(कविता ) सम्वोधन

गोबर्धन पूजा २०७७ कार्तिक १७ गते १:१४ मा प्रकाशित

पारेर छायाँ सधै
बचाउँदै दुनियाको घाम- दृष्टि बाट
सक्दिनँ म -देखाउन
मुटुले छोपिराखेको -तिम्रो नाम।

दुई पाटो संसार ,असल र खराबको
न तिमी कोही हौ
न यो समाज कोही हो
केवल हामीले सँगै साटेका समयहरू ,
तिम्रो थियो

मेरो थियो।

बोकेर बिध्यामा डरको भारी
जिउनुको पीडा,
खनेर भ्रमको कुटो कोदाली
सधै असार बाच्ने रहरको खेती,
हो,एउटा दृष्टि- दोष
केवल क्षण भंगुर।

ओढाएर मीठो सम्वोधनको बर्को
किनारा लगाउदै अपरिचित कालो छायाँ
न तिमीले अँगाल्न सक्यौ ,मलाई
न मैले समाउन सकेँ
तिम्रो चाहनाको सुस्केरालाई।

वास्नादार हाम्रो सम्बन्ध
खोइ कुन हावाको झोक्काले नाफा गर्यो
तर
हामी सधैँ गुलावी सपना बोकेर
झरिरह्यै बिहानीको शित बनि
बलेसीमा तप्किन नपाउदै
घामलाई सुनौलो बनाउने अभ्यासमा ।

प्रिय ।,
यो अन्तिम सम्वोधन तिमीलाई,
– किन आधा माया दिएर
आधामा लिएर गयौ ?

-बोस्टन , अमेरिका

प्रतिक्रिया