र पो दशैँ आउथ्यो
मिर्मिरेमा एक झोक्का घामले पर्दा उघार्नु अघि
दिदिहरुले टाढाबाट ल्याएको रातो कमेरो माटोले जब आमाले संघार पोत्नुहुन्थ्यो
दुर देशमा गएका मेरा बाबा खुसीका रंगहरु बोकेर घर फर्कनु हुन्थ्यो
घरमा पालेको घोर्ले खसी देखाउदै उ हाम्रो दशैँ यहि हो भन्न पाइन्थ्यो
र पो दशैँ आउथ्यो
गाउको गोरेटोको बिचमा बनाएको लिङ्गे पिङ्गमा पालो कुरेर
चचहुइ ,,,,,,, चचहुइ ,,,,,,,, भन्दै चार लिङ्गो कटाउन पाइन्थ्यो
बाबाले ल्याएको नया नाना लगाएर साथीलाई देखाउन पाइन्थ्यो
र पो दशैँ आउथ्यो
हाट बजारहरुमा भिड बढ्थ्यो नया र आकर्षक वस्तुहरु देख्न पाइन्थ्यो
बटा भरी लाहुरेहरुको लावा लस्कर उकालो लाग्थे
बर्षौ पर्खाइमा अल्झिएका निरस अनुहारमा खुसीहरू फक्रन थाल्थे
मझेरी भरी आगन्तुकहरुको भेला हुन्थ्यो
र पो दशैँ आउथ्यो
खेतमा धान बारीमा कोदो लहलहाउथ्यो
आगनीको डिल भरी सयपत्री मखमली ढकमकाउथे
कमेरोले पोतेको मेरो घर बेहुली जसरी मुस्कुराउथिन
र पो दशैँ आउथ्यो
प्रवास र शहरबाट फर्किएका लक्का जवान लाहुरेहरु ठाटिएर गाउ डुल्थे
गाउका तरुनीहरु हुल बाधेर पधेरीमा ति प्रबासीका कुरा गर्थे
जरुवाको पानी जसरी भावनाका छालहरू उम्लिएर पोखिन थाल्थे
प्रेमिल मनहरु एक आपसमा दौतरी बन्न पुग्थे
नौलो खुसी उमंगको अनुभूति सबैले गर्थे
र पो दशैँ आउथ्यो
टपरी भरी जमरा कलशमा फूल
प्वाल पारेर छोपेको टपरीबाट दियोले चिहाएर हेर्थ्यो
हजुर बा र आमाको पहिलो रोजाइमा निधार भरी टिका लगाई दिदै र कानजमरा सिउरी दिदै
लामो आशिषको लर्कोले शिर वजनदार बनाइ दिनुहुन्थ्यो
छेवैमा राखेको टपराबाट एक डबल हातमा थमाई दिनु हुन्थ्यो
र पो दशैँ आउथ्यो
अहिले त फिक्क लाग्छ
खै किन हो
प्रबासको ब्यस्त जीवनसंग भावनाहरु मरेर गएकी
गगनचुम्बी भवनहरु हेरेर सपना गास्न बानी परेका हामी
बनका चरिका चिरबिर बिर्सिसकेउ
कलकल बग्ने खोलाको लय बिर्सी सकेउ
बन पाखा सुस्केली हालेको बिर्सी सकेउ
आधुनिक प्रबिधिमा रमाउने हामीलाइ जब कोरोनको महामारीले सोत्तर बनाइदिन्छ
अनि झस्कन्छु र मानव चेतनाका कुरा गर्छौ
प्रकृति भन्दा माथि र बलवान कोहि नभएको मर्म बुझ्छौ
तब
उही खोलाको कल्कलाहट खोज्छौ
पाखाहरुमा हरियाली खोज्छौ
गगनचुम्बी भवनहरु ठडेको उही साल सत्तिस का बडेमानका रुख कल्पना गर्छौ
यति बेला सम्म हामी ढिला भै सकेका छौ
हामी संग छ त केवल
भोक छ ,रोग छ ,निरस र अत्यास छ
यता
प्रबासको मरभुमिमा रहरहरु मारेर खुसी बटुली रहेका हामीलाई
कोरोनाको महामारीले बन्द कोठामा निसासिने गरि थुनिदिएको छ
धिप धिप आशाका दिप बालेर भन्नु परेको छ यो साल यस्तै भयो अर्को साल तराम्रो होला नि
अनि मनाउला सबै परिवारले एकै साथ दशैँ ,खुलेर साटौला खुसी
अहिलेलाई यस्तै भयो परैबाट आशिष दिनुहोस
हामीले यो महामारी जित्न सकौ
घरको खुसी ल्याउन सकौ
बाचे त लाख उपाए होइन र ?
अर्जुन थापा
प्रतिक्रिया