रमाउनु त रहेछ जिन्दगी (गजल)

बिनोद कुमार पोख्रेल २०७७ कार्तिक २ गते १९:५० मा प्रकाशित

कोही चाड पर्व आएर रमाउँदै छन्
कोही शुभकामना पठाएर रमाउँदै छन्
आखिर रमाउनु त रहेछ यो जिन्दगी
कोही सर सापट ल्याएर भए पनि रमाउँदै छन्!!

कोही मिठो मिठो खाएर रमाउँदै छन्
कोही फेसबुकमा देखाएर रमाउँदै छन्
आखिर रमाउनु त रहेछ यो जिन्दगी
कोही बेसार पानी खाएरै भए पनि रमाउँदै छन्!!

कोही राम्रा राम्रा लगाएर रमाउँदै छन्
कोही जिउ भरि गहना सजाएर रमाउँदै छन्
आखिर रमाउनु त रहेछ यो जिन्दगी
कोही थोत्रो कोट ओढेर भए पनि रमाउँदै छन् !!

कोही खर्च पर्च पाएर रमाउँदै छन्
कोही पेस्की हातमा समाएर रमाउँदै छन्
आखिर रमाउनु त रहेछ यो जिन्दगी
कोही पेटीमा हात पसारेर भए पनि रमाउँदै छन्!!

कोही ह्विस्की बियर लिएर रमाउँदै छन्
कोही ब्रान्डी र वाईन पिएर रमाउँदै छन्
आखिर रमाउनु त रहेछ यो जिन्दगी
कोही थोपा आशु पिएर भए पनि रमाउँदै छन् !!

कोही आफ्नै पौरखले कमाएर रमाउँदै छन्
कोही पुर्खाको गौरबलाई बचाएर रमाउँदै छन्
आखिर रमाउनु त रहेछ यो जिन्दगी
कोही खाता बहि समाएर भए पनि रमाउँदै छन्!!

कोही सुरिलो गीत गाएर रमाउँदै छन्
कोही मधुर सङ्गीत बजाएर रमाउँदै छन्
आखिर रमाउनु त रहेछ यो जिन्दगी
कोहि कर्खा गाएर भए पनि रमाउदै छन !!

अन्तमा म पनि चाड पर्व भन्दै रमाउँदै छु
आफ्नो संस्कृति र परम्परालाई बचाउँदै छु
आखिर रमाउनु त रहेछ यो जिन्दगी
रमाउनेहरूकै भिडमा एउटा बिडो समाएर रमाउदै छु!!!

बिनोद कुमार पोख्रेल
हाल: टेक्सास अमेरिका
अक्टोबर १८, २०२०

प्रतिक्रिया