछिका प्रजातन्त्र एवं संघीय गणतन्त्रको बारेमा पढेका र सुनेका आधारमा प्राप्त ज्ञान मात्र छ । यसको आधारमा हाल सम्म मैले जानेका कुराहरुमा पन्चायतकालमा एउटा राजा हुने गर्थे भने आज नेपालमा सबै नेताहरु राजा भएका छन् । पहिले एउटा राजाको एउटै दरबार भएको कारण त्यहाँ पुग्ने बाटो पनि एउटै थियो । तर आज, हजार राजाका दरबार पुग्ने हजार बाटाहरु भए । एउटा राजालाई खुशी पार्ने बाटो पहिल्याउन सके प्रगतिको बाटो फेला पर्थ्यो नत्र जहाँको त्यहीँ । तर आज कुन राजालाई खुशी पारे प्रगति हुने हो जनता रणभुल्लमा र त्यो प्रयाशमा लाग्ने परिश्रम र खर्चको कारण भ्रष्टाचारले धुरी छोएको जस्तो लाग्छ । नेताहरु कुर्सीको लागि म्युजिकल चेयरमै व्यस्त,अर्कातिर जनता अलपत्र।जवसम्म जनता र देश प्रति उत्तरदायी नेताहरुको उदय हुँदैन तवसम्म विकास हालको कछुवाको चाल भन्दा छिटो हुने सम्भावना देख्दिन।

भ्रष्टाचार भनेको कुनै पनि देश वा समाजमा विद्यमान विकृती हो।यसको प्रकार विभिन्न हुन्छन्।यसले समाजलाई विभिन्न रुपमा असर पार्छ।कुनैले सामान्य जनजीवनमा असर पारेको हुन्छ भने कुनैले समाजको एक तहलाई मात्र । अमेरिका जस्तो विकसित मुलुकमा पनि भ्रष्टाचार नभएको होइन तर मालपोत तिर्न जाँदा समेत कारिन्दालाई घुस ख्वाउनु पर्ने वाध्यता जस्ले साधारण जनतालाई असर पार्छ, त्यस्तो भ्रष्टाचार यहाँ छैन । सरकार जनताप्रति उत्तरदायी छ । कानुनको आँखामा माथिदेखि तलसम्म बराबर छ । त्यसैले विकसित छ ।

एम. सी. सी. को सम्बन्धमा भित्री गुह्य कुरा केही भए मलाइ थाहा छैन ।अन्यथा प्रकाशित सूचना एवं जानकारीका आधारमा मेरो बिचारमा हाल चलिरहेको वाद बिवाद सबै राजनीतिले प्रेरित एवं जनतालाई भ्रममा पार्न चलाइएका हल्ला मात्र हुन् ।अमेरिकालाई नेपालबारे नेपाली प्रशासनलाई भन्दा बढी जानकारी छ भन्ने कुरामा सायद दुई मत हुन सक्तैन।एम. सी. सी. को कारण अमेरिकाले नेपाललाई सेना पठाई कब्जामा लिन्छ भन्ने धारणा राख्ने नेताहरुले यो कुरा ख्याल राख्नु उचित हुनेछ कि जुन प्रशासनलाई भारतले नेपालको भूमिमा त्यति लामो सडक बनाई उद्घाटन गर्दासम्म पनि जानकारी रहँदैन त्यो प्रशासनलाई अमेरिकाले अहिलेनै नेपालमा सेना राखेर बसिसकेको छ कि छैन भन्ने कुरा कसरी थाहा हुने? अर्को कुरा, कुनै पनि देशले अर्को देशलाई उपनिवेश बनाउन त्यो देशमा प्रचुर मात्रामा प्रकृतिक श्रोत वा अन्य साधनहरु हुनु पर्छ । नेपालमा त्यस्तो कुन कुरा छ जस्ले अमेरिकालाई आकर्षित पार्न सकोस । भारत र चीन को त्रुपले सधैँ काम गर्दैन । नेपाली प्रशासनको अकर्मन्यताको कारण भारत लगायत अन्य मुलुकहरुले फाइदा उठाइरहेका छन् भने अमेरिका त्यही चीजको लागि थप खर्च गरेर मुर्ख्याईँ गर्छ भन्ने कुरा नेताहरुले कुन बुद्धिमानी देखाएर गरेका हुन् मैले ठम्याउन नसकेको बिषय भयो ।त्यसकारण यस्ता भ्रामक कुराहरु गरेर हातमा आएको त्यत्रो सहयोगको रकम जोखिममा पार्नु नेपाल जस्तो गरीब मुलुकको लागि हितकर होला जस्तो म ठान्दिन ।

च २) नेपाललाइ सतीले सरापेको तथा भू राजनीतिले ठगेकोदेश भनिएको वारे तपाइको विचार ?

उत्तर:यो पक्कै पनि होइन । यो त भ्रष्ट नेताहरुले ठगेको देश हो । विश्वमा नेपाल बाहेक अरु पनि थुप्रै भूपरिवेष्टित देश छैनन् र? तिनीहरुले विकाश गरेका छैनन्? यी भनाईहरु त नेताहरुले आफ्नो अकर्मन्यता लुकाउन गरिएका बहाना मात्र हुन् ।

च ३) नेपालमा एकातिर भ्रष्टाचार, अनियमितता, (नेता)काण्ड तथा दण्डहीनताहरूमा बढोत्तरी, भने अर्कितर मानवोचित सामाजिक क्षेत्रहरूमा चाहिँ ह्रासोन्मूख हुँदैजानुको ५ प्रमुख कारक तत्वहरु के, के हुन?

उत्तर: १) नेताहरु जनता एवँ देशप्रति जवाफदेही नहुनु ।
२) नेताहरु एकदमै भ्रष्ट हुनु ।
३) कानुनको नजरमा सबै एकनाश नहुनु ।
४) युवा पुस्ता लाई आफ्नो जोश र जाँगरको उपयोग गर्ने मौका नदिइनु ।
५) एक राजाको ठाउँमा हजार राजाको विकास हुनु ।

च ४। सं. रा.अमेरिका, एकातिर मानब अधिकार तथा शान्तिको कुरागर्न थाक्दैन भने अर्कोतिर सदाजसो लडाइमा प्रत्यक्ष वा परोक्ष मुछिइरहन्छ, जस्तो: भियतनामयुद्ध देखि अफगानिस्थान, इराक, मध्येपूर्व, खाडी क्षेत्र भेनेजुयला प्रकरण…….आदि। हिन्दुजातिको ‘म्लेच्छ‘ अर्थात् अछुत यिनीहरु, वावजुद, हिन्दु लगाएत अन्य जनजातिहरूको समेत यहां आउने होड वाजी कायमै राख्न सफलताको रहस्य के, हो जस्तो लाग्छ?

उत्तर: माथि व्यक्त नेपालमा रहेका पाँच कारक तत्वहरु अमेरिकामा नरहेको, वाक स्वतन्त्रता तथा अन्य व्यक्तिगत स्वतन्त्रताको पूर्णरुपमा उपयोग गर्न पाउनुको साथै काम गर्ने हरुकोलागि प्रचुर मात्रामा अवसर उपलब्ध हुनुको कारणनै अमेरिका बसोबासको लागि विश्वमा सब भन्दा आकर्षक मुलुक हुन गएको हो । जहाँ सम्म लडाईँहरुमा अमेरिकाको संलग्नताको प्रश्न छ, त्यसो नगरेमा विश्वमा वर्चस्व कायम कसरी राख्ने? अनि युद्ध सम्बन्धित उत्पादनको खपत कसरी हुने? यी बाहेक अन्य राजनैतिक एवं कुटनैतिक कारणहरु होलान् जसबारे म अनभिज्ञ छु ।

च ५। हालको विश्वमहामारी करोनाप्रकोप वारे यहांको वुझाइ ?

उत्तर: यो महामारीले विश्वलाई गाँजेको बेलामा सामाजिक संजालमा हेर्दा सबैजनानै यसको विशेषज्ञ भएको पाइन्छ । यस सम्बन्धी खास विशेषज्ञहरुले त अझै यो के कस्तो भाइरस हो, साँच्चिकै यो कसरी सर्छ, यसको प्रतिकार गर्ने उपाय सम्बन्धमा ठोस निचोड निकाल्न नसकेको बेलामा म सामाजिक संजालका त्यस्ता तथाकथित एवं स्वघोषित विशेषज्ञ मध्येको एक हुन चाहन्न । म विज्ञानमा विश्वास राख्छु र अनुसन्धानबाट प्राप्त ज्ञानको पालना गर्छु । जस्को आधारमा यो एक घातक रोग हो र यसबाट बच्न उपलब्ध गराइएका गाइडलइनलाई पालन गर्नु हालको एक मात्र उपाय हो ।

च ६) हालआयर लाखो एन .आर. एन. (भएका) छन् र तेसमाथी शायद यसको संख्या अत्याधिक सं.रा.अमेरिकामा रहेको वारे समीक्षा गर्नू पर्दा?

उत्तर: यो कुनै नयाँ कुरो होइन । भारतमा यस्को माध्यम बाट स्वयं भारत मुलुक र एन.आर.आई. दुवै पक्षले फाइदा उठाइरहेका छन् । हामी नेपाली लाई भने जहाँ गए पनि नेपालकै राजनीति गर्नुपर्ने र नेपाली राजनीतिमा रहेको सदाको कुर्सीको लागिको म्युजिकल चेयरनै पछ्याउनु पर्ने चलन भएकोले यस्को उपादेयता त्यतिसारो देखिएको छैन । यो एक समाजिक संस्था हुनु पर्नेमा राजनीति बाट प्रभावित संस्था हुन गएको र अगाडिनै व्यक्त भएनुसार मलाइ राजनीतिमा रत्तिभर पनि चाख नभएकोले यसबारे थप विचार व्यक्त गर्नु उचित देख्दिन ।

च ७) हामी दुवै प्राविधिक भएको नाताले र अन्ततः कुनैपनि देशको विकाशमा प्राविधिकहरूको अग्रणी भूमिका हुने हुनाले यसवारे अलिकति चर्चा गरोँ। हालअएर नेपालमा छयाप– छयाप्ती इञ्जिनीयरिङ्ग तथा चिकित्सा शास्त्र अध्ययन संस्थानहरु तथा नियमनकारी तथा ब्यवसायीक पेशेवार प्राविधिक संघ संस्थाहरु नभएका हैनन् ,जस्तै NEA (Nepal Engineers’ Association), SOMEN (Society of Mechanical Engineer’s Nepal), SEEN (Society of Electrical Engineer’s Nepal) , NEC (Nepal Engineering Council,) Nepal Medical Council ,CTEVT ( Council of Technical and Vocational Training ) अदि, तथापि यस प्रा.जगत चाहे जस्तो ब्यवसायीक, निर्बिबादित तथा शेवामूखी हुनसकेको छैनन, भन्ने कुराका ज्वलन्त उदाहरणहरू मध्ये कच्चा निर्माण संचनाहरू र वरिष्ठ चिकित्सक डा. गोविन्द के.सीजीको हाल जारी रहेको १९ अf}+ सत्याग्रह (अमरण अनशन) नै हो भन्नुमा अतिशयोक्ति नहोला। पढाइको गुँणस्तर तथा ब्यवसायीक धर्मवाट विचलन हुनुको कारँण र निराकरँणवारे केही भन्नु पर्दा ?

उत्तर: फेरि पनि म अगाडि व्यक्त गरिएका कारक तत्वहरुलाई नै यस्कोलागि दोषी मान्छु । जुन देशमा सरकार आफूले गरेको संझौताको पालन गर्दैन र डा. के. सी. जस्ता निस्वार्थ एवं सबैको भलो चिताउने व्यक्तिलाई बारम्बार आन्दोलनको बाटोमा जान वाध्य बनाउँछ त्यहाँ व्यवसायमूलक संस्थाहरु भएर के गर्ने? त्यसमाथि पहिलेदेखिनै चलिआएको प्राविधिक र प्रशासन बीचको मुटाव र निर्णायक पक्ष जहिले पनि प्रशासन नै भएकोले प्राविधिक क्षेत्र अवहेलित हुन गएको हो । हाल आएर एक प्राविधिज्ञ पनि सचिव वा मुख्य सचिव हुन सक्ने ब्यवस्थाले यसमा केही सुधार हुनुपर्ने हो ।

च ८) नेपाल को भूत, वर्तमान र भविष्यको वारेमा केही भन्नु पर्दा?
उत्तरः भूत भूतनै हो, यसबारे बुद्धी खियाएर बस्नु समयको बर्बादी हो । वर्तमान बारे अहिलेसम्म व्यक्त धारणाहरु पर्याप्त छन् । भविष्य उज्वल छ यदि भूतमा भएका तथा वर्तमानमा निरन्तरता पाएका गल्तीहरुबाट शिक्षा लिई अगाडि बढेमा । वर्तमानमा भइरहेका अनियमितता हटाई देश विकासको क्रममा तगारो भएका ती पाँच कारक तत्वहरुलाई निराकरण गर्न सकेमा भविष्य उज्वल छ ।

छ) वसाँइ सराइका अ अफनैविशेषता हुनेगर्छन, तपाइको हकमा के लागु भएर वा कुन परिवेशमा र कुन सालयहाँ अउनुभयो? तद्कालिन राष्ट्रपति को थिए र हालसम्म कति राष्ट्रपति फेर्नु भयो?

उत्तर: बसाईँ सराई भनेको जीवनका अविस्मरणीय घटनाहरु मध्येको एक हो । आफू जन्मेर हुर्केको ठाउँ जहाँ टोल छिमेक एक परिवार हुन्छन्, छोडेर यस्तो ठाउँ जहाँ छिमेकीसँग धीत पुर्याएर गफगाफ गर्न पनि विरलै सम्भव हुन्छ, सरेर आउनु एक बहादुरीपूर्ण कार्यनै भन्नुपर्छ । शुरु शुरुमा पढाइ सकी स्वदेश फर्किने सोच राखी आएतापनि कालान्तरमा समय र परिस्थितिले त्यो सोच त्याग्न बाध्य बनाउँदो रहेछ । म सपरिवार सन १९९२ मा अमेरिका आएको हूँ र हालसम्म चार राष्ट्रपति फेरिएको देखिसकेँ र एक हप्तामा हालको राष्ट्रपति कायम रहने वा फेरिइने हुन् त्यो निर्णायक घडीको प्रतीक्षामा रहेको छु ।

अन्तमा, आफ्नो अमुल्य समय दिई मलाइ मेरा धारणाहरु व्यक्त गर्ने अवसर प्रदान गर्नु भएको मुरी मुरी धन्यवाद । मेरा धारणाहरु कसैको व्यक्तिगत जीवन प्रति हिलो छ्याप्ने वा अपमानित गर्न व्यक्त गरिएका होइनन् । यदि यस्तो हुन आएमा यो संयोग मात्र हो भन्ने ब्यहोरा समेत व्यक्त गर्न चाहन्छु ।

अन्तमा, तपाइको अगतमा— समग्र परिवारजनहरूको सुरक्षा, सुख, समृद्धि तथा निरोगी एवम कामकाजी जीवनको शुभ कामना ब्यक्त गर्दै ब्यस्तताको वावजुद दिनुभएको अमुल्य समयको लागि धेरै धेरै धन्यवाद। अस्तु।

 

प्रतिक्रिया