कठैबरा ।

उदय निरौला भक्तपुर ।। २०७७ असोज ५ गते ११:३५ मा प्रकाशित

 

कति फरकपर्छ
जान्नु र नजान्नुमा
हाम्रा बा हरू हलो काट्न जान्दथे
खेत बारीमा अन्न फलाउन पनि जान्दथे
आखिर सुपर आधुनिक मान्छेको भोक पुर्ने
तागत दिने
जीवन चलाउने त अन्न नै होइन र?

हाम्रा नानीहरू कम्प्युटर जान्दछन्
तर उनीहरू पनि खान त अन्न नै खान्छन् हैन र ?
कोरोनाको महामारीमा
खेत बाँजै रहे भने
बैज्ञानिक मानिस के अन्न आविष्कार गर्न सक्छ ?

आखिर अन्न त आदिम मान्छे
असभ्य भनिएका मान्छेले नै फलाँउछ
स्टेफन हकिँग्सका आँखाको पुतलीले
हम्कदैन हावा खेतबारीमा
न त पण्डितहरूका कर्म काण्डले
गोड्छ खेतीवारी
न त नेताहरूको फ्याउरो कराइले
फलाउँछ अन्न र पकाँउछ परिकार
आखिर आदिम मान्छे कै सीप चाहिन्छ ।
आखिर पुरानै मान्छेको ढंग चाहिन्छ ।

आखिर हाम्राबाहरू जस्तै मान्छेको हात चाहिन्छ
आखिर सबैबाट तिरस्कृत मजदुरकै पुरुषार्थ चाहिन्छ ।
अनि केलाउनु फुर्ति र के गर्नु फुरफुर
कम्युटर कालीन मान्छेहरूले
युनिभर्स भ्रमण गरेका मान्छेहरूले
तै पनि सभ्यता घोकाउने
उत्तर आधुनिक मान्छे गर्छ
अहँकार
अनि
कतैबाट नयाँ सुर्य नैआविस्कार गरेर
नयाँ उर्बरा शक्ति नै बिकास गरेर
उब्जाउँला झैँ गर्छ अनाज
प्लास्टिक जस्तै सजिलो ठान्छ ।
अन्नलाई।

भुद्दु भन्नू कि विद्वान त्यो मान्छेलाई
पृथ्वीको मान्छे भन्नुकि अर्कै ग्रहबाट झरेको प्राणी भन्नू
थाहा छैन बिचरा आँफुले खाइरहेको पिजा,बर्गर र पाउ
कहाँबाट बन्छ ?
ठान्दो हो रोबर्ट बनाउँदो हो
ठान्दो हो कुनै डमि झैँ
पसल अगाडि फुत्तै भेटिँदो हो
कठै बिचरा उत्तर आधुनिक मान्छे
कठै बिचरा नाशाको रकेट बनाउने र उडाउने मान्छे
मजदुर किसानका अघि अति पुड्को बिचरा ।
उता त्यो चन्द्रमा र मगल सवार मान्छे
कठै बरा बिचरा! मान्छे नामको सभ्य मान्छे ।

–  उदय निरौला भक्तपुर ।।

प्रतिक्रिया