विराटनगर,२९ भदौ (रासस):प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले वर्तमान प्रदेश सरकार बालमैत्री सरकार रहेको बताउनु भएको छ।
राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन आज सार्वजनिक गर्दै उहाँले प्रदेश सरकारले बाल आफ्ना नीति तथा बजेटमा बालकेन्द्रीत कार्य सञ्चालन गरेको जानकारी दिनु भयो।
मुख्यमन्त्री राईले आगामी सन् २०२५ भित्रमा प्रदेशलाई बालबिवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले कार्य शुरु गरिसकेकाले यसमा सामाजिक संघ संस्था, सरोकारवाला व्यक्तिहरु र सबैको सहभागिता आवश्यक रहेको छ भन्नु भयो।
उहाँले प्रदेश सरकार बाल अधिकारप्रति संवेदनशील रहेको बताउँदै प्रतिवेदनका आधारमा बाल अधिकार स्थापित गर्न सहि नीति र कार्यक्रम तर्जुमा गर्न सहज हुने धारणा व्यक्त गर्नु भयो।
मुख्यमन्त्री राईले सभ्य नागरिक उत्पादन गर्न समाजमा लागु पदार्थ दुव्र्यशन अन्त्यका लागि दुई लाख युवाहरुलाई संगठित गरी सगरमाथा टिन्स क्लव मार्फत ‘म अघि वढ्छु’ कार्यक्रम प्रदेश सरकारले सञ्चालन गरिरहेको जानकारी दिनु भयो।
भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले बालबालिकाको अवस्था पहिलेको तुलनामा सुधार हुदै गएको चर्चा गर्दै श्रम शिक्षा र खेलकूदको बातावरण सिर्जना गर्न जोड दिनु भयो।
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सडक बालवालिका मुक्त बनाउन गत वर्ष ५३ जनालाई संरक्षण गरेको जानकारी दिदै बालअधिकारको सरक्षणका लागि ऐन निर्माण गरिएको बताउनु भयो।
मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१६ अनुसार प्रदेशमा ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रममा रहेको बताउनुभयो।
प्रतिक्रिया