वावु वन्न लागेको खवरले खुसी यति दियो कि झण्डै पागल भए । सुमित्रालाई यस्तो वेला एक्लै छाड्न मनले मान्ने कुरै भएन । हजार सोर्स लगाएर काठमाडौ सरुवा मिलाए ।
सुमित्राको पेटमा जवजव वच्चा चल्मलाउंथ्यो, हाम्रा लागि त रमितानै हुन्थ्यो । सारा संसार भुलेर वच्चा चल्मलाएको हेरेर वस्थ्यौं ।
सुमित्रा भन्थिन्, ‘सुरज हाम्रो छोराको नाम स्वीकार राख्नुपर्छ।’
म भन्थे, ‘पक्कै छोरी जन्मिन्छे, स्वीकृति नाम राख्नुपर्छ ।’
पेटमा वच्चा हुर्कदै जांदा हाम्रो वहस पनि चर्कै हुन्थ्यो । यसले रमाइलो पनि हुन्थ्यो । छोरा वा छोरी जन्मिदाका फाइदा वेफाइदाका कुरा हुन्थे । जे होस्, पारिवारिक माहोल वनिरहन्थ्यो ।
उनी भन्थिन्, ‘छोरी जन्माउने आमालाई समाजले हेला गर्छ । छोरा मात्रै जन्माएका महिलाहरुका वचन वाण सहन गार्हो हुन्छ । त्यसैले मलाई छोरा नै चाहिन्छ ।’
म भन्थे, ‘समय वद्लिसक्यो, छोरी पनि आफ्नै सन्तान हुन्, छोराछोरीमा फरक छैन । हामीले सोच बदल्नु पर्छ ।’
सुमित्रा भन्थिन्, ‘हाम्रो समाजलाई जीवनभर माया दिने छोरी भन्दा मरेपछि बोकेर घाट पुर्याउने छोरा चाहिन्छ, जीवनभर स्याहारसुसार गर्ने छोरी भन्दा मरेपछि पिण्ड दिने छोरा चाहिन्छ, हरदिन वावुआमालाई देवाताझै ठान्ने छोरीहरुभन्दा वंश चलाउन छोरा चाहिन्छ । कति बाबुआमा सन्तानमाथि सन्तान थप्दै समाजका वचन वाणबाट मुक्ति पाउनका लागि छोरा जन्माउन बाध्य छन् ।’
उनका कुरा कहिलेकांही सही हुन् कि जस्तो लाग्थ्यो कहिले हामीले समाज परिवर्तन गर्नुपर्छ भन्ने लाग्थ्यो । मेरो मनमा एउटै कामना थियो, जे जन्मिए पनि राम्रो वच्चा जन्मिदियोस ।
आठौँ महिना लाग्ने बित्तिकै सुमित्रालाई सन्चो भएन ।
तुरुन्तै अप्रेसन गर्नुपर्ने भयो । समस्या जटिल देखियो ।
डाक्टरले आमा वा वच्चा एकलाई मात्रै वचाउन सकिने अवस्था देखाए ।
टेकेको धरातल भासिए झैं भयो, मन अमिलो भएर आयो । मैले आमा बिनाको बच्चाको कल्पना गर्न सकिन र सुमित्रालाई बचाई दिन अनुरोध गरेँ ।
जब सुमित्रा होसमा आइन् आफ्नो बच्चा साथमा नपाएर पागल झैँ भइन् । उनलाई मानसिक सन्तुलनमा ल्याउन गाह्रो भयो । डाक्टरले उनलाई पुराना स्मृतिहरुले मानसिक सन्तुलनमा ल्याउन सहयोग पुर्याउने कुरा बताइन् ।
सुमित्राका बाआमाले सुमित्रालाई पोखरा लैजानुभयो ।
म सुमित्रा ठीक भएर घर फर्कने दिन पर्खिरहेको थिएँ।
जति पटक फोन गरे पनि उनी फोनमा कुरा गर्न मन गर्दिनथिन् ।
‘मेरो बच्चा निदाएको छ, हल्लाले बिउँझन्छ’ भन्दै राख्थिन् ।
उनको हालत झन्झन् बिग्रेको हुनाले ससुरालीको तर्फवाट एउटा वच्चा एडप्ट गर्ने प्रस्ताव आयो । मैले तत्कालै स्वीकार गरे ।
ससुरालीको सहयोगमा हामीले पोखरामा नै एउटा बच्चा पनि भेट्यौ । बच्चा पाएपछि सुमित्राको स्वास्थ्यमा सुधार हुदै आयो । उनी घर आइन् । हाम्रो घरमा खुसी भरिदै गयो । घर पूर्ण भए झैँ भयो ।
सुमित्रा भन्थिन्, ‘हेरन सुरज जब हाम्रो छोरा हाँस्छ, बोल्छ नि म संसारका खुसी यहीं पाउन सक्छु । सन्तानले दिएको खुसीको मोल कुनै बाबुआमाले तिर्न सक्दैन् ।’
सुमित्रा स्वीकारलाई आफ्नै सन्तान सम्झन्थिन् तर मेरो मनमा कतै तुष भएझैँ हुन्थ्यो।
एक दिन बिहानै पोखरावाट सासु आमाको फोन आयो।
उहाँले भन्नुभयो, ‘ज्वाइँ साहेब पोखरा आउनुपर्ने भयो।’
‘किन आमा ?’
‘स्वीकारको आमा मृत्युसंग संघर्ष गरिरहेकी छिन्, उनी मर्नु अगाडि स्वीकारलाई पाल्ने आमावावु भेट्न चाहन्छिन्,’ सासुआमाले परिस्थिति वताउनुभयो ।
मैले सुमित्रालाई पोखरा लैजानु उचित ठानिन । सुमित्रालाई सन्चो नभएकोले एक्लै आउने वताए । स्वीकार गर्नुभयो ।
म पोखरा तिर लागेँ।
दुर्भाग्य, म अस्पताल पुग्दा स्वीकारकी आमाको लास सबबहानमा राखिदै रहेछ । सासुआमालाई त्यहीँ देखेर थाहा भयो।
उहाँले भन्नू भयो, ‘रमाले तपाईंलाई पर्खिर्हेरहेकी थिइ तर दैवले उसलाई तपाइसंग भेट्ने समय दिएन ।’
सासुआमाले एउटा खाम दिनु भयो। शायद, यसमा रमाका भावनाहरु होलान्, सवैका सामु पढ्न चाहिन ।
मन यत्तिकै वेचैन भयो । म सिधै काठमाडौं फर्किएँ ।
दमौली बजारमा आएपछि भोक लाग्यो । खाजा खान गाडी रोके ।
खाजा पर्खदै गर्दा चिठी पढ्न मन लाग्यो ।
चिठीमा कुनै सम्वोधन थिएन ।
लेखिएको थियो, – मेरो छोरा, मेरो मुटुको टुक्रालाई आफ्नो सन्तानको रुपमा स्वीकार गर्ने महान वावुआमालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।
मेरो हृदयको टुक्रा हजुरहरुलाई सुम्पदै म यो संसारबाट बिदा लिँदैछु । कुनै दिन मेरो छोराले वास्तविकता थाहा पाएर आफ्नो परिचय खोज्यो भने हजुरहरुलाई असजिलो नपरोस् भनेर यो कथा लेख्न बाध्य भएँ ।
अन्नपूर्ण पदयात्राको नजिकमा मेरो सानो छाप्रो थियो । जहाँ म दुखसुख गुजारा चलाइरहेकी थिएँ।
हिउं परिरहेको पुषको एक सांझ कसैले मेरो ढोका ढक्ढक्यायो ।
‘को हो ?’ मैले भित्रैवाट चिच्याए ।
वाहिर एउटा पुरुष वोल्यो ।
‘कृपया मेरो प्राण बचाइ दिनुहोस् । मलाई वास दिनुहोस ।’
‘म घरमा एक्लै छु, वास दिन सक्दिन’, म भित्रवाटै फेरी चिच्याए ।
‘वरीपरी घर रहेनछन्, हिऊले वाटो छोपिसक्यो, अव अगाडि जान वाटो पहिल्याउन सक्दिन । कठांग्रिएर मर्छुजस्तो भयो ।’
उसले आफ्नो विवसता सुनायो । आवाज सुन्दा इमान्दार मानिसझै लाग्यो ।
मैले मानव धर्म बिर्सन सकिनँ । साँझको पाहुना देवता समान भन्ने सम्झेर ढोका खोले । ऊ जाडोले कामिरहेको थियो । मैले उसलाई अगेनाको छेउमा बस्ने अनुमति दिएँ।
उसले धन्यवादका साथमा आशिर्वाद दियो ।
तपाईंका हर आवश्यकता ईश्वरले पूरा गरून् ।
मैले आफुलाई भुटेको मकै र कालो चिया दुबै जनालाई बांंडेर भने, ‘मैले केवल मानव धर्म पूरा गरेकी मात्र हुँ ।’
मसंग भएका ओड्ने ओछ्याउने राखिदिएर सुत्न गए ।
अगेनाको आगो बिस्तारै निभ्दै गयो । रात छिप्पिदै जाँदा जाडो बढ्दै गइरहेको थियो । म चिसोसंग अभ्यस्त भइसकेकी थिए । मस्त निद्रामा परेछु ।
‘तपाइ निदाउनु भयो ?’
परदेशीको आवाजले बिउँझिएँ ।
अध्यारो थियो । तैपनि आफ्ना कपडाहरु सम्हालेर खाटवाट उठे ।
‘निदाई सकेकी थिएँ । के भयो ? केही चाहिएको हो ?’ मैले सोधे ।
‘साह्रै चिसो भयो, पटक्कै जीउ तातेन, अर्को ओढ्ने पाए हुन्थ्यो ।’
मैले भनेँ, ‘हामी गरिबको घरमा भने जति लुगा त हुँदैनन् प्राण बचाउने हो, निदाउने कोसिस गर्नुहोस् ।’
परदेशी चुप लाग्यो सायद निदाउने कोसिस गर्दैथियो होला तर मलाई निन्द्राबाट बिउँझिएपछि निदाउन गार्हो हुने बानी थियो । ओल्टेकोल्टे फर्कदै थिएँ ।
‘तपाईं पनि निदाउनु भएको छैन जस्तो छ नि ?’, केहीवेर पछि परदेशी वोल्यो ।
‘अँ, बिउँझिए पछि निदाउन समय लाग्छ’, मैले भने।
‘अन्यथा नसोच्ने भए एउटा कुरा भनौं ?’, उसले अप्ठेरो मानेझै भन्यो ।
‘हुन्छ’, मैले अनुमति दिए ।
‘चिसो हामी दुबैलाई भएको छ । हामी एकले अर्कालाई नछोइ दुईवटा सिरक खापेर एउटै खाटमा सुत्न मिल्दैन ?’
रातको जाडो कटाउन हामीले सिरक शेयर गर्ने निर्णय गर्यौ ।
टुकी सल्काए । टुकीलाई एउटा सुरक्षागार्ड वनाएकी थिए । सिरक खापेर एउटै वेडमा सुत्यौ । केहीवेर कुरा गर्यौ ।
म बिबाहित नारी भए पनि एउटै ओढ्ने मुनि सुतेको पहिलो पुरुष थियो परदेशी ।
मैले परदेशीलाई अचानक छोएँ । ऊ साच्चै हिउँझै चिसो थियो र कामिरहेको थियो । उसलाई अलिकति तातो वनाइदिन मैले उसका हातहरु मेरो हातले रगडिदिए ।
सायद मेरो स्पर्शले होला कि ? ऊ अलिक नजिकिदै थियो । विस्तारै जीऊ तात्दै आयो । हामी अंगालोमा वांधियौ । जाडोले कतै छोएन ।
छातीको धड्कन अनायसै बढ्दै थियो । कुनै नौलो अनुभूति भइरहेको थियो । एउटै ओढ्ने मुनि दुइ सास गुम्सदै थियौ ।
पटक पटक हाम्रा हातहरु सल्बलाउन थाले । हामी बीचको दुरी समाप्त भयो । हामीले आफूलाई नियन्त्रणमा राख्न सकेनौं ।
स्वीकारकी आमाको चिठी पढ्दा मलाई उक्त घटनाको नजिकै पुगेको भान भयो ।
फेरि चिठी पढ्न थालेँ ।
हामी एक अर्काको न्यानो अँगालोमा कति बेला निदायौँ पत्तै भएन । निद्रा खुल्दा बिहान अबेला भई सकेको थियो । परदेशी आफ्नो बाटो लगिसकेको रहेछ । वाटो लागेको परदेशीले तीन चिज त्यही छाडेछ । मेरो पेटमा सन्तान, मनमा अलिकति याद र ओछेनमा उसको परिचय पत्र ।
विवाहिता थिए तर सन्तान सुख पाएकी थिइन । मेरो लोग्नेले मेरो वच्चा नभएको भन्दै मसंग डिभोर्स गरेका थिए । पेटमा वच्चा आउंदा साह्रै दंग परे । पूर्ण नारी ठाने । मनमा पंखेटा पलाए र आफ्नो वच्चालाई जन्माउनका लागि अन्नपूर्णको फेदको छाप्रो छाडेर पोखरामा डेरा खोजेर सरे ।
पोखरामा सरेपछि छोरा जन्मियो । छोराको मुख देखेपछि जीवनको वाटो नै मोडियो । पोखरामा सानातिना काम पाउन कुनै गाह्रो भएन । मेरो र छोराको जीवन धान्न सक्छु भन्ने विश्वास पलायो ।
शायद, छोटो समयमै हरेक कुराको अनुभव गराइ दिनका लागि ईश्वरले मलाई त्यो संयोग मिलाईदिएका रहेछन् । सात महिनापछि मलाई क्यान्सर भएको पुष्टि भयो । बालक छोरा, ज्यालादारीको जीवन , प्राणघातक रोग, म अतालिएँ ।
आफ्नो जीवन नरहने भएपछि मलाई छोराका लागि एउटा अभिभावक चाहिएको थियो । त्यसैले मैले तपाइको ससुरालीमार्फत छोरा तपाइहरुलाई दिने निर्णय लिए । मेरो छोराको राम्रो स्याहार तपाइहरुकोमा हुनेछ भन्ने विश्वास लिएकी छु । अलविदा ।
चिठी सक्दा नसक्दै म गाडीतर्फ दौडिए । खाजा खान समेत पर्खिन । भोक हराएको थियो । गाडी दौडाउंदै गर्दा ऊसंग त्यो हिऊ परेको रात विताएको मैले सम्झिरहेको थिए ।
मनमनै प्रण गर्दै थिए, ‘हाम्रो छोरालाई म सधै राम्रो पाल्नेछु ।’
घर पुग्दा साँझ परी सकेको थियो । सुमित्रा भन्सामा थिइन् । स्वीकार एक्लै कोठामा खेल्दै थियो ।
मलाई देखेर दौडदै आएर भन्यो, ‘बाबा, हजुर दिनभरी कहाँ जानू भएको थियो ?’
मैले भने, ‘बाबु तिम्रै परिचय खोज्न गएको थिएँ।’
छोराले मेरो वाक्य बुझेन । मैले अंगालोमा कसे ।
उसले पनि मलाइ अंगालोमा कस्यो । शायद, मायाको भाषा वुझ्यो ।
प्रतिक्रिया