दशैँ ,मनोदशा र अनुत्तरित प्रश्न

दीपक पन्त २०७७ कार्तिक ११ गते २२:४९ मा प्रकाशित

२०७७ सालको वडा दशैँ हामी बीच भर्खर बिदा भएको छ । अन्य बर्षको तुलनामा यो बर्षको दशैँ नेपालमा होस् वा प्रबासमा खासै उत्साहप्रद रहेन । माहामारीको रुपमा फैलिएको कोभिड १९भाइरस संक्रमण त्रासदिले बिश्व आक्रान्त भई रहेको अबस्थामा ठुलो पारिवारिक भेट घाट गर्न /जमघट गर्न तथा रस रङ्ग गर्न त्यति सहज वातावरण थिएन ।

सबैका मनमा एक प्रकारको अनिश्चित भविष्यप्रति मनोबैज्ञानिक चिन्ता र चासो देखिएको थियो। अन्तर्मन भित्र उब्जिएको यो अदृश्य छट्पटीलाई कतिले दशैँका मनोरन्जनात्मक गतिविधिले ओझेल पार्न खोजेको देखिन्थ्यो । यद्यपि कत्तिले निधारमा टीका जमरा सहित थपिएको आशिर्वाद सँगै मुस्काउने कोशिस गरे पनि अनुहारमा देखिएको बेचैनिलाई लुकाउन सकेनन् ।

यस बिचमा कत्तिका खाइपाइ रहेको जागिर गयो होलान् । कत्तिले गरिरहेको व्यवसाय अब त हात धुनु पर्यो होला । कत्तिका बा,आमा छोरो, छोरी यात्रा प्रतिबन्धका कारण प्रदेशमा थुनिए होलान् । कत्तिका घरमा क्वारेन्टाइन ,आइसोलेसन चलिरहेको होला । अझ दर्दानाक पिडा त ,कत्तिका परिवारका सदस्यहरु यो महामारीको शिकार भए होलान् । सम्झेर ल्याँउदा हरेक ब्यक्तिको मनभारी हुन्छ ।

यो बिकराल अबस्थामा ऋतु जन्य परिबर्तनसँगै आएको दशैँ निश्चित रुपमा हर्ष उल्लासर खुशीको प्रतिक बन्न सकेन। सक्ने अबस्था नि थिएन । यथास्थितिमा नै सृष्टिको खेल ,प्राकृतिक नियम ,दिनपछि रात आयो । दिनहरु बिते । दशैँ आयो / दशैँ गयो ।

तैपनि विज्ञानले दिएको उपलब्धता सामाजिक संजालको कारण हरेक परिवार एक अर्का सँग जोडिएका थिए । बिश्वको जुन सुकै भूगोलमा भए पनि आफ्ना परिवार ,आफ्नो गाँउ घर ,आफ्नानाता गोता , बन्धुबान्धभका अलावासगँ साथीभाइहरूको गतिबिधिहरू नियाली रहेको देखिन्थ्यो।

देश बाहिर बसेका हरेक ब्यक्तिको मन मस्तिष्कमा त झन् अरू भन्दा बढी नै आफ्नै गाँउ घरको सम्झनाले सताएको पाइन्छ । बाल्यकालका धेरै स्मरणहरुले हास्यास्पद अतिरन्जित गर्दछ भने यूवा अबस्थाका उट्पट्यांग कार्यहरुले लज्जा बोध गराउदछ ।

यस्तैमा सामाजिक संजालले गराएको उपलब्धता र त्यसको आयाम सँगै कयौ अनुत्तरित प्रश्नहरू उठान भएका छन् ।

लामो समय प्रबासमा रहनेहरुका लागि आफ्नो होम टाउनमा भएका परिबर्तनले धेरै अमुक प्रश्नहरू उठाएको देखिन्छ । सामाजिक संजालमा रंगिएका धेरै नयाँ बिम्बहरू अनुत्तरित एवं प्रश्नबाचक हुन सक्छन् । हिजो आफूले क ,ख ,ग सिकेको मिर्मिरे प्राथमिक बिद्यालय आज सहीद मिर्मिरेको नाममा धेरै ठाँउमा रंगिसकेको देखिन्छ ।

आफूले बाल्य तथा युवा अबस्थामा खेलेका /दौडेका घर /बिद्यालय वरपरका खाली चौरहरु कि त नव सुकुम्बासीका नाममा दर्ता भइ सकेको पाइन्छ । कि त सुरक्षाका नाममा सुरक्षाकर्मीको अधिक्रमणमा परि सकेको अवस्था देखिन्छ ।

यति मात्र होइन आफुहरुले थकाइ मार्ने /लुकामारी खेल्ने चौतारो ,पानी पँधेरो समेत बाटो बिस्तारको नाममा इतिहाँस बनि सकेको पाइन्छ । अत: यी र यस्तै यस्तै कुराको अनुत्तरित प्रश्नहरु प्रसस्तै उठिरहेको पाइन्छ ।

भूकम्पले भत्काएका घरहरु नयाँ प्रबिधिमा निर्माण भएकोले अब माइला बा को ढुंगाको छानाको घर । ठुले काकाको बार्दली निकालेको घर भन्ने पनि रहेन ।

न त् माइल दाइको सुकुटी खाने पसल नै देखियो । न त् साहिला दाइको क्यारिम बोर्ड ,तास खेल्ने घर नै देखियो । न उजेलिको तीनपाने भट्टी पसल नै छ । न त् कार्की दाइको सेल रोटी पसलनै । सबै स्मृतिमा मात्र रहे । समयको गति संगै केवल फेसबुकमा देखिएको नयाँ बिम्ब मात्र रह्यो।

आफु देश बाहिरिदा बोकेको नागरिकताको ठेगाना आज पंचायतबाट गाबिस , गाबिसबाट गाउँपालिका हुदैँ नगरपालिका सम्म नयाँ परिचय बनि सकेको देखिन्छ । तर प्रवासीहरुको स्मरणमा उही पुरानो आफ्नो गाउँ खोज्दैछ ? अनि अनगिन्ती अनुत्तरित प्रश्नहरुको संघारमा आफुलाई रुमाल्नुको बिकल्प देखिदैन ।

यो साल ,यस्तै भो को प्रति उत्तरको भुमरीमा आफूलाइ राख्ने हो भने पनि अर्को साल सम्म पनि त्यो स्मरणमा आएका आत्मरतिका संगमहरु देखिने छैनन् । फेरीने छैनन |

बर्षौ अघिको चहल पहल जस्तै न त लंगुर बुर्झा हल्लाउने परिहरु भेट्टाउन सकिन्छ । न त पातले झरनाको मुलको पानीबाट प्यास मेटाउन सकिन्छ । न त रँगटे पिङ्गमा मच्चिने चरीहरू पाइन्छ । न त बाल अक्षर चिनाउने खरीहरू पाइन्छ । केवल स्मरण भित्र अल्झिएको एउटा अनुत्तरित प्रश्न मात्र कटु सत्य देखिएको छ ।

जो ,जहाँ ,जसरी रहेको छ ,बसेको छ ।

“खुशी रहनु / सुखी रहनु ।”

सानो नेपाल ! मुटु भित्र गाँठो पारेर !

दीपक पन्त

मिल्वाकी, अमेरिका

प्रतिक्रिया