दशैं आयो

विष्णु पगेनी सिग्देल २०७७ कार्तिक ७ गते १७:२५ मा प्रकाशित

मनभरि हर्ष, अनुहारमा खुसी छायो
नेपाली घर आँगनमा बडादशैं आयो।
खुल्ला निलो आकाश, न्यानो घाम बनी आयो
बिहानीको मन्द चिसो हावाले दशैं ल्यायो।

ढकमक्क परि मखमली, सयपत्री र गोदावरी फुलेका
फुर्रुक्क परि केटाकेटी लिङ्गे पिङ्गमा झुलेका
सारा पीर भुलाइकन आयो खुसी बोकी
लाग्दछ प्रकृति पनि खुसीले रमेकी पो हुन् कि ?

जेजस्तो छ त्यसैमा सबै दङ्ग दङ्ग
बोकी ल्यायो सबैमा खुसीको उमङ्ग
स्वदेश, परदेश हुँदै गाउँ सहर
मुस्कुराउन सिकाउदै आयो घरघर ।।

मालश्री धुनको मिठास छर्दै आयो
वाल्यकालको रमाइलो स्मृति सम्झायो
मीठा मीठा परिकारका स्वाद बोकी आयो
आहा! कति रमाइलो हेर त दशैं पो आयो ।।

मन फाटिएकाहरूलाई जोडन आयो
अहंकार र दुश्मनीलाई तोड्न आयो
परिवार परिवारमा मेल गरायो
हामी नेपालीहरूको महान् चाड दशैं आयो।।

लाहुरेलॆ आफूसंगै दशैं बोकी ल्यायो
बाबा आमाका अनुहारमा खुसीयाली छायो
बहिनीका लागि तिहार आयो
घरभरि, मनभरि खुसीयाली छायो।।

पहेंला जमरा र राता टीका बनी आयो
सानालाई आशिष दिन भनि आयो
एकवर्षको पर्खाइपछि साच्चै आयो
नेपालीका मन मनमा खुसीयाली छायो ।।

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका ।

प्रतिक्रिया