चक्र

डा बुनु दाहाल २०७७ भदौ २६ गते २३:३८ मा प्रकाशित

प्रिय कबिबर !

आकाशमा कालो बादल मडारिएको छ,
कतै बर्षा को त कतै हुरी को संकेत !
कतै अप्रिय र अशुभ समाचार आउला जस्तो ।
भय त्रास र डरले मन आत्तिएको छ कबिबर !

त्यसैले, कबिबर ८५/८६ पुगेका बा आमा !
आकाशमा कालो बादल मडारिंदा
छट्पटिदा हुन , पिरोलिंदा हुन,
अनि आफै लाइ धिक्कार्दा हुन ।

तिमीलाई थाहा छ ?
त्यो बेला जब सन्तान प्राप्ति भाथ्यो !!
कति खुशी भाथे होलान ?
त्यहिँ माथि हाम्रो समाज !
छोरा मुखी ? छोरो जन्मिँदा !!

हेर त !
दिन रात महिना बर्ष कसरि बिते पत्तै नपाइ ?
सुखको आभास सम्म नभई !
कहिले कता कहिले कता बसाइ सर्दै
बिचरा ति बा आमाले
आठ दशक पार गरिसक्नु भए छ ।

तिमीलाई थाहा छ कबिबर ?
यो के का लागि र कस्का लागि ?
डाँडाको जुन घाम ! कहिले अस्ताउने हो पत्तो छैन ?
तर पनि खटि रहेछन खटि रहेछन अनवरत ।

तिमीलाई थाहा छ ?
जब त्यो प्राण रुपी चरो उड्छ नी !
त्यसबेला धन दौलत त परे छाडौ ?
आमाको नाकको फुली फुकाल्न समेत
आतुरता हुन्छ तिमि लाइ !
तँ छाड म छाड र लुछा चुँडी गर्दै
बटुल्न थाल्ने छौ तिमि गांठ गठुरी
अनि भन्ने छौ यो सब मेरै हो ।
बा आमा को संरक्षक मै थिएँ ।

कबिबर यो नबिर्स !!
आखिर तिमि पनि त साठी नाघी सक्यौ ।
तिम्रा पनि सन्तान छन्
तिमीलाई तिम्रा सन्तान प्रति जति मोह र लगाव छ
त्यतिनै थियो तिम्रा बा आमा को पनि तिमि प्रति ।

फेरी यो पनि यो नबिर्स !!
समय निष्ठुरी अनि बलबान छ
तिमि वाट तिम्रा सन्तानले जे सिके नी ?
तिमीले पनि त्यहि पाउने छौ
तिम्रा सन्तान वाट ! कबिबर !!
आखिर यो कुमालेको चक्र न हो !
घुमिरहन्छ ! घुमिरहन्छ !! घुमिरहन्छ !!!

प्रतिक्रिया