नेपालमा कोरोना भाइरसको महामारीमा बडा दशैँ यसरी मनाइदै,अमेरिकामा आज मनाइदै

इनेप्लिज २०७७ कार्तिक १० गते ११:०९ मा प्रकाशित

कोरोना महामारीको कारण नेपाल सरकारले दिएको निर्देशनलाई पालना गर्दै यस बर्षको बडा दशैँ नेपाल अधिराज्यभर धमाधम मनाइदैछ । आफन्तका र ठूला र मान्यजनसंग गएर टीका थप्ने भन्दा आफ्ना परिवार भित्र सीमित परिवार सदस्यहरुसंग मात्र टीका लगाउदै आशिर्बाद लिदै मनाई रहेका छन् ।

अझ पनि टीका लगाउदा मुखावरण(मास्क)लगाएर टीका पनि लगाई रहेका छन । महामारीको कारण बजार सुनसान जस्तै छ र चहलपहल देखिदैन । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् ।

यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन्। कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन ।

सोमबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।

दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०ः१९ बजे रहेको जनाएको छ । कोरोना संक्रमण महामारीका कारण विगत वर्षहरु जस्तो उल्लास नभएपनि भौतिक दुरी कायम गर्दै सर्वसाधारणले दशैंको टीका र जमरा लगाइरहेका छन् ।

सरकारले आग्रह अनुसार टीका लगाउने सर्वासधारणले मुखावरण (मास्क)को प्रयोग गरेको पाइएको छ । टीका लगाइ माग्ने मानिस पश्चिम फर्कनुपर्छ र टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नु पर्ने शास्त्रीय मान्यता छ ।

आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ :

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ :

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

महानवमीका अवसरमा आइतबार हनुमानढोकास्थित तलेजु भवानी मन्दिर कोरोनाको त्रासका कारण नखुले पनि भौतिक दूरी कायम गरी आज बिहान तुलजा भवानी यात्रा भने गरिएको छ । तलेजु भवानीको मन्दिर वर्षमा एक दिनमात्र महानवमीका दिन खोल्ने प्रचलन थियो ।

प्रतिक्रिया