के को चलखेल यहाँ

अलका मल्ल, काठमाडौं २०७७ असोज २७ गते १०:३३ मा प्रकाशित

अंग्रेजीका सुर ताल पस्कंंदै छन्
मातृ भाषा अलप भैराछन् यहाँ ।

पहुंचकाहरु नायक बन्दै हिंड्छन्
राजनितिको चलखेल रच्दै यहाँ ।

महङ्गीले काँचुली फेरीसके छन्
निम्नको चुलो नबल्ने भो यहाँ ।

निमुखाहरु रंगमंचका पात्र भा छन्
ठूला ठालुको धक्कु साह्रो भो यहाँ ।

‘महोदय’ संस्कार गुमाउँदा रहेछन्
गरिबको चन्दा असुली हुंदै छ यहाँ ।

भतभती घाउहरु टट्टाइ रहेछन्
औषधी जडिबुटी लोप भो यहाँ ।

कालो रगत खरिद बिक्री भइरछन्
नकाबधारी मानवता धेर भो यहाँ ।

मुर्दाहरु पनि अलपत्रि रहेका छन्
भेन्टिलेटरको साह्रो चलखेल यहाँ ।

शक्ति र बलमा रवाफ चलि रछन्
बिना गल्ती बन्दी थुप्रंदै छन् यहाँ ।

अस्मिता लुट्नेहरु बिगबिगी नै छन्
खुल्ला आकाश उधारो लिन्छन् यहाँ ।

होसै डगमगाउँदो नाता किन्छन्
सरमको सीमा अत्यधिक भो यहाँ ।

जीउँदाहरु मरे तुल्य अस्ताइ रहेछन्
ब्यूँताउने चाँजो पाँजो छंदै छैन यहाँ ।

भावनाका माला उन्नेहरु धेरै छन्
अब सपना पनि भयावह भो यहाँ ।

रोजगारीमा पहुंच धकेलि रहेछन्
बिदेशीनेको कुनै वास्तै छैन यहाँ ।

जसले जे गरे पनि चलि रहेछन्
लाज पचाउन आपत्तिनै भो यहाँ ।

मान्छेले मान्छे चिन्न छोडिसके छन्
कुनिति संस्कृति पराकाष्ठा भो यहाँ ।

सगरमाथा पनि झुक्न खोज्दैछन्
अर्थ छैन जे जति झुके पनि यहाँ ।

आनै माटो सहजै गिज्याइ रहेछन्
धर्तिलाई बोझ अब साह्रो भो यहाँ ।

-अलका मल्ल, काठमाडौं

प्रतिक्रिया