शरदका रुखहरु

रविन थपलिया,टोरोन्टो, क्यानडा २०७७ कार्तिक ३ गते २२:१६ मा प्रकाशित

 

यिनीहरु खासखुस सल्लाह गर्छन्
“मिलेर रङिनुपर्छ, शरद आयो”
संगसंगै रङ्ग फेर्छन्
राता, पहेँला, निला, हरिया, कैला, खैरा
सबैलाई मोहित पार्छन्
तन, मन र चेतनमा
फोटै फोटा…

फेरि खासखुस फासफुस सल्लाह गर्छन
“जाडो बढ्यो, अब नाङ्गै हुनुपर्छ”
बिस्तारै, तर मिलेर नाङ्गिन थाल्छन् ।

मन्दबुद्द्दी घोत्लिन्छ-
कुन शिल्पीको डिजाइन होला?
यत्तिका रङ्ग कसरी मिसाए होला?
रङ्ग घोल्ने भाँडो कत्रो होला?
कुची कत्रो होला?
धर्तीभित्र रङ्ग कसरी घुसाए होला?
पातपातमा रङ्ग कसरी सिंचिए होला?
फेरि
यति रंगिन पात किन झर्ने होला?

खैर,
लिला होला लिला, कसैको लिला।

जे भए पनि-
कस्तो मिलेका मान्छेहरु कहिले नमिले जस्तो…
कस्तो चुनौती तातोमा मात्र नाङ्गै हुनेहरुलाई…

लाटो सख्खर खान्छ र मुस्काँउछ।

रविन थपलिया
टोरोन्टो, क्यानडा

प्रतिक्रिया